
चितवन सानो गाउँ गवैमा जन्मिएकी म आफूले जान्ने बुझ्ने भए देखि कहिले घाँसको भारीमाथि, कहिले दाउराको भारीमाथि त कहिले बारीको आलिमा बसेको सम्झन्छु । आफ्नी आमाले मकैँ, कोदो गोडेको टुलुटुलु हेर्थेँ । आफू काम गर्न सक्ने भए देखि बाख्रा, गाइभैसीको गोठालो बनेको थिएँ । गरीबी र सुकुम्वासीको जिन्दगी बोकेर सधैं खुला आकाश मुनि रमाउँदै बसेको थिएँ ।
आफ्नो घर नहुनाले आमाबाबा जस्को घरमा काम गर्दथे,उनीहरूकै आँगन मेरो घर हुन्थ्यो । त्यहीका चोक र गल्लि खेल्ने ठाउँ, ढुङ्गा ,माटो, बालुवा च्यातिएका लुगाका टुक्राहरूको पुतली मेरा खेल्ने साधन थिए । अभावै-अभावले भरिएको जिन्दगीमा समस्याहरूले हामीलाइ सार्है नै सताएको थियो।
प्रकृतिको भरपुर सौन्दर्यले सम्पन्न यो ठाउँ पर्यटकीय क्षेत्र सौरहा अनि चितवन राष्ट्रिय निकुन्जको नजिकै पर्थ्यो । सामुदायिक हराभरा अनि सुन्दर बन पनि छ । कलकल बग्ने रापती अनि सामुदायिक बनको स्वच्छ,कञ्चन बतासले मन मस्तिष्क ताजा बनाइरहन्थ्यो । यिनै मनोरम प्रकृतिले बाँच्ने उर्जा दिइरहन्थ्यो तर आर्थिक रूपमा मेरो जीवन भने सधैँ उदास,उजाड अनि कङ्गाल थियो । मेरा जीवनका अनगिन्ति अवयवहरू अभावसँग पैठेजोरी खेल्दै बितेका थिए । मेरो पनि लहलह झुलेका धान खेत, सानो चिटिक्क परेको घर भैदिए हुन्थ्यो भन्ने चाहना मनभरि पालेको थिएँ । कल्पनाको महलहरूमा घरिघरी डुबुल्की मार्दै हराइरहन्थे । भूमिहिन हुनुको पीडामा भक्कानिदैँ कैयौँ रातहरू आकाशका ताराहरू गन्दै बितेका थिए ।
मैले पढने-लेख्ने वातावरण कहिल्यै पाइन । पहिलो सन्तान भएकोले बाबा आमालाई सघाउनमा नै मेरो धेरै समय बित्यो । अभावका खाडलहरू पुर्नमा मेरा अनगिन्ति दिन,रातहरु संघषपूर्ण नै रहयो । जिन्दगीको आरोह अवरोहमा कयौँ गल्छेडा दोभान र गल्छिहरू पार गरेँ । अभावका काडाँहरू बीच अनेकौ रहर र चाहनाहरू बोकेर फुल्न खोज्दा घर नहुनुको पीडामा छटपटिएको थिए । घर हुने लोग्ने रोज्दा जड्याहा लोग्नेको पासोमा पर्नु परेको थियो । जीवन अझ बन्जर बनेको थियो ।
"मेरो जिन्दगी त यस्तै अन्धकारमा बित्ने नै भयो । अब मैले मेरो छोरा छोरीको जिन्दगीमा केही न केही परिवर्तन ल्याउन पर्छ ।" भन्ने सोचले आफ्नो श्रीमानसँग गुनासो पोखिरहेँ ।
"तपाईं यसरी सधैं रक्सी खाएर बसेर हुन्न। हाम्रा छोरा छोरी दिनदिनै हुर्किदै छन् ।
उनीहरुको पालनपोषण, शिक्षादीक्षाको बारेमा हामीले सोच्ने बेला आएको छ ।"
यसो भनिरहँदा उ चुपचाप सुनेर मात्र बसिरहन्थ्यो । धेरै चोटि भनेपछि मुर्मुरिदै
"म अरब त जान्न यु एस ए, यु के युरोप पाए भने चाँहि जान्छु ! "
"अहिलेको जमानामा जाबो १० पास गरेको छैन फेरि उसलाई युरोप र अमेरिका जाने सपना पालेर बसेको देख्दा उदेक लाग्थ्यो । अहिलेको आधुनिक जमानामा हाम्रो योग्यताले अनुरूप अरबमा गएर काम गर्न पनि मुस्किल छ ।" हाम्रो अवस्थाले गर्दा जहाँ गएर जसरी पनि भोलिको भविष्य उज्वल बनाउने कोशिश गर्नुपर्छ भनेर धेरै संझाएँ,फकाएँ, बिन्ती गरे अरब भए पनि जानुहोस भन्ने सल्लाहा दिए ।" तर उसले लेबरमा कुनै हालतमा पनि नजाने जिद्दि गरेपछि मेरा सबै प्रयासहरु असफल भए ।
ईचहर्नी खोलाको उर्लिएको भेलबाढीले वरपरको सबै बोटबिरूवा बगाए जस्तै मेरा सपना र आशाहरू उसको निर्णयले बगाएर लग्यो । आर्थिक स्थिति उकास्ने सबै सपना बगाएपछि सन्तापले पिरोलीएको मन नमज्जाले रन्थनिएको थियो । नयनबाट बर्सिएका आँशुका थोपाहरु गाला चुम्दै खस्दोथ्यो । गाग्री समातेर पधेँरातिर लागेँ । पधेँरामा केही साथीहरू बैदेशिक रोजगारीको बारेमा कुरा गर्दै थिए । म पनि साथीहसँग बिदेश जान उत्सुक भएको कुरा सुनाएँ । संयोगबश तल्लो गाउँको सीता र पबन पनि बिदेश पठाउने मानिसको खोजीमा त्यहाँ आएका रहेछन् । मलाइ"ढुङ्गा खोज्दा देउता मिले झै" भयो । उनीहरूलाइ कामदार चाहिएको मलाइ बिदेश जान परिरहेको थियो । उनीहरूलाई पहिले देखि नै चिन्दथे तर बिदेश पठाउने बहानामा बर्षौ झुलाउने दु:ख दिने दलालहरुको बारेमा पनि सुनेको थिए । आफ्नो घरबारी बेचेर बिदेशिएको अनि खाली हात फर्किएको पनि दिनहुँ जस्तो समाचार सुनेकोले उनीहरुलाई सजिलै विश्वाश गर्न मन मानिरहेको थिएन । उनीहरुलाई विश्वाश नगर्नुको कुनै बिकल्प नभेटेपछि बाध्य भएर उनीहबाट नै बिदेश जाने अठोट गरेँ ।
"नहुनु भन्दा कानो मामा निको" भने झै नचिनेकालाई गुहार माग्नु भन्दा कम से कम यिनीहरू चिनजानका त थिए।उनीहरुले पठाएको माकुरी र मसिनीले राम्रो पैसा कमाएर पठाएको पनि देखेको थिएँ !मनमा अनेकौ कुराहरु फिल्मका रिल जस्तै घुम्न थाले । आफ्नो बूढाको ताल सम्झिएँ । यहाँको समाजको कुसंगति, यहाँको पुरूषबादी समाज चोकमा जम्मा हुन्थे । एकर्काको कुरा काट्थे । रक्सी खान्थे । उसको दिनचर्या दिनभरि गफ हाँक्ने,तास खेल्ने अनि बेलुका हल्लिदै घर फर्कने हो । भनेको समयमा खानेकुरा नपाए, भनेझै नभए मुख छोडेर तथानाम गाली गर्थ्यो । गाली गर्दा धित मरेन भने हातपात पनि गर्दथ्यो । अर्काको मेलापात, ज्यालामजदुरी गरेर ल्याएको पैसा चामल लिन पठायो उ त रक्सी खाएर सडक गल्लीमा सुतिदिन्थ्यो । उसका यस्तो बानीबेहोराले मलाइ दिक्दार बनाएको थियो । कयौँ रात भोक भोकै बिताएका थियौँ । अन्तत मैले आफैले छोरा छोरीको सुन्दर भविष्य बनाउन बिदेश जाने निर्णय लिनु परेको थियो ।
यी नाबालकहरूलाइ कसरी छोडेर जाने भन्ने चिन्ताले सताइरह्यो । जिन्दगीमा कस्तो कस्तो मोडमा आएर उभिन पर्ने रहेछ । जाउ छोरा छोरीको के हालत होला झै लाग्छ । नजाउ कुनै उपाय थिएन । गरुङ्गो मन लिएर भाइकोमा गएँ । मेरो योजनामा भाइले सहमति जनायो । उसको सहयोगी अनि मायालु भावनाले मनभरि आशा र भरोसा पलायो ।आँखाहरू अनायासै रसाएँ ! मनमा थोरै राहात भएको महसुस गर्दै घर फर्किएँ।छोरा छोरीहरु सुतिसकेका थिए । सबैलाई एक एक गर्दै मुसारे छातिमा टाँसे । कस्तो दोधार असमजस्यमा स्थिति मन एकोहोरो भयो । आफ्नै घरका एक एक समानमा आँखा डुलाएँ । सबै जीर्ण र खाली खाली लाग्दथे । जता हेर्यो अभाव मात्र घरको छानो चुहिएको छ ! छोराको भोटो च्यातिएको छ ! छोरीको जामा प्वालै प्वाल, अनि मजेत्रो फ़ाटेको छ । बूढाको चप्पलको तुना चुडिएको थियो । यी सबै अभावलाई पूर्ण गर्न मैले प्रदेश लाग्नै पर्छ भन्ने सोचे । बाहिर चुक खन्याएको जस्तो कालो चकमन्न रात छ । धर्तीलाई अँध्यारोले गुटमुट्याकोले चारैतिर सन्नाटा छाएको छ । थकानले लखतरान भएर गुन्द्रीमा पल्टिएको थिए कतिबेला भुसुक्क निदाएछु केहि थाहा नै भएन ।
अनपढ,अशिक्षित भएको कारण गरीबी ,बेरोजगारीबाट पिल्सिएर धेरै दु:ख पाएँ । मेरा प्यारा सन्ततिले मैले भोगेको जस्तो जिन्दगी भोग्न नपरोस् भन्ने ध्ययेले अन्त्यहिन पाइलाहरु चाल्न बाध्य हुनु परेको थियो । आफूले खाइ खेली गरेको थलो अनि हिडेका पाइलाका डोबहरु नियाल्दै धेरैबेर घोत्लिरहे ! बिहान झिसमिसेमा उठेर गाउँतिर लागे। काठमाण्डौँ जाने खर्च जोरजाम गर्न गाउँघरतिर निस्किएँ ! जमिन्दार बाले सयकडा तीनको ब्याजमा रकम जुटाइ दिए ! हतार हतार घर फर्किएँ । श्रीमान म काठमाण्डौँ हिड्ने बिहानसम्म पनि मेरो वास्ता नगरी अबेर सम्म सुतिरहेको थियो। उसले मेरो कुनै प्रर्बाह गरेन । हस्याङफस्याङ गर्दै घरका सबै काम सकेर एजेन्टहरू सीता र पवनको साथ लागेर काठमाण्डौँ गए । ईन्डिया हुँदै कुबेत लैजाने त्यहाँ गएर बच्चा हेर्नु काम गर्नुपर्ने बताए । सबै प्रोसेस गरेर घर फर्किएँ !
आज भोलि गर्दै विदेश जाने समय पनि आइपुग्यो । मन्द मन्द हावा चलिरहेको थियो ! चौताराको वरपीपलले आफ्नो सियाँलमा राख्न नपाएकोमा जोड जोडले पातहरु हल्लाउदैँ बिदाइ गरिरहेका भान हुन्थ्यो । सिमलका भुँवाहरु उडेर बाटो छेक्दै गरेको अनुभूति भयो !कच्ची बाटोको धुलो बुङबुङ उडिरहेको थियो मेरो मन जस्तै !बर्षिनीका तीनजना नानीहरु अनुहार निन्याउरा लागाएर बसेका थिए। उनीहरुको मलिन अनि कान्तिहीन अनुहार टीठ लाग्दा आँखामा बलिन्द्र धारा आँशु पुछ्दै संझाएँ । मैले विदेश गएर पैसा पठाउछु अनि तिमीहरुले मिठो खान,नयाँ खेलौना ,नयाँ नयाँ लुगा अनि राम्रो स्कुलमा पढन पाउँछौ भनेर सम्झाएँ ! यतिखेर सानो छोरो भुइँमा लडिबुडी गर्दै रोइरहेको थियो । आफ्नो प्यारो गाउँघर, मुटुका धड्कन नाबालकहरुलाई छोडेर अपरिचित भीडको एक अपरिचित पात्र बन्नु पर्दा भक्कानो फुटेर आयो ! जीवनको नयाँ बिहानी जन्माउने नाउँमा अनेकौ बाध्यता अनि विवसतामा पनि धैर्य अनि साहस बटुलेर ईचहरनी खोलाको पानीको तिर्खा आँखाभरी बोकेँ । सिसाहानीको उकालीबाट हठात पाइला अघि बढाउनु पर्ने सम्झिएँ । मस्तिष्कमा अभावको भोक बोकी समयलाई चुम्बन खाएर नागबेली बाटो पछ्याउँदै अन्तर आत्माभित्रका सुन्दर सपना मनभरि सजाएको थिएँ । भोक,तिर्खा अनि आशाहरूलाइ खकन हाल्दै शिथिल शरीरभरि पसिनाको चिट्चियाहटसँगैँ कल्पनाको महल बनाउदै कठोर परिस्थितिमा धेरैबेर रूमल्लिएँ । मन बलियो गरेर गर्दै जुरूक्क उठेँ । भविष्यका स्वर्णीम सपनाहरू सम्झिएँ। मान्छेलाई समय र परिस्थितिले जति बिबश बनाए पनि मनको सुसुप्त इच्छहारुले गन्तब्य भेटाउन मद्दत गर्ने रहेछ ! यिनै सुसुप्त इच्छाहरुलाइ गर्लम्म अंङालो हालेर मन बलियो बनाएर घरबाट बाहिर पाइला राखे !
आफू औँठाछाप न केही पढन आउछ न लेख्न अरुले सिकाएको बाटो हिंडनु बाहेक अरू कुनै बिकल्प थिएन। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको परिसरमा पुगियो म लगायत अरु ४ जना साथीहरु थिए ! हाम्रो प्लेन टिकट इन्डियाको बम्बै सम्ममात्र भएकोले खासै चेकिङ् भएन। एजेन्टहरुले खटाएर दिएका शब्दहरू मात्र बोल्यौ ! निर्धारित समय भन्दा केहि समय अगाडि नै डिपाचर कक्षामा पुगियो ।तोकिएको समयभन्दा एक घण्टा ढिलो मात्र हावाइ जहाज उड्यो ।
जिन्दगीमा पहिलो चोटी भुइँ छोडेर हवाइ जहाज चढेको अनौठो अनुभव संगालिरहेको थिएँ। एकातिर नौलो अनुभव हर्ष थियो भने अर्कोतिर आफ्नो जन्मभूमि छोडरे दुरदेशमा जानुपर्दा तीतो अनुभव थियो। हामी हप्ता दिनभित्र काममा लगाउने बाचाकसम खाएको दलालहरुले बम्बैको फोहोर साँगुरो निसासिँदो अवस्थामा १ महिना दु:ख कटाए पछि बल्लतल्ल कुबेत उडाइयो ! बीच बाटोमा एक महिना बस्नु पर्दा उता जमिन्दार बासँग सयकडा तीनको ब्याँज सम्झेर मन आलासतालास भएको थियो । एक महिनाको सास्ती बसाइपछि कुबेत पुगियो ।
कुबेत अन्तराष्टिय विमानस्थलको गेटबाट बाहिरीनासाथ नयाँ नौला मान्छेहरू कुरेर बसेका रहेछन्। झलक्क हेर्दा नेपाली जस्तो नलागे पनि नेपाली बोले पछि भने नेपालीले नै रहेछन भनेर खुसि लाग्यो ।उनीहरू कुबेतमा काम लगाउने एजेन्ट रहेछन् ! मुस्कुक्क मुस्कुराउँदैँ हाम्रो पासपोर्ट निकाली मागे । ४ जना साथीहरूलाइ एर्पोटबाट निस्कनासाथ पास्पोर्ट लिइ कारमा राखेर काममा लगे। मलाई चाँहि भोलि काममा पठाउँछु भन्दै आफ्नो निगरानीमा राखे। म चुपचाप कारमा बसेँ। झ्याल बाहिरका सुन्दर घरहरु हेर्दै घमाइलो दिनमा चलेको सिरिसिरी हावाको तमासा हेरिरहेँ। थोरैबेर पछि कोठामा पुग्यौ उसले मलाई काममा पुर्याउने सन्दर्भमा नै होला शायद फोनमा निक्कै बेर कुरा गरेपछि भोलि बिहानै तिमीलाई लिन आउँछ अहिले सुत भनेर हिडि।
बिहान हुनासाथ अरबी मुलुकका एक मानिस मलाई लिन आए ! पटपट फुटेका कुर्कुच्चा मोजाले छोप्दै जिरिङ्ग परेको कपाल सम्याउँदैँ तयार भएँ ! साउती मारेझैँ खासखुस कुरा गरे,केहि बुझिन। मैले थाहा पाएँ साउदी अरबमा काममा लगाउने रहेछन ।साउदी सिधैँ जान नमिल्ने हुनाले कुबेतको बाटो भएर ल्याएको रहेछ।"एक महिना सम्म बेकाम्मे भएर बस्नु पर्यो अब त काममा जान पाइएला भनेको त फेरि यहाँबाट पनि अर्कै देश लैजाने भन्दा म छाँगाबाट खसेँ झैँ भएँ ! !अझै अर्को देश जानुपर्छ भन्दा मनमा डर त्रास र संका उपसंकाले अड्डा जमाउन लाग्यो ! डर त्रास र कौतुहलताले मुटु काँपिरहेको थियो। यहाँ भन्दा उहि राम्रो काम पाउने आश्वाशन पाएँ। अपरिचित शहर बिरानो मान्छेहरु बीच केही बोल्नु भन्दा चुपचाप कारमा बसे ! सबै स्वतन्त्रताको गुमाएर आफ्नो कुनै अस्तित्व नै नभए झैँ आफ्नो श्रम सहित सम्पूर्ण जीवन उनीहरुलाई सुम्पेको थिएँ। तर पनि पैसा कमाउन आएको आफ्न अधुरा सपना बाकी रहेकोले अनेकौँ तर्कना खेलाउँदै मौन बसिरहे !
कति सफा सुग्घर बाटो प्रत्येक घुम्तीहरु जताततै उराठ लाग्दो मरूभूमि देख्दा अचम्म लाग्यो।सडकमा मानिसभन्दा धेरै सवारी साधनहरुको नै आवत जावत देखिन्थे। कार एकनासाले हुँइकिरहेको थियो। कारबाट नै मलाइ साउदी पुर्याइयो। साँझ पर्न लाग्दा घरमा पुग्यौ !घरवालाका तीन जना छोरा छोरी रहेछन !आफ्नो पनि तीनजना छोरीछोरी यहाँपनि उस्तै हुँदा आफ्नै छोराछोरी भेटे झैँ लाग्यो। घरपुग्ने बित्तिकै घरको सबै कोठा अनि मैले गर्नुपर्ने कामको बारेमा जानकारी पाएँ। निकै समय पछि काममा पुग्न पाएकोले खुशी थिएँ ।
दिनको १९ घण्टा लगभग काम गर्नु पर्ने थियो। बिहान सबेरै कोही नउठेको समयमै उठेर काम शुरू गर्नु पर्ने थियो । खाना बनाउनु , लुगा धुनु ,घरसफा गर्नु ,आइरन गर्नु !सबैलाई समय अनि सेडुल अनुसार ब्रेकफास्ट ,लन्च अनि डिनर तयार गर्नु मेरो दिन चर्या थियो ! उनीहरूको बन्देजले जेल जस्तो जीवन बिताउनु परेको थियो।उनीहरुको अनुमति बिना एक पाइला सार्न नपाईने थियो।सानो गल्ती हुनासाथ पिटाइ खानु पर्ने ! यावत पीडा सहेर तीन् महिना बिताए ! घरेलु कामदारको रुपमा तीस हजार नेपाली दिने बाचाकसम गरेका थिए तर ५०० रियालमा मात्र दिने भन्ने कुरा गरे। तीन महिना बित्दा पनि तलब पाइएन। रगत र पसिना बगाएर न भने अनुसार तलब न समयमा ।
चकमन्न निरब रातमा झ्यालको खोपीबाट आकाशका ताराहरू नियाल्दै छोरा छोरीका आवश्यकता, अनि उनीहरूलाइ देखाएको सपना सम्झिरहन्थे। आफूले बिदेशमा आएर मिठो खाने राम्रो लागाउने भनेर देखाएको प्रलोभन संझेर यतिखेर मेरा आश्वासनलाई एकादेशको कथा सम्झिरहेको होलान नानीहरूले!यो पल मन सार्है नराम्रोसँग कोतरिएको थियो। भनेजस्तो केही नभएकोले मन भरङ्ग भएको थियो। मेरो सपनाहरू मरूभूमिमा काकाकुलको तृष्णाझैँ भएकोले आफैँले आफै धिक्कारी रहेँ।
एकदिन बिहान सदा झैँ कफि लिएर सेवार्थ घर मालिकको कोठामा प्रवेश गरेको थिएँ ! कफिको कपसँगै मेरो सोझोपनाको फाइदा उठाएर मेरो हात समायो । मैले पनि नजानिँदो किसिमले बिस्तारै हात फुत्काउने कोशिश गरे। अर्को हात पनि समाएर अंगालोमा बेर्यो। उसका बलिष्ठ पाखुराले बेस्मारी कसेर बढेमानको शरीरले च्यापेर चलमलाउन दिएन।अन्तत: मैले आफूभित्रको संमयतामा थुन्न सकिन।बाध्य भएर चिच्याउन,रून कराउन थालेँ। बढेमानको शरीरले मेरो शरीरमा एकाधिकार जमाएर छाड्यो मैले रूदैँ प्रतिवाद गरिरहेँ । कराउन नदिएर मुख थुन्यो अनि मेरा हातहरू बाँधेर उसका हातहरू मन खुसिले मेरो शरिरभरि कुदाउन थाल्यो।उसले आफ्नो अतृप्त प्यास बुझाएपछि मेरा हातहरू छोडिदियो।
मैले रूदैँ भने-: "म त एक श्रमजीवी हुँ !वाध्यता त परिस्थितीवंश म श्रमिकको रूपमा काम गर्न आएको हुँ। मेरो इच्छा,आंकाक्षा बिपरीत मेरो भावना माथि खेलवाड गरिस् ।तैँले यसको सजाय अवश्य भोग्नेछस्।" मलाइ तेरो काम चाहिदैँन्।श्रमिक सम्झौता नभएकै कारण मैले कानुनी रूपमा केही गर्न नसक्ने देखि म जस्तो निर्दोष अवला महिला माथि आफ्नो पुरूषार्थ जमाइस्। यस्तो दुर्ब्यबहार गर्दै मानवता र मानव अधिकार बिर्सेर म माथि आक्रमण गरिस्। धिक्कार छ तेरो पुरूषार्थ अनि दानवपनलाइ। "
उसले आफ्नो दुर्नियत र अपराध छोप्नलाई हतियार उठाएर मलाई आक्रमण गर्यो ! रिसले चुर हुदै टेबलको चक्कु निकालेर ढाडमा हान्यो !रगताम्य बनायो ।कुनैपनि प्राणीले आफ्नो अस्तित्व जोखिममा परेपछि स्वतः अरुको अस्तित्व माथि आक्रमण गर्दछ । यसैगरी मैले पनि कसोकसो उसलाई धकलेर उसको चुङ्गुलबाट फुत्किन सफल भइ त्यो कोठाबाट भाग्न सफल भएँ ! आफ्नो कोठामा आएर चुकुल लगाएँ।कोठाभित्रैबाट सुनिरहेको थिए,"तैलेँ कसैलाई भनिस् भने तँलाई पुलिस लगाउँछु अनि चोरीको आरोप लगाएर जिन्दगीभर जेलमा थुनेर राख्छु। "
गरीबी र अभावपूर्ण जिन्दगी बोकेर,सन्ततिको भविष्य उज्ज्वल बनाउला भनेर हिड्दा आफ्नो ज्यान जोखिम पारेर आँफै शोषित र पीडित हुन पर्यो ! आफ्नो श्रीमानले रक्सी टन्न खाएर आउँदा समेत आफ्नो तनबदनलाई आफ्नो इच्छा बाहेक छुदैन्थ्यो आज परदेशमा परपुरुषले बिवश पारेर आफ्नो अस्तित्व लुट्दा एक्लै प्रतिवाद गरेर बाँच्नु परेको थियो।
त्यही घटना मानसपटलमा बारम्बार घुमिरह्यो । मन छट्पटाइ रह्यो यस्तो नरकीय जिन्दगीबाट मर्नु परे पनि मरूँला भनेर यहाँबाट निस्कने दृढसंकल्प गरेँ । घाइते शरीर त्यसमाथि उसको दानवीय कार्यको झझल्को, जिन्दगी एक्कासी टक्क रोकिएको भान भएको थियो । आफूले जुन दुनियाँको परिकल्पना गरेको थिएन त्यहि भोग्नु पर्दाको जटिल परिस्थिती जिउँदो लाश भएर बस्दै नबस्ने निर्णय गरी ढोकामा चुकुल लगाएँ ! आफ्नै साडीलाई झ्यालको डन्डिमा बाधेर त्यसैबाट बाहिर निस्कने योजना बनाएँ। दुर्भाग्यबाश पुनश्च त्यहाँबाट खसेर मेरो एउटा खुट्टा भाँचियो ! बामे सर्दै सडक सम्म पुगे ।परबाट एउटा कार आइरहेको देखेर हात उठाएर रोकेँ। पाकिस्थानी भाइ रहेछन। उस्लाई आफू आपतमा परेकोले नेपालको राजदुतावास सम्म पुर्याइदिन अनुनय बिनय गरे ! उसले पुलिसले चेकिङ् गर्छ म तपाईंलाई लैजान सक्दिन भन्दै थियो।मेरो अवस्था देखेर दया लाग्यो होला शायद ।मलाई पछाडिको सिटमुनि सुताएर कसैले नदेख्ने गरी नेपाली राजदुतावास सम्म पुर्याइदिए ! उनको यो सेवामुखी भावले नयाँ जिन्दगी मिलेको अनुभूति गरेँ। दुतावासको कम्पाउण्डको बरपर नियालेँ। सुनसान थियो।संयोगले रियादबाट दुइजना भाइहरू विनेसासको कार्यक्रमको निम्तो दिन आएका रहेछन्। भित्रसम्म पु्याइ दिए।अब त बाँच्न पाउने भए भनेर लामो सास फेरेँ ! मेरो जर्जर अबस्था देखेर सबै नेपालीहरूको दयालु मन अनि सहयोगी भावनाले राम्रो औषधि उपचार पाएर बाँच्न सफल भएँ ! काम गरेर खानु पर्ने शरीर थिल्थिलो र कुजो भएको थियो । जीवन मरणको दोसाँधमा आफ्नो बालबच्चा अनि आफ्नै जन्म थलो फर्कन पनि यस्तो संघर्स र चुनौतिहारुको सामना गर्नु पर्दा चेत गुमेको झैँ भएको थिए !
मैलैँ घर छाडनु अघि, परदेश कस्तो होला, कस्तो काम गर्नुपर्ला भन्ने सोचाइ र भावनाले अत्यन्त उद्वेलित थिएँ !आजको यो अवस्था भोग्दा आफूले आफूलाई सम्हान गार्हो भएको छ। परेलीहरू रसाएर -आँशुहरु रित्तिएको छ।डाँको छोडेर रून मन लागेको छ तर रुवाइका आवाज पनि निकाल्न नसक्ने परिस्थिति छ। तरेली मुस्कानकाहरु त कतै भेटिने कुरै भएन।
"म जस्तै घरेलु कामदार बनेर खाडी मुलुकहरूमा आउने अधिकांशले स्वेच्छाभन्दा बढी विभिन्न बाध्यताका सिकार बनेका छन ।
आफ्नै घर, समाज र देशबाट भागेर अझ दुख भोगेका छन्।।कोही बहुविवाह, विभेद र एकल जीवनको सिकार बन्दै ,कोही साहुको रिणमा डुबेर कोही गरिबी र बेरोजगार अनि देशको जर्जर राजनैतिक अवस्थाको मारमा परेर,कोही आफ्ना सन्ततिका सुन्दर भबिष्य सपना बोकेर बाहिरिएका छन्। यथार्थ स्थिति नबुझीकन बाध्यता र परिबन्दको सिकार बनेर खाडीमुलुकमा होमिनेहरू धेरै छन !अन्याय, अत्याचार र शोषणमा पर्ने सबैले साहसी बनेर उत्रन नसक्लान् तर यो कठिनाइलाई सबैभन्दा सुरुमा समाज देश अनि परिवारले बुझ्नु जरुरी छ । जसरी मलाइ पवन र सीताले अकल्पनीय खुशी पाइन्छ भनेर फोस्रो आशा र प्रलोभन देखाएर बिदेश पठाए ।अझै कतिलाई लाखौँको मुल्यमा नेपालीहरूको श्रम बिदेशमा बेचिरहेका होलान्। बेरोजगारीको कारण दैनिक म जस्तै हजारौं नागरिकहरू रोजगारको खोजिमा बाहिरिने गरेका छन् । राज्य मुकदर्शक भएर हेरिरहेको छ ।दिन दुईगुना रात चारगुना हुँदै समस्याहरु ओईरिन थालेका छन् ।यसको निराकरणको पक्षमा सरकारले ध्यान दिएको देखिदैँन । रेमिटेन्सले आज राज्यको ठूलो आर्थिक भार थेगेको छ । विदेशमा कामगर्ने नागरिकहरूको रगत पसिनाले आर्जन गरेको राज्यकोषबाट मनमौजी उन्मुक्त ठेकेदारहरु अनैतिक रूपमा भष्टाचार गर्नमा लिप्त छन्। म जस्ता गरीब र निमुखाहरूले कतै केही कुनै राहत पाएका छैनन्।मैले भोगेको ज्वलन्त कथा सबै पक्ष बर्ग र समुदायले बुझ्न जरूरी छ। आजको भौतिक युगमा श्रम नगरिकन आफ्नो जीवन सुखी र सफल हुँदैन तर यही श्रम र सीप आफ्नै देशमा बेच्न पाउने वाताबरण बन्नुपर्छ। जिन्दगीको सुनौलो सपना साकार पार्न बिदेशी भूमीलाई कर्म थलो बनाउनेहरूको अधिकांश सपनाहरू आफुले सोचे भन्दा उल्टो भइदिनाले तावाबाट उफ्रेर भुङ्ग्रोमा परेको माछाको हविगत धेरै नेपालीहरूले भोगिरहेका छन्।मैले भोगेको यथार्थ घटनाले समाज देश र देशका नागरिकले नसुनेको खण्डमा फेरि पनि यस्तो घटना दोहोरिरहने छ।सोझा र निमुखा नेपालीहरूले अपमान,थिचोमिचो दु:ख, र सास्ति खेपिरहनु पर्नेछ !! यतिखेर सुकमाया मान्छेहरूको भिडमभीडमा आक्रोसित हुदै आफ्नो यथार्थ कथा सम्प्रेषण गरिरहेकी थिई ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼