Friday, March 4, 2011

भावपूर्ण श्रदान्जी प्रजातन्त्रका सेनानी किसुन जीमा।

प्रतिकृया:- 
"नेपालले गुमाए अर्को स्वर्णीम ताज
बिरहको बेदनामा डुब्दै छ देश आज !
भावपूर्ण श्रदान्जली कामना चिर शन्तिको
प्रजातन्त्रको सेनानी रहेनन हामी माझ !!"

११ बजेर २६ मिनेट जाँदा सन्त नेता किसुनजीको निधन

काठमाडौं, फाल्गुन २१ - कांग्रेस संस्थापक एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शुक्रबार मध्यरातमा निधन भएको छ । उनको उपचारमा स‌लग्न चिकित्सहरुले राती ११ बजेर २६ मिनेट जाँदा निधन भएको घोषणा गरेका हुन् ।

'राती ११ बजेर २६ मिनेट जाँदा उहाँको निधन भयो' उपचारमा स‌लग्न डा. भरत रावलले कान्तिपुरस‌ग भने, 'उहाँलाई बचाउन गरिएको सबै प्रयासहरु सार्थक हुन सकेन
किसुनजी अर्थात कृष्णप्रसाद भट्टराईले आफ्नो पुरै जीवन राजनीतिक आरोह अवरोहमा विताए । मुलुकमा प्रजातन्त्र बहालीको लागि अनवरत स‌घर्षको पर्याय नै बने । उनले आफ्नो जीवनमा घात, प्रतिघातहरु खेपे तर, कहिल्यै प्रजातन्त्रप्रतिको निष्ठामा आँच आउन दिएनन् । राजनीतिले जनविश्वास गुमाउँदै गएको यो घडीमा राजनीतिमा त्याग, निस्वार्थ तथा इमान्दारिताको पर्याय बनेका किसुनजी सबैका लागि पथ प्रदर्शक बनि रहने छने ।

नेपाली राजनीतिका शिखर पुरुष एवं सन्त नेताका रूपमा परिचित कृष्णप्रसाद भट्टराईको जन्म भारतको वनारसमा भएको हो । उनको बाल्यकाल, शिक्षा र राजनीति समेत वनारशबाटै सुरु भएको थियो । उनको जन्म १९८१ पुस कृष्ण एकादशीका दिन भएको हो । बाबु संकटाप्रसादका दुई श्रीमतीबाट ४ छोरा र ५ छोरी मध्ये आमा ललिताका सन्तान हुन्, कृष्णप्रसाद । ६ दसक लामो राजनीतिमा सक्रिय रहेका भट्टराईलाई कांग्रेसका नेता तथा कार्यकर्ताले बोलाउने प्यारो नाम हो– किसुनजी ।

भट्टराईका पुर्खा राजपुरोहितको काम गर्थे । गोर्खाका पुरोहित यज्ञेश्वर भट्टराईका छोरा श्रीपति भट्टराई श्री ५ पृथ्वीनारायण शाहसंग काठमाडौंमै आएर दरबारमा पुरोहित भई बसेका थिए । त्यसपछि उनका सन्तान क्रमशः विष्णुहरि, कृष्णलाल, मोदिनीधर, कमलकान्त, विश्वानाथ हु“दै पछिल्लो पुस्ताका सन्तान हुन् संकटाप्रसाद । संकटाप्रसादका चार छोरा नै प्रजातान्त्रिक आन्दोलनमा होमिए । कान्छ कृष्णप्रसाद भने नेपालको प्रजातान्त्रिक आन्दोलनको अगुवा हुन पुगे ।



राती ११ बजेर २६ मिनेट जाँदा उहाँको निधन भयो'



‘राजनीतिक दशर्ननले मात्रै देश विकास र आधारभूत मानव अधिकारको प्रत्याभूति सम्भव छैन, त्यसका लागि त्याग, तपस्या, समर्पण र प्रतिबद्धता त्यतिकै आवश्यक हुन्छ’ कृष्णप्रसाद बारम्बार भन्ने गर्थे । त्याग र सपर्मणलाई व्यवहारमानै उतार्ने प्रयास गरेका भट्टराई नेपाली राजनीतिक फा“टमा विरलै रहेका निष्ककलंक राजनेता हुन



१८ बर्षको विद्यार्थी उमेरदेखिनै भट्टराई सक्रिय राजनीतिमा होमिएका थिए । विद्यार्थी कालदेखिनै उनी किसनुजीको नाममा चिनिन्थे । भट्टराईले सक्रिय राजनीतिको जीवन १९४२ को भारतको स्वाधिनताको लागि भएको भारत छोड आन्दोलनमा प्रत्यक्ष भाग लिएपछि सुरु भएको हो । त्यस आन्दोलनमा भाग लिएका कारण उनलाई तत्कालिन अंग्रेज शासकले एक महिनाको जेल सजाय समेत दिएको थियो ।

वनाराशमा स्नातक गरेर एमएको अध्ययन गर्दागर्दै भट्टराईको वीपी संग सन १९४६ अगष्टमा त्यही“ भेट भएको थियो । विश्वविद्यालय अध्ययनका क्रममा उनी नेपाली छात्रा संघको अध्यक्ष र अखिल भारतीय विद्यार्थी कांग्रेसको सचिव समेत बनेका थिए ।

सन् १९४७ मा जनवरी २५ मा कोलकक्तामा उद्घाटन भएको नेपाली राष्ट्रिय कांग्रेसको महामन्त्रीमा उनी चुनिए । २००६ साल चैत २७ गते जनरल सुवर्णशमसेरले नेतृत्व गरेको प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसको कलकत्तामा एकिकरण भयो । त्यसपछि पार्टीको नाम नेपाली कांग्रेस राखियो ।

२००६ साल भदौ २६ र २७ गते भारतको विहार प्रान्तमा विशेष अधिवेशन गरेर प्रजातन्त्र स्थापनाका लागि नेपालमा सशस्त्र क्रान्ति गर्ने निर्णय लिईयो । भट्टराईलाई सशसत्र क्रान्तिको नेतृत्वको जिम्मा पार्टीले दिएको थियो । भट्टराई र रुद्र गिरीको नेतृत्वको मुक्ती सेनाले २००६ माघमा उदयपुरगढी कव्जा समेत गरेको थियो । भट्टराईकै नेतृत्वमा रहेको मुक्ती सेनाले जनकपुर, महोत्तरी क्षेत्रपनि कव्जामा लिएको थियो ।

२००७ साल फागुन ७ गते प्रजातन्त्र प्राप्तीपछि राजा त्रिभूवनले शाही घोषणा मार्फत विधान निर्माण गर्नका लागि गठन गरेको ३५ सदस्यीय विधान सल्लाहकार सभाको अध्यक्ष बनाएका थिए ।

भट्टराई २००७ सालदेखि स्थायी रुपमा काठमाडौं बस्न थालेका हुन । त्यसअघिको जीवन उनको वनराशसमै वितेको थियो । काठमाडौं आएपछि केही समय गणेशमान सिंह र सुर्यप्रसाद उपाध्यायका साथ बसे ।

प्रखर बौद्धिकता र कुटनीतिक क्ष्ँमता एवं सुझबुझ भएका नेता भट्टराई त्यसबेलाको संसदीय शासन व्यवस्थामा कुशल नेतृत्व दिएका थिए । २०१७ साल पुस १ गते तरुण दलको सभा हुँदाहुँदै वीपी कोइरालासंगै अधिवेशनस्थल त्रिपुरेश्वरबट उनी पक्राउ परेका थिए । त्यसपछि तकालिन पंचायती शासनले उनलाई निरन्तर दश बर्ष जेल सजायाँ दिईयो । जेलबाट निस्कन धेरै नेताहरुले तत्कालिन शासकसंग कागज गराए । तर भट्टराई कागज गराउन नमान्दा थप दुई बर्षको जेल तोकियो । प्रजातन्त्र स्थापना र पुर्नस्थापनाको अवधिमा सघर्ष गर्दा भट्टराईले आफ्नो जीवनमा १४ बर्ष भन्दा बढी जेल जीवन विताएका छन ।

भट्टराई राजनीतिको प्रेरणाको स्रोत कसैलाई मान्थेनन । कसैले राजनीतिक प्रेरणा को थियो भनेर सोध्यो भने भट्टराई आफ्नो चेतना र सम्पर्कले यस क्षेत्रमा लागेको बताउ“थे । तर उनी केही महात्मागान्धी, केही नेपोलियन, केही वीपी र केही गणेशमानका विचार मन पर्ने बताउँथे ।

०१२ देखि ०१४ माको सत्याग्रहमा भट्टराईले नेतृत्वदायी सक्रियता देखाएका थिए । उनको परिचय राजनीतिज्ञको रुपमा मात्रै सिमित रहेन । समाजवादी चिन्तक, विधायक, पत्रकार र लेखको रुपमा समेत रह्यो ।

२००७ सालमा प्रजातन्त्र स्थापनापछि वनाराशबाट निस्केएको युगवाणी साप्ताहिक र नेपाल पुकारका सम्पादक समेत भए । उनी नेपाल पत्रकार महासंघको पहिलो सभापति रहेका थिए । भट्टराईको छवि कुशल पत्रकारको रुपमा समेत रहेको छ । उनी नेपाल पत्रकार महासंघको प्रथम सभापति समेत बनेका थिए ।

वि.स २०१५ सालको आम निर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत ल्याई सरकार गठन गरेपछि भट्टराई प्रतिनिधि सभाको पहिलो सभामुख समेत बने ।

भट्टराईले २०२७ बैशाख ६ गते नेपाल विद्यार्थी संघ स्थापना समारोहको उदघाटन गरेर विद्यार्थीलाई राजनीतिक अन्दोलनमा सक्रिय बनाएका थिए । २०३४ मा सम्पन्न भएको पटना सम्मेलनमा वीपी कोइरालाले स्वास्थ्यको कारण देखाई भट्टराईलाई नेपाली कांग्रेसको कार्यबाहक सभापति बनाएका थिए । वीपीको निधनपछि २०३९ मंसिरमा गणेशमान सिंह निवास क्षेत्रपाटीमा सम्पन्न सम्मेलनबाट उनी पुनः कार्यबाहक सभापति चुनिए । कार्यबाहक सभापतिकै रुपमा भट्टराईले डेढ दशक पार्टी नेतृत्व गरे । पार्टीको आठौ महाधिवेशन २०४८ को कलबलबुढी झापाले सर्वसम्मतबाट भट्टराईलाई सभापतिमा निर्वाचित गरेको हो । २०५३ सम्म सभापतिको पद सम्मालेका थिए ।

भट्टराईकै सभापतित्व कालमा २०४२ को देशव्यापी सत्याग्रह र २०४६ को जनआन्दोलनको घोषणा भएको थियो । प्रजातन्त्र पुर्नस्थापना भएप्छि उनी पहिलो अन्तरिम कालिन प्रधानमन्त्री बन्न पुगे । भट्टराईले त्यतिबेला सर्वोच्च नेता गणेशमान सिंहलाई प्रधानमन्त्री हुन प्रस्ताव गरेका थिए । तर, गणेशमानले प्रधानमन्त्री अस्विकार गरेपछि भट्टराई प्रधानमन्त्री बन्न पुगेका थिए । त्यसबेला अन्तरिम संक्रमणकालिन विकट परिस्थितलाई भट्टराईले सफलताका साथ सम्मालेका थिए । भट्टराईले एक बर्षभित्रै संविधान निर्माण र निर्वाचन सम्पन्न गरेर संवैधानिक राजा र जनताद्धारा आफूलाई सुम्पिएको काम सफलताका सम्पन्न गरेका थिए । उनले आफू पराजित भएर पनि निर्वाचन निष्पक्ष बनाउने भूमिका खेलेका थिए । २०१५ मा गोर्खाबाट र २०४८, २०५० र २०५१ मा काठमाडौं क्षेत्र नं १ बाट निर्वाचनमा पराजित भएका थिए । पराजयको ऐतिहासिक पुष्ठभूमिलाई लिएर कांग्रेस कार्यकर्ताहरु ‘भट्टराइ मनिटर’मा निर्वाचन नजितेको भनेर चर्चा गर्दथे ।

उनले ०५६ को आम निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नं १ बाट पहिलोपटक चुनाव जितेका हुन । चुनावमा सफलता हासिल गरेको जीवनमा त्यही थियो । त्यतिबेला भट्टराईलाई भावी प्रधानमन्त्रीको घोषणा गरेर पार्टी निर्वाचनमा होमिएको थियो । पार्टीले बहुमत ल्याएपछि उनी दोस्रोपटक प्रधानमन्त्री बने । तर पार्टीभित्रकै विभिन्न आन्तरिक द्धन्द र कलहका कारण एक बर्ष नपुग्दै भट्टराईलाई पद त्याग गर्न बाध्य पारियो ।

स्थापनाकालदेखिनै वीपी, सुवर्ण शमशेर र गणेशमान सिंह तीनैजना नेताहरुसंग समान रुपमले काम गरेका भट्टराई अहि‌सात्मक आन्दोलनबाट प्रजातन्त्र स्थापना गर्न सकिन्छ भन्ने दृढ अठोट र संकल्प बोकेका थिए । पार्टीको आन्तरिक कलह बढ्दै गएर २०५८ मा शेरवहादुर देउवा प्रधानमन्त्री भएकै बेला उनकै नेतृत्वमा पार्टी विभाजित भएपछि भट्टराई सवैभन्दा दुःखित भएका थिए । पार्टी विभाजनपछिनै उनले सक्रिय राजनीतिबाट विस्तारै विश्राम लिएका हुन ।

२०५० उपनिर्वाचनमा पार्टीकै अन्तघातबाट भट्टराईलाई हराएपछि उनलाई त्यतिबेलै पार्टी फुटाउने उक्साउने नेताहरु धेरै थिए । त्यसका लागि केन्द्रीय समितिमा दुई तिहाई र संसदीय दलमा ४५ प्रतिशत भन्दा बढी सदस्यको हस्ताक्षर समेत तयार गरिएको थियो । तर उनले त्यति बोल भनेका थिए–‘बरु म मेटिन तयार छु, तर पार्टी फुटाउदिन ।’

राजा ज्ञानन्द्रले सम्पुर्ण शासन सक्ता आफ्नो हातमा लिएपछि पार्टीले गणतन्त्रको लाईन पास गर्यो । त्यस निर्णय उनलाई मन नपरेपछि उनी पार्टीका गतिविधिमा समेत सामेल हुन छाडे । प्रजातान्त्रिक आन्दोलनका लागि राजाहरुबाटै कठोर यातना पाएका भट्टराई मृत्यु पर्यन्त संवैधानिक राजतन्त्रको आफ्नो विचार त्यागेनन । मुलुक गणतन्त्रमा गईसकेपछि पनि भट्टराईले संवैधानिक राजतन्त्रकै वकालत गरे ।

जुन विचारका कारण उनी पार्टीको मुलप्रवाहबाट एक्लिन पुगे । आधा सताव्दी भन्दा लामो राजनीतिक जीवनको कठिन यात्रामा सघर्ष गरेका भट्टराई । उनलाई ०५४ सालमा मानवअधिकारवादी सस्थाहरुले मावनअधिकार योद्धा सताव्दी पुरस्कार र सम्मान प्रदान गरेका छन ।

पानका अम्मली भट्टराई

भट्टराई पानका अम्मली थिए । उनलाई दैनिक पान चाहिन्थ्यो । उनी पान खाएर राता दाँत देखाउदै कार्यकर्ता र नेताबीच ठट्यौली पारमा बोल्थे । उनको पान खानी बानीले पान संस्कृतिको विकास समेत गराएको थियो । उनी कहिले ‘अविविवाहित भएपनि कुमार होइन’, कहिले आईमाई र मौसमको भर हुदैन त कहिले ‘म भारतमुखी हुँ’ भनेर चर्चामा आइ रहन्थे । उनी पछिल्लो समय सवैधानिक राजतन्त्रको वकालत गर्दै ०४७ सालको संविधान व्यूताउनु पर्ने माग समेत गरेका थिए । जीवनभर हास्यरसमा स्वाद लिने किसनुजीका बारे दुनियाँले आफ्ना धारणा बदलिरहेपनि उनले भने कहिल्यै आफ्नो धारणा बदलेनन ।

अल विदा किसुनजी

साभार संचार दर्पण

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼