Saturday, January 29, 2011

सहिदको सम्झनामा (कविता)

प्रतिकृया:- 
सहिदको सम्झनामा

वसन्तको पालुवा लहलहाउन
लालायित बन्दै गर्दा
शिशिरको निर्मम अत्याचारले
क्षतविक्षत हुँदै
कठोर क्रुरतासँग जुध्दै
कठाङ्ग्रिदै पनि जीवन्त बनी
उहि माटोमा समाहित हुन्छन् ।

त्यसरी नै,
अन्याय, अत्याचार गरेर
ज्वालामुखीको सिम्फोनी रचेर
युगौंयुगसम्म अन्धकारको घुम्टोमा
निरंकुश तानशाह लादेर
रमाउन चाहने तानशाहको सपना तोड्दै

हजारौं आमाका काख रित्याएर
हजारौं सधुवाको सिन्दुर पखाल्दै
हजारौं अवोधलाई टुहुरो बनाई
थुप्रै जँघार-भंगाला तरेर,
गोली बारुदको गन्धसँगै
नयाँयुगको शंखनाद गर्न
कतै आँधी भएर
कतै तुफान र सुनामी भएर
जन्मनुको अर्थसिद्ध पार्न
आफ्नो प्राण आहुति दिन्छन् ।


आफैंलाई समर्पित गरेर
कतै झुण्ड्याएर, कतै गोली हानेर
जस्तोसुकै सजायमा पनि
आफ्नो मृत्युको शंखघोष गर्दै
आफ्नो प्रत्येक संवादमा
अन्धकारविरुद्ध मृत्युवरण गरेका सपुतहरु...।

शिशिरको जाडोले कठ्यांगि्रएर
रुखका पातहरु
माटोमा मिल्छन्
तब ती पातका रगतले पोषित भई
फेरि नयाँ सुन्दर फूल फूल्छन् ।


त्यसरी नै
यस धर्तीमा वीर सहिद
युगौं युगसम्म फुल्दै
यसैको सुगन्धमा
युगको मुटुभरि फैलिरहन्छन् ।
आफ्नै देशको सवतन्त्रताका लागि
आफ्नो ज्यान हाँसी हाँसी
समर्पण गरेका छन्
ती वीर सहिदको समर्पित
ज्यानको बलिदानले
हरेक पुस्ताले गुण गाइरहनेछन्

उनीहरुकै अनुशरण गर्दै,
मनभित्रैदेखि सहास बटुली
निडर भएर अन्याय
अत्याचार, दमन सहने छैनन्
हाम्रा ज्ञात अज्ञात वीर सहिद
सदैव
अजर अमर रहनेछन्/हुनेछन्...




No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼