Friday, December 9, 2011

सस्मरण '' देबी संग दुई रात ''

प्रतिकृया:- 

गनिन्द्र '' बिबस ''
 तेह्रथुम 


निद्रा देविको कोखबाट छुट्न नपाई मोवाईलको घण्टीले मलाई झक्झकायो । आँखा बन्द नै थिए, छामछुम गरेर टेबलवाट फोन लिएँ । नम्बर हेर्ने सामथ्र्य थिएन मेरो । नहेरी नै रिसिभ गरे । सानो तिखो स्वरले नमस्कार टक्राउनुभो गजलकार मित्र श्रीजन श्री ले । हाम्रो मित्रता अत्यान्तै आत्मिय छ । थोरै जिस्किन्दै भन्नुभो– ‘मण्डलीको मण्डले भएर यति अबेर सम्म सुत्ने हो ?’ मैले ठट्टामै कुरा लुकाएर बोले–  “हैन सर, म ट्वाईलेटमा छु अघि नै उठेको हुँ ।” उहाँले हाँस्दै भन्नुभो– ‘लौ छिटो आउनुहोस् चाजोपाँजो मिलाउन धेरै छ, ।’ मैले हुन्छ भन्न नपाई  फोन काटियो । हुन त पेनाङ्गबाट आउनु भएका स्रष्टा जितमान राई ‘सविन’ र गणेश महतराले बेलुकै मलाई फोन गरेर भन्नु भा’ थियो– ‘धेरै गफ गर्नुछ तपाईसँग । क्वालालम्पुर कोतरायामै मुख धुने हिसाबले आउनु होस है ।’ मैले पनि बचन दिएको थिएँ आउछु भनेर । तर बेलुका पल्पसा क्याफे उपन्यास अबेरसम्म पढेको हुनाले साविकभन्दा ढिलो सुतेछु । आफ्नो नित्यकर्म सकेर होटल हरि रायमा उत्रेर कफि पिएँ । गुरु देवी नेपालको नेपालबाट मलेसिया आगमन  भएको र डायस्पोरामै एक वृहत र ऐतिहासिक कार्यक्रम अनाममण्डली मलेसियाले गर्दै गरेको कुरा विश्वमै बाँड्न मनलाग्यो । एकै छिन वेवसाइट र फेसबुक तिर अल्मलिएँ । तसर्थ सोचेभन्दा ढिलो कार्यक्रमको हलमा पुगेको थिएँ  । 
गजलको व्युतपत्ति संरचनाको व्याख्यासँगै गुरु नियम भित्र प्रवेश गर्नुभयो । प्रशिक्षार्थीहरु ध्यानमग्न रहे । गायिका तथा पत्रकार कोपिला गौतम साविकभन्दा बढी ध्यान मग्न देखिन्थिन् । सामुहिक गजल कोरिन्दा शब्द थप्ने क्रममा जीवन देवानले “खोला पारी निर्माया” भन्दा कोपिला पेट मिचिमिचि हास्नुभा’थ्यो, भने पत्रकार विनो लामा प्रश्न सोध्न मै व्यस्त हुनु भो । समयको अभावको कारण बहर सम्बन्धि त्यती धेरै कुरा समेट्न सकिएन कार्यक्रममा । त्यो दिन आफ्नै कोठामा फर्के भिम स्नेही र राजकुमार लाई लिएर किनकी त्यो दिन यात्रा साहित्यिक पत्रिकाको अनलाई मिटिङ्ग गर्नु थियो । 
भोलिपल्ट गुरु देवी नेपालको सम्मान तथा एकल गजल बाचन कार्यक्रममा भने मेरोे उपस्थिती चाडै रह्यो । उक्त दिन गुरु देवी नेपाललाई मलेसियामा रहेका चार वटा साहित्यिक  संस्थाहरुले एकसाथ सम्मान गरेको त्यो कार्यक्रम अत्यान्तै सफल रह्यो । गुरुको उत्कृष्ट गजल कविता वाचनले दर्शक श्रोताहरु नतमस्तक भएका थिए । देशको स्थिती प्रतिको चिन्तन, राजनितिक अस्थिरता मा गुनासो प्रवासीनुको पीडा र बाध्यताले ओतप्रोत भएको बेला, आमाले प्रवासी छोराछोरीहरुलाई हेर्ने दृष्टीकोण, माया, सन्देश जस्तो भाव भएको एउटा गजल म स्वयम् ले पनि वाचन गर्ने सौभाग्य पाएको थिएँ, कार्यक्रमको उद्घाटन समारोहमा । यथार्थता बोकेको त्यो गजल मन फुकाएर वाचन थिए । मेरै आमाले पठाएको जस्तो लाग्यो । म लगायत ३ लाख नेपालीहरुकै आमाले पठाएको भान भयो । अन्त्यमा गुरुले प्रवासी नेपालीहरुमा पनि नेपाली भाषा र साहित्य प्रतिको स्नेह, चासो अत्यन्तै लोभलाग्दो रहेको बताउँदै कार्यक्रम सम्पन्न भयो । त्यस पश्चात हामी थोरै समयलाई सदुपयोग गर्दै मर्डेका पार्कमा गयौ । क्वालालम्पुरमा रहेको त्यो ठाउँमा पुरानो दरवार संसद भवन र मलेसिया स्वतन्त्र बनाउँदाको युद्धमा सहिद भएकाहरुलाई कसरी लखेट्दै मारियो त ? ५३ बर्ष अगाडीको विम्व थियो त्यहाँ  । अर्थात शालिकहरु थिए । र त्यहा नेपाली पुर्खाहरुको पनि रगत थियो । यदी नभएको भए म लगायत ३ लाख नेपाली गोठाले, खेतालेहरुलाई कहाँ बोलाउथ्यो गोर्खाली भनेर । त्यहाँ पुग्ने बित्तिकै फेरि मेरो छाती गौरवले फुल्यो । यो भन्दा अगाडी पनि म सेरेम्बानमा हाम्रा पुर्खाको बहादुरीका निशानाहरु रहेको ठाउँमा पुगेको थिएँ । त्यो यादले मलाई फेरि झक्झकायो ।  समय सन्ध्याको थियो । त्यती मानिसको भिँड थिएन । घुम्दाघुम्दै चाईना टाउनमा पुगेर चाईनिजहरुको भिँडमा मिसिएर चाईनिज खाना खाई होटल चिल लिन मा फक्र्यौ । हाम्रो कोठा नं. ३०६ का छेउछाउमा प्रायः विदेशी अनुहारहरु देखिन्थे । 
त्यो रात पुरै साहित्यिक सेरोफेरोमा बित्यो  । काछुप गजलको अवधारणा गलत भएको कुरा गुरुले बताउनु भयो । रङ्गबाद, उत्तर आधुनिकवाद को विषयमा थोरै अन्तरकृया भयो । हाम्रो मुख्य बिषय गजलको नै थियो । शास्त्रीय बहरको बारे पनि  थोरै छलफल भो हामी बीच ।  गुरुले भर्खरै यूवाबर्ष मोती पुरस्कार पाउनु भएको त्यो पल, त्यो उत्साह खुशीको बारे कुरा कोट्यायौ । रात छिपीसकेको थियो, त्यो रात मलाई साहित्यको बिषयमा क्लास लिएभन्दा महत्वपुर्ण बन्यो । 
८८ तले विश्वकै अग्ला घरहरुमा पर्ने ट्विन टावर हिजोसम्म फोटोमा हेर्थे, आज चढ्ने मौका पाउँदा म हौसीएको थिए । त्यहाँ चढ्नेहरु प्राय अमेरिकन, युरोपियन, जापानिज, कोरियन बढी देखिन्थे । म, गुरु देवी नेपाल र मित्र श्रीजन श्री टिकट च्यापेर टुईन टावरको ४१ औ तलामा रहेको दुई वटा टावर जोड्ने पुलमा हिड्दा म एकपल्ट डरले खसेको थिएँ । गुरु हाँस्नुहुन्थ्यो । त्यहाँको वरीपरीका ठाउँहरुमा कृतिम सौन्दर्यले भरिएको देखिन्थ्यो । 
जब म मलेसियाका पर्यटकिय स्थानहरुमा पुग्छु, त्यहाँ प्राकृतिक सौन्दर्य १ चौथाई मात्र र कृतिमता ३ चौथाई भएको पाउँछु । त्यतीखेर मेरो मातृभुमीले पोल्न थाल्छ । अव्यवस्थित असुरक्षित र मुल्यहिन सम्पदाहरुको याद आउँछ । देशको लागि सपना धेरै धेरै देख्छु । आफ्नो देशका ति प्राकृतिक सौन्दर्यले भरिएका अव्यवस्थित ठाउँहरुसँग तुलना गरेर डाह लाग्छ । हुन त त्यो मेरो कमजोरी हुन सक्छ, त्यो भन्दा बढी देशको राजनैतिक अस्थितरता, सत्ता लोलुपता र कुर्सि मोहलाई दोष दिन्छु म । 
के.एल. टावर भने अलिक फरक लाग्यो । विश्वमै मलेसियालाई चिनाउने ४४३ मिटर उचाई त्यो टावरको टुप्पोमा पुगेर दुरविनबाट हेर्दा मलेसिया को राजधानी पुरै घुम्न आवश्यक छैन । त्यहीँ बाट त्यहाको वस्तुस्थिती अवलोकन गर्न सकिँदोरहेछ । त्यहाँ हामी निकै अल्मलियौ । त्यहाँको सानो चिडियाघर पनि हेर्न भ्यायौँ । त्यो दिन म पुर्णरुपले स्वस्थ थिईन । तर रहरले  पछ्याई रहे । कोठा पुग्ने वित्तिकै फेरि गुरु र श्रीजन जी बाहिरिनु भो । मलाई न्युज बनाउने जिम्मा दिएर । तर न्युज लेखिन मैले । गुरुको व्यागबाट सुटुक्क झमक घिमिरेको “जीवन फूल हो कि काँडा ?” पुस्तक निकालेर पढ्न थाले । बाँकी काम रुद्र मिश्रलाई दिएर फर्केको म आज फेरि गुरुको विदाई गर्न आधा ड्युटी हापेर क्वालालम्पुरतिर लागँे, ट्याक्सी लिएर ।  ट्याक्सी ड्राईभर निकै जिज्ञासु रहेछ, थोरै परिचय पछि प्रश्न ग¥यो– “ अहिले नेपालमा राजा छ कि छैन ? कानुन छ कि छैन  ? मन्त्रि भयो कि भएन ? धेरै चोटी भईसक्यो चुनाब त ” म उत्तर दिन एकै छिन अल्मलिएर ‘हुँदैछ’ भनेँ । उ बोलीरह्यो । 
गरिब देशको जनता हुनुको पीडा खेप्दै थिएँ म, त्यतीखेर । हामी क्वालालम्पुर पुग्नै लागेका थियौ । ट्याक्सीको तिव्र बेगसँगै फेरि बोल्यो उ– “हैन यो गोर्खाहरु धेरै  पिउने, पिएर फेरि हल्ला गर्दै बाझ्दै रोडमा हिड्ने” भन्दै हा...हा...हा... हाँस्यो । मेरो शिर नत परेको भान भयो मलाइ । जङ्गान मारा, माईन माईन साहजा (नरिसाउ है, जिस्केको मात्रै हुँ) भन्दै फेरि हाँस्यो । परिवार सँग टाढिएर यहाँ बस्नुपर्दाको पीडा भुल्न पिएको हो भन्दै म ट्याक्सीबाट उत्रिएँ, कोतरायाको भिँडमा । गुरुले सपिङ्ग गरी सक्नुभएको रहेछ । कोतराया मै स्थापित व्यावसायी तथा समाजसेवी कृष्ण आङ्गदेम्बेको नेतृत्वमा बुकित विन्ताङ्ग रात्री बजारमा पुगेर धेरै धेरै प्रकारको मलेसियन खाना चाख्यौ । त्यो बजार दिनमा बन्द हुन्छ, जब रात पर्छ रातभरी उठ्छ अनौठो लाग्यो । त्यहाँको नाचगान लाई हेर्दा, त्यहाँको परिवेश हेर्दा नेपालमा लाग्ने मेला बजार कै याद आयो मलाई । हामीसँग पर्याप्त समय थिएन । रातको १२ बजे एयरपोर्ट पुगेता पनि उडान बिहान ७ बजेको मात्रै थियो । टिकटको गडबडीले गर्दा गुरु निकै चञ्चल देखिनु हुन्थ्यो । हामी वेटिङ्ग कक्षमा बसेर पनि साहित्यिक सेरोफेरो मै थियौ । गजल वाचन  पनि भए । प्रवासमा बसेर यस संस्थाले गर्न सक्ने सम्भावित कुराहरु माथि छलफल भयो । रुवेन पुनको अनियन्त्रित हाँसोसँगै रात विताउँदै थियौ । हामी नेपाली त्यतीकै मलेसियामा अव्यवस्थित छौ । झन् एयरपोर्टको सेक्युरिटी(प्रहरी)हरुबबाटै ४ जना नेपालीहरु अँधेरो कुनामा लगेर अनेकौ बाहनामा लुटिँएको देख्दा मन अमिलो भयो । यसको नियन्त्रणको निम्ति विष्णु न्यौपाने जि बाट पहल भैरहेको थियो त्यो बेला । साँच्चै उहाँ एक कामदारको रुपमा रहे पनि श्रमिक नेपालीहरुको निम्ति उहाँको सहयोग सराहनिय छ । कफि पिउँदै रातको अन्तिम प्रहरमा थियौ । रुवेनलाई पिसावले च्यापेपछि उ र म ट्वाईलेट पुगेर फर्कदा गुरु प्लेनमा चढीसक्नुभएछ । श्रीजन  फर्कदै हुनुहुन्थ्यो । हामी एकै छिन दङ्ग प¥यौ । शुभ–यात्राको म्यासेज लेखेर फर्कियौ । क्वालालम्पुर आईपुग्दा बिहानीको पर्दा खुलिसकेको थियो । त्यो रात अविष्मरणिय बन्यो । होटल चिल लिन मा आएर आ–आफ्नै पाराले ढल्यौ । मेरो मन खेल्न थाल्यो, त्यो महत्वपुर्ण रात सम्झे अनि यो अविष्मरणिय रात सम्झे अनि गुरु देवी नेपालसँगको यात्रा अनि उहाँकै सिर्जना वाचन कार्यक्रम सम्झिदै आँखा चिम्लिएँ । मेरो मस्तिष्कमा उत्पन्न हुँदै थियो ।  यमाता...........यमाता..........., यमाता...........यमाता...........।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼