Thursday, December 22, 2011

अनुभव अनुभूति


अनुभव अनुभूति

बिहानको घमाइलो बिहानीमा हाइफा शहर झलमल्ल खुलेको थियो ।हाइफाको नेभेशनानको डाँडाबाट छ्याङ्ग समुद्र देखिन्थ्यो। परबाट आउँदै गरेका पानी जहाजहरू लहरै उभिँदा मनमोहक दृष्य देखिन्थ्यो। जहाजहरू सामुद्रिक पानीमा ठोक्किएर बग्दा समय यसरी नै एकै ठाँउमा अडिइरहोस् झै हुन्थ्यो वाताबरण नै मनमोहक बनेको थियो । सबैजना आफ्नो आफ्नो गन्तब्यतिर लम्कदैँ थिए बूढाबूढीहरु हिटलरले आफूलाई दिएको दु:खहरुको बारेमा एकर्कालाई सुनाईरहेका थिए । केयरगिभरहरू आफ्ना एम्पोलाएरको (आफूले हेर्ने बुढाबुढीको )छेउमा बसेर एकअर्कासँग कुरा गर्दै थिए भने कोही आफ्ना आफ्ना मोबाईलमा अनलाइन भएर मन पर्ने साथीहरुसँग अनलाइमा फकेबूक, याहू ,स्काइपीमा ब्यस्त देखिन्थे।दिन निकै छिप्पिइसकेको थियो ।एक्कासी चिसो स्याँठको अर्को झड्को छेउका ठुला ठुला भवनसँग ठोकिएर तल सडकसम्म आइपुगेको थियो । इजराइलमा जाडोसँगै आँधिहुरी सिरेटोले मुटु नै चुड्ने चिसो लिएर आएको थियो।वाताबरण परिस्थिती जस्तो भए नि यहाँका मानिसले आफ्ना कृर्याकलाप भने छाडेका हुदैनन्।

यो झरिको मौसम आकाशमा कालो बादल मडारिएको झैँ मेरो मन नरमाइलो भइरहेको छ। किनभने आज मेरो मिल्ने साथी चन्दाको काम छुटेको थियो यो प्रवाशको बसाइमा जुन प्रकारको उस्को सहयोग अनि आत्मियता थियो त्यो कसैबाट मैले पाएको छैन आजसम्म । ऊ जहिले नि आफ्नो कारणले अरुलाई दु:ख नहोस् सुख दिन नसके पनि दु:ख कसैलाई नदिउ भन्ने सोच्थी हो, यही भावनाले हामीलाई एक बनाएको थियो । उस्ले मेरो अनुहार हेरेर मेरो मनको भावना पढ्ने गर्थी उस्को अनुपस्थितिमा मेरो दु:ख मैले कस्लाई पोखुँ ?मेरा भावना कस्लाई सुनाउँ ? यही सोचाइमा मन मस्तिस्क नै शिथिल भएको छ।

सुसारेको मुख्य काम भनेको नियमित रुपमा आफ्नो स्याहार आफैले गर्न नसक्ने बूढाबूढी, केटाकेटी, रोगी, अपाङ्ग आदिको स्याहार सुसार गर्नु हो । जसको स्याहार गरिन्छ त्यही व्यक्ति केयरगिभरको मालिक हो। कामको प्रकृति हेर्दा कुनै ठुलो काम गरे जस्तो त लाग्दैन, तर नि जे जस्तो काम गरे पनि काम नै हो बूढाबूढी हेर्ने, महत्वपूर्ण जिम्मेवारीपूर्ण काम जस्ले हरपल मानसिक दवाब परिरहन्छ । अरु देशमा काम गर्ने साथीहरु भन्ने गर्छन् घरको काम न हो गार्हो हुन्छ र ? तर बूढाबूढीसँग सधैंसँगै बसेर उसको मानसिकतासँग जिउने अभ्यास गरेर बाँच्न कति गार्हो हुन्छ? बूढाबूढीको कचकचले कति धैरै मानसिक पीडा हुन्छ त्यो कुरा भोग्नेलाई मात्र थाहा हुन्छ ।बिहान बेलुका घरको काम बूढाबूढीलाइ नुहाइ धुवाइ सजिलै बित्छ।तर बिहान ११ देखि १ बजेसम्म घर बाहिर गार्डेनमा बिभिन्न देशका केयगिभर अनि उनीहरुले हेर्ने बूढाबूढीका माझमा भलाकुसारी हाँसो ,ठट्टा बिभिन्न देशको बारेमा रङी बिरङी कुराहरु गर्दै मन बहलाउने गरिन्छ । हो यसै समयकी मेरो प्यारी सखी जो सँग म दिल खोलेर हाँस्थे। मन खोलेर कुरा गर्थे विश्वाश राखेर व्यबहार गर्थे ।आफूलाइ खुसि राख्ने अनि रमाउने समय नै यही थियो मेरो। यही समयको मेरी प्यारी सखिलाई अब भोलिबाट मैले नभेट्ने थिए आँखाहरु रसाउन थाले ।चारैतिर सन्नाटा छाएको छ। मन भारी भएको छ दुबैको।एउटा भारी बोक्ने भरियाले वा बटुवाले थकान मेटाउन, दुख बिर्साउन चौतारीकोसाथ लिए झै ऊ मेरो काँधमा शिर अड्याउदै अङालो हालेर रून लागि ती निदोष आंशुका ढिक्काहरु हिमशृंखलाका हिँउ पग्लिए जस्तै पग्लिन थाल्दछन । तप्पतप्प आँखाबाट खसेका ताता आशुका थोपाहरुले बिस्तारै मेरो काँध रूझ्न थाल्छ म सम्झाउँछु अनि सुक्क सुक्क गर्दै बिदाइको हात हल्लाउँछे।

सुसारेको काम गर्दा हामीले आफूले हेर्ने बूढाबूढी स्वास्थ्य राम्रो होस्। उस्लाई सके सम्म खुशी पारेर राख्न सकियोस्। हाम्रो राम्रो स्याहार सुसारले उनीहरु निरोगी भएर,धेरै बर्ष बाँचून, हामीले लामो समय सम्म कान गर्न पाइयोस। धेरै आय   आर्जन गर्न सकियोस। भन्ने नै सबैको चाहना हुन्छ । जुन उदेश्य लिएर हामी यहाँ आएका छौ, उदेश्य अनुरुप सम्भव भएसम्म आफ्न इम्पोलाएरको अत्यन्तै राम्रो सेवा गरिरहेका हुन्छौ ।उनीहरुको सामिप्याता रहेर काम गरिने हुनाले आपसी प्रेम र स्नेहको नापो अनयासै नापिन्छ ।  सानिध्या र समर्पणले मनका भित्ताहरु रङिएका हुन्छन । यस्तै सेवामुखी भएर दिनहरु चलिरहेको छ म मर्गलित को स्याहार सुसारमा लागेको २ बर्ष हुन लाग्यो उसको स्याहार गर्ने जिम्मा मेरो छ । ऊ अशक्त भएको कारणले मैले ऊ प्रति माया सदभाव, सत्कार देखाउनु मेरो कर्तब्य हो। यो नयाँ ठाउँ नयाँ परिवेश थियो  कुनैबेला । तर अहिले म पनि पुरानो भैसकेको छु । यहाँ वरिपरिको बिभिन्न देशबाट आएका केयर्गिभर साथीहरुसँग पनि राम्रो चिनजान भएको छ।केही बर्ष अगाडि अतालिन्थे कसरी मैले अर्काको देशमा गएर काम गर्ने कसरी आफन्तबाट छुट्टिएर बस्ने जस्तो हुन्थियो तर समय परिस्थिती अनुसार आफूलाई बदल्न पर्ने रहेछ, जुन मान्छेको नियति पनि हो सायद ।जहाँ जुन ठाउँमा  रहन्छौ,त्यस्मा नै आफूलाई खुशी र सुखी महसुस गर्नै पर्छ । नत्र अरु कुनै बिकल्प नै हुँदैन। कुनै दिन कहाली लाग्दा थिए यस्ता दिनहरु मेरा लागि । अहिले सामान्य लाग्ने गरेको छ ।

बेलाबखतमा मर्गलितका छोरा छोरी भेट्ना आउँछन । चाडपर्वमा छोरा छोरीकै घरमा खाना खान गइन्छ कुनै बेला रेस्टुरेन्ट  पनि गइन्छ । यति नै हुन, फेरबदलका कुराहरु अरु सबै उहि दिन उहि रात उहि मर्गलितको उहि रुप उही रङ उहि आकृति । यो घर अनि बाहिर गार्डेर्नतिर आउने जाने मानिसहरु  नि उहि थिए फरक यति मात्र आज चन्दाको पदचाप र मुस्कान देख्न नपाईने थियो । यहाँका काम गर्न बिभिन्न देश बाट आएका छन जस्तै फिलिपिन्स , रोमानिया ,माल्दोभा , ईन्डिया ,श्रीलन्का, थाइल्यान्ड लगायत बिभिन्न  देशका ठाउँका मानिसहरु छन तर यहाँ काम गर्ने सबैलाई एउटै हुन्छ फार्मिङ व कियर्गिभर । केयरगिभरको काममा धेरै समानता हुने गर्छ । यहाँ सबैले गर्ने काम एउटै हुन्छ।  उनीहरुले हेर्ने इम्पोलाएर फरक हुन्छन्। उनीहरुको स्वभाव फरक हुन्छन हामीले उनीहरुको स्वभाव अनुसार नै उनीहरुको स्याहार सुसार गर्नु पर्ने हुन्छ ।

एक्कासी राधा दिदिको फोन आउँछ बुनु एउटा नराम्रो खबर छ सोलुखुम्बु गोराखानी स्थायी घर भई विगत ३ बर्ष अघिदेखि केयर गिभर कामदारको रूपमा काम गर्दै गरेकी ल्हेमी शेर्पाको गत मंगलवार राती जेरूसलाममा मृत्यु भएको छ । तिमीले समाचार हेर्यो ? अहो !म त छाँगाबाट खसेको जस्तो भएँ परदेशको परिवेश हामी उस्तै परिस्थितीमा उस्तै सुन्दर सपना सजाएर आएका हुन्छौँ,  बिडम्बना सोचे जस्तो रोजे जस्तो जिन्दगी कस्को पो हुने रैछ र ? सबै सपना चकानाचुर भएको छ. घरदेशमा पर्खेर बसेका ती बूढाबूढी बाबा आमाका चाउरी परेको निधारमा खुसिको रेखा अनि कलेटी परेका ओठमा हाँसो नफर्किने भएको छ। आफ्ना छोरीलाई सुखि र खुशी देख्ने ती आँखाहरु नहिल्यै नओभाउने गरी रुझिरहने भएका छन ! उनीहरुको आशा र भरोशाकाका बोट नै ढलेको छ। मेरा आँखाहरु रुझिरहे धैरैबेरसम्म। आज सम्म मलाइ थाहा भएसम्म ७ जना जतिको आत्माले यही इजराइली भुमिले नै सधैंको लागि आफ्नै गर्वमा समेटी सकेको छ कता कता भोलिका आफ्नै दिनहरू कस्ता हुने हुन भनेर मनै भरङ हुन्छ । हुन त भोलि के होला भनेर आज नै जानकारी भए मनमा भोलिका भबिष्यको कल्पनामा उठ्ने मनका तरङ ,कौतुहलता उत्साह र उमङ्ग बोकेर किन रमाउथै मान्छेहरू ?? अनभिज्ञता र अनिश्चितताले नै आजको जीवन बाँचेका हुन्छौ हामी मानिसहरु !!  मान्छेको हाँसीखुशीको जिन्दगीमा कतिखेर विपत्तिको पहाड आएर थिच्छ कसैलाई केही थाहा  नहुँने रहेछ । त्यसैले मानिसले आफ्नो अभिमानलाई त्यागी सबैप्रति सहानुभूति राख्नु पर्ने रहेछ। जीवन भनेकै अनिश्चित खेल हो जसको प्रत्येक पल कसैले अनुमान गर्न सक्दैन ।के सोच्यो के भइदिन्छ यस्तै कुरा सोच्दा सोच्दै एकोहोरो भईसकेछु ।

 एक्कासी मर्गलित  मलाई जस्काउछे (आनी रेवा रोचा लेखोल) मलाई भोक लागेको छ। खाना देऊ तिमी के गर्दै छौ हँ ?
यसो हेरेको त दिनको दुई बजिसकेको थियो। मर्गलितलाई खान खान दिने बेला पनि टर्न लागेछ। हतार हातर भान्सामा खाना बनाउन लागे। मनमस्तिष्कमा अनेक कुरा खेल्छन्। साँच्चिनै मानिस एक कलाकार हो। उस्ले समय परिस्थिती अनुसार जसरी नि आफूलाई परिवर्तन गर्छ, चलाउँछ। मनभरि अनेक दुख लुकाएर पनि साथीभाइसँग भेट हुँदा कति हाँसो मजाक गरेर संसारको सबै भन्दा खुशी मान्छे देखिन्छ तर जब एकान्तमा हुन्छ अनि उस्का मनमा फिल्मका रिल जस्तै एक पछि अर्का गर्दै अनेक कुराहरु खेल्ने गर्दा म उहि सखिलाइ सम्झदै थिएँ।
मेरो इम्पोलाएर मर्गतितलाइ उसैको नामले बोलाँउदा नै खुशी हुन्छे। हाम्रो नेपालमा उमेर अनुसार नाता जोडने चलन हुन्छ तर यहाँ जतिसुकै बूढाबूढी भए पनि उनीहरुको नामले सम्बोधन गर्दा आफू जवान भएको अनुभव गर्दा रैछन शायद।खानपिन सकेर उस्लाई औषधी खुवाएर आराम गर्न भने।त्यसपछि आफ्नो कोठातिर लागे। ल्यापटप खोले आज के समाचार रहेछ भनेर समाचार हेर्न खोजे: "जन्म दिने आमालाई अलपत्र छोड्ने कुपुत्र" शीर्षकमा समाचार देखेँ ।कसरी आँफैले जन्माएको छोराले आमालाई अलपत्र पारेर बाटोमा फाल्न सक्छ?? सिङो मानवता र सन्तानको धर्मलाई नै गिज्याउने काम भएको देख्दा कस्को मनमा आक्रोश उत्पन्न नहोला र ? ।बूढो अनि गलेको शरीर उफ्फ उनको हालत देख्दा मैले मुटु नै थाम्न सकिन..।  बुढेसकालमा पशुपती दर्शनको बहानामा दोबाटोमा छोडेर बेपत्ता हुन्छ, भन्ने कुरा पत्याउन गार्हो पर्छ ।जीवनको उत्तराधमा असक्त अवस्था गलेको शरीर जब सन्तानको माया स्याहार सुसारको खाँचो हुन्छ। त्यस्तै बेलामा आफ्नो घर परिवारको आफ्नोपन पाउनुको सट्टा दोबाटोमा फालिनु पर्ने ?? संसारमा सबै कुरा किन्न पाइला ती जन्म दिने आमालाई कस्ले पाउन सक्ला ?मनमा अनेकौ तर्कना उब्जिन लागे मान्छे जन्मिए पछि सबैको वृद्द अवस्था आउँछ ।मेरो पालोमा पनि मलाई यस्तै गर्लान भन्ने किन सोच्दैनन मान्छेहरू?? कसरी कुन अवस्थामाले बाध्यता बनायो होला?? जसले आमैको त्यो पुत्रलाई त्यति क्रूर बनायो।अब हाम्रो समाजमा पनि "केयर होम"को अवधारणा बारेमा सोच्ने बेला भइसकेको छ।त्यसो भए कसैले पनि बृद्ध अवस्थामा त्यसरी बेसहारा हुनु पर्दैन ।यस बारेमा केही गर्ने सोच त पहिल्यै थियो अब त नेपाल फर्केर केहि गर्न जरुर भैसकेको छ भन्ने लाग्यो।यहाँ हेर्छु यति धेरै स्याहार सुसार सरकारको संम्रक्षण कसैले हेप्न पाउदैनन्। जति बूढाबूढी भयो उति मन सम्मान माया छ। नेपालको अवस्था मान्छेहरुका सोच व्यबहार हेरेर मन दुखेर आउँछ यस्को लागि अब हामीले पनि एउटा ब्यब्स्थित बृद्ध आश्रमको आवश्यकता छ भन्ने सोच्दै निन्याउरो मुख लाएर बसेको थिए ।
मर्गलितले उठेर सोफामा बस्छिन अनि सोध्छिन:-
आज के भो तिमीलाई ? म केही गर्न सक्दिन मेरो कारणले तिमीलाई दु:ख भएको छ। म बुझ्छु तिमीलाई नि तिम्रो छोरा छोरी आफ्नो परिवारको यादमा तड्पिन्छौ ,सम्झन्छौ अनि दु:खी हुन्छौ। तिमी त्यसो नगर ल ??भन्दै आफ्नो सामिप्यमा टाँसेर धेरैबेर सम्म चुम्बन गर्दै भन्छिन:-
 हेर मान्छेको जीवनमा सुख–दुःख उसको सोचाई, व्यवहार, कर्म एवं संयोग र परिस्थितिले निर्धारण गर्दछ ।मानिसको व्यक्तिगत जीवनमा हरेक समस्याको जड व्यक्ति आफु स्वयं हो । आफूलाई सच्याउन सके धेरै समस्या आफै समाधान हुन्छन् । आँखाले सधैं बाहिर देख्ने हुनाले दोष पनि अरुमा नै देखिन्छ तर यथार्थमा दोषी व्यक्ति आफू स्वयं हुन्छ ।
उस्को यस्तो कुराले मनमा चोट पर्छ सम्झन्छु अनि उस्लाई प्रश्न गर्छु कसरी ?
ऊ कुरा छल्न खोज्दै भन्छे यो किन को जवाफ तिमीलाई समयले दिनेछ !!
तिमी आफ्नो आवश्यकता अनि बाध्यताले कुनै उदेश्य बोकेर यहाँ आएको छौ । मान्छेले समयनुसार आफुलाई चलाऊनु सक्नुपर्छ । सुखपुवर्क जीवन जिउनु पनि एउटा कला हो ।वास्तवमा सुखी हुन आफ्नो वरिपरिका मानिसहरुसँग निश्चल रुपमा आपसी प्रेम हुनुपर्दछ । चाहे त्यो परिवार होस् वा समाजमा तिमीलाई मैले बुझ्दा तिमीले जिन्दगीलाई बुझेकी मान्छे छौ झै लाग्छ ।त्यसैले तिमी दु:खी बन्नु हुन्न ल।तिमीलाई मैले आफ्नै परिवारको सदस्य ठानेको छु। तिमी एक मिलनसार आफ्ना वरिपरिका मान्छेसँग सजिलै घुलमिल हुन सक्छौ। तिमी जस्तो सुसारे पाएर म धन्यँ भएको छु !!मलाई यति भन्दा भन्दै उसका आँखाहारु रसाएका थिए । मैले यति बेला म उस्को सुसारे हुँ भन्ने नि बिर्सिए मेरी आमाले मलाई सम्झाएको अनुभव गरे । अनि उस्का ती निर्मिमेस हेराइमा केही लुकेको अनुभव गरे एक हप्ता देखि ऊ सार्है दुखी छ ८७ बर्ष पुगेकी मर्गलित अझै नि फुर्तिली ,धेरै भाषाहरु बोल्न आउने सबैसँग रबाफ देखाएर बोल्ने तर १ हप्ता देखि  ऊ आँफै निरास थिइ उस्का छोरा छोरी भेट्न् आएका थिएनन्। जति बेला नि फोन गर न कति बेला आउँछन भन्दै दिक्क लाउँथी । उनीहरुले फोन उठाउदैनन् ,भनेर म कसरी भनौ ?उस्लाई फोन उठाएनन्। मलाई लाग्यो मानिसको दुईवटा रुप हुन्छन जे देखिन्छ शायद त्यो सत्य नहुन सक्छ र जे सत्य हुन्छ शायद त्यो नदेखिन सक्छ।बिरामी बूढीआमा के कस्तो छ वास्ता ब्यस्ता कैही छैन फोन गर्दा नि नगर्ने मैले गर्दा नि नउठाउने ।उनीहरुको बानी व्यबहार हेर्दा राम्रै लाग्छ शायद कुनै समस्यामा परे होलान भन्ने लाग्यो !! उस्ले फेरि खान खानै छोड्छे औषधी त झन खानै नमान्ने अनि फकाएर औषधी खुवाउन लागे ।
ऊ फतफताउन थाली मेरो रोग कुनै औषधीले ठीक पार्दैन। मलाई निको पार्ने औषधी मेरा छोरा छोरीसँग छ ।उनीहरुहरुले कुनै खबर ल्याए भने म खुशी हुन्छु।
 उस्ले यसो भन्दा म फेरि धेरै बेर घोत्लिएर बसे ।
उस्लाई जसोतसो औषधी खुवाएर उनीहरु आउँदैछन् ,भन्दै उसको नजिकै बसेर उस्का गाला मुसार्दै सोधे, छोरा छोरीलाई भेट्न मात्र त तिमी तड्पिएको होइन के छ?? बिशेस कारण म पनि त तिम्रै छोरी जस्तै हो,नि भने यति भन्दा नि ऊ बोलिन। के खबर कस्को खबर सुन्नलाइ ऊ यति ब्याकुँल छ झै लाग्यो अनि के भन्ने रैछ भनेर एउटा प्रश्न गरे:-
 आज तिमीलाई तिम्रो श्रीमानको याद आएको हो ?
 याद आएर के हुन्छ र तर याद नआउने भइ दिए कस्तो हुन्थ्यो होला है भन्दै मलाई नै प्रश्न तेर्स्याउछे ..

ऊ रिस अनि  आक्रोस ,करूणा,माया सबैले रातो बन्दै लामो श्वास तानेर भन्न थाली..
धेरै लामो कहानी छ ....मैले सुन्नलाई उत्सुकता देखाउँदै धेरै कर गरेपछि उस्ले भन्न थाली:-

 मेरो बिहे म १८ बर्ष हुँदा मोसे कोहेनसँग भएको हो ।विवाह गरेको केही बर्षमा नै २/२ बर्षको फरक मा मैले ४ सन्तान जन्माए ।हामी दुई आपसमा प्रेम विवाह गरेका हौ। हामी एकअर्कालाई एकदमै माया गर्थ्यौ, अनि विश्वाश पनि मेरा हरेक कुराहरुलाई सकारात्मक रूपले लिन्थ्यो। केहि गल्ति हुँदा नि मायाले सम्झाउथ्यो। साह्रै माया गर्थ्यो, सबै एकदम राम्ररी चल्दै थियो हाम्रो गृहस्थी ।एक्क्कासी उनी घरमा ढिला आउने बेतकनेसेतमा (मन्दिरमा) धेरै बेर बिताउ थालेँ मैले सोध्दा धेरै बहाना बनाउने उनी एक "रब"थिए ( मन्दिरको पूजारी ) सधैं धर्मशास्त्रका कुरा अनि कर्मकाण्डका कामगर्ने यहूदीहरु हामी आफ्नो धर्म संस्कृतिमा कट्टर हुन्छौ।प्राय:जसो दत्तिहरू, हामी पनि दत्ति नै हौ । त्यो तिमीलाइ थाहा छ। उनीरुले आफ्नो श्रीमती बाहेक अरूलाई नराम्रो दृटिले कहिल्यै हेर्दैनन्। त्यसैले ऊ अरुसँग लाग्ला भन्ने सोचाइ कहिलै आएन। तर म गलत साबित भए, उनी त अर्कै केटीसँग प्रेममा परिसकेका रहेछन ।मेरो खुशीमा खुशी मिसाई सँगसँगै हाँसीदिने, मेरो पीडामा आँसु मिसाई सँगसँगै रोइदिने, सँगै मर्ने बाँच्ने कसम खानेले, मेरो माया छुटाएर्  मलाई एक्लो पार्यो  कसरी ?
 म त अकमक्क परे बोल्ने शब्द नै हराएँ झै भयो
  ऊ फेरि भन्दै गइ......
तिमीलाइ थाहा छ कोहेनहरुको दोस्रो विवाह गर्न नपाउने हुन्छ ।
मैले मेरो श्रीमानलाई कति सम्झाएँ, बुझाएँ, रोएँ, कराएँ तर मेरो कै सिप लागेन ।ऊ जसरी नि त्यहि केटीसङै जाने भए। त्यो केटी नभइ नबाँच्ने अवस्थामा पुगेपछि  मैले केहि गर्न सकिन मोसेले त्यो केटीसँग कागजी बिबाह गरेर उसैसँग बस्ने निर्णय लिए ।

बीचैमा मैले उस्लाई प्रश्न गरे:-

कति गार्हो भयो होला है तिमीलाई एक्लै छोरा छोरी घर सम्हाल्न ?
मेरो प्रश्न भुँइमा खस्न नपाउदै ऊ अझ कडा स्वरले भन्न लागि के के मात्र भनेनन र ?? आफ्नो श्रीमान रुझाउन नजानेकी ,राम्रो व्यबहार गरेको भए चार चार वटा छोरा छोरी श्रीमाती छोडेर जान्थियो र ?यही आईमाई नै दुष्ट रे जस्ले जे  भने पनि समाजकासँग लड्ने, सारा भनाइ र कुरा कटाइलाई सुन्ने, धैँर्य चाहिँदो रहेछ। मसँग त्यो थियो नत्र मथिङ्गल रिङ्ग्याउने बचनवाणहरूले मुटु छियाछिया पार्ने रहेछ ।मभित्र भएको सहास अनि हिम्मतले आफूले आँफैलाई सम्हाल्न सकेँ । महिलाले आफू भएर एक्लै बाँच्न जहाँ गए पनि गाह्रै छ, बाँच्ने कला सिक्नुपर्छ, बाँच्न जान्नु पर्छ, एउटा लक्ष्य लिएर जिउनु पर्नेरहेछ।एउटा रहर साँच्नु पर्दोरहेछ यी सबै समय र परिस्थितिले सिकाउने रैछ मानिसलाइ, कुरा काटने खुट्टा तान्ने प्रबृद्दिका मान्छे समाजमा बेग्रल्ती भेटिन्छन तर हिम्मत र साहस लिएर अघि बढ्दा त्यस्ता नाथेँ दु:खहरू आफैँ किनारा लाग्छन् ।
यसो भनिरहँदा उ निकै जोशिली देखिन्थी।
कुरा गरेर नथाक्नेहरू दिन, महिना र वर्षहरू बितेर जाँदा आफैं थाक्छन् र चुप लाग्छन् लागे पनि मैले आज यस्ता सबै दिनरू पार गरे।

ऊ फेरि टक्क अडिइ बिचरा बूढी मान्छे बोलिरहन पनि गार्हो छ उस्लाइ...

एकछिन पछि  म फेरि सोध्छु अरू भनन के भयो?

अनि  ऊ भन्छे: मलाइ लाग्थ्यो चोखो मायामा  कहिल्यै विछोड हुँदैंन ।म उस्लाइ चोखो दिल सफा हृदयले माया गर्थे ।ऊ खुशी भएको देख्न चाहे तर २ बर्ष भन्दा उ त्यो केटिसँग बस्न सकेन अब ऊ बिलख बन्धन मा पर्‍यो ।उस्लाई बेतकनेसेत बाट पनि निस्कासन गरिएको थियो, किन भने उस्ले हाम्रो धर्म बिरुद्दको काम गरेको थियो उस्लाई २ बर्स पछि मात्र मेरो मायाको महसुस भएछ अब त्यो सबै निरर्थक किन किनभने हाम्रो पारपाचुके भईसकेको थियो। फेरि सम्बन्धमा जोडिने कुरै भएन।जवानीको जोशमा होस् हराउँदा गरेको निर्णयले पोलेको थियो। मेरो मायाले मेरो ब्यबहारले उस्लाइ म तिर खिँचेको थियो सायद !!मैले मेरो जवानी जब मलाई उस्को खाँचो थियो त्यही बेलामा मैले उसबाट तिरस्कार पाएँ अब त उस्को के चाह ?
तर पनि  मैले त मेरो जिन्दगीमा उस्लाई बिर्सने कुरै भएन किन कि मेरो सन्तानको बाबु नै उही हो मेरो ४ सन्तानमा मैले उसैको चित्र देख्थे तर म पनि बिबस थिए उस्लाई फेरि श्रीमानको रूपमा स्वीकार गर्नु मेरो स्वाभिमानमा ठेस पुर्‍याउनु अनि समाजको अगाडि आफ्नो आफू तल झर्नुको साथसाथै असम्भव कुरा थियो।
मलाई  चोट दिँदा उसले बिर्सियो ।समयले मलाई पनि चोट दिन सक्ला भनेर। मानिसको मन जति क्रुर हुन्छ त्यो भन्दा क्रुर त समय र नियतिको खेल हुन्छ। जुन उसले अहिले भोगिरहेको छ।आफ्नो कर्मको भोग सबैले आफूले नै भोग्नुपर्छ। तर पनि मेरो भित्री हृर्दयमा उस्कै माया थियो कि मानवता म भन्न सक्दिन ।आजकाल उनी बिरामी भएका छन, भन्ने सुन्थे त्यहि भएर छोरा छोरी आए भने उस्को खबर नि पाउँछु, कि भनेर हो ।किन किन उस्को खबर थाहा नपाउन्जेल मन अशान्त रहन्छ। उसैको खबर सुन्नलाई म ब्याकुँल रहन्छ !! ऊ मेरो पहिलो प्यार अनि मेरो छोरा छोरीको बाबा उस्को माया कहिल्यै बिर्सन नसकिने रहेछ सायद ।एक्कासी ढोकातिर खट्खटाएको जस्तो आवाज आएको सुनिन्छ दुबैको आँखा ढोकातिर ठोक्किन पुग्छ तर त्यहाँ कोही पनि हुँदैन ! मर्गलित पुन: निरास देखिन्छिन ।मैले उनलाई भने तिमी निश्चिन्त भएर बस्नु म सबै कुरा पत्ता लगाउँछु ।यस्तो आश्वशन दिएपछि केहि राहत महसुस गर्छिन.........
यी सबै घटना परिबेश र परिस्थितीलाई हेर्दा लाग्छ जीवन कसैको पनि सहज र सरल हुँदैन समय परिस्थिती अनुकुल हामीले जिन्दगीलाई चलाउदै जानुपर्छ समस्या नै नभएको के जिन्दगी ? सुख मात्र पाउँदा दु:खको अनुभुति नहुँदा मानिसले केही सिक्दैन!! मान्छेको जीवन आशा र निराशाहरुको अन्तद्वन्द्वमा अल्झिरहेको हुन्छ । तर आशालाई सधैं विजेता बन्न दिनुपर्छ अनि मात्र जिन्दगी सरल र सहज हुन्छ !!

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼