Tuesday, February 13, 2018

प्रणय दिवस

0 राय सुझाबहरु
प्रणय दिवस :
दैहिक प्रेम या आत्मिक प्रेम
•••
आफैभित्र भएको कस्तुरीलाई नचिनेर मृग भौतारिए झैँ हामी आफैँभित्र भएको प्रेम अनुभूत गर्न नसकेर अनेकतिर भौतारिन्छौ । प्रेम त प्रकृतिमा छ, प्रेम हाम्रै वरिपरी छ अनि प्रेम जता हिंड्यो त्यतात्यतै छ ।

माटोमा, फूलमा, जूनमा, रुख बिरुवामा जतासुकै पनि प्रेमै प्रेम छ । वास्तवमा प्रेमले हेर्दा, खोज्दा र अनुभूत गर्दा सबै वस्तुमा प्रेम भेटिन्छ, हरेक अनुहारमा प्रेम भेटिन्छ र हरेक मुस्कानमा प्रेम भेटिन्छ ।

प्रेम अथाह हुन्छ, यो न दिएर सकिन्छ न लिएर सकिन्छ । धन कमाउने मान्छे कैलेकहिँ धनको गरिव बन्न सक्ला तर प्रेम दिने मान्छे कहिले पनि प्रेमको गरिब भएको सुनिएको छैन र देखिएको पनि छैन । प्रेमले गरिबको छाप्रोलाई पनि स्वर्ण महल बनाई दिन्छ ।

प्रेमबाट प्रभावित नभएको मानव हृदय यो धरतीमा सायदै होला । प्रेम अनन्त: अमर अनि अज्ञात पनि छ । हृदयले गर्ने हार्दिक प्रेमको किस्सा जति सुनाए पनि पुरानो हुँदैन । परिवेश र आवरणहरू मात्र नयाँ र पुराना हुने हुन् । मानव हृदयको प्रेम हिजो पनि नयाँ थियो, आज पनि नयाँ नै छ अनि भोलि पनि नयाँ नै हुनेछ।

प्रेम र मानवताका पुजारी भ्यालेनटाइनले प्रेमको निम्ति मुत्युवरण गरेको दिनको सम्झनामा इटालीको राजधानी रोमबाट भ्यालेन्टाइन डे मनाउन सुरूवात भएको हो । पश्चिमी मुलुकबाट सुरूवात भएको यस दिवस नेपालमा पनि संस्कृतिको रूपमा विकास हुँदै गइरहेको छ ।

पश्चिमेली समाजमा परिवार विघटनको बढ्दो क्रमसँगै विवाहप्रति मान्छेको आकर्षण घट्दो छ । यौनलाई सामाजिक मर्यादाको विषयभन्दा विशुद्ध प्राकृतिक आवश्यकताको रूपमा प्रयोग गर्ने प्रचलन बढ्दै गरेको देखिन्छ ।

इजरायलीहरु यौनलाई दैनिक रुपमा खाने भोजनको संज्ञा दिन्छन् । वर्षौसम्म यहाँ एक्लै बसेर काम गरेका कामदारलाई त्यस्तो जिन्दगी पनि के जिन्दगी भनेर व्यंग्य गर्ने गर्छन् । यहाँका युवा युवतीहरु १२ बर्ष पुगेपछि बर्मिच्वा गर्छन् । यसपछि उनीहरु वयष्क भएको मानिन्छ । यदि १२ वर्ष हुँदा पनि केटा-केटी एक अर्काप्रति आकर्षित भएनन् भने ती केटा केटीहरुमा केही खराबी छ भन्ने ठानेर डाक्टरलाई जाँच गराउँछन् ।

यसरी हेर्दा पश्चिमेली समाजमा पहिला यौन त्यसपछि मात्र प्रेम र विवाह गर्ने संस्कार देखिन्छ । हाम्रो समाजमा भने सबभन्दा पहिला विवाह अनि मात्र प्रेम र यौन भन्ने देखिन्छ । तर मलाई लाग्छ व्यवहारिक र वैज्ञानिक कुरा चाहिँ पहिले प्रेम त्यसपछि मात्र यौन र विवाह हो ।

प्रेम त यौन र विवाहबिना पनि एकल अस्तित्वमा रहन सक्छ । यौन प्राकृतिक आवश्यकता हो भने विवाह सामाजिक र साँस्कृतिक आवश्यकता हो ।

विशेष गरेर युवा युवतीहरूबीच लोकप्रिय प्रणय दिवसमा विकृति पनि बढ्दो छ । विपरीत लिङ्गप्रतिको आकर्षण शाश्वत प्राकृतिक नियम हो तर यो प्रेम होइन । निश्चित उमेरसँगै सुरूवात हुने यस्तो आकर्षण सृष्टिको निरन्तरताको निम्ति प्रकृति रहेसम्म रहिरहने छ । प्रकृतिका हरेक प्राणीहरूमा यो नियम चलिरहेको छ र अनन्त सम्म चलिरहने छ ।

मान्छेभित्र विपरीत लिङ्गप्रतिको प्राकृतिक आकर्षणसँगसँगै विशिष्ट प्रेमभाव पनि हुने गर्छ, त्यसैले नै उ चेतनशील मानिन्छ ।

बाहिरी रूपसज्जा र आकर्षक शारीरिक बनावट त आँखाका लागि हुन् तर वास्तविक प्रेम आँखाबाट ओर्लेर हृदयसम्म आइपुग्छ । मनले देखेको प्रेम आँखाले देखेको जस्तो क्षणभङ्गुर र विनासशील हुँदैन । वास्तविक प्रेम त मान्छेले आफ्नो बोली, व्यवहार, विचार आदिका माध्यमले अनुभूत गर्ने विषय हो । प्रेम मनका सारा अँध्याराहरूलाई नास गरी आन्तरिक आनन्दको उज्यालो सिर्जना गर्ने जून हो ।

प्रेम सुन्दरताको पर्याय हो । सुन्दर वस्तुको सम्पर्कले कुरूपहरूमा पनि आशाको सञ्चार हुन्छ । त्यसकारण प्रेम सुन्दरताको शाश्वत रूप हो ।
धर्तीको विशालता र व्यापकता प्रेमका विशेषता हुन् । जसरी लाखौं मानिसले थुक्दा, कुल्चँदा र अपमानित तुल्याउँदा पनि धर्ती चुपचाप शान्त र स्थिर रहन्छ । प्रेमलाई जीवनमा उतारेका मानिसहरू पनि त्यस्तै हुन्छन् । जहाँ लिन होइन दिन खोजिन्छ, त्यहाँ सदैव शान्ति र स्थिरता कायम हुन्छ ।

प्रेममा सबै सम्मानित हुन पाउँछन् । प्रेमको संसारमा कोही ठूलो र कोही सानोको असमानता रहँदैन । त्यसैले प्रेमको स्वभाव भएका मानिसको संसार हार्दिकतापूर्वक सुखमय हुन्छ । जसरी सूर्यको प्रकाश झारपात र वृक्षहरूमा एकै ढङ्गले छरिन्छ, साँचो प्रेम पनि सबैमा सबैतिर एकनाशले विस्तारित हुन्छ ।

आज सन्त भ्यालेन्टाइनको स्मरण: प्रेमदिवस मनाइरहँदा त्यसको सार्वभौम अस्तित्वलाई पनि स्मरण: गरौं । शरीर, सम्पत्ति र वासनाको सीमाभन्दा माथि उठेर सबैलाई निष्काम प्रेम गरौं । यदि यसो गर्न सकियो भने हामीले प्रेमदिवस मनाई रहँदा प्रेमको याचना गर्दै बेखबर रोइरहेका आँखाहरूमा आशाको नवीन सूर्योदय हुनसक्छ । यतिखेर हामी जुन व्यक्तिको सम्झनामा प्रेमदिवस मनाइरहेका छौं, उनी अर्थात् सन्त भ्यालेन्टाइन त्यागका विशिष्ट प्रतिमूर्ति थिए । आफ्नी प्रेमिकाका लागि जीवन त्याग्नसम्मको चुनौती सहर्ष स्वीकार गर्न भ्यालेन्टाइन तत्पर रहे ।

प्रेम त अथाह अलौकिक र अनन्त: हुन्छ । प्रेम नै धर्म हो, शक्ति हो अनि शान्ति हो । मानवप्रेम हरेक बन्धन र स्वार्थभन्दा विशिष्ट हुन्छ, माथि हुन्छ र मुक्त हुन्छ । मानवप्रेम सीमाहीन हुन्छ, आकाश जस्तै फराकिलो हुन्छ । प्रेमको कुनै परिधि हुँदैन । यस्तो प्रेमभाव महिला पुरुष सबैमा ब्याप्त हुन्छ तर प्राप्ति भने अपवादले मात्रै गर्न सक्दछ । यस्तो प्रेमको आस्वादन लोभ, मोह, स्वार्थबाट मुक्त मान्छेले मात्रै गर्न सक्दछ ।

प्राय: जसो मानिसले सोच्दछन्, लोग्ने - स्वास्नीबीचको प्रेम नै अन्तिम र अमर प्रेम हो । त्यसैले मान्छेहरू विवाह बन्धनमा बाँधिन आतुर हुन्छन् । पक्कै पनि लोग्ने -स्वास्नीमा प्रेम त हुन्छ; तर बन्धन र स्वार्थभन्दा माथिको प्रेम लोग्ने -स्वास्नीमा पनि अपवादमा मात्रै हुने गर्दछ । लोग्ने र स्वास्नीको प्रेम कतै सम्झौतामा गएर टुंगिन्छ त कतै निजी स्वार्थ र सामाजिक बन्धनमा गएर प्रेमको अन्त्य हुने गर्दछ ।

श्रीमान् र श्रीमतीहरू आजभोलि सम्बन्ध विच्छेद गरी स्वतन्त्र जीवनयापन गर्न उद्दत देखिन्छन् । जीवन रहेसम्म मान्छे एक्लै बाँच्न सक्दैन । उसलाई कहीँ, न कहिँ एक अर्काको साथ सहयोगको आवश्यकता पर्छ । जीवनभर साथ र सहयोग चाहिने पति र पत्नीहरू पनि आफ्नो भएको सम्बन्धलाई बिगारेर एक्लै बाँच्ने निर्णय गर्न गर्नुको पछाडिको कारण निश्चय नै आपसी प्रेमको अभाव हो ।

आज हामीकहाँ प्रेमको सतही नाटक मञ्चन गर्नेहरूको भीड जताततै देखिन्छ । शरीर सुन्दर भएका र चिटिक्क परेर सजिएका मान्छेहरू प्रेमका लायक हुन्छन् भन्नेहरूको पनि कमि देखिदैन । कुनै दिन जब शारीरिक सुन्दरता स्खलित हुँदै जान्छ अनि प्रेम पनि स्खलित हुँदै जान्छ । त्यो कस्तो प्रेम हो, जुन ओइलाउँदो शारीरिक सुन्दरता र चाउरी परेको छालासँगै ओइलाउँदै र हराउँदै जाने ! अनि ती कस्ता प्रेमी हुन्, जो बेलाबेलामा प्रेमकै नाममा पात्र परिवर्तत गर्दै भौतारीरहने !

आज हामी जुन ‘प्रेम’को कुरा गर्छौं; त्यो शरीरमै समाप्त भएर गएको छ । आज हामीकहाँ प्रेमविवाह गर्नेहरू अधिकांश सम्बन्ध विच्छेद गरेर बस्ने देखिएका छन् । प्रेमको बहानामा विवाहित बनेकाहरू पनि पश्चातापपूर्ण जीवन बाँचेका थुप्रै भेटिन्छन् । योभन्दा ठूलो ‘प्रेम’को अपमान अर्को के हुन सक्छ ?

प्रेम कहिल्यै पनि समाप्त भएर जाँदैन । हाम्रो शरीर, रूप, आकृति, हाड, छाला, सम्पत्ति सबै सांसारिक वस्तु हुन् । यी बदलिन्छन् बारम्बार र अन्ततः समाप्त भएर जान्छन् । तर प्रेम यी सबै वस्तुभन्दा पर हुन्छ । वस्तुहरूको अभावमा पनि प्रेम बाँचिरहन्छ । त्यसैले प्रेमलाई अलौकिक मानिएको हो ।

प्रेमदिवसका सन्दर्भमा व्यक्त गरिने प्रेमका भावनाहरू पनि सतही हुन थाले । प्रेमको मूल्य र अस्तित्व फगत् यौनसुखमा बदलिएर गयो । यसको व्यापकतालाई अत्यन्तै सङ्कीर्ण र कमजोर बनाउँदै लगिएको छ । मानवप्रेम निजी स्वार्थ र सामाजिक बन्धनबाट सदैव माथि रहन्छ । मानवप्रेममा कहिल्यै सम्झौता र स्वार्थ हुँदैन; हुन्छ त केवल त्याग र समर्पण ! मानव प्रेममा बन्धन नभएर, स्वतन्त्रता हुन्छ । प्राप्ति नभएर त्याग हुने गर्छ । मृत्यु नभएर मुक्ति हुन्छ । स्वार्थ नभएर, समर्पण हुन्छ ।

प्रणय दिवस । प्रेमिल मनहरुको उत्सव हो । प्रेम आफैमा प्रेमिल छ । प्रेमिल मनहरुले अझ सुगन्ध थप्दैछन् । प्रेम सबैका लागि सबै प्रेमका लागि हुन्छ ।

आँखाको आकर्षण केही समयपछि सकिएला तर चोखो मायामा एकले अर्कोप्रति समर्पण गरेको अनुभूति युगौयुग अमर भर्इ बाँचिरहन्छ । संसारका सबै प्राणीहरु बिचमा मायाको शीतल आँचल लहराई रहनुपर्छ ।

प्रेम बाँडेर त हेरौ; यो अझै बढ्ने छ । यसलाई फैलाउ अझै फैलने छ । प्रेम एक त्यस्तो चिज हो जुन फैलाउँदा अझ फैलिरहन्छ । प्रेम बाँढेर प्रेमिल जीवन बाँचौ । हेप्पी भेलन्टाइन डे !

© भगवती बस्नेत

Wednesday, February 7, 2018

गीत

0 राय सुझाबहरु
गीत

तिमी आकाश भयौ भने म त तिम्रो जुन बन्थें
तिम्रो शितल छहारीमा पिरतीको प्रकाश बुन्थें  

सुन्दर सपना सजाउन दुई मन भए पुग्छ भन्थें  
मलाई कतै दुख्दाखेरि तिमीलाई दुख्छ भन्थें  
सुन जोख्ने तराजुमा मेरो माया जोखी छाड्यौ
तिमीभित्रै हाँसेको मेरो खुसी खोसी छाड्यौ

तिमी आकाश भयौ भने म त तिम्रो जुन बन्थें
तिम्रो शितल छहारीमा पिरतीको प्रकाश बुन्थें  

फुटाई दियौ तिमीले मेरो मनको बाँध पनि
मेटिदियौ तिमीले नै पिरतीको साँध पनि 
तिमी बिना जिन्दगी यो अधुरो नै चलिरह्यो 
गोधुली त्यो साँझ पनि सन्ध्यासँगै ढली गयो 


तिमी आकाश भयौ भने म त तिम्रो जुन बन्थें
तिम्रो शितल छहारीमा पिरतीको प्रकाश बुन्थें !


©️ भगवती बस्नेत

Sunday, July 23, 2017

एन आर एन इजरायल २०१७ चुनाव

1 राय सुझाबहरु
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको निर्वाचनलाई तपाईले कसरी हेर्नु भएको छ साथै संघको अबको भूमिका के कस्तो हुनुपर्छ ?
-भगवती बस्नेत
भगवती बस्नेत- पुर्व आइसीसी तथा, अध्यक्ष: अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टर
एन आर एन इजरायल २००७ मा स्थापना भई क्रियाशील रही आएको छ । अहिले एन आर एन इजरायलको पाँचौ अधिवेशन हुन लागेको छ । नयाँ कार्य समिति चयनको लागि सुवास खरेलज्यूको नेतृत्वमा चुनावी समिति गठन भएको छ । उहाँ एन आर एन इजरायलको दुई कार्यकाल अध्यक्ष भई अहिलेको आइसीसी सदस्य हुनु हुन्छ । एन आर एन इजरायलको योग्य व्यक्ति हुनुहुन्छ । चुनाव समितिमा उहाँले राख्नु भएको अन्य व्यक्तिहरु पनि योग्य ठहराएर राख्नु भएको होला । यस कमिटीले चुनाव गरेर नयाँ नेतृत्व आउँनेछ । हामीले यसमा सकारात्मक रुपमा लिनु पर्छ ।
एनआरएन सबैको साझा र छाता संगठन हो । यस कार्यमा हामी इजरायलमा रहेका सबैको सद्भाव,साथ सहयोग र सहभागिता चाहिन्छ । हामी सबैले सदस्यता बन्ने कोशिश गरौ यसो भए पछि हामीले आफ्नो हक प्रयोग गर्न सक्छौ । एन आर एन को इजरायलको मुख्य काम भनेको गैर आवासीय नेपाली संघको अक्टुबरमा हुने अधिवेशनमा भाग लिने हो । अहिले सम्म इजरायलबाट नगन्य रुपमा सहभागिता रहदै आएको छ । जुन कुरा मैले पोहोरको अधिवेशनमा महसुस गरेकी थिए । एन आर एन इजरायलको महत्व र अन्तराष्ट्रिय छवि कायम गर्न ग्लोबल कन्फरेन्समा धेरै भन्दा धेरै आफ्नो प्रतिनिधि पठाउने र सक्षम नेतृत्व चयन गर्नुपर्छ ।
अर्को कुरा इजरायलभरि छरिएर रहेका नेपालीहरु समेट्न सक्ने सक्षम व्यक्तिको चयन गरेर नेपाली समाज बीचको एकता, सद्भाव कायम गर्न गरुरी छ जुन कार्य आगामी नेतृत्वले गर्नेछ भन्ने आशा गरौ । आगामी नेतृत्वले नेपाली राजदुतावाससँग संयुक्त रुपमा मिलेर नेपाली कला साहित्य र संस्कृतिको प्रवर्धन गर्नु पर्छ । नेपालमा लगानी बढाउने काम गर्नु पर्छ । पर्यटन प्रवर्धनमा सहयोग पुर्याउनु पर्छ । नेपालमा पर्यटन भित्र्याउने तथा प्रोत्साहन गर्ने काम गर्नुपर्छ । गैर आवासीय नेपाली संघको परम्परा अनुसार अग्रजहरुलाई सम्मान सत्कार र उचित ब्यबस्थापन साथै नयाँ र सक्षम अनुहारलाई भित्र्याउने काम हुने गर्छ तर यहाँ त्यो चिजको कमि भएको छ । जसले गर्दा नयाँ आउनेहरुले काम गर्न अलमलमा पर्छन् । यहाँ त नयाँ व्यक्तित्व चयन भए पछि अग्रजहरुलाई चिन्दा पनि चिनिदैनन् । संगठनलाई माया गर्ने व्यक्तिहरु, पुर्व अध्यक्षहरु आइसीसीहरु, संरक्षकहरुलाई सधैँ सम्मान गर्ने चलन छ । त्यसैले हामीले हाम्रो संस्कार भुल्नु हुदैन ती बिषयमा आगामी नेतृत्वले राम्रो सस्कारको विकास गरोस् भन्न चाहन्छु । हामीले हाम्रो र राम्रो नमुना एन आर एन इजरायल बनाउन हामी सबैले अहिले हुन लागेको पाँचौ अधिवेशनमा सहभागिता जनाएर सहयोग गरेर सबै दत्तचित्त भई लागेर सक्षम नेतृत्व चुनौ भनेर सबैलाई अनुरोध गर्न चाहन्छु ।

पाना खबरसँग अन्तर्वार्ता

0 राय सुझाबहरु
सामाजिक संजाल मार्फत देशको राजनैतिक ,आर्थिक , सामाजिक , धार्मिक ,शैक्षिक , कला , आदि बिषयहरुमा आफ्नु धारणा राख्नु हुने एवं देशको ति बिषयहरुमा अध्ययन गरिरहनु भएको ब्यक्तिहरु सँग संवाद थाल्ने हाम्रो प्रयास हो ”पाना संवाद” । जसअन्तर्गत देश-परदेशमा रहेर बिभिन्न पेशा-ब्यबसाय गरेर बसिरहेका ब्यक्तिहरु जो-समाजलाई सकारात्मक बाटोमा हिडाउँन मार्गदर्शक बनिरहेको हुन्छ,त्यस्ता ब्यक्तिहरुको  बिचार र भाबना समाज,देशको हितमा हुन्छ, त्यस्ता ब्यक्तिहरुको बिचारहरुलाई प्रत्येक हप्ता शुक्रबार प्रकाशित हुने पानाखबरको ‘पाना संवाद‘ मा समेटने हाम्रो प्रयास ।
यहि सिलसिलामा नेपाल पर्यटन बोर्डका तर्फबाट इजरायलका लागि पहिलो पर्यटन सद्भावनादूत एवम परिचित साहित्यकार भगवती बस्नेतलाई हाम्रो साप्ताहिक स्तम्भ ”पाना सम्बाद”को यो हप्ताको अथितिका रुपमा बोलाएका छौ  ।
बरिष्ट साहित्यकार नरेन्द्रराज प्रसाईबाट बौद्धिक सुन्दरी साहित्यकारकि उपाधि प्राप्त गर्नु भएकी बस्नेत ११ बर्ष देखि इजरायलमा कार्यरत हुनुहुन्छ नेपाली भाषा साहित्यमा त्रिभुवन बिश्वबिधालयबाट एम.ए.सम्मको अध्यन गर्नु भएकी  बस्नेत  नेपाली साहित्य जगतमा एक आशा लाग्दो र उदायिमान बहुप्रतिभाशाली  सहित्यिकार पनि हुनुहुन्छ पर्यटन सद्भावनादूत एवम साहित्यकार भगवती बस्नेतसंग पानाखबरको लागि सुनिल श्रेष्ठले गरेको समसामयिक कुराकानीको सम्पादित अंश

यहाँको साहित्यिक यात्राको कहिलेदेखि शुरु भएको हो र अहिलेसम्मको आरोह अवरोहबारे छोटो जानकारी दिनु हुन्थ्यो कि ?
स्कुले जीवनदेखि नै म साहित्यमा रुचि राख्थें । मैले ९ कक्षामा पढ्दा पहिलो कविता लेखेकी थिएँ । पहिलो पटक पत्रपत्रिकामा चाहिं २०५३ देखि छापिन थालेको हो । धेरै समयसम्म मैले यसलाई निरन्तरता दिंदा दिदै पनि भने जस्तो समय दिन सकेको थिइन । म विदेश आएपछि भने मेरो साहित्यिक यात्राले फराकिलो मोड पायो । जसमा म मनमौजी रमाउन पाएँ । साहित्य भनेको जीवन र जगतसँग सम्बन्धित मानवीय संवेदनाको तीव्र अनुभूति पनि हो । विदेशमा हुँदा अझ बढी भावुक बनिदो रहेछ । साहित्यमा समाजलाई मार्गनिर्देशन गर्ने शक्ति पनि हुन्छ ।
साहित्य मेरा लागि जीवन सरिता हो म यसमा डुबुल्की मार्दा आनन्दित अनुभूत गर्छु । जीवनका आरोह अवरोहमा नेपाली साहित्य संस्कृति गीत संगीत सम्बन्धित संघ संस्थाभित्र बसेर पनि काम गरिरहेको छु । त्यसैले पनि साहित्य संगीत नै मेरो जीवनको प्रिय बन्यो । मेरो पहिलो कृति रहर भो जिन्दगी भन्ने गज़ल संग्रह २०६८ मा प्रकाशित भएको हो । अहिले सम्म संयुक्त कृतिहरु दर्जनौ निस्किएका छन् । मेरो एकल कृतिहरु ४ वटा प्रकाशित भएका छन् भने ३ वटा तीजका एल्बम र एउटा गज़ल एल्बल बजारमा छन् । मेरा कृतिहरु यस प्रकार छन् :
१ रहर भो जिन्दगी गज़लसंग्रह
२ प्रेम दह मुक्तकसंग्रह
३ मर्दको माया कथासंग्रह
४ मृत सागरमा म कवितासंग्रह
अब छिट्टै नियात्रा प्रकाशनका लागि मेलोमेसो मिलाउँदै छु ।
हाल नेपाली साहित्यको स्तर कस्तो देख्नु भएको छ ?
वर्तमानको सेरोफेरोमा नेपाली साहित्यको चर्चा गर्दा शास्त्रीय स्वरुपमा त्यति देखिन्न । विगतका तुलनामा प्रगतिवादी, आदर्शवादी, आध्यात्मवादी लगायतका धारमा साहित्य लेख्न विरलै पाइन्छ । अहिलेको लेखन धेरै जसो मायावादी, यथार्थवादी, अति यथार्थवादी र लिलालेखनमा रहेको छ । यसका साथै व्यवसायी लेखनको समेत विकास भइरहेको छ । नेपाली साहित्यमा अहिले नवीन सम्भावनाका नवीन आयामहरु उजागर हुँदैछन् । पठन संस्कृतिको विकास भएको कारणले लेखनमा पनि स्तरियता र परिस्कारको विकास भैरहेको छ । अहिले परिस्कृत बौद्धिक गभीर सिर्जनातर्फ साहित्यकारहरु उन्मुख भैरहेको पाइन्छ ।
बैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाली साहित्यमा दिएको योगदानलाई कसरी मुल्यांकन गर्नु भाको छ ?
बैदेशिक रोजगारीमा रहेका नेपालीहरुले साहित्यमा अतुलनीय योगदान दिएको पाइन्छ । संसारमा भएका नेपालीहरुको भावनात्मक एकता बलियो हुँदै गएको छ । नेपाली जहाँ पुगे पनि आफ्नो जातिको एकता सम्भव भएको छ । नेपालीहरु आफू जहाँ पुगे पनि आफ्नो पहिचान जोगाएर राखेका छन् । आफ्नो भाषा संस्कृतिको मोहलाई जोगाएर राखेका छन् । जहाँ रहे पनि आफ्नो भाषा संस्कृति, भावना पहिचानलाई संरक्षण गर्दै यसलाई विश्व व्यापक बनाएर योगदान पुर्याएका छन् । अहिले डायस्पोराबाट नेपाली साहित्यको भण्डारमा धेरै नवीन कृतिहरु थपिएका छन् ।
केही बरिष्ट साहित्यकारले भनेका छन् वैदेशिक रोजगारमा रहेका नेपालीहरुले साहित्यकार र कृतिको संख्या चै बढ्यो तर नेपाली साहित्यको स्तर र गरिमा चाहिँ घटेको कुरालाई कसरी बुझ्न सकिन्छ अनि यसबारे तपाई के भनु हुन्छ ?
यो प्रश्न आफैमा गम्भीर छ, यसो भनिरहदा ती बरिष्ट भनिएकाहरुले के विर्सनु हुँदैन भने भाषाको कारोबार बढी हुँदा मात्रै भाषाको परिमार्जन र शब्दको विकास र भण्डारनमा योगदान पुग्छ । त्यसको अर्थ जेजस्तो स्तरमा साहित्य लेखन भई रहेको भए पनि नेपाली भाषाको श्रीवृद्धिमा त्यसले योगदान पुराई रहेको छ भन्ने हो । हो, वैदेशिक रोजगारमा रहेकाहरुले धेरैले स्तरीय साहित्यको सृजना गर्न सकेका छैनन्, यसका पनि विभिन्न कारण छन् । वैदेशिक रोजगारमा रहेकाहरुको साहित्य लेखन कुनै विद्यालय र विश्वविद्यालयका छात्रछात्रा र अध्यापकहरुको होइन, त्यो त स्वतः अभिव्यक्त भएको पीडा र खुसीका भावनाहरु हो ।
बरिष्ट विद्वान महोदयहरुले ती सबै पीडा र खुसीका अभिव्यक्तिमा खोज्नु भएको स्तर नपाईएला तर पाइएकाहरुलाई त सही मुल्यांकन र विश्लेष्ण गरिदिनु पर्यो,मेरो अनुरोध छ । यदपि लेखक श्रष्टाहरुले जहाँ पुगे पनि आफ्नो बौदिक क्षमता, आफ्नो अध्ययन, साधनलाई ध्यान दिनुपर्छ । आफ्नो बौदिक क्षमता बृदी भएपछि मात्र स्तरीय रचना सिर्जना गर्न सकिन्छ ।
नेपाली साहित्यले अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाउँन नसक्नुको कारण के होला ?
नेपाली साहित्यले अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त गरिरहेकै छ । विश्व अहिले भर्चुअल साहित्य लेखनमा अभ्यस्त भइरहेको छ । यस अवस्थामा नेपाली साहित्य लेखन पनि प्रभावित नहुने कुरै भएन, प्रभावित मात्रै नभएर भूमण्डलिकृत विश्वमा संगसगै उभिने प्रयास पनि गरिहेको छ । डायसपोराको साहित्यमा भर्चुअल लेखनको धेरै योगदान छ । यो कुरा गरिरहनुको अर्थ नेपाली साहित्य अन्तर्राष्ट्रिय मंचमा उभिन्ने उपक्रममा छ । विश्वका प्रचलित भाषामा नेपाली साहित्यको रुपान्तरण नगन्य मात्रामा भएकाले हामी कस्तुरी भएका छौ । तर पनि पारिजातको सिरिषको फूल अमेरिकाको म्यारिगोल्ड युनिभर्सिटीमा पढाई हुन्छ । डाइममण्ड शमशेरको सेतो बाघ फ्रान्समा पढाइ हुन्छ । अमेरिकाको विद्धान   माइकल हर्टले भूपी शेरचनको कविता, लक्ष्मी प्रसाद देबकोटाको मुना मदनलाई अग्रेजीमा अनुवाद गरेका छन् । हामीले आशाबादी हुनु पर्छ । हाम्रो साहित्य कमजोर भएको भए त्यस्ता विद्वानहरुले हाम्रो भाषाका साहित्यहरु अन्तराष्ट्रिय भाषामा रुपान्तर गर्दैनथे होला । अमेरिकामा पारिजातको शिरिषको फूल पढाई हुनु यसको ज्वलन्त प्रमाण हो ।
तपाइले पढ्नु भएको साहित्यिक कृतिहरु मध्ये सबैभन्दा बढी मन परेको कुनै ५ कृति के के हुन् ?
मलाई मन पर्ने कृतिहरु त धेरै छन् । ५ वटा मात्र भन्नु पर्दा
विश्वेश्वरप्रसाद कोइरालाको “मोदी आइन”
शङ्कर लामिछानेको “अब्सट्याक चिन्तन प्याज”
भूमि शेरचनको “घुम्ने मेच माथि अन्धो मान्छे”
पर्ल एस वर्कको “द गुड अर्थ” (कल्याणी धर्ति)
लियो टोल्सटायको “वार एण्ड पिस” ।
उदाउदै गरेका नव साहित्यिक प्रतिभाहरुलाई  केहि सन्देश छ कि ?
उदाउदै गरेका नव साहित्यिक प्रतिभाहरुले गम्भीर साधना, तपस्या अध्ययन गर्नु आवश्यक हुन्छ । उनीहरुको लेखनमा नयाँ पन आउनु जरुरी हुन्छ । पुरानै र अरु हिडेका बाटो पछ्याएर साहित्यमा नयाँपन आउदैन । उनीहरु आफू हिड्ने नयाँ बाटो आफैँ अन्वेषण गर्न सक्नु पर्छ । नेपाली साहित्यमा नयाँ प्रयोग र नविन उदाहरण स्थापित गर्न सक्नु पर्छ । अबका पिढीले नेपाली साहित्यलाई बहु आयामिक बनाउने दिशातर्फ गतिशील बन्नु पर्छ ।

एक हिसाबले बन्द जस्तो रहेको नेपाली समाजबाट इजरायलको खुल्ला र नारी अधिकारले मान्यता पाएको देशमा लामो समय बसेको अनुभवलाई कसरी मुल्यांकन गर्नु हुन्छ ? यसले नेपाललाई दिने महत्वपूर्ण सन्देश के हुनसक्छ ?
पुरुषप्रधान समाजमा हुर्किएका हामी नेपाली इजरायलमा नारी माथि गरिने व्यवहार नारी स्वतन्त्रता देखेर अत्यन्तै खुशी लाग्छ । इजरायलमा महिलाहरुले शिक्षा, स्वास्थ्य, सामाजिक राजनीति, आर्थिक , सैन्य क्षेत्रहरूमा निक्कै उन्नति गरेका छन् । यहाँका कार्यकारी पदमा पुरुषको तुलनामा महिलाहरु ५२ प्रतिशत बढी छ । इजराइल भएका महिलाहरु मध्ये करिव एक तिहाइ महिला न्यायिक क्षेत्रमा कार्यरत छन् । शैक्षिक क्षेत्रमा ४७ प्रतिशत महिला भएको तथ्यांकले देखाउँछ । महिलाहरु ठुला ठुला पदमा रहेर राम्रो काम गरेकोले नै देश विकास भएको हो झैँ भान हुन्छ । यहाँको स्वतन्त्रता समान ब्यबहार देखेर एक दशक पूरा हुन्जेल पनि काम गरिरहेकै छु । यहाँ सानो होस् या ठुलो घरभित्रको काम होस् बाहिर सबै कामको सम्मान गरिन्छ । केही दशक यतादेखि युवायुवतीहरू विदेश जाने क्रम बढिरहेको छ ।
नेपाली महिला घरदेशको चुलोचौको र कामकाजमा मात्र सीमित नरहेर परदेशसम्म पुगेर अर्थोपार्जन, शिक्षा आर्जन गरी परिवार, समाज र राष्ट्रलाई टेवा पुर्याइरहेका छन् । चुला चौकामा सिमित महिलाहरुले पनि यहाँ आएर धेरै कुरा सिक्ने मौका पाएका छन् र व्यक्तित्व बिकास गरेका छन् । इजरायल एक सानो मुलुक हो र यसले स्थापनाको मात्र ६८ बर्ष पुरा गरेको छ । अनि यसको विकास हेर्ने हो भने युरोपियन देशको दाँजोमा बराबरी जस्तै छ । तर इतिहास बोकेको हाम्रो देश आज पनि कछुवाको तालमा छ । हाम्रो देशका महिला पनि सचेत हुन् पर्यो । हाम्रो देशका महिलाहरुलाई पनि पुरुष जतिनै समान ब्यबहार गर्नु पर्यो । कोटाको आधारमा मात्र नभएर सक्षम व्यक्तिको क्षमता अनुसारको काम दिनु पर्यो अनि मात्र देश विकास हुन्छ । संसारको इतिहास हेर्दा थाहा हुन्छ जुन देशका महिलाहरु अगाडी बढेका छन् त्यो देश बिकसित भएको छ ।
पर्यटन तथा संस्कृतिक सद्भाव राजदुतको रुपमा बन्द जस्तो रहेको महिलाहरुको लागि संसारमै सुरक्षित इजरायलको रोजगारी खुलाउने केहि पहल हुदै छ कि ?
महिलाहरुको लागि संसारमै सुरक्षित इजरायलको रोजगारी खुलाउने भन्दा पनि नेपाल सरकार बन्द नभएको दाबी गर्छ । जी टु जी मार्फत कामदार ल्याउने काम भैरहेको छ । जुन रुपमा पहिले आएका थिए त्यो रुपमा भने आएका छैनन् । सम्बन्धित निकायलाई सचेत तुल्याउने र झक्झक्याउने काम भने म गरिरहेको छु ।
अनि नवनियुक्त महामहिम निरन्जन थापासंग योबारे के कस्तो छलफल हुदैछ तपाइको ?
अलिअलि कुरा भैरहेको छ बिस्तृत छलफलला लागि अनुकुल समयको प्रतीक्षामा छु ।
धेरै जसो सगरमाथा नेपालमा पर्छ र बुद्द नेपालमा जन्मेका हुन् भनेर प्रचारप्रसारमा मात्रै गरिएको पाइएको छ । यस्ता प्रचारले मात्रै अपेक्षित रुपमा बिदेशी पर्यटकहरु नेपाल गएका छैनन्, बढी भन्दा बढी इजरायली पर्यटकहरु नेपाल भित्र्याउन तपाई इजरायलको लागी पर्यटन सद्भावना दूत भएको नाताले तपाईसँग के कस्तो योजना छ ?
सगरमाथा नेपालमा पर्छ र बुद्द नेपालमा जन्मेका हुन् भनेर प्रचारप्रसार गर्नु भनेको एउटा पाटो हो । हाम्रा देशका अन्य थुप्रै महत्वपूर्ण तथा प्रचार प्रसार नभएको स्थानको बारेमा सुसुचित गरेर इजरायली पर्यटकलाई नेपाल भित्र्याउने प्रयत्न गरिरहेको छु । हाम्रो देशको संस्कृति सम्पदा झल्काउने खालको र्याली इजरायलको हाइफा शहरमा सम्पन्न भएको छ । यस्तै कार्यकम अन्य क्षेत्रमा पनि गर्ने योजना छ । यहाँका ट्राभल एजेन्सीहरुमा पनि पम्प्लेट पर्चाहरु बाँडिएको छ । नेपालको पर्यटकीय क्षेत्रहरुको बारेमा छोटो क्लिपहरु बनाउने योजनाहरु छन् । पर्यटन प्रवर्धनका लागि सबैभन्दा भन्दा ठुलो प्रचार माउथ टु माउथ हो । एक जनाले १० जनालाई भन्यौ भने १०० जनाले दश दश गर्दा लाखौ लाख हुन् सक्छ ।
तपाई हामीले कार्य गर्ने भनेको सामूहिक रुपमा नै हो । किनभने सामूहिक सोच र एकिकृत भावना सहितको कार्यले नै कुनै पनि उद्देश्यमा सार्थक परिणाम ल्याउन मद्दत गर्छ भन्ने मलाई लाग्छ । बिदेशमा रहेका हजुर हामी सबैले संस्थागत रुपमा होस् वा व्यक्तिगत रुपमा नै किन नहोस, हरेक तवरबाट आ-आफ्नो किसिमले नेपालको समग्र उन्नतिका लागि काम गरिरहेका छौ । मलाई बिश्वाश छ हाम्रो एकिकृत सोचले नेपालको पर्यटन क्षेत्र मात्रै होइन सामाजिक लगायतका समग्र क्षेत्रको बिकासमा महत्वपूर्ण योगदान पुग्नेछ । सामूहिक भावाना र प्रतिवद्धताबाट हामी परिणाममूखी कार्य गर्न सफल सक्नेछौं ।
इजरायलवासी नेपालीलाई केहि सन्देश र नवनियुक्त महामहिम राजदुत थापालाई केहि सन्देश दिन चाहनुहुन्छ कि ? र अन्त्यमा हामीले सोध्न बिर्सेको र तपाइलाई भन्नु मन लागेको केहि कुरा छ भन्ने राख्न सक्नु हुन्छ ?
इजरायलवासी जुन रुपमा देशका लागि परेको बेलामा एक ढिक्का भएर हामी जुटेका छौ । देशको उन्नयनको लागि हामी सबैले टेवा पुर्याउ भन्ने मेरो पनि मनसाय हो र त्यही रुपमा हामी कृयाशील छौं । जहाँ भए पनि नेपाल र नेपालीको शीर उच्च पार्ने काम गरौ भन्न चाहन्छु । नवनियुक्त महामहिम राजदूत निरन्जन थापालाईज्यूलाई सर्वप्रथम इजरायलमा स्वागतम भन्न चाहन्छु । नेपाली कामदारहरुको इजरायलमा पनि धेरै समस्याहरु छन् त्यसलाई पनि बुझेर अध्ययन गरेर समस्या समाधान तिर ध्यान पुगोस भन्न चाहन्छु । नेपाली राजदुतावासबाट इजरायलवासी नेपालीहरुले आफ्नो सुखदुखमा अभिभावकको भूमिका पावोस् । साथै हाम्रो देशको नेपालका लागि केहि राम्रा कामहरु होस् भन्ने अनुरोध गर्दछु ।  मेरा केहि विचार राख्ने अवसर दिनु भो यसका लागि यहाँ लगायत पाना संवाद टिमलाई हार्दिक धन्यवाद !
प्रकाशित मिति – शुक्रवार , १६ अषाढ २०७४

मुक्तकहरु

0 राय सुझाबहरु
मुक्तकहरु
१) 
 अमूल्य यो जिन्दगीलाई भार नसम्झ 
 जस्ले पनि कुल्चि हिड्ने झार नसम्झ !
 बिजय र पराजय भैरहन्छ जिन्दगीमा - 
एक दुइ पल्ट हार्दैमा सधैंको हार नसम्झ !!
 २) 

नदीझैं बहन्छ आँशुको झरी विरही यो प्रवासमा 
तिम्रै त्यों मुहार यी आँखाभरी याद हर श्वासमा ।
 क्षितिजमा कोही पर्खिरैछ,ज़िन्दगी कतैअल्झिरैछ-
 सम्हालिन खोज्छु,चन्चल मन उडिदिन्छ आकाशमा ।।
 ३) 

आँशु दिई हाँस भन्छौ;मृत्यु दिई बाँच भन्छौ 
 चोट चोट पाए पनि मनमा माया साँच भन्छौ । 
 कैले समय कैले भाग्य सही हुन्न जीवनमा-
 गहभरि जीवन बगाई धुनविनै नाँच भन्छौ ।। 

 ४) 
 कैले लाग्छ मुस्कुराउँ फूलसँगै हाँसिरहूँ
 रंगी चंगी पुतलीझैं उडी उडी नाँचिरहूँ ।
 फूल जस्तै जिन्दगी नि ओइलिएर जान्छ- 
भोलि देख्ने को छ आजै रमाएरै बाँचिरहूँ ।।

 ५)

 मिर्मिरेमा आँखा खोल्दा पवनको बहाव थियो 
 क्षितिजपारी बिरानीमा मात्र तिम्रै अभाव थियो 
 तिम्रै तस्वीर आँखा भरी भरी सजाएर राखिरहें-
 चुम्दै थिए झुल्के घामले त्यहाँ तिम्रै प्रभाव थियो !!
 ६)
 प्रेमानुभूतिको अगम्य आकाश त जीवनको सार हुन्छ
 मोह, वात्सल्य, अनुराग त परिस्थिती अनुकुल चल्दछ । 
चोखो मन,पवित्र प्रेमको नाप तौल र आकार हुन्न- 
दिब्य प्रेम स्थाई रुपमा एकनाश अबिरल बहिरहन्छ ।।
 ७) 
हामीले प्रयोग गर्ने हरेक शब्दको अर्थ हुने गर्छ
 हामीले बोल्ने हरेक अर्थहरूमा तर्क हुने गर्छ ।
 देख्नेहरूलाई लाग्न सक्छ ऊ धेरै हाँस्दै छ -
 तर हाँस्नेहरुको दिलमा पनि त दर्द हुने गर्छ ।।

 ८)
 जिन्दगीमा कति हसाँउने त कति रूवाउनेहरू भेटिन्छन् !
  कहिँ लुट्नेहरू भेटिन्छन्, कहिँ लुटाउनेहरू भेटिन्छन् ।
 सम्बन्ध बिश्वास विना शुरू हुन्न,धोका विना अन्त्य हुँदैन -
 मायाले नै चल्छ संसार भन्दै मन मुटु लुटाउनेहरू भेटिन्छन् ।

 ९)
 जित्नेहरूले एकछिन उत्सव मनाउलान् मृत्यु जित्ने होइनन् 
हार्नेहरूले पनि एकछिन निरास हुनु पर्ला जीवन हार्ने छैनन् ।
 दुखमा नआत्तिनु, दुखले सुख ल्याउँछ, हारले जीत ल्याउँछ- 
तर आफू जलेर उज्यालो पार्ने बत्तीमा तेल थप्ने कोही भएनन्। 

भगवती बस्नेत