साहित्य नै जाति परिचायक दर्पण हो
Dr. Govinda Raj Bhattarai
कतारको दोहास्थित नवोदित साहित्यिक मोवाइल पुस्तकालय तथा अनेसास कतार च्याप्टरद्वारा महाकवि देवकोटाको १०२ औँ जन्मतिथिको उपलक्ष्यमा आयोजित समारोहमा प्रस्तुत विचारपत्र । मितिः कार्तिक २५ शुक्रवार २०६८ (नोभेम्वर ११, २०११) दोहा, कतार
विश्व
परिस्थितिमा अकल्पनीय परिवर्तनहरू आएका छन् । यसको केन्द्रमा इलेक्ट्रोनिक
संस्कृति रहेको छ । यो आउनुभन्दा अझै पहिलेदेखि विश्वमा चलेका
समाज–राजनीतिक परिस्थितिमा आएका परिवर्तनले गर्दा हामीलाई झन् गहिरो प्रभाव
परेको छ । अघि २०४६ सालमा आएको परिवर्तनले उदारताका केही झ्यालहरू खोलेको
थियो भने पछि २०६२ सालको बलिदानी उत्सर्गले मूल ढोका नै खोलिसकेको छ । यिनै
दुइटा कालखण्डले उत्पन्न गरेका परिस्थितिका परिणामस्वरूप आज हामी नेपाली
अनेक महादेशमा वितरित छौँ । यो देशभित्रको सीमित परिवर्तन मात्र नभै
वैश्विक परिवतर्नको परिणाम पनि हो । तपाईंहरू यहाँ अनेक राष्ट्रका
नागरिकहरूले निर्मित एउटा विशाल ग्लोबल समाजमा आएर, खटेर विश्व परिस्थिति
बुझ्दै अडिनु यो एक महङ्खवपूर्ण पक्ष हो ।
यसका राम्रा÷नराम्रा सबै परिणाम
छन् । कारण पनि थिए तर जे भए पनि आज नेपाली जातिले भिन्न परिस्थितिहरू
हेर्ने भोग्ने अनुभव गर्ने अवसर प्राप्त गरिरहेका छन् । यो ठूलो उपलव्धी हो
।
धेरै नेपालीहरु देश वाहिरका अन्य
भूमिमा छन् । यस प्रकारका हाम्रा बहिर्गमनहरू सबै हितकर, लाभदायी एवम्
आकर्षक छन् भन्ने निष्कर्षमा पुग्दा राम्रो हुन्छ; यद्यपि त्यस कर्मसँग कति
दुःखकष्ट पनि जोडिएका छन् । तिनका कारण बुझी निवारण पनि गरिरहनु पर्दछ,
किनकि विकास र ह्रास एकै सिक्काका दुई पाटा हुन् । हामीले सबै कर्मप्रति
आशावादी हुनुपर्छ ।
नेपाली जातिका यस्ता बहिर्गमनहरू
हङकङ, अस्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा, आदि मुलुकमा भएका छन् । यी
अनन्त आकर्षणका कुरा रहेका छन् यद्यपि कल्पना र यथार्थ तुलना गर्दा अर्कै
निचोड पनि आएको छ भने अरू खाडी, मलेसिया, जापान, कोरिया, लगायतका अनेक
देशमा हाम्रा बसोबास अपेक्षाकृत छोटा आवधिक र परदेशको रूपमा परिभाषित छन् ।
अघिल्ला पूर्णकालीक डायास्पोरा हुन् भने यी पछिका आवधिक डायास्पोरा ।
यी हाम्रा परिवर्तित
परिस्थितिप्रति, तदनुकूल भोगाईप्रति हाम्रो दृष्टिकोण पनि उदार हुनुपर्छ
जस्तो लाग्छ । कति मानिस देशलाई माया मार्नेहरू भनी आरोप गर्दछन्, अरू कति
देशमा कामको अवसरसूण्य स्थितिलाई आरोपित गर्दछन् तर आज यस्ता कुनै तर्कहरू
सत्य सावित हुँदैनन् । एक परिवेशबाट अर्काेमा सर्नु, एक भूगोलबाट अर्काेमा
टेक्नु विश्वपरिस्थितिले ल्याएका सामान्य परिणाम हुन् । यो समय गतिशील
भएकाले मानिस पनि अति चलायमान छ । अघिको जस्नो अन्ध राष्ट्रवाद मेटिँदै छ
अनि भौगोलिक राष्ट्रवाद पनि खुकुलो भएको छ, मानिस सारा मिश्रित परिस्थितिमा
छन् । जीवन र बँचाई तरल छ । त्यसकारणले गर्दा यस्तो गतिशीलता सँगै
प्रवाहित भएर यहाँ आउने तपाईंहरू र अन्यत्रका सबैको बहिर्गमनलाई आज
‘ब्रेनड्रेन’ भनिदैन, ‘ब्रेनगेन’ भनिन्छ । देशको निमित्त यो सदा हितकर
रहेको छ । सम्बद्ध व्यक्तिको निमित्त पनि किनकि ऊ पनि तपाईंहरू झैँ व्यापक
संसारमा निस्केर एक विस्तृतिको अनुभव गर्दछ । भिन्नताको वोध गर्दछ । यसबाट
आर्थिक आर्जन मात्र होइन, केही ज्ञान, शिप र मुख्यकुरा गहिरो अनुभव प्राप्त
हुन्छ ।
यस्तो तीब्र गतिको समय र
परिस्थिति भिन्नतालाई एउटा ‘भिन्न यथार्थ’ मात्र भन्नु पर्दछ । यसलाई
सुखैसुखको वा अति दुःखको स्थिति भनी परिभाषित गर्नु उचित हुँदैन जस्तो
लाग्दछ । यस्ता डायास्पोराबाट सिर्जित साहित्य संस्कृतिले ज्यादा दुःख
बेदना ओसार्दछ, त्यहीँ अतीत स्मृति अति गाढा हुन्छ । यसरी नयाँ आतिथेय
भूमिमा पुगेर मूलभूमिको स्मरण गर्नु स्वाभाविक छ । त्यही स्मृतिको
उज्यालोले नै हामी चलिरहेका हुन्छौँ । टाढाको उज्यालोले नदीपारी पनि
आशाण्विन भई प्रतीक्षारत रहनु जस्तै हो । तर यसको उपलब्धी पक्ष नै छोपिने
गरी त्यसो गर्नु पर्दैन ।
यस्ता अन्य मुलुकमा स्थायी रूपले
बसोबास गर्ने प्रावधान भएका भूमिहरूमा नेपाली जातिले मूल संस्कृतिका वियाड
राख्न थालेका छन् कसैले त विरुवा नै हुर्काए र सार्ने बेला पारेका छन् ।
आतिथेय भूमिलाई हाम्रो विरुवा हुर्कियो अब यो रोप्ने ठाउँ दिनोस् भनेका छन्
। कसैले जमिन मागेर त्यहाँ रोपिसके । रुसमा पुग्दा नेपाली दूतावासको
पुस्तकालयमा प्रत्येक हप्ता नेपाली बालबालिकाहरू भेला गराएर नेपाली भाषामा
साक्षर बनाउने, संस्कृतिका पाठ सिकाउने प्रयत्न गरेको देखेँ; अमेरिकामा
ठाउँठाउँमा स्वयंसेवी पाठशाला स्थापना गरी नेपाली भाषा संस्कृति
स्थानान्तरण गर्ने प्रयत्नतिर उन्मुख भएको देखेँ; बेलायतमा नेपाली भाषालाई
विद्यालय स्तरमा पठनपाठन गराउन औपचारिक तवरले कार्यारम्भ गर्न गराउन सरकार
समक्ष अनुरोध पत्र प्रस्तुत गरेको देखेँ; हङकङमा ता औपचारिक रूपले नेपाली
पुस्तक तयार पारी विद्यालयमा पठन पाठन गराएको देखेँ । यी स्थिर प्रकृतिका
नेपाली डायास्पोराका कुरा हुन् । हरेक भाषाभाषीले त्यहाँ त्यस्तै गरेका छन्
। बङ्गाली, उर्दू, तामिल आदि पुरानाहरू धेरै अघि छन् । नेपालीहरू
अपेक्षाकृत रूपले धेरै पछि पुगेका जाति हुँदा त्यो प्रयत्न पछि नै छ ।
यता अरब भूमीका अनेक देशमा कतार,
साउदी, इरान, इजरायल, बहराइन, युएइ, लेबनान आदि मुलुकहरू हाम्रा अस्थायी
डायास्पोरा; अस्थायी कर्मभूमि रहेका छन् । तथापि प्रत्येक केन्द्रमा नेपाली
जातिको ठूलो सङ्ख्या भएकाले होला यतातिर पनि क्रमिक रूपले नेपाली संस्कृति
स्थापना भइरहेको कुरा उता हामी थाहा पाइरहेका छौँ । केही वर्ष अघि अनेक
डायास्पोबाट उत्पन्न हुने नेपाली साहित्यको स्थिति आकलन गर्दा यतातिरको
अर्थात् अरबी मुलुकको नाम त्यति थिएन । आज एकादशक भित्र अवलोकन गर्दा भिन्न
स्थिति विकसित भएको देख्तछु । यी गल्फ मुलुकतिरबाट तीर्थ सङ्गम, ईश्वर
पार्थिव तामाङ, समदर्शी काइला, दीप्स शाह, हेमन्त परदेशी, हरि मानन्धर, उमा
सुवेदी, नयन्द्र चेम्जोङ, मनु लोहरुङ, भगवती बस्नेत, सुमित्रा पौडेल,
सुरक्षा श्रेष्ठ, दीपक भेटवाल जस्ता धेरै साहित्यकारको उदय भएको प्रमाण यता
निरन्तर आइरहेको छ । होमबहादुर क्षत्रीले यतादेखि स्पन्दन जस्तो साहित्यिक
पत्रिकाको प्रकाशन निरन्तर राख्नु भएको छ । हालै माला जस्तो अर्काे स्तरीय
प्रकाशनको पनि थालनी भएको छ; अरू धेरै ब्लग र साइटहरू छन् । म सम्झन्छु—
अस्ट्रेलिया, साइप्रस, फर्मोसा जस्ता अनेक स्थानमा कुनै नयाँ साहित्यिक
कार्यक्रम भएको अथवा प्रकाशनको तयारी भएको खवर निरन्तर आइरहेको छ । नेपाली
साहित्य विषयक राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय कार्यक्रम र घटनाप्रति ठूलो
उत्साहसाथ तपाईंहरूले आफ्नो उपस्थिति प्रकट गरिरहनु भएको छ । यहाँ अनेसास
लगायत अन्य प्रकृतिका साहित्यिक संस्था खुलेका छन् । खुल्ने क्रममा छन् ।
तिनमा तपाईंहरूको संलग्नता छ, सक्रियता छ । देशविदेशका भौगोलिक सीमा
मेटिँदै गएर असीम स्पेसमा परिणत हुँदै गरेको यस समयमा तपाईंहरूले जहाँ भए
पनि हुने गरेका नेपाली साहित्य विषयक गोष्ठी र सम्मेलनमा भाग लिएको, विजयी
भएको देख्तैछौँ । अघिका वेव क्याम कविता प्रतियोगिता, अनलाइन काव्यगोष्ठी
वा राष्ट्रिय कविता÷साहित्य गोष्ठीका अवसरहरू यो साइबर विकासले गर्दा
सबैलाई समान रूपमा प्राप्त हुने भएकाले यो सम्भव भएको छ । हालै धरानमा
सम्पन्न विमल स्मृति प्रतिष्ठानको कविता प्रतियोगितामा पनि उत्कृष्ट दशमा
एक कवि दोहा कतारका राजेश्वर ढकाल रहेका छन् भने यहीँका चर्चित ढुङ्गेल
केही समय अघि सम्पन्न भएको विश्व अनलाइन कविता प्रतियोगितामा प्रथम भएका
थिए । अघिका दिनमा यस्तो संभव थिएन ।
यहाँ नेपालमै साक्षर र शिक्षित भई
आउनेहरूले आत्मप्रकाशनको निमित्त नेपाली साहित्यको सहारा लिएको कुरा
देखिरहेका छौँ । यस्ता आवधिक यात्रीहरूको यस बजारमा पनि सहभाव हुनेहरू बीच
एकता स्थापित गरेर साहित्यले बाँध्ने प्रयत्न गर्नु सानो कुरा होइन ।
तपाईंहरू त्यही गर्दै हुनुहुन्छ । यसै क्रममा तपाईं साहित्यप्रेमीहरूको
निमन्त्रणा पाउँदा म हर्षले अभिभूत हुँदै यहाँ उपस्थित भएको छु । यसमा
खासगरी नवोदित साहित्यिक मोबाइल पुस्तकालयको स्थापनामा समर्पित तपाईं
सम्पूर्ण कतारी–नेपाली अभियन्ताहरूप्रति म हार्दिक कृतज्ञता प्रकट गर्दछु
।
यो यात्रा मेरो निजी र व्यक्तिगत
हुने छैन । यस यात्रालाई देशका वा नेपली साहित्यका मूलधारको
प्रतिनिधित्वको रूपमा स्वीकार्नु होला । म तपाईंहरूका साहित्यिक आकाङ्क्षा,
प्रयत्न र मनोभावसँग प्रत्यक्ष हुन आएको हुँ त्यस उसले म यस यात्रालाई
नेपाली वाङ्मयको इतिहासमा एक अमर पृष्ठको रूपमा स्थापित गर्ने छु जसले
तपाईंका यी युगान्तकारी प्रयत्नको सधैँ गीत गाइरहोस् । यस यात्राले नेपाली
साहित्य कसरी सीमाहीन बनेर विश्वपरिस्थितिसँगै अघि बढेको छ, हेर्ने
प्रत्यक्ष प्रमाण दिने छ ।
सबैभन्दा ठूलो कुरा त आज नेपाली
भाषा करिव चार करोड वक्ताका बीचको एक मात्र सम्पर्क सूत्र भएकाले गर्दा
विश्वका अनेक उन्नतिशील भाषामा यसको गणना हुन थालेको छ । कुनै पनि भाषा
त्यसका वक्ताको सङ्ख्याले होइन, त्यसमा सिर्जित वाङ्मयको गरिमाले, त्यसको
उचाइको आधारमा प्रतिष्ठित हुन्छ । ग्रिसेली वा संस्कृतलाई वक्ता सङ्ख्याले
सम्मानित स्थानमा पु¥याएको होइन । आज पनि एक करोडभन्दा थोरै जनसङ्ख्याले
बोल्ने भाषाहरूले पनि साहित्यमा नोबेल पुरस्कार प्राप्त गरेका छन् । आजको
नेपाली त्यतातिर उन्मुख छ । तीब्र गतिको विकासतिर सम्पन्नतातिर र यसको
सीमाहीन विस्तारतिर उन्मुख छ । यो ग्लोबल परिस्थितिमा छ । यसले जातीय,
क्षेत्रीय, धार्मिक, सांस्कृतिक परिसीमाहरूभन्दा पर पुगेपछि एउटा बृहत्
योजक शक्तिको रूपमा कार्य गर्दैछ । यसमा विकसित अनेक व्याकरण र कोषले, अनेक
विधाका विशिष्ट सिर्जना कृतिले विशाल भण्डार निर्माण गर्दैछन् । यतिखेर
विश्वका चारै कुनामा जहाँबाट आयेपनि नेपाली भाषाको सामाग्री गएर मूल सागरमै
मिसिन थालेको छ । किनभने शब्दकोषको स्तरीयताले, व्याकरणको स्तरीकरणले,
डेस्कटप प्रकाशनको सहज उपलब्धताले अक्षर, फन्ट, सङ्केत सारा स्तरीकृत छन् ।
आफैँ भाषिक भेदहरू मेटिँदै गएका छन् । यो हाम्रो उन्नतिमार्गको सफलता बोधक
सङ्केत हो । विश्वनेपाली एकाम्मे भएर उठ्तै छ ।
यस्तो समयमा कतारको नेपाली भाषा
साहित्यमा भइरहेको यस प्रयत्नमा प्रत्यक्ष सहभागी हुन पाउँदा आज म अति
हर्षित छु । यो आगमन अघिका डा. घनश्याम परिश्रमी, श्रवण मुकारुङ, प्रा. अभि
सुबेदी, खगेन्द्र सङ्ग्रौला जस्ता अग्रगण्य स्रष्टाका पूर्वयात्राको
निरन्तरता हो । तर अनेक भूमिमा उठिरहेका नेपाली वाङ्मयका प्रयत्नहरूको
अभिलेखन पनि मेरो अभिरुची हुने भएकाले गर्दा मलाई यो ऐतिहासिक अवसर एक
अविस्मरणीय घटनाझैँ भएको छ ।
त्यसो त आज तीब्रगतिको विमानमा
चढेर आउने हामीहरूले यी मुलुक बीचको आदान प्रदान बढाएको होइनौँ । भारतीय
उपमहाद्वीप र सम्पूर्ण अरवी भूमिका बीचमा ज्ञानको आदान प्रदानको लामो
परम्परा स्थापित छ । गणित, खगोलशास्त्र, स्थापत्यकला जस्ता विषयको ज्ञान
आदानप्रदान भएको ईशापूर्व कालदेखि नै हो । त्यसको प्रभाव नेपालमा पनि अनुभव
गर्न सकिन्छ । हाम्रा व्युत्पत्तिमूलक कोशहरूले के दोखाएका छन् भने कानुनी
जगत्का अनेक नेपाली शब्दावली अझै पनि पर्साे–अरेविक मूलका छन्, सधैँ रहने
छन् । यताका इब्न बतुता जस्ता नियात्राकार, उमर खैय्याम जस्ता रुबाई कवि,
पौरस्त्यवादका अग्रणी एडवार्ड सैद, रहस्यवादी स्र्रष्टा खलिल जिब्रान सबै
पर्सो–अरेबिक भूमिले विश्वलाई पठाएका मानवतावदी दूतहरू हुन् । हामी तिनका
अनन्य प्रेमी हौँ । उनीहरूको ज्ञान पूर्वमा पनि सिञ्चित छ ।
अरब भूमिको पूर्वी किनारामा
अवस्थित हिन्दुस्तानको छिमेकी यस देशमा आएर एकछिनको लागि भाग्य परीक्षणमा
लगेका तपाईं नेपाली दिदीबहिनी, दाजुभाइसितको साहित्यिक भेटघाटमा सहभागी हुन
पाउँदा आज म अत्यन्तै प्रसन्न छु ।
यतातिर प्रकाशित हुने कान्तिपुर,
राजधानी लगायतका छापा माध्यमबाट र खासगरी भाई देवेन्द्रको रेगिस्तान
डायरीबाट अनि अन्य स्रष्टाका आवधिक यात्रा भ्रमणबाट यताबारेको केही जानकारी
राख्तै छु । तर त्यो मेरो जानकारी अपर्याप्त छ भन्ने तथ्य पनि स्वीकार
गर्दछु । तथापि यो भूमि नेपाली साहित्यमा भर्खरै तङ्ग्रेर अघि बढ्दै छ
भन्ने कुरा मलाई अवगत भएको छ ।
एउटा स्रष्टाको परिचय भन्नु नै
राष्ट्रको परिचय हो । स्रष्टाले नै राष्ट्र चिनाउँछ, स्रष्टाले नै जाति
चिनाउँछ । एउटा राष्ट्र भूगोल र इतिहास मात्र होइन, त्यसको कला र साहित्यमा
नै प्रकट भएको हुन्छ । साहित्य कला नहुँदो हो त मिश्र, रोम, ग्रिस,
प्यारिस, पेकिङ— ढुङ्गा माटाले कदापि चिनिने थिएनन् । त्यही महŒव बुझेर
तपाईंहरू यहाँका अभाव र दुःखमा पनि नेपाली भाषा साहित्यको निरन्तरतामा लागि
पर्नु भएको छ । यो हाम्रो परिचायक शक्ति हो । यो देखेर हामी पनि उता गौरव
गर्दछौँ । तपाईंहरू पनि यो क्षणभङ्गुर मानव चोला साहित्य सेवामा लागेर
सार्थक भएकोमा गौरव गर्नुहोस् । यो सदा भविष्यमा फल्ने खेती हो ।
तपाईंहरूका यस कर्मको यथोचित
मूल्याङ्कन हुनेछ । यथोचित कदर र सम्मान हुनेछ । समय लाग्छ अबको नेपाली
साहित्य नेपालको भूगोललाई नाघेर, उछिनेर असीम विश्वसम्म पुगेको छ । यसघरी
एउटा छाता अनेसास भएर त्यसको विस्तार भएको छ; त्यो अन्य रूपमा पनि छ ।
त्यसको डायास्पोरिक भेराइटी अब प्रवासी भेराइटीमा पनि फैलिरहेको छ ।
अनेसासलाई सम्वलित गर्ने नवोदित साहित्यिक मोवाइल पुस्तकालय खोली
त्यसमार्फत तपाईंहरूले अनुकरणीय सेवा गरिरहेको हुनुहुन्छ भन्ने कुरा उतै
थाहा पाएको छु ।
सबैतिर हेर्दा अरब भूमिमा अब
नेपाली साहित्यको निर्माण आधार सुदृढ भएको छ । शिक्षित र सचेतहरूको आगमन्
थपिँदो छ । त्यसमाथि पनि विश्वसँगको तत्कालिक सम्पर्क एवम्् प्रकाशन सम्भब
भएकाले तपाईंहरू नेपाल सँगै हुनुहुन्छ, विश्वनेपाली सँगै निरन्तरको संवादमा
हुनुहुन्छ ।
नेपाली साहित्य अत्यन्तै
विविधतापूर्ण हुँदै गरेको समय छ । यतिबेला सिर्जनाका परिधिहरू असीम भएका
छन् । यसका शैली प्रविधि र स्वरूप बदलिएका छन् र थपिएका छन्, मूल्याङ्कनका
स्वरूप पनि भिन्न भएका छन् । अनेक स्थानका, भाषाका, संस्कृतिका
स्रष्टाहरूले नेपाली साहित्यमा यत्रो योगदान दिएको समय अघि कहिल्यै थिएन ।
हाम्रो जीवनमा विश्व परिवर्तको जत्रो प्रभाव छ, साहित्यमा सोही अनुकूल छ ।
यस तर्फ तपाईंहरू अवगत हुनुहुन्छ ।
यसरी भिन्न मुलुकमा बसी रचना
गर्दा एकप्रकारको डायास्पोरिकताले त्यो रङ्गिनु स्वभाविक छ । त्यो अलिकति
भिन्न भेराइटी बन्दछ त्यसमा टाढाको स्मृतिले बढी प्रभावित पार्दछ । त्यो
कुरा साहित्यमा प्रतिबिम्बित हुनु स्वाभाविक छ । साथै त्यसले यसमा भिन्न
भूमिको सांस्कृतिक सुवास र सभ्यताको झलक बोकेर ल्याउँछ यहाँ नेपाली जीवनले
कसरी परदेशी जीवनसँग समायोजन गर्दैछ भन्ने कुराको ज्ञान पनि बोकेर ल्याउँछ
।
यता अरबभूमितिर अन्य विधाको
तुलनामा तात्कालिक स्फुरणका गजल मुक्तकजस्ता सिर्जनाको आधिक्य छ भन्ने
सुनिन्छ; देखिन्छ । मेरो यसमा कुनै टिप्पणी छैन । तपाईंहरूले पनि यसमा कुनै
चिन्ता गर्नु पर्दैन । त्यस्तो हुनु स्वाभाविक छ । एक ता समयाभाव र फेरि
अरू गंभीर सिर्जना पढ्ने र रचना गर्ने समय साधन औ प्रकाशन अवसर पनि कमी
भएकाले होला, अझ उचित प्रेरणा र सल्लाहको अभावले पनि त्यसो भएको हुनसक्छ ।
ठूलाठूला सङ्गोष्ठी, साहित्यिक विमर्श, समालोचकीय चर्चा एवम् सैद्धान्तिक
निरूपणका अवसर कमी भएकाले पनि त्यतातिर ज्यादा मन ढल्किएको हुनसक्छ, तर
त्यसमा केही नोक्सान छैन, ज्यादा लाभ नै छ । अरू अनेक प्रकारका टाइम पास र
कति अँध्यारा बाटा र ब्यसन मार्ग पनि हुन सक्थे; त्यतातिर प्रलोभित नभई
आफ्नो दुर्लभ समयलाई अक्षर प्रेममा, अक्षर पूजामा, सरस्वती साधनामा लाग्ने
तपाईंहरू सबैप्रकारका स्रष्टालाई मेरो समान प्रेम छ । समान प्रेरणा छ;
सबैलाई स्वागत छ— हाइकू, गजल, रुबाई, ताङ्का, मुक्तक, चोका अनेक प्रकारका
लघुत्तम रूपतिरका आभ्यासिकलाई त्यतिकै स्वागत छ ।
तर एउटा कुरा निवेदन गरेर मात्रै म
रोकिन चाहन्छु । यस्ता रचनाले बढी व्यक्तिगत अनुभूतिलाई प्राथमिकता दिन्छ;
विषयपरकता ज्यादा हुन्छ । विषयपरक भएरै पनि सिर्जनामा वस्तुपरकता गहिरो
होस् जस्तो लाग्छ । आज लेखन मार्ग रोज्ने समय छ । स्रष्टाले व्यक्तिगत
कुण्ठा बेदना, पीडा र प्रेम आदिको अभिव्यक्तिलाई साहित्यको गन्तव्य ठान्ने
कि; समाजको यथार्थ जीवनलाई अर्थात् त्यसको प्रस्तुतिलाई यसको उद्देश्य
ठान्ने कि; राष्ट्रमा पुग्ने अथवा त्यो भन्दा माथि मानवताको उच्चाइ ताक्ने ।
प्रत्येक विसौनीमा चौतारा छन्, तर तपाईंले आफ्ना आकाङ्क्षा, कुण्ठा र
मनोवेगलाई साध्य ठान्नु भयो भने त्यस्तो सिर्जनाले तपाईंको हित गर्ला,
अन्यको गर्दैन । एउटा स्रष्टा सधैँ वृहत्तर हितमा समर्पित हुनुपर्छ; अरूका
सामू उसका आफ्ना सुखदुःखहरू लुकेकै हुन्छन् । ऊ अरूमै मिसिएर बोल्दछ ।
विश्वसाहित्यका अमर स्रष्टा वा तिनका सिर्जनाले आफूलाई बिर्सेर अन्यलाई नै
उठाएको देखिन्छ यद्यपि यो मार्ग कठिन छ ।
बृहत स्केलमा जीवन हेर्न वा
देखाउन बृहत आकारकै सिर्जना चाहिन्छ । त्यसैले म तपाईंहरू समक्ष भएको यो
अजस्र स्रोतलाई लामा कथा, लामा यात्रा निबन्ध, नाटक र विशेष गरी उपन्यास
लेखनतिर समर्पित गर्न आग्रह गर्दछु । एउटा उपन्यासले आफू र आफ्नो परिवेशलाई
ठूलो लाइफ साइजको क्यान्भासमा उतार्दछ, त्यो ज्यादा अमर र जीवन्त सिर्जना
हुने गर्छ । अहिले विश्व साहित्यमा उपन्यासको अत्यन्तै ठूलो स्थान छ । मैले
अघि एउटा गोष्ठी पत्रमा उल्लेख गरेको छु— नोबेल पुरस्कार स्थापना भएपछिको
पहिलो दशकमा एक जना स्रष्टालाई उपन्यासमा पुरस्कार दिइएको थियो; अरू नौ
जनाले अन्य (खासगरी कवितामा) पुरस्कार पाए भने त्यसको सय वर्ष पछि वर्तमान
स्थिति हेर्दा सन १९९९ देखि २०१० सम्ममा नौ जना स्रष्टाले उपन्यासको लागि
नोबेल पुरस्कार प्राप्त गरे । एक जनाले अन्य विधामा । यसले विश्वचित्र र
वर्तमान प्रबृत्तिबारे हामीले सचेत हुनुपर्छ भन्ने देखाउँछ । त्यसैगरी
विश्वसाहित्य यतिखेर यात्रा भ्रमण संस्मरणतिर छ । तपाईंहरू भिन्न भूमिमा
आएको समयमा डेल कार्नेजीले ‘एभ्रि डे इज अ न्यु लाइफ टु अ वाइज म्यान’ भने
झैँ प्रत्येक दिन बुझ्नेको लागि नयाँ जीवन हुनेछ । आज यहाँ भोगिएका
यथार्थताबारे भोलि लेख्न खोज्दा तपाईंको स्मृतिले साथ दिने छैन । त्यसैले
आज व्यक्तिभन्दा पाखा आएर अरबको संस्कृति, भूगोल, इतिहास मिसाएर यहाँको
सभ्यतालाई पनि स्पर्श गर्दै नेपाली व्यक्ति कसरी नवजीवनलाई समायोजन गर्दैछ,
त्यो लेख्नोस् । नेपाली समुदाय अन्यसँग कसरी चलेको छ त्यो लेख्नोस् । यहाँ
बसेको बेला ज्यादाजसो यहीँको यथार्थता लेख्नोस्, व्यक्तिको र खासगरी
समूहको लेख्नोस् । त्यसैले आफ्ना संस्मरण लेख्नोस्, यात्रा लेख्नोस् त्यो
अमर हुनेछ । यसले नेपाली पाठकलाई कहिल्यै नबिर्सने स्मृति कोश दिने छ ।
प्रत्येक पाठक अन्य भूमिका नवीनताबारे जान्न स्वभावैले उत्सुक हुन्छन् ।
तपाईंको विहान कसरी बित्यो, दिउँसो कसरी, बेलुका कसरी मनस्थिति कस्तो भयो,
के कस्तो आकाङ्क्षासँग कहाँकहाँ पुग्नु भयो, मनमा कस्ता सम्झना र कल्पना
उम्लेर आउँछन्, कहाँ के भेटिए— यस्तो संस्मरणात्मकताको ठूलो महŒव हुन्छ ।
निबन्ध विधा रुचिकर छ, त्यो झन् अघि बढ्छ । वास्तवमा अब लेखिने विषयवस्तु
झैँ क्षेत्र पनि फरक छन् ।
म आज अलिकति उपदेशक भएर रोकिन
चाहन्छु । नेपाली तथा अन्य भाषाका स्तरीय उपन्यासको अध्ययन गर्नुहोस्,
स्तरीय भ्रमण एवम् यात्रा साहित्यको निबन्धको अध्ययन गर्नुहोस् । सकेसम्म
त्यस्तो पठनले तपाईंहरूको आकाङ्क्षा उच्च हुनेछ र त्यसले लेखन क्षमतालाई
सम्बलित गर्ने छ । यसबाट नेपाली साहित्यले चिरस्थायी मूल्यका कृति पाउने छ ।
लेख्नुहोस् । तर पढेर मात्र लेख्नोस् । अथवा पढ्दै लेख्नोस् । आजका
स्रष्टालाई म तीनवटा कृति बारम्बार प्रयोग गर्ने सल्लाह दिन चाहन्छु ः १)
कृष्णप्रसाद पराजुलीको राम्रो रचना ः मीठो नेपाली २) शरच्चन्द्र वस्तीको
हाम्रो भाषा र ३) टीकादत्त बरालको तत्सम नेपाली शब्दकोष । तपाईंहरूको
नवोदित साहित्यिक मोबाइल पुस्तकालयको निमित्त यी तीनवटा लगायत अरू दुई
दर्जन पुस्तक उपहार ल्याइदिएको छु । त्यसका साथै वृहत् नेपाली शबदकोष एवम्
प्रयोगात्मक नेपाली शब्दकोषमध्ये एउटा साथैमा राख्नुहोला ।
आज विशेष गरी महाकविको १०२ औँ
जन्म तिथिको अवसर । यो पुण्य अवसरमा राष्ट्रका अझ भनौँ नेपाली जातिका एक
महान् प्रतिभाको स्मरणमा यहाँ भेला भएका छौँ । महाकविले अन्धकार युगमै
ज्यादा सङ्घर्ष गर्नु परेको थियो । उहाँको प्रतिभालाई चिन्ने समय आएको थिएन
। तर आज उहाँकै उज्यालोले हामीलाई मार्ग निर्देशित गर्दैछ । नेपाली जातिले
विश्वसाहित्य समक्ष उभ्याउने एक उच्च प्रतिभा महाकविलाई डा. चूडामणि
बन्धुले ‘नेपाली संस्कृतिका सर्वोच्च निधि’ भन्नु भएको छ । यी मूल्याङ्कनका
शब्द पर्याप्त छन् । एउटा छोटो, पचासवर्षे आयुभित्र कठोर शासन पद्दति भएको
समयमा लड्दै झन्डै १०० वटा कृतिको सिर्जना गर्नु एक अकल्पनीय कुरा हो ।
तीव कृतिको सङ्ख्याले होइन, तिनको विविधता, गुणात्मकता र गहिराईले गर्दा
उहाँको महानता स्थापित भएको हो ।
उहाँले ग्रीसेली सभ्यतालाई
प्रमिथस मार्फत हाम्रो भाषामा चिनाउनु भयो । १९५७ मा रुसको तास्तकन्द
सम्मेलनमा भन्नु भएको थियो ः नेपाली साहित्य अनुवादको कमीले कुण्ठित छ, यो
विश्वका नवीन विषयवस्तुसँगको आदानप्रदान नभएर पनि कुण्ठित छ । आज हामी यी
दुवै लक्षतिर ढल्किनु पर्ने समय आएको छ ।
आज
त्यसो भनेको ६० वर्ष नाघे तर नेपाली साहित्यले अझै पर्याप्त अनुवाद गर्न
सकेन । सर्वप्रथम ता महाकविलाई नै अघि सार्नु पर्छ । उहाँका कृति विश्वका
अनेक साहित्यमा लानु पर्दछ । तपाईंहरू अरब भूमीका नेपालीहरूले स्थानीय
सज्जनहरूसित सम्पर्क बढाई यहाँको विश्वविद्यालयमा सम्पर्क गरी महाकविको
कुनै कृति स्थानीय भाषामा अनुवाद गराउनोस्, यो उहाँप्रतिको हार्दिक
श्रद्धाञ्जली हुनेछ । साथै अन्य नेपाली कृतिलाई पनि अनुवादद्वारा नै यता
प्रचार गर्ने र यताका केही अब्बल कृतिलाई नेपालीमा रूपान्तरण गराउने तर्फ
पनि अभियान आरम्भ गर्नुहोस् । यो द्वैभाषिक आदानप्रदान तपाईंहरूबाटै सम्भव छ
। आजको प्रत्येक नेपाली डायास्पोरा यस्ता कर्मको लागि उपयुक्त स्थान हुनेछ
।
साहित्यले मानवतालाई पुष्पित र
पल्लवित गराउँछ । सबै स्रष्टाको हृदयमा एउटै भाषा हुन्छ; यद्यपि ती फरक
अक्षरमा लेखिन्छन् । हामी त्यही अमर भाषाको सिर्जना, परिशोधन, आश्वादन र
आदान–प्रदान गर्ने लक्ष्य लिएर जन्मेका हौँ । त्यसैमा यो जीवन अर्पित गरौँ ।
हामी यो क्षणिक रङ्गमञ्चबाट विदा भइसकेपछि न त हाम्रा दुःख र बेदना बाँकी
रहन्छन्, न सुख भोगका आनन्दहरू वा आकाङ्क्षाहरू । रहन्छ त केवल तपाईंको
कर्म अर्थात् सिर्जना । सबै प्रकारका सुखदुःख भोग्दै पनि कुनै स्थायी कर्म
गरौँ; खासगरी साहित्य सिर्जनामै अथवा यसको सेवामै जीवन अर्पित गरौँ ।
नेपाली वाङ्मय इतिहासले तपाईंको सारा गुन तिर्नेछ ।
अन्त्यमा, परदेशी जीवनका
अप्ठ्यारासँग जुद्धै नेपाली वाङ्मयको उन्नति एवम् विस्तारमा समर्पित
तपाईंहरूले गरेको यस प्रयत्नलाई इतिहासले सदा सुरक्षित राख्नेछ भन्नेमा म
विश्वस्त छु ।
यस अवसरमा मलाई सम्मानित गर्ने
नवोदित साहित्यिक मोवाइल पुस्तकालय एवम् अनेसास कतार च्याप्टरका साथै
‘प्रवासी झपाली सम्पर्क मञ्च’प्रति पनि हार्दिक आभार प्रकट गर्दछु ।
तपाईंहरूको यस प्रेम र सद्भावलाई
हृदयमा सुरक्षित गरी यसलाई सदा नेपाली वाङ्मयको सम्वृद्धिमा आवश्यक पर्ने
उर्जाको रूपमा प्रयोग गर्नेछु । तपाईंहरूले पनि यस दिनलाई प्रेरणा र
ऊर्जाको दीपक सम्झी सधैँ बालिरहनु हुनेछ भन्ने विश्वासमा रोकिन्छ ।
धन्यवाद ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼