
खगेन्द्र पन्धाक लिम्बू
आफ्नै हुलिया
( कविता)
प्राकृत फेनोमेननमुनि
सिस्नोको मुन्टो बटार्दै
गाईवस्तुको पुच्छरले हम्किंदै
गाउँ-सहर-देशबाट एकासी गायब
एउटा फट्यांग्राको यो प्लेकार्ड खोप्दैछु - मान्छेको निधारमा l
'मर्यो- गुरिल्ला भएर
मारियो- बिध्यार्थी नेता बनेर
र कहिल्यै नबाँच्नेगरि मर्यो- स्वावलम्बी किसान बनेर'
सनाखतपत्रमा - समाचार लेखिएको साँझ पनि
अझै, आफ्नै हुलिया लगाएर-
आत्ममृत्युको अविश्वासमा
'काग' को पखेटामा खोजपत्र लेख्दैछु l
मुर्कुट्टाहरुको मेट्रोपोलिसबाट,
सिस्नोको पातमा प्रेमपत्र कोर्दैछु कि,
मेरो रगत हरियो छ -हरियो रायो जस्तो l
आफैंले खनेका सुरुंग पुर्दै-
आफैंले बालेका बारुद निभाउँदै
आफ्नै घुँडाको हड्डीमा ब्रम्हाण्ड कुँदेर
मान्छेको स्नायुको सग्रहालयमा
टिकटिके किरो- सायद बत्तिको वरिपरी
आफ्नो बाईयोग्राफी लेख्दैछु भित्ताभरि l
घाम सानो छ, पृथ्वी साँघुरो छ
ब्रम्हाण्ड उकुसमुकुस छ र आकास मुट्ठीभर छ
असन्तोकको गाँड निलेर हराएको
भुसुना भुन्भुनिन्छु कि -अब संसारमा अट्दै-अट्दिन
आफुलाई भेटें- वा भेटियो भने-
त्यहीं सिस्नोको पातलाई जिम्मा बुझाईने छ कि -
त्यो हरियोमा प्राकृत फेनोमेनन हरियो होस् मेरो रगत जस्तो l
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼