संस्मरण
निर्मला खड्का

जीवनको गोरेटोमा कति यस्ता पलहरु आउदा रहेछन...कति पलहरुलाई समयको हुरीले संगै उडाएर कता कता पुर्याउदो रहेछ भने कुनै कुनै जीवनका घटनाक्रमले जीवन भरि या भनौ नमरुन्जेल स्मृति पटलमा एउटा अमिट छाप कोर्दो रहेछ...यस्तै एउटा मेरो जीवनको महत्व पूर्ण समय जसलाई मैले आजीवन भुल्न सक्दिन..त्यतिबेला मैले सोचेकी पनि थिइन यो समयलाई कुनै दिन यसरि संस्मरणको रूपमा लेख्ने छु भनेर..त्यत्ति बेला यसरि सोचेकी भए यो संस्मरण अझै अस्मर्निय हुने थियो होला.. संसारमा जन्म लिनु एउटा भाग्य....सबल भएर जिउन पाउनु अझै ठुलो भाग्य तर कहिले काहिँ मृत्युलाई नजिक बाट हेर्दै उसमाथि विजय पाएर जिउन पाउनुको अर्थ र त्यो क्षणलाइ नजिक बाट नियाल्दै विजय उत्सव मनाउन पाउने पल पक्कै धेरै अनमोल हुन्छन
रातको करिब नौ बज्न थालेको थियो अचानक मेरोघरको फोनमा घन्टी बज्यो ."को हुन् सक्छ यति बेला " सोच्दै मेरो कदम फोनतिर लम्काए.....
"निर्मला"
फोनमा आर्कोपट्टि शारदा भाउजुको स्वर सुने.
"हजूर भाउजु भन्नुस "भन्दै मैले कुरा अघि सारे...
"हेर्नुन, बुनुलाई कत्ति बज्यो घडीमा हेरेर भन" भनेको त समय त उल्टो भनि, मलाई रिस उठ्यो अनि गाली गरे "हैन अझै तिमीलाई घडीमा समय हेर्न पनि आउदैन कि के हो" तर नानीले त 'मैले राम्रोसंग आँखा देख्दिन पो भन्छे"..मैले फेरी पटक पटक घडी हेर्न लगाउदा त कुनै बेला पनि सहि समय भन्दिन, के गरु म निर्मला " सरसरती एकै सांसमा बोल्नु भो भाउजु .. उहाँको स्वर सुन्दा निक्कै अत्तालिएको भान भयो मलाई .. कुरा सुनेर म आफै पनि आश्चर्य चकित भए तैपनि आफुलाई सामान्य बनाउदै "नआत्तिनुहोस भाउजु, भोलि बिहानै आँखा अस्पताल जाउला नि त नानीलाई लिएर आँखा जचाउन" भन्दै सम्झाएर फोनबाट बिदा मागे.
आफ्नो सबै काम सकी सकेर ओछयानमा आई पल्टे..सोचका तरंगहरु दिमाग भरि नै सलबलाउन थाले "फोनमा भाउजु यसरि अतालिनु पनि स्वाभाविक नै थियो किनकी लगभग एक महिना जति देखि बुनुको स्वास्थ स्थिति त्यति राम्रो थिएन " " होइन के भएको होला यो नानीलाई","भर्खर बार्हौ बशन्तमा पाइला टेक्दै छन् बुनु, उनि बिमारी छन् मलाई थाहा छ र यो पनि थाहा छ कि उनीलाई राम्रो उपचारको आवश्यकता छ, एक महिना हुन् थाल्यो उनि बिरामी भएको र केहि रोग लागेको जस्तो लक्षणहरु देखिन थालेको, शुरुमा उनले पेट दुख्यो भनिन र हामीले उनलाई गाइनोकोलोजिस्टसंग भेटेर उपचारको शुरुवात गरेका थियौ..सबै जांच गरेर पनि कुनै रोग पत्ता लागेन, डाक्टरले पनि सहि सल्लाह दिन सकेनन र भने "यो उमेर मा यसरि पेट दुख्नु त सामान्य हो, महिनावारी शुरु हुनेबेलाको उमेर अथवा अवस्थामा यस्तै हुने गर्छ" यस्तै जवाफ थियो डाक्टरहरुको ...
तर बुनु दिनदिन कम्जोर हुदै गएकी थिइन् फेरी एकदिन सुतेर बिहान उठे देखि गर्दन दुख्यो भनेर गर्दन सोझो पारेर हिड्न या यताउता हेर्न पनि सकिरहेकी थिइनन् .. त्यत्ति बेला पनि मैले भने उनलाई "शायद राती सुत्दा सिरानी मिलेन होला त्यसैले दुखेको हुन् सक्छ ..अलि अलि गरि बिस्तारै गर्दन दाँया बाँया गर्दै गर त दुई दिनमै ठिक हुन्छ " तर उनको गर्दन पनि दुख्न निको भएन, अहिले त हिड्दा पनि लरखाराउन लागेकी छन् ..कमजोरीले पनि होला यस्तो भएको ,केहि दिन देखि त बिहानमा उकिउकी गर्दै बान्ता पनि गर्न थालेकी छ भन्दै हुनुहुन्थियो शारदा भाउजुले. सबै कुरा सुनी सके पछी मैले भाउजुलाई भनेकी थिए" अब यसरि समय खेर फाल्न हुदैन...बुनु निकै कम्जोर हुन् थाली त्यसैले दशैं पछी नै काठमाडौँ लिएर जानुहोस र कुनै राम्रो डाक्टर संग सल्लाह लिनुहोस्" भाउजुले बिस्तारै भन्नु भएको थियो " निर्मला म एक्लै त केहि बुझ्न सक्दिन, मिलाएर समय निकाल्नुस न अनि संगै गएर फर्कौला दुइ दिनमै"... "हेरु भाउजु के हुन्छ..सके सम्म म कोशिश गर्छु नि भन्दै जवाफ दिएकी थिए .. हुर्कदै गरेकी छोरीको त्यो अवस्थाले भाउजुलाई पिर्नु त स्वाभाविक नै थियो, मलाई पनि सोच्न बाध्य बनाएको थियो बुनुको स्वास्थिक हलचलले..एकदिन भाउजु भन्दै हुनुहुन्थियो "निर्मला , कतै बुनुलाई कुनै बोक्सीले बिगारेको त छैन या केहि देउता या केहि लागेको त छैन"..आमाको मन त हो कता कता सोच्न भ्याउछ फेरी ..मलाई अलि यस्ता कुरा चित्त नबुझ्ने , त्यसैले भनेकी थिए "हे के नचाहिने सोचिराखेको हजुर पनि " तर मनमा कता कता त्यो पनि हुन् पो सक्छ बा ..किनकि यतिका उपचार त गराएकै छौ ..डाक्टरले पनि सबै ठिकै छ भन्छन ...खै के हो के"... म सोचमै तल्लिन रहे ...रात भरि छटपटाइ नै रहे. .... मन भरि अनेक तर्कबितर्क चली नै रहयो... शारदा भाउजु मेरो छिमेकि भाउजु, झापाबाट मेरो माईत नजिक बिहे भै आउनु भएको थियो..नजिकैको बसाई अनि एकै उमेरका भएकाले हामी साथी भएका थियौ..जत्ति नै काम र व्यस्त भए पनि दिन मा एकपटक भेट हुनु नै पर्ने हामीलाई..दिनभरिका बेलिबिस्तार लगाएर छुट्टीन्थियौ.
बिहान उठ्दा टाउको भारी भएको थियो मेरो...रातभरी छटपटाइ नै रहे निदाउन नै सकिन त्यसैले होला...फेरी दिमाग भरि उही रातीका कुराहरु उस्तै उत्तरबिहिन भौतारिदै छन्
उठेर हतार हतार गर्दै आँखा अस्पतालमा काम गर्ने एकजना साथीलाई फोन गरे र सारा बेलिबिस्तार लगाउदै भने " म बुनु र मेरो छोरीलाई संगै पठाउछु, जचाएर संगै घर पठाईदिनु न...कृपया यत्ति सहयोग गरिदिनुहोला"....उहाले पनि "भैहाल्छ नि" भनेर जवाफ दिएपछि मैले दुबैजनालाई तयार गराई अस्पताल तिर पठाए......दशैंको सप्तमीको दिन थियो त्यसैले सरकारी बिदा र स्कुल पनि बिदा भएकोले सजिलो भो....आँखा अस्पताल चाही प्राइवेट हुनाले खुलेको थियो, भैरहवा मा अवस्थित रणअम्भिका आँखा अस्पताल नेपालको एउटा मानिएको आँखा अस्पताल मध्य एक हो र डाक्टर सुदर्शन धिताल (नेत्र रोग बिशेषयज्ञ) नाम कमाएका डाक्टर हुन्....मैले बुनु र मेरी छोरीलाई डाक्टर सुदर्शन धिताल कै प्राईवेट क्लिनिक मा पठाएकी थिए..मनमा अनेक कुराहरु खेलाउदै म घरधन्दा तिर लागे....हतार हतार काम गर्दै थिए फोनको बेसुरे घन्टी फेरी बज्न थाल्यो...फोन उठाउन के पाएकी थिए.....
"निर्मला ,हजुर छिट्टो यहाँ आउनुहोस..डाक्टरले बोलाउनु भएको छ ..मलाई लाग्छ बुनुको आँखाको समस्या सानो छैन" फोनमा उही अस्पतालकी साथी थिइन् ..
"हुन्छ म आउछु" भनेर फोन काटे....सोच्न पनि सकिन के गरु,भाउजुलाई के भनु...तै पनि भन्नु त पर्यो नै.....फोन गरेर सबै भने भाउजुलाई र भने "आउनुहोस संगै अस्पताल जाउ"...केहि मिनेटमा नै भाउजु मेरो कोठामा आइपुग्नु भयो र चिन्तित स्वरमा सोध्नु भयो "के भएको होला निर्मला,? म त एक्लै केहि गर्न,सुन्न सक्दिन, मेरो छोरीलाई हजुरले नै सम्हाल्नु पर्छ ".....मन भरि त्राश भए पनि आफुलाई सामान्य बनाउदै भने " हजुर पनि ..सानो कुरा मा आत्तिनु हुन्छ...केहि हैन डाक्टरले त बच्चालाई के सम्झाउन सकुन त्यसैले हामीलाई बोलाएको हुनुपर्छ " भने र हामी अस्पताल तिर लाग्यौ ......हामी पुगेको थाहा पाउन साथ डाक्टर धिताल ले समय दिईहाल्नु भो र हामी उहाको कोठामा पस्यौ......डाक्टर धितालले बुनुको बारेमा सबै जानकारी माग्नु भो र हामीले शुरुदेखिको सबै कुराहरु उहा अगाडी राख्यौ..सबै सुनिसके पछी डाक्टर धिताल ले अलि गम्भीर हुदै बोल्न शुरु गर्नु भयो " बुनुको आँखामा केहि पनि समस्या छैन तर आँखाको ठिक पछाडी पट्टिको भागमा ट्युमर बढेको अनुमान मैले गरेको छु ..आँखाको नानीको ठिक पछाडी एउटा छाँया जस्तो देखिन्छ ,जसले गर्दा उसको आँखामा असर गर्यो र उसले राम्रो संग देखन सकिन..मेरो सल्लाह मा उसलाई सबै भन्दा पहिले काठमाडौँ लगेर सी टी स्क्यान गराउनुहोस र डाक्टर बशन्त पन्त लाई भेटनुहोस्.,र जत्ति सक्दो छिट्टो गर्नुहोस"..सबै सुनी सके पछी मैले सोधे "डाक्टर बशन्त पन्त लाई हामी कहाँ भेट्न सक्छौ" डाक्टर बशन्त पन्त नेपालको बरिष्ठ न्युरो सर्जन मध्ये पर्नुहुन्छ तर मलाई थाहा हुन् सकेन कहाँ भेटन सकिन्छ.. काठमाडौँ गए पछी त थाहा पाउन गाह्रो हुदैन" डाक्टर धितालले भन्नुभो र " के कसो हुन्छ मलाई जानकारी गराउनुहोला" भन्नु भो "हस " भन्दै मैले उहाँलाई धन्यबाद दिए र हामी त्यहाँबाट बाहिरीयौ ...बाहिर निस्कदा म केहि बोल्न सकिन र भाउजु पनि केहि बोल्नु भएन..छोरीहरुलाइ "ल हिड अब" भन्दै घरतिर लाग्यौ...बाटोभरि म आफुभित्रको आफैसंग द्वन्द गरिरहे "किन भगवान यत्ति निष्ठुरी छौ तिमी ..ट्युमर जस्तो रोग त्यो पनि भर्खर बाह्र बर्षकी बच्चीमा ..ब्रेन ट्युमर भन्ने त सुनेको र पढेको मात्र थिए आज अचानक मेरो सामु एउटा बिकराल पहाडको रुपमा उभियर मलाई जिस्काउदै चुनौती दिदैछ "सक्छौ भने म माथि विजय पाएर देखाउ"..म के गरु ? को संग सोधु ? के गर्दा राम्रो होला ?...मस्तिष्क शुन्य भएको अनुभव हुदै थियो मलाई.."हे भगवान म के गरु ..म बुनुको जीवनको लागि भीख माग्छु हजुर संग".. यस्तै यस्तै मनभित्रको द्वन्द मै अल्हिरहेछु र घर आइपुगेको थाहा पाइनछु..भाउजुले "निर्मला" भन्दा थाहा पाए...मेरो कोठामा पुगेर हामी दुइले सल्लाह गर्न थाल्यौ ...अब के गर्ने त भनि...भाउजु पनि एक्लै हुनुहुन्थियो ..घरमा बृद सासु ससुरा बाहेक कोहि थिएन उहाँलाइ यो परीक्षाको समयमा साथ दिने ...मनोज दाजु लगभग आठ वर्ष भैसकेको छ विदेश लागेको पनि ..यहि बच्चा अनि परिवारकै लागी संघर्ष गर्दै हुनुहुन्छ..भिसाको समस्याले गर्दा एक पटक पनि घर आउन सक्नु भएको छैन....दाजुलाई थाहा दिनु कि नदिनु ?..छोरीको बारेमा सुनेर फर्किनु भन्न पनि नमिल्ने किनकि बुनुको उपचारको लागि बाबुको उपस्थिति भन्दा पनि महत्वपूर्ण त पैसा हुने भयो अब ..." पैसा नै रहेछ सबै थोक" भन्दै सोचे मनमनै..दुवै जना मिलेर दशैंको टिकाको भोलि पल्ट नै काठमाडौँ जाने र दाजुलाई अहिले केहि नभन्ने. निर्णय लियौ..चारै दिन भए पनि समय छ हामीसंग सर सल्लाह लिदै गरौला सबै संग...जति विचार विमर्श गर्यो त्यति राम्रो होला यसको बारेमा किनकि हामीलाई पनि केहि थाहा छैन ,,कहाँ के गर्ने भनेर फेरी अलि डाक्टरहरुको बारेमा जानकारी भएको कोहि छ भने बुझ्दै गर्नुहोला हजुरले ..म पनि काठमाडौँ फोन गरेर डाक्टर बषन्तको बारेमा बुझ्न लगाउछु ..भाउजु धेरै चिन्ता नलिनुस..सबै ठिक हुन्छ" भनेर सान्त्वना दिदै मैले भाउजुलाई घर जान आग्रह गरे ...उहाँ पनि केहि नबोली सानो मन गर्दै हारेको जुवारी जस्तै लुरुलुरु घरतिर लाग्नु भयो.... डाक्टर बशन्त पन्तको बारेमा मैले राम्रो संग पढेकी थिए कुनै नेपाली पत्रिकामा ..उहाँले (शायद सिंगापुरमा) अपरेशन गरिएका शरीरको भाग जोडिएर जन्मेका नेपाली बालिकाहरु "गंगा जमुना" को अप्रेसनमा एउटा महत्वपुर्ण जिम्मेबारी निभाउनु भएको थियो र नेपाल फर्के पछी ती बालिकाहरुको रेखदेख उहाँले नै गर्ने गरेको थाहा थियो ..साथै इरानका दुइ उन्नाइस बर्षिय युवतीहरु जसको टाउको जोडिएको थियो...उनीहरुको शल्यक्रियामा रहेका डाक्टरहरुको टोलीमा डाक्टर बशन्त पन्त उपस्थित रहेको कुरा पढेकी थिए...इरानका ती दुइ युवतीहरुको शल्यक्रिया पछी मृत्यु भएको थियो ...इरानका ती युवतीहरुको शल्यक्रियामा भएको सबै घटना र शल्यक्रियाको सफलता पछी अचानक भएको अधिक रक्तस्राव का कारण उनीहरुको मृत्यु भएको कुराहरु उहाँले खुल्ला रुपमा आफ्नो अन्तर्वार्तामा भनेको कुराहरु पनि मैले कुनै पत्रिकामा पढेकी थिए...यो नाम मेरो लागी नौलो त थिएन तर खोज्नु पर्ने त थियो कहाँ भेट हुन्छ र कुन किल्निक या अस्पतालमा भेट हुन्छ भनेर ...
, बर्ष भरिकै ठुलो चाड दशैं मुखमा थियो त्यसैले सोचे जस्तो गरि सबै संग सर सल्लाह गर्ने मौका हामीले पाएनौ तर काठमाडौँ फोन गरेर मैले डाक्टर बशन्त पन्तको बारेमा जानकारी लिन मेरो ज्वाईं अनिल श्रेष्ठलाइ भनिसकेकी थिए र उहाँले मलाई डाक्टर बशन्त पन्तको बारेमा जानकारी लिएर भन्नु भयो "डा. बशन्त पन्त बाग बजारको काठमाडौँ मोडेल हस्पिटलमा बस्नुहुन्छ र जाँच प्रक्रियाका लागी पहिले नै नाम दर्ता गर्नु पर्दो रहेछ"...फोनमा नै मैले हामी दशैंको भोलि पल्ट काठमाडौँ आउछौ त्यसैले दुइ दिन पछी डा. बशन्त संग भेट हुने गरि नाम दर्ता गर्न भने...हामीले डा. बशन्त संग भेट्नु भन्दा पहिले सी टी स्क्यानको सोच बनाएका थियौ....
दशैं आयो....कुनै उमंग बिना, सबै उत्साह रहित ..सोचकै तानाबानामा दशैंलाई बिदा गर्यौ ...भाउजुले धेरै नै कर गर्नु भयो मलाई पनि संगै काठमाडौँ जाउ भनेर र मैले पनि सोचे." साथी भनेकै त पर्दा साथ दिनलाई हो ...सुखमा त् सबै साथ हुन्छन ..म कसरि आफ्नो सथित्व निभाउन बाट टाढिन सक्थे र ? जीवनयापनका लागि ती दिनहरुमा मसंग एउटा पशल थियो र त्यसैमा मेरो संघर्षित दिनहरु बितीरहेका थिए..मैले केहि दिनलाई भए पनि पशल बन्द गर्ने पर्यो किनकि म स्वार्थी हुन् सकिन..
सल्लाह बमोजिम हामी दशैको भोलि पल्ट काठमाडौँको लागि निस्कियौ ..नेपालको यातायात सुबिधा साथै माओबादीको आतंकले ठाउँ ठाउँ राखिएका सुरक्षा पोस्टहरुमा रोकिदै..कहिले कहाँको ट्राफिक जाम त कहिले के गर्दै हामी बिहान सात बजे भैरहवाबाट हिडेका सबै राती एघार बजे मात्र काठमाडौँ पुग्यौ..हामी भैरहवाबाट बाह्र जना हिडेका थियौ..हामी तीन जना र अरु कोहि दशैं मनाउन घर आउनु भएका फर्कदै त कोहि बिबिध कामले राजधानी जादै हुनुहुन्थियो..सबैजना एकजना छिमिकी बहिनीको डेरामा गएर रात बितायौ ..किनकि रातिको एघार बजी सकेको थियो र त्यसबेला काठमाडौँमा राती एघार बजे पछी बाट बिहान सम्म कर्फ्यु लाग्थ्यो ...कोहि पनि आफ्नो गन्तब्य सम्मपुग्न सकेनौ त्यो दिन र त्यहि एकै ठाउँमै गुट्मुटिएर रात बितायौ ..
भोलि पल्ट बिहानै अनिलले फोन गर्नु भयो र सी टी स्क्यानको लागी हस्पिटलको नाम दिनु भो.. उहाँ त्यहि आउने र त्यहि भेटने कुरा भए पछी हामी सिधै हस्पिटल तिर हानियौ..बिहानको करिब एघार बजेतिर बुनुको सी टी स्क्यान गरियो.अनिल पनि त्यहि आउनु भयो र भोलि बिहान नौ बजे काठमाडौँ मोडेल हस्पिटलमा डा. बशन्त संग भेटने समय भएको जानकारी दिनु भयो .डाक्टरले रिपोर्ट लिन तिन बजे बोलाए पछी हामी बाँकि कुरा फोनमा गर्ने र तीन बजे यहि हस्पिटलमा भेटने बाचा संगै अनिलसंग छुट्टियौ र त्यहि राति बास बसेको साथीको डेरामा फर्कियौ..साथीले खान पकाई राख्नु भएको रहेछ, खाएर झोला झाम्टा बोकी आफ्नो गन्तब्य तिर लाग्यौ..हामीले तीनकुनेमा शारदा भाउजुको आफन्तको मा डेरा जमाउने निर्यण गरेका थियौ त्यसैले सरसामान सबै तिनकुनेमा थन्काएर र अस्मितालाई पनि त्यहि छोडेर हामी फेरी हस्पिटल पुग्यौ सी टी स्क्यानको रिपोर्ट लिन...
हस्पिटल बाहिर मात्र के पुगेका थियौ शारदा भाउजुले मेरो हात जोडसंग समाउनु भयो..म झसंग हुदै उहाँलाई हेरे.."निर्मला, म भित्र जान सक्दिन...रिपोर्टमा के आयो होला ? निर्मला हजुर नै जानुहोस र रिपोर्ट लिएर आउनुहोस न ...म यहि पर्खेर बस्छु" भन्दै बाहिर नै थचक्क बस्नु भयो..मैले पनि केहि भन्न सकिन र उहाँलाई त्यहि छोडी हस्पिटल भित्र छिरे...भित्र काउन्टरमा सोधे....रिपोर्ट आइसकेको रहेछ तर डा. स्वयंले हजुरलाई भेटने भन्नु भएको छ भने पछी मेरो पनि मनमा चिसो पस्यो.." के हो ..कस्तो रोग हो ..? जे जस्तै भए पनि हे भगवान तीमीले न्याय गर्ने पर्छ" नानाथरी कुरा मनमा खेलाउदै म डा. को कोठामा पसेछु..भित्र एकजना डा.(मैले उहाँको नाम बिर्सिकिले लेखना असमर्थ भए) केहि हेर्दै हुनुहुन्थियो...मैले भने "म अश्मिताको सी टी स्क्यानको रिपोर्ट लिन आएको"...
उहाँले सोध्नु भयो "हजुर अस्मिताको को हुनुहुन्छ"
"अस्मिता मेरी साथीकी छोरी हुन " मैले जवाब दिए
"अस्मिताको आफन्त खोइ त " फेरी प्रश्न आयो ..यति सुने पछी मेरो मुटु र शशिर नै हल्का कामना थाली सकेको अनुभव मा आफैलाई भैरहेको थियो ..फेरी पनि जवाफ त् दिन थियो दिए ..
"अस्मिताको बाबा विदेश हुनुहुन्छ अनि आमा हस्पिटल बाहिर बस्नु भएको छ..उहाँलाई पनि अलि सन्चो नभए जस्तो भएको ले म रिपोर्ट लिन आएकी".... बुनुको ( अस्मिताको घरमा बोलाइने नाम) रिपोर्ट सुन्न हतारिएर मैल झुठो बोल्न पनि पछी परिन..
"हेर्नुस..अस्मितालाई ब्रेन ट्युमर छ र ठुलो पनि छ ..छिटो भन्दा छिटो कुनै न्युरो सर्जनलाइ देखाउनु पर्छ र अपरेसन गर्न जरुरि छ ..त्यसैले डा. उपेन्द्र देवकोटालाई भेट्नुहोस् उहाँ नर्भिक हस्पिटलमा भेटिनु हुन्छ"...मेरो अगाडि डा. बोलिरहेको आवाज मैले कतै टाढाबाट आएको जस्तो अनुभव गर्दै थिए..आँखा अगाडी सबै सप्तरंग फैलिए झैँ एकअर्काले मिश्रित रुप लिदा कुनै चिज छुटटाउन सकिरहेकी थिइन्..अन्धकार पनि हैन के हो यो उफ्फ्फ़ ..दैव तीमी कति निष्ठुरी..तिम्रो के बिगारेकी थिइन् र अस्मिताले .आज यस्तो भाग्य लेखि पठायौ"...डा. बोल्दै थिए तर मैले बीच मा नै रोके र भने "हामीले डा बशन्त पन्तलाई भोलि भेटने गरि नाम दर्ता गराएका छौ"..
"त्यसो भए त भै हाल्यो... उहाँ पनि बरिष्ठ न्युरो सर्जन हुनुहुन्छ" मैले केहि नबोली रिपोर्ट लिए र डा. को कोठा बाट बाहिरिए..हस्पिटल बाहिर भाउजु बेन्चमा बसी राख्नु भएको थियो र अनिल पनि आउनु भएको रहेछ..म नजिक पुग्न साथ भाउजुले सोध्नु भयो "निर्मला के भन्यो डा. ले " मैले पुलुक्क अनिल तिर हेरे ..उहाँको आँखा पनि मै माथि रोकिएको पाए..."रिपोर्ट मा बुनुलाई ब्रेन ट्युमरको शंका गरिएको छ तर सबै कुरा भोलि मात्र थाहा हुन्छ डा. बशंतले हेरे पछी" भने सुस्तरी ...
अर्को दिन बिहान हामी सबै अस्मितालाई लिएर काठमाडौँ मोडेल अस्पताल पुग्यौ...डा. बशन्तको कोठा माथिल्लो तल्लामा रहेको थाहा पाए पछी हामी माथि चढ्यौ र उहाँको ढोका अगाडी बसेर आफ्नो पालो कुर्न थाल्यौ ..डा. बशन्त पन्त को अत्यधिक व्यस्तताको कारणले गर्दा अस्पतालको नियम अनुसार सिधै डा. बशन्तलाइ भेट्न नमिल्दो रहेछ ..पहिले उहाँको सहयोगीहरुले हेर्दा रहेछन...हाम्रो पालो आए पछी हामीले डा. लाइ सबै बिस्तारित रुपमा भन्यौ ..यहाँले पनि सबै रिपोर्ट हेरे पछी हामीलाई बाहिर कुर्दै गर्नुहोस म डा. बशन्तलाइ सबै रेपोर्ट देखाउछु र के गर्ने सल्लाह लिएर आउछु भन्नु भो ..."हुन्छ " भन्नु शिवाय केहि उपाय थिएन..हामी बाहिर बसेर डा. बशन्तको कोठाको बन्द ढोका हेर्दै ,उहाँबाट आउने जवाब को प्रतिक्षामा थियौ ..लगभग तीस मिनट जति हामीले उहाँको प्रतिक्षामा खर्चेका मात्र के थियौ ..कोठाको बन्द धोका खोल्दै तीनजना डा. हरु बाहिरिनु भयो ..एक जना त ती पहिलेकै डा. हुनुहुन्थियो भने अरु दुइ जना नयाँ हुनुहुन्थियो .."यी दुइ मध्ये एकजना पक्कै पनि डा. बशन्त हुनुपर्छ " मैले अनुमान लगाए मनमनै ...डा. हरु बाहिर आउन साथ "अश्मिता को हुन् ? " भनि सोध्नु भयो र पहिले नै भेटेको डा.ले हामी तिर इशारा गर्नु भयो ..म र भाउजु पनि बसेको ठाउँबाट उठी सकेका थियौ उहाँहरुलाई देख्न साथ....एकजना डा. नजिक आएर भन्नु भयो .."म डा. बशन्त , मैले अस्मिताको रिपोर्ट हेरी सके ..एक पटक उसको जाँच प्रक्रिया पुरा गर्छु र पछी हजुरहरु संग कुरा गर्छु ..अनि एकजना म संग भित्र आउन सक्नु हुन्छ " भन्नु भयो ..झन्डै नेपाली चलचित्रका नायक भुवन के. सी. संग मिल्न खोज्ने रुप..अलि होचा अनि हसिलो मुहारका धनी डा. बषन्तको अनुहारमा अनौठो किसिमको एउटा चमक थियो...
भाउजु भित्र जान मान्नु भएन त्यसैले म नै डा. हरुको पछी लागे कोठा भित्र ..डा. बशन्तले अस्मिताको सम्पूर्ण जांच गरि सके पछी सोध्नु भयो "अस्मिता तीमी बाहिर एक्लै जान सक्छौ?".."सक्छु" अस्मिताले बिस्तारै जवाब दिइन...उनि ढलमलाउदै बाहिर निस्किन किनभने उनि आफ्नो सन्तुलन मिलाएर हिड्न नसक्ने नै भैसकेकी थिइन् ....
उनि बाहिर निस्के पछी डा. बशन्तले मलाई सोध्नु भयो" हजुर अस्मिताको को हुनुहुन्छ?"
मैले भने "म अस्मिताको आमाको साथी हुँ, उहाँले मलाई भित्र पठाउनु भयो किनकी उहाँ निकै आत्तिनु भएको छ छोरीको अवस्थाले. अस्मिताको बाबु पनि अहिले यहाँ हुनुहुन्न र बिदेशमा भएको हुदा के दुख दिनु भनेर हामीले खबर पनि गरेका छैनौ ..."
"तपाई जस्तो साथी पाउनु उहाँको भाग्य हो तर हामीले उहाँलाइ शब्दले अनि सक्दो कसरि हुन्छ सहगोय मात्र गर्न सक्छौ..सहने र भोग्ने उहाँहरु (आमा र बाबु ) नै हुन..अब उहाँहरु नै मेरो अगाडी बलियो भएर आउनु पर्छ..जानुहोस अस्मिताको आमालाई लिएर आउनुहोस.."डा. बशन्तले भन्नुभयो
म बाहिर निस्के र भाउजुलाई भने "आउनुहोस भित्र"
"के भयो निर्मला ?"भाउजुले सोध्दै हुनुहुन्थियो तर मैले केहि नभनी इशारा गरे भित्र पस्न अनि अस्मितालाई अनिल संगै बस्न लगाएर हामी भित्र पस्यौ..मनभरी अनगिन्ती कौतुहलता..चिन्ता बोकेर शुन्यता पोतिएको अनुहार सहित हामी दुइ डा. बषन्तको अगाडी थियौ..उहाँले हामीलाई बस्न इशारा गर्नु भयो ..हामी आज्ञाकारी बालक झैँ थचक्क कुर्सीमा बस्यौ...
"हेर्नुहोस..म एउटा सामान्य मनिष हुँ..मैले प्रयाश गर्ने हो आफ्नो दायित्व पुरा गर्ने..सबै गर्ने भगवान छन् ..हामी आशाबादी हुनुपर्छ.".डा. बशन्तले भन्नु भयो
"शारदा बहिनी, के तपाइलाई थाहा छ अस्मितालाई ब्रेन ट्युमरछ भनेर ?" डा. बशन्तले सोध्नु भयो भाउजुलाइ..
"सुनेको छु सबै रिपोर्टमा त्यहि छ रे .निर्मलाले पनि त्यहि भन्नु हुन्छ तर मलाई केहि थाहा छैन यो कस्तो रोग हो भनेर" भाउजुले बरबराउदै जवाब दिनु भयो.
"शारदा बहिनी ..हजुरले आफुलाई बलियो बनाउनु पर्छ, स्यमता अपनाएर मन देखि नै कठोर भन्दा कठोर स्थिति पनि बेहोर्न सक्छु भनेर आफुलाई सम्झाउनुहोस्...जीवन दिने जीवन लिने हाम्रो हातको कुरो होइन ..हामीले त सम्हाल्ने हो सकेसम्म तर हामी भगवान हुन् सक्दैनौ त्यसैले ध्यानले दिएर मनलाई सम्हालेर मेरो कुरा सुन्नुहोस..डा. भएको नाताले मैले हजुरलाई कुनै झुठो आस्वासन दिएर आशामा राख्न सक्दिन ..म निर्मला अरु हामी जस्ता सबै तपाइको दुखमा साथ दिने र परेमा सहयोग गर्ने मध्यम मात्र हौ ...भोलि उपचार गर्दा गर्दै, कोशीश गर्दा गर्दै पनि हामीले अस्मितालाई गुमाउन सक्छौ र त्यो चोट हामी सबैले हैन तपाई र तपाइको श्रीमानले नै सहनु पर्ने हुन्छ. ..त्यसैले तपाइले आफुलाई बलियो पारेर भोलिको दिनलाई स्वीकार्न तत्पर रहनुहोस र अस्मिताको बाबुलाई सबै यथार्थ कुराहरु भन्नुहोस, सम्झाउनुहोस.....हो अस्मितालाई ब्रेन ट्युमर छ र अस्मिता जीवनको अन्तिम घडीमा छन्, कुनै पनि बेला उनको जीवनको चक्र रोकिन सक्छ , शायद एक घण्टा ,एक दिन या एक हप्ता ..त्यो भन्दा बढी हैन ..तर मैले मौका मा नै उनलाई हेर्न पाए..यहाँ त म सम्म बिरामी आइ पुग्न नै समय लाग्छ ..अहिले पनि धेरै जना छन तर अचानक डा.सुरज श्रेष्ठले अस्मिताको रिपोर्ट हेर्न दिनु भयो. हेरे,पढे अनि सोचे हप्तौ देखि मेरो पर्खाइमा बसेका बिरामी भन्दा अस्मिताको स्थिति धेरै नाजुक देखे र मैले अहिले नै कोशिश गरे भने उसलाई शायद जीवनदान दिन सक्छु कि भन्ने आशामा उनको यो रिपोर्टहरु लिएर बाहिर निस्केको हुँ...मेरो आइतबार एउटा अपरेशन छ तर मैले त्यो क्यान्सिल गर्नु पर्छ अस्मिताको लागी र मैले आइतबार अस्मिताको अपरेशन गर्ने बाचा दिन्छु...सोच्दै हुनुहुन्छ होला मैले किन आइतबार सम्म कुर्ने त अस्मिताको अपरेशनलाइ जबकी उनको जीवनको समय निकै कम छ भने...आजभोलि या अहिलेनै किन नगर्ने त भन्ने प्रश्न तपाईहरुको मनमा आउछ र धेरै पटक म संग सोधिएको छ ...मैले अस्मिताको सबै रिपोर्ट हेरे ...ट्युमर छ र टाउकोको पछिल्लो भागमा छ र त्यो ट्युमरले ब्रेन सम्म रगत आवत जावत गर्ने प्रक्रियालाइ रोकिदिएको छ जसले गर्दा अस्मिता राम्रो संग हिड्न बोल्न सकेकी छैनन् भन्ने कुरा मात्र बुझेको छु ...भोलि एम.आर. आइ. गर्नु होस् कमलादीमा छ हस्पिटल म सबै ठेगाना दिन्छु..त्यहाँ अस्मिताको तुरुन्त रिपोर्ट दिनेछन मैले भने पछी..त्यस पछी एकदिन मैले पुरै कसरि अपरेशन गर्ने भनेर स्टडी गर्नु पर्छ..फेरी अपरेशन गर्दा म एउटा डा. मात्र भएर हुदैन..अरु पनि डा. हरुको आवश्यकता पर्छ र मैले सबै संग सल्लाह दिनु लिनु पर्छ..हस्पिटलको पनि नियम प्रक्रियाहरु छन् जुन तपाईहरुले पुरा गर्नु पर्ने हुन्छ र त्यो सबै तल काउन्टरमा थाहा हुन्छ ....मैले भोलि एम आर आइ को रिपोर्ट पछी भन्ने छु तपाईहरुलाई ..के गर्नु पर्ने छ भनेर ... त्यसैले मैले आइतबार सबै भन्दा छिट्टो समय दिएको छु अस्मिताको लागी ... म हर सम्भव कोशिश गर्ने छु अस्मिताको जीवन बचाउने र म एउटा डा. भएकोले मेरो कर्तब्य पनि हो तर उपचारक्रममा केहि पनि हुन सक्छ र डा. पनि सधै सफल नै हुन्छन भन्न सकिदैन...भगवान संग प्राथना गर्नुहोस सबै राम्रो होस भनि" डा. बशन्तले यसरि सानो भन्द सानो कुरा बुझाएर हामीलाई सम्झाउनु भयो ..हामी स्तम्भ रही सुनी रहयौ...मनभरी भुइचालो गइ रह्यो तर मनिष जस्तो पनि परिस्थिति सहन बाध्य छ ...सहयौ हामीले...भाउजुको त बोलि बन्द नै भएको थियो ......
सबै कुरा विस्तारपुर्वक डा. बशन्तले सम्झाई सके पछी भोलि यम आर आइ गर्न डा. बशन्तको अनुमति पत्र अनि अनुहार भरि शुन्यता र मौनता बोकी हामी डा. बशन्तको कोठा बाट बाहिरियौ...बाहिर अनिल र अस्मिता हामीलाई नै पर्खीदै थिए... हामीलाई चुपचाप देखेर अस्मिताले सोधिन " आँटी, के भयो..? हामी अब घर जाने हो ?"
अनिल ले पनि हामीलाई एकोहोरो हेर्दै हुनुहुन्थ्यो ..भाउजु केहि बोल्नु भएन..मैले नै बल गरेर आवाज निकाले .."हो अब घर जाने...भोली यम आर आइ गर्न कमलादी जानु पर्छ अनि हेरौ डा.ले तिमीलाई कहिले घर(भैरहवा ) जान भन्नुहुन्छ." मेरो सबै कुरा अस्मिताले पक्कै पनि बुझिनन..उनलाई के थाहा यम आर आइ के हो र किन गर्ने ..अनीलले बुझ्नु भयो र सोध्नु भयो " त्यहाँ नाम टिपाउनु पर्ने होला ... फोन नं. ल्याउनु भयो त ?"
"पर्दैन डा. बशन्तले चिट्ठी दिनु भएको छ त्यसैले हुन्छ र भोली नै सबै रिपोर्ट लिनु पर्ने र डा. बशन्तलाइ ल्याएर देखाउनु पर्छ" भनेर अनीललाइ छोटकरीमा सबै कुरा भने र अपरेशन आइतबार गर्ने कुरा पनि भने...तर अस्मिता पनि संगै भएकीले भित्र डा. ले हामीलाई उनको जीवनको बारेमा भन्नु भएको कुरा लुकाए...भाउजु अस्मिताको नजिक कुर्सिमा बसेर टोलाउदै हुनुहुन्थियो "भाउजु, जाउ घर " भन्दै मैले झक्झकाए...उहाँ उस्तै गरि चुपचाप उठ्नु भयो र अगाडी लाग्नु भयो...
मैले पनि अस्मिताको हात समातेर भाउजुलाई पच्छाए...अनिल पनि हामी संग संगै पाइला मिलाउदै हुनुहुन्थियो..काठमाडौँ मोडेल अस्पतालबाट बाहिर निस्केर हामी तिनकुने तीर लाग्यौ...
बाटो भरि भाउजु केहि बोल्नु भएन....मैले पनि सान्तवना दिने कुनै ठाउँ नै देखिन त्यसैले चुपछाप बसिरहे...
"दैब, की त जन्म नै नदिनु थियो ... दिए पछी किन फेरी यस्तो अन्याय गर्नु ..के नै बिगारेकी थिइन् र तिम्रो अस्मिताले ..?" भगवान संग एक्लै झगडा गर्दै थिए म मनमनै .." दाईलाइ केहि भनेको छैन ..के भनेर सम्झाउने होला ..न भन्ने पनि स्थिति रहेन डाक्टरले नै भन्न भने पछी...भोलि के हुने हो थाहा नै छैन..उनको जीवन बचाउन प्रयाशरत डा. बशन्तलाइ नै शंका छ उनको जीवन प्रति...हे भगवान तिमीले यति अन्याय त गर्ने सक्दैनौ ...किन यति निष्ठुरी बन्दैछौ..अस्मिताको अवस्था देख्दा तिम्रो मन दुख्दैन ?" म आफ्नै उही पुरानो अन्तरद्धन्द मै अल्झी रहेकी रहेछु .भाउजुले बोलाउदा झस्के" निर्मला" हामी ओर्लिन पर्छ यहाँ" ... कान्तिपुर पब्लिकेसन अगाडी हामी बस बाट ओर्लियौ र अगाडिकै तेर्सो बाटो समातेर हिडयौ ...घरमा पुग्दा साँझको चार बजिरहेको थियौ..."राधाले पर्खी रहेकी रहेछिन..घरमा छिर्न साथै सोधिन "के भन्यो डा. ले "..अस्मिताको अगाडी केहि भन्न चाहिन त्यसैले " भोलि बिहानै यम आर आइ गर्न जानु छ कमलादी" भनेर जवाब दिए..अस्मितालाई केहि खाउ भनेर म हम्रो लागी तयार पारिएको कोठामा आएर भुइमा थचक्क बसे...भाउजु पनि त्यहि आउनु भयो र मेरै छेउमा बस्नु भयो .. एकछिन पछी राधाले ( शारदा भाउजुको दिदिकी छोरी) चिया ल्याएर हामी आगाडी राखिन..उनको आँखा भरि प्रश्न देखे पनि म चूपचाप चिया पिउन थाले....यत्तिकैमा अर्को कोठामा राखेको फोनको घन्टी बज्न थाल्यो ..राधा उठेर गइन फोन तीर..भाउजू र मेरो बीच फेरी उही शुन्यता गहिरियो.."आँटी, अंकलको फोन हो आउनु यतै" राधा अर्को कोठाबाट चिच्याईन..." भाउजु, दाइलाई सबै कुरा भन्नु है डा. ले भने झैँ" मैले बिस्तारै भने ...
"निर्मला, म फोनमा कुरा गर्न सक्दिन..म केहि भन्न पनि सक्दिन" भन्दै रुन थाल्नु भयो...मैले आफुलाई नै हिम्मत बाँधेर उठाएर फोन भएको कोठमा गए..राधा संग फोन लिएर "हेल्लो" मात्र के भन्न भ्याएकी थिए " शारदा, नानीलाई के भएर काठमाडौँ ल्याएको हो ? भैरहवा मा नै उपचार हुन् सकेन र ? के भएको ? मलाई किन फोन नगरेकी ?" मनोज दाइ एकहोरो प्रश्न गर्दै हुनुहुन्थियो...
"दाइ , म निर्मला ..घरमा फोन गर्नु भएको थियो ? सन्चै हुनुहुन्छ ?" मैले कुरा गर्न भूमिका बाँध्न खोजे ...
" अह म सन्चै छु ..घरमा फोन गरेको त आमाले अस्मितालाई जचाउन काठमाडौँ गएकी छ भन्नुभो, मैले त् केहि बुझ्न सकिन र यहाँ राधालाई फोन गरेको..के भएको हो नानीलाई" दाइले उही प्रश्न दोहाराउनु भयो ...मैले पनि धेरै कुरा गर्न सकिन र सिधै कुरा खोल्न पट्टि लागे ...के नै गर्न सक्थे र त्यो भन्दा अरु ....
"दाइ , आफुलाई सम्हाल्नुहोस् र मेरो कुरा ध्यान दिएर सुन्नुहोस..दाइ सोचेको केहि हुदैन रहेछ...हुने त् त्यहि रहेछ जुन विधाताले लेखिदिएको छ" भन्दै मैले आज सम्म भएका सबै कुराहरु भने ....हामी बिधतासंग कुनै पनि युद्ध गर्न पछी पर्ने छैनौ र उनको जीवन बचाउने कोशिश मा कुनै कमि हुनेछैन" आफैलाई आफ्नो आवाज कहिँ टाढा बाट आएको जस्तो भान हुँदै थियो मलाई .... म बोल्दै रुदै थिए दाइ सुन्दै रुदै हुनुहुन्थियो..हामी दुवै संगसंगै रुदै थियौ ..
"निर्मला..मेरो छोरी सुइ संग डराउथी..आज उसैको टाउको को अप्रेशन गर्ने भन्छौ...कसरि सहन सक्छे त्यसले...?" दाइ झन् भक्कानिदै हुनुहुन्थियो..." म आउछु निर्मला..के गर्न बस्ने र कसका लागि कमाउने.." दाइले नेपाल फर्कने कुरा गर्दै हुनुहुन्थियो ....
यहाँ त् दाइ को भन्दा पनि बढी उपचारको लागि रुपैयाको महत्व देख्दै थिए मैले..दाइलाइ सन्तानको पिडामा दुखि हुने हक त् भयो तर साथमा रहने भाग्य लिएर आउनु भएनछ ..अस्मिताको जीवनको घेरा आइतबार सम्म बाँधिएको छ...त्यो भन्दा पहिले पनि केहि हुन् सक्छ र अपरेशन कोठामा सम्म पुर्याउन पाउने हो की हैन थाहा छैन..खर्च कति लाग्ने हो थाहा छैन...पैसा नै भएन भने जीवन पनि नहुने भो यहाँ ...हे भगवान" सोच्दै दाइलाई सम्झाउन थाले..
"दाइ, हाम्रो हातको कुरा केहि भएन..हजुर आउनु भयो भने पनि आइतबार सम्म आइ पुग्नु हुन्न,,,फेरी यहाँ अपरेशनलाइ पक्कै पनि सानो खर्चले भ्याउदैन..भगवान संग प्राथना गर्नुहोस र आफुलाई बलियो बनाउनुहोस.के नै गर्न सकिदो रहेछ र सहनु शिवाय त्यसैले विषम भन्दा पनि विषम परिस्थिति र तितो सत्यलाई स्वीकार्न तयार हुनुहोस " यस्तै यस्तै शब्द बाहेक म संग पनि केहि बाँकि थिएन...हामी रुदै धेरै बेर कुरा गर्यौ र अलिकति भए पनि म सफल भए सम्झाउन...
"शारदा , खै त ?" दाईले सोध्नु भयो
"म कुरा गर्न सक्दिन भनेर आउन मान्नु भएन.." मैले जवाब दिए .........
"शारदा , खै त ?" दाईले सोध्नु भयो
"म कुरा गर्न सक्दिन भनेर आउन मान्नु भएन.." मैले जवाब दिए
"बोलाउन उसलाई अनि नानीलाई पनि निर्मला, नानी संग कुरा गर्छु अनि शारदालाई पनि सम्झाउछु, त्यसलाई पनि त् गारो भएको होला " दाइ ले भन्नु भो
"हुन्छ " भनेर मैले भाउजु र नानीलाई बोलाएर कुरा गराए...
शुक्रबार बिहानै हामी अस्मितालाई लिएर यम आर आइ गराउन गयौ...अस्मिता अलि मोटी थिइन फेरी डराएर पनि होला सिरिन्ज दिन नशा नै नभेटिएर धेरै समय लग्यो र दिउसको एक बजे मात्र हामीले सबै रिपोर्ट पायौ..रिपोर्ट लिएर डा. बशन्तलाइ भेट्न ट्याक्सी लिएर बाग बजार तीर दौडियौ...शुक्रबार भएको ले अस्पतालबाट डा. बाहिरिने डरले सताउदै थियो मलाई...तर डा. बशन्त हामीलाई नै पर्खेर बस्नु भएको रहेछ
"किन ढिलो भयो" भनेर सोध्दै रिपोर्टहरु सबै लिनु भो
मैले सबै यथार्थ भने ...उहाँले हामीलाई यहि बस्दै गर्नु भनेर अर्को कोठा तीर लग्नु भयो ..लगभग तीस मिनटको पर्खाई पछी उहाँ बाहिर निस्कनु भयो
" निर्मला बाहिनी , हामी संग समय धेरै कम छ ....मैले अहिले नै अस्मितालाई यहाँ भर्ना गर्न लगाउछु र सबै जांच प्रक्रिया पुरा गर्न भन्छु...रगतको आवश्यकता पर्न सक्छ त्यसैले त्यसैले दुइ तीन जना रगत दिने मान्छे तयार पर्नुहोला..अस्पतालको नियम असुसार कुनै पनि अपरेशन अगाडी धरौटी जम्मा गर्नु पर्ने हुन्छ ..तल काउन्टरमा गएर सबै पुरा गर्नुहोस र आजै गर्नुहोस किनकि भोलि शनिबार हो ...आज पनि बन्द हुने बेला भैसक्यो त्यसैले छिट्टो गर्नु होस्.." हामी संगैको अर्को कुर्सिमा बस्दै टेबलमा राखेको लेटर प्याडमा केहि लेख्नु भयो र त्यही प्याड हामीलाई दिनु भयो...मैले त्यो चिट्ठी समाउदै उठे...तर हामीसंग जम्मा जम्मी पन्ध्र हजार भएको ले डा. संग नै सोधे "कति लाग्छ होला धरौटी रकम?" भनेर उहाँले थाहा छैन त्यसैले तलै काउन्टरमा नै भन्नेछन बनेर जवाब दिनु भए पछी हामी तल काउन्टरमा आएर डा. बशन्तले दिनु भएको चिट्ठी बुझायौ...सबै कागजपत्रहरु भर्ने काम सकिए पछी हामीसंग धरौटी रकम मागियो (मलाई यति नै भनेर अहिले सम्झना आउन सकेन) जुन हामी संग भएको रुपैया बढी थियो.... बैंकहरु बन्द भैसकेका थिए र यहाँ अस्पताल पनि बन्द हुने बेला भैसकेको थियो त्यसैले मैले हामी संग अहिले पुरै पैसा नभएको र शुक्रबार भएको ले उपलब्ध गराउन नसक्ने कुरा राख्दै आइतबार बिहानै सबै रकम जम्मा गर्नेछु भन्दै काउन्टरमा भएकी युवती संग सम्झौता गर्न खोजे तर उनले त्यसरी मिल्दैन भनिन.."आजबाट अस्मिता अस्पतालमा बस्नु पर्छ त्यसैले धरौटी पनि आजै जम्मा गर्नु पर्ने हुन्छ " उनले मेरो बिबशता बुझेर पनि बाध्यताको पछ्यौरी ओढ्न बाध्य भइन...केहि उपाय नदेखे पछी मैले काउन्टरमा म एकछिन मा आउछु है भन्दै र भाउजुलाई यहि बस्नुहोस भन्दै डा. बशन्तको कोठातिर दौडिए.....डा. बशन्त कोठामा नै हुनुहुन्थियो..म डा. बशन्तको अगाडी पुग्दा मेरा दुवै आँखा बिबशताले छाल्किसकेका थिए...मलाई देखेर डा. बशन्त पनि आत्तीनु भयो र सोध्नु भयो " के भयो ? अस्मिता खोइ ?"....मैले उनीहरु तल भएको ,हामीसंग प्रयाप्त धरौटी रकम नभएको र त्यो रकम अहिले नै उपलब्ध गराउन नसकेको सबै विवरण दिए ....

"यहाँहरु संग अहिले प्रयाप्त धरौटी रकम रहेनछ तै पनि अस्मिता आजै अस्पताल भर्ना हुनैपर्छ त्यसैले सबै कागजी प्रक्रिया पुरा गरि धरौटीको सबै रकम मेरो नाम मा राख्नुहोस...आइतबार यहाँले त्यो रकम बुझाउनु हुनेछ...यदि बुझाउनु भएन भने मैले आफै अस्पतालको रकम तिर्ने छु" उहाँले काउन्टरमा बसेको युवतीलाई भन्नु भयो....
"हस डाक्टर " भनिन उनले ..डा. बशन्तले मलाई सबै प्रक्रिया मिलाएर अस्मितालाई लिएर वार्डमा जानु म त्यहि आउछु " भन्नुभयो
मैले धन्यबाद दिए बिस्तारै ..उहाँले मलाई काँध थप्थपाउदै माथितिर लग्नु भयो...मैले लामो सांस फेरे....भाउजु उस्तै मुर्ति झैँ हुनुहुन्थियो....
त्यहि दिन अस्मितालाई अस्पतालमा भर्ना गरियो र अप्रेशन अघिका सबै जांच गरायौ...त्यो रात हामी संगै अस्मिता संगै बस्यौ.. भोलि पल्ट शनिबार मैले आइतबार बिहान दश बजे अपरेशनको समय भएको जानकारी सबै आफन्तलाई दिए..र रगतको आवश्यकता पर्न सक्ने हुनाले रगत दिन पनि तयार रहन भने....तीन दिनको शारीरिक साथै मानसिक दुखले मलाई थकित बनाएको थियो त्यसैले म चाहबिलमा एकजना साथीको घरमा गएर बास बसे शनिबार....आइतबार बिहानै उठी नुहाएर म पशुपतितीर लागे....भगवानसँग अस्मिताको जीवन माग्नु थियो मलाई ...म पशुपति पुगे...प्राथना गरे र केहि टिका लिएर काठमाडौँ मोडेल अस्पताल पुगे....बिहानको नौ बज्न लागिसकेको थियो..अस्मिताको कालो केश काटीइसकेको थियो... शरीरमा अस्पतालको लुगा बाहेक केहि थिएन उनलाई पुरा तयार गरिइसकेको थियो अप्रेशन लागि..एकजना शारदा भाउजुको नजिकको नातेदार भाउजु संगै हुनुहुन्थियो .....अस्मिताले मलाई देख्न बित्तिकै आफ्नी टाउको छाम्दै रुन थालिन "आँटी हेर्नुन मेरो सप्पै कपाल काटिदिए,"
आफ्नो आँखाको आँशुलाई लुकाउदै अस्मिताको नजिक गए र भने "अस्मिता म मन्दिर गएर आएको...र पशुपतिनाथ संग तिम्रो सुस्वास्थताको लागि प्राथना गरेर आएको छु त्यसैले तीमी केहि डर नमान है...फेरी सन्चो भएपछी कपाल आइहाल्छ नि त"
डा. बशन्त पनि अर्को दुइ जना डा.हरु संग आउनु भो र मैले सोधे "म पशुपति गएर आएकी त्यसैले अस्मितालाई टिका लगाइदिउ" किनकि एकछिन अघि मैले टिका लगाउन खोज्दा एकजना नर्सले अपरेशनलाइ तयार गरेर राखेकोले टिकाहरु लगाउन नमिल्ने भनेकी थिइन्...तर डा. बशन्तले अनुमति दिनु भयो र मैले उनलाई भगवान पशुपतिको आशिर्बाद्को रूपमा रातो टिका लगाई दिए...त्यसको केहि मिनटमा नै अस्मितालाई अपरेशन कोठामा लगियो र हामीलाई तीन प्याकेट रगत तयार गर्न लगाइयो...रगत दिएर हामी सबै अपरेशन कोठाको ढोका अगाडी गएर बस्यौ....एक, दुइ, तीन ,चार घण्टा बित्दै गयो र हामी संग भएका आफन्तको साथ पातलिदै गयो...म भाउजु, महेश, विजय चार जना संगै थियौ...घण्टाहरु पनि बर्षौ झैँ लामिएका थिए त्यो दिन ...साढे आठ घण्टा पछी अपरेशन कोठाको ढोका खुल्यो..... डा.बशन्त बाहिर निस्कनु भयो ..हामी हकानिदै उठ्यौ र डा. बशन्तको सामु पुग्यौ ...तर उहाँले मुस्काउदै भन्नु भयो "घन्टौको अथक प्रयाशले सफलता हासिल गर्यौ..हाम्रो मेहनत र हजुरहरुको प्राथना सफल भएको छ ..धन्यबाद भगवानलाई हामीले अस्मिताको जीवन बचाउन सक्यौ र उनि अहिले सुरक्षित छन ..अस्मितालाई हल्का होश आइसकेको छ एक एक जना गरेर भेट्न जानुहोस र धेरै बोल्न नदिनुहोला" ..हामीले हर्षित हुदै धन्यबाद दियौ तर डा. बशन्तले भन्नुभयो " साँचो धन्यबादको लायक डा. सुदर्शन धिताल हुनुहुन्छ त्यसैले उहाँलाई भेटेर धन्यबाद दिन नबिर्सनु होला किनकि अस्मिताको जीवन बचाउनमा मेरो भन्दा बढी उहाको ज्ञान ठुलो छ...मैले आज सम्म उहाँलाई चिन्न पाएको छैन तर त्यो महान व्यक्तिलाई म आफै पनि एकपटक भेटन चाहन्छु" हामीले पहिले नै डा. बशन्त ले " डा. बशन्त को नाम कसरि थाहा पाएर आउनु भयो?"भनेर सोद्धा सबै कुरा भनेका थियौ ... मैले भाउजुलाई भित्र जान भने अस्मितालाई हेर्न... अस्मिता आइ सी यु मा थिइन् र उनि संग राति एकजना बस्न सक्ने अनुमति डा. बशन्तले दिनुभयो ....भाउजु भित्र जानु भयो र केहीछिन मै बाहिर आउनु भयो....
"निर्मला , नानीले तपाइलाई खोजि रहेकी छ....आँटी आँटी गर्दै बर्बराउदै छ" भन्दै हुनुहुन्थियो भाउजु ...उहाँ को अनुहार केहि उज्यालो भएको थियो त्यति बेला
त्यसपछि म उनलाई हेर्न भित्र पसे...मैले बोलाउन साथ उनले आँटी भन्दै हेरिन र टाउको दुखेछ भनिन....मैले तिमीलाई सन्चो भयो अब, केहि दिन टाउको अलिअलि दुख्छ...तर पछी सन्चो हुन्छ ...अनि अहिले तीमी धेरै नबोल ..भनेर सम्झाए...उनले हुन्छ भनिन र भनिन र फेरी थपिन "हजुर यहीं मा संगै बस्नु है" ...मैले हुन्छ भन्दै उनको हात समाए.... त्यो रात म उनि संग काटे....भोलि पल्ट उनलाई वार्डमा सारियो..हामीले सबै तीर र मनोज दाइलाइ खुशीको खबर दियौ....अस्मितालाई लगभग दश दिन अस्पताल बस्नु पर्ने र काठमाडौँ एक महिना नै बस्नु पर्ने भएको ले उनको अपरेशन गरेको चौथो दिन म भैरहवा फर्के...
जीवनमा यस्ता अनगिन्ती समस्याहरु संग पैठेजोरी खेल्दा बटुलेको अनुभवहरु यसरि कुनैदिन संचार संजालको मध्यमबाट संसारै भरि छरिएका रहेका साथीहरुसंग बाँडने मौका पाउला भनेर सोचेको थिइन् ..मेरो जीवनको एउटा ठुलो अनुभव " डाक्टरहरु वास्तव मै भन्नु पर्दा भगवानका अर्का रुप हुन् ...प्राकृतिक कुनै शक्ति जसलाई हामी भगवान भनेर मान्ने गर्छौ, अदृश्य छ तर सर्वशक्तिमान छ , त्यहि शक्तिले नै मानवको रुपमा सिर्जेर हामीलाई यस धर्तिमा पठाएको हुन्छ..त्यस पछी जन्म दिने आमा बाबु नै जीवित भगवान हुन् जसले हामीलाई जन्म दिएर एउटा नौलो अस्तित्व दिन्छन, आफ्ना सारा दुख पिडा बिर्सेर सन्तानको खुशीको र जीवनको लागी कुनै पनि मोल तिर्न तत्पर रहन्छन ...त्यस पछी जीवन दिने डाक्टरहरु मानव रुप मै रहेर भगवान झैँ मानवलाई नया जीवनदान दिने गर्छन ..मेरो नज़रमा डा. बशन्त पन्त र डा. सुदर्शन धिताल साक्षात भगवान का अर्का रुप हुन् ....डाक्टरहरु संगको धेरै तितो अनुभव पनि मैले बटुलेकी छु तर यो मेरो जीवनको सबै भन्दा अमुल्य र मिठो अनुभव हो ...
...हामीले पक्कै पनि त्यति बेला उनको जीवन बचाउन त सफल भयौ तर भविष्य अझै अन्यौलमा नै थियो त्यस बेला... डा. बशन्त भनाइ अनुसार प्रत्येक छ महिनामा यम आर आइ गरेर हेर्नु पर्ने थियो त्यसैले कता कता भित्र डर लगेर आउथ्यो " फेरी त्यो रोग बल्झिने पो हो कि" .....हामीले छ छ महिनाको फरकमा यम आर आइ गरेर हेरेका थियौ र उनि सामान्य नै रहिन ...म अहिले इजराइल मा छु र यहाँ आइसके पछी पनि " उनको यम आर आइको समय भयो ..गराएर के रिपोर्ट आउछ मलाई भन्नुहोला " भनेर फोन गर्थे भाउजुलाई र भाउजुले " निर्मला , त्यहाँ हुदा पनि हजुरले मेरो छोरीको चिन्ता लिइ राख्नु हुन्छ ..उ अब ठिक छ र डा. बशन्तले अब एक दुइ पटक मात्र यम आर आइ गरेर हेर्ने...त्यस पछी पर्दैन भन्नु भएको छ किनकि उसको स्वस्थ राम्रो छ र ट्युमर अब बढ्ने संभावना धेरै कम छ भन्नु भएको छ..तै पनि सबै राम्रो हुदा हुदै पनि दस वर्ष पछी एकपटक यम आर आइ गरेर हेरौला' भन्नु भएको छ भनेर मलाई भन्नु भएको थियो.. ....आज अस्मिता पूर्ण रूपमा स्वस्थ छिन र बि बि ए गर्दै एउटा स्कुलमा पढाउदै पनि छन ..म भगवान संग उनको सुस्वस्थ्को कामना गर्छु हरपल हरदिन ..उनले फेरी जीवनमा त्यस्ता दोबटा हरुको सामना कहिल्यै गर्न नपरोस...
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼