Monday, August 1, 2011

अर्को आरम्भ

अर्को आरम्भ




शालिन बिद्रोहको थालनी गर्छु

भत्काएर पुरातन मान्यताहरु

चाप र छापहरु

हटाएर मन मस्तिस्कबाट

म भित्रको म लाई प्रत्याभूत गर्दै

परम्परागत यो कुटिल

मानसिकतालाई

हुङँकार दिदै

नविन युग उन्मेषको लागि

आँफैमा आमूल परिवर्तन चाहन्छु ।



टेकेर पाइला पृथ्वीमा

तोते बोलीको सुरुवातसँगै

प्रस्फुटित हुन खोजेका

बैयक्तिक स्वतन्त्रताहरुलाई

अंकुस लगाएर

संस्कारिक रङले धमिल्ल्याउदै

प्रतिबन्धित अवसरहरुसँगको

प्रत्येक असहज मोडहरुमा

समयको प्रवाहसंगै

भेटिने सुरुवात र अन्त्यहरूमा

बारम्बार जुध्न आउने

दृश्यहरूको क्यानभासले

मनका जिजिविषा भत्काउदै

फगत प्रश्न गर्छन्

अब देखि ति प्रश्नका जवाफ दिनु

नदिनुको अधिकार म आँफैमा

सीमित राख्न चाहन्छु ।



के अस्तित्व र औचित्य

मेरो शालीन त्यागको

जहाँ मैले मेरा चाहना

मेरो भावना कुण्ठित गर्नुपर्छ?

आफु जलेर अरुलाई प्रकाश दिनुपर्छ

आफु हारेर अरुलाई जिताउनुपर्छ

प्रकाश र छायाँका झल्को जस्तै

मनभित्रका आवेगहरुलाइ

स्वाभिमानकासाथ

बिजयको हर्षोउल्लासले

रङिगिएको सभ्रान्त साँझ

हेर्न लालयित

झरिला जोवनका

रसिला रहरहरू

गुम्स्याउन उचित ठान्दिन्

नविन चेत र नयाँ

युगको शुभअाराम्भमा

जुरुक्क उचालेर

म भित्रको ' म' लाई

नविन सोचको

सुनौलो बिहानी तर्फ

डोर्याउन चाहन्छु।



No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼