Tuesday, November 22, 2011

कविता : धतुरेहरु र मेरो स्वकीय अडान

कविता : धतुरेहरु र मेरो स्वकीय अडान
गणेश खड्का, भोजपुर
हाल : फ्रिगेट आइल्याण्ड ( सेसेल्स )
२१ नोभेम्बर २०११

मेरो समाजका सबै खाले स्वघोषित वरिष्ठहरु
 र मेरो दैलो-जस्केलो वरिपरी रोप्तै नरोपी
 उम्रेको उम्रेयै गरेर हैरान पार्ने धतुराहरु
उस्तै-उस्तै लाग्न थालेकोछ मलाई अचेल
 धतुरे अस्तित्वहरु हुर्के भने
 तुलसी पवित्रता जिङ्लाउँदोरहेछ करेसामा

 मनहरु सकरात्मक मौलाएको जाती मान्छु म
नकरात्मक बौलाएका मनहरुले त संसारै पागल देख्छन् । 

चर्किएका बाँसहरुमा हजार वर्ष आयुका कालिगढहरु
 बाँसुरी न धून को बेतुक सिप जत्ती खिपुन्
जिउँदा शहिद बन्लान् बरु
 सार्थकताहिन यत्न मिथ्या खेर जानेछ
 दम्भी बाँस पाइखानाछेउमा हलक्क अहंकार हौसिन्छ
 यसको बाबजुत मेरो सादगी अस्तित्व
मनकारी दुबो मौलाउनुमा गर्व गर्छ
 मेरो स्वाभिमानी पहिचान
 चट्टान फोरेरै सालीन पिपल निस्किनुमा अहम बोल्छ ।   


बडहरका रुखहरु गगनचुम्बी उचाईमा
 अमिल्चो गर्भाधारण गर्छन् वर्षेनी
 पहेंलपुर पाके पनि बडहर
 गलगिद्द खाइसकेपछी
 दाँत कुँडियो भन्नु त हो,
यता, फल्ने ढंग नजानेर
 फेदमा फलेको आरोप सहेरै 'खनिउँ'
मधुमिठासमा लटरम्म झुत्तिंदोछ
 लोक कल्याणकारी खनिउँ
 फेदबाट फल दिन्छ / हाँगाबाट घाँस दिन्छ
 उपयोगीताको रोजाई र खोजाईमा
 बडहर छोडेर म
 खनिउँ को समर्थनमा साँक्षी बक्न चाहन्छु ।  


 जाली धतुरे अस्तित्वहरु
 साग भनेर हरियो सूर्तिका पातको दोकान थाप्छन्
 फेरी काला बजार बिरुद्दको जुलुशमा
 तिनै धतुरेहरु अग्र पङ्क्तिमा देखिन्छन्
 बिष रोपेर अमृतको अपेक्षा गर्ने पाखण्डीहरु
मानव सभ्यतालाई बौलाहा बनाउने धतुराहरु हुन्

साग न घाँसका धतुराका बोटहरुको
जरा-जरा खोतल्दै भुतभुते नहाली हुँदैनहुने देख्छु म ।

पिंढी छेउमा उम्रेका नाभा धतुराका बोटहरु
 नपुंशक गाँजा-भाङका बुट्टासँग बाँहा जोडेर
 आफ्नो धतुरे अस्तित्वको प्रचार-प्रसार र बिज्ञापन
 आफ्नै हत्केला,ललाट र छातीमा
 'फेक नोट' आर्जित पोष्टर टाँसेर
रात्तोदिन गरिरहुन्,
 इमानको निर्वाचनमा
 मेरो स्वकीय अडान रक्षार्थ म
 पूर्वोक्त धतुरेहरुको पक्षमा
 मतदान गर्दै गर्दिन ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼