Wednesday, September 14, 2011

समयको आह्वान (कविता)

समयको आह्वान (कविता)

मातृभूमिको अपार मायालाई

मन भरि बोकेर
यो क्षितिज पारीको
बिरानो गाउँको
एकान्तमा
संकलित धैर्यहरूको सहायताले
आस्थाको थुङ्गो लर्काउदै
आफ्नै प्राकृतिक छटाको
अदृष्य मोहनीमा
बेरिएर जीवनका
भग्नावशेषहरूमा

मेरो स्वाभिमानलाई
अंकमाल
गरिरहेछु !

बाध्यता र विवशताको
आरोही
अवरोही छालहरूसँगै
कहिले डुबुल्कि मार्दै कहिले तैरिदैछन्
फक्रने कोशिशमा रहेका
अधकल्चा
अङ्कुरणहरूसँगै
बाँच्नु र बचाउनुको अभीष्टमा
निरन्तर
चक्रहरूका लागि
सगरमाथाको शिर देखि
मृत सागरको किनार सम्म
सुख दु:खको परिवर्तित
भोगाइहरु
सायद जिन्दगीको आभाष !

जीवनका अवयवहरुमा

नयाँ आयम बोकी
नितान्त नबोदित सम्भावनाको खोजी गर्न
स्वतन्त्र भई खुल्ला आकाशमा
युगिन रमाउन खोज्दै
छरेर चेतनाका बीजहरु
परिवर्तनका फल उमार्ने कोसिशमा
अनवरत यात्राको अन्नत हुँकार र लल्कारहरूसँग
अनुभूतिका झस्केलाहरूमा
उकुसमुकुस हुदै
असोचनिय
अबिरल यात्राहरूको
श्रमजिवी कुरूक्षेत्रमा
सप्तरङी सपना बोकेर
बसन्तको बहार ल्याउन
तल्लिन भै रहेछु!

भताभुङ्ग
जिन्दगीको
उराठिलो पाखाभरि
फक्रेका सयपत्रीका सपनाहरू हुर्काउन
रेगिस्तानका मरुभुमिमा
श्रमका पसिनासँगै स्वाभिमान रोपेर
अन्तर-कुन्तरका कुइनेटाहरूको
घुम्ती र दोबाटाहरूमा
जीवनका तिक्तता र रिक्तताहरूसँग
पैठेजोरी खेल्दै
म सिसिफस युद्दरत छु।

भोको पेटमा गरूङ्गो मन बनाएर
उमेरसँगै दुःखको पहाड चढ्दै
हावाको झोक्कासँग कानेखुशी गर्दै
घामको रापमा रापिदै
उपार्जानका बाटाहरु पहिल्याउन
भौतारिएर हिडिरहँदा
छट्पट्टिने मनहरुलाइ सम्हालेर
साहसका अंकुशले काँडा बीचका
फूलहरु टिपेर मनको डाली भर्न खोज्दै
अन्तर आत्माका
अनगिन्ती रहरहरु साकार पार्न
रहर भित्रका सम्भाबनाहरु आफै खोजिरहेछु !

आक्रान्त अशान्त जन्मभुमिमा
शान्तिको बीज बोकेर उडेका परेवा हेर्ने
आतुर यी परेलीहरु
मेरी बुढी आमाको मायाका भंगिमाहरू
स्पर्श गर्न लालायित तनमनहरु
उत्कृट
अभिलाषाको भारी बोकेर
लालिगुराँस
सुगन्धले लठ्ठिएर
सेता
अग्ला हिमालहको
सौंन्दर्यतामा मग्न हुदै
हिमशिखरको काखमामस्तसँग
निदाउने कल्पनामा तैरिरहेको छु
म तैरिरहेको छु!!

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼