Wednesday, April 25, 2012

असोचनिय मोड (कथा)

प्रतिकृया:- 

असोचनिय मोड (कथा)

शिशिरको चिसो सिरेटोले तितरी पातहरु हल्लाउँदै झार्दै छ । सुनसान कोठामा  उदास अनुहार लगाएर बोझिलो निष्तब्धतामा सिरकमा गुजुल्टिएर सलिना पल्टिरहेकी छिन ! बोट बिरुवाहरु पात झरेर नांगिएका छन नाङ्गारुखहरु  आफ्नो उजाड रुप लिएर  ठिंगरिङ्ग अनि  दिक्दार मानौं विरक्तिएका छन्। सलीनाको बर्तमान जस्तै । सुनौलो सपना बोकेर सात समुन्द्रपारी चालेका उनका सहासिक पाइलाहरु अनायासै कांपिरहेको अनुभूत भएको छ । नयाँ अनि सु-सम्पन्न जिन्दगीको उसको सपना शिशिरको जाडोले उजाडिएको रुख बिरुवाझैँ भएको छ !

केहि बाध्यता थिए, विवशता थिए तर ती भन्दा ठूलो स्वर्णीम भविष्य बनाउने एउटा सपना थियो मनमा त्यहि सप्तरङी सपनालाई पछ्याउंदै सगरमाथाको काखबाट मृत सागरको किनारालाई कर्मभूमि बनाउन आइपुगेकी थिइन् सलिना । कुनै दिन बिदेशको कल्पना सम्म नगरेकी मान्छे उनी अचानक बिदेशको भूमिमा पाइला सारेको दिन निकै दर्दनाक थियो । तर पनि केही गर्छु भनेर उठाएका पाइलाहरुलाई पछाडि हटाउने कुरा पनि आएन ! त्यसैले हिम्मत गरेर  २००६ मा केयर गिभरको रुपमा हाइफाको किरातखाइम भन्ने ठाउँमा एक जोडी बूढा  बूढीको स्याहार सुसारमा उनले आफ्ना दिनहरू खर्चिन थालिन् । हिब्रु भाषाको त्यति सारो ज्ञान नभएको भए पनि ती बूढा बूढीले अङ्ग्रेजी पनि बोल्ने हुँदा केहि सजिलो भयो । रहँदा बस्दा उनीहरु सँगको सामिप्यताले उनीहरुको हाउभाउ हेरेर पनि  उनीहरूको भाषा थोरै जान्न थालिन ।


आफ्नो अनुभव र अनुकुलको काम थिएन । त्यस्तो काम कहिल्यै  नगरेको भए पनि समय र परिस्थितीले  मान्छेलाई वाध्य बनाउने रहेछ।यहाँका मान्छेहरू कामलाई ठूलो सानो भन्दैनन्। कुनै पनि काम गर्न यिनीहरूलाई लाज लाग्दैन । कामलाई  सानो ठूलो भनेर अवमूल्यन गरेको पाइदैन् !मेहनेत इमान्दार र संघर्ष गर्ने ब्यक्तिलाई यहाँ सम्मान गरिन्छ। यो देखेर उनले पनि आफ्नो कामलालाई सम्मानपूर्वक हेर्दै केयरगिभरको काममा आफ्ना दिनहरू खर्चिन थालिन्। सन्तानको उज्वल भविश्यको कल्पनामा । अपरिचित ठाउँ अपरिचित ब्यक्तिहरु अनि अर्कैको भाषा बोल्नु पर्ने  भएको हुँदा शुरुका दिनहरु अति नै कष्टकर भए । तर पनि केही गर्छु सिक्छु भन्ने संकल्प गरेपछि नहुने कुरा केही रहेनछ । इजरायलीको रहनसहन  भाषा बिस्तारै सिक्दै गइन् ! आफ्नो सन्तान अनि आफ्नै मायालुबाट बिछोडिदाको असहज पलहरुमा जति भक्कानिएँ पनि ठाउँ र समय अनुसार आफूलाई बदल्नै पर्ने रहेछ। आफूले जुन काम र उदेश्य लिएर आएको हो । त्यस अनुरुप काम गर्नु अनि पैसा कमाउनु नै बिदेशिनेहरुको मुख्य उद्देश्य भए झैँ उनको पनि त्यही उद्देश्य थियो।


शनिबारको बिहानको ब्रेक फास्ट सकेर बार्दलिमा सलिना साथीहरुलाई कुर्दै थिइन् । अनयासै कागहरु कराउन लागे । बूढी जोड जोडले कराइ कता कता के यस्तो अशुभ संकेत हो भन्ने लाग्यो । मन गरूङ्गो बनाउँदै बिदामा हिडिन् । अशक्त बूढा प्राय:जसो बिरामी परिरहन्थे। केहिदिन अघिदेखि उनी हस्पिटलमा भर्ना थिए । अपार्टमेन्ट पुग्न नपाउँदै हस्पिटलबाट बूढा मरे भन्ने खबर आयो । आफ्नै बाबा नभए नि आफूले स्याहार सुसार गर्ने मान्छे मर्दा नरमाइलो लाग्नु स्वभाविकै हो । बूढा साह्रै मिजासिलो,दयालु अरूको मनोभावनाको कदर गर्ने स्वभावका थिए। उनको मृत्यु भयो भन्दा भगवानले पनि राम्रो मान्छेलाई नै रोज्दा रहेछन् भन्ने सोचिन । बूढी छुच्ची थिइन । यस्ती छुच्ची बूढीसँग कसरी बस्ने होला झैँ लाग्थ्यो तर उनको स्याहार सुसार  र मायाले बूढीलाई पगाल्यो । बूढा नभएपछि यो संसारमा म एक्लो भए भन्दै रूने गर्थीन् । सलिनाले म छु नि भन्दै सम्झाइ,बुझाइ गर्थिन् । बूढाको मृत्‍यु पछि उनका छोरा छोरीको उपस्थिती पनि कम हुन लाग्यो । बूढीले पनि आफूलाई नितान्त एक्लो र बेसाहारा महसुस गर्दै सलीनालाई खुबै माया गर्न थालिन् ।  उनको सहारा सलिना मात्र थिइन् । उनका छोरा छोरी हप्तामा एकपल्ट मात्र आउँथे ! बूढी आमा  र सलिनाको सामिप्यता ब्यबहार, सदासयता, माया-प्रेम र एकापसको रेखदेखले उनीहरूलाई नजिक्याएको थियो ! बूढी आमाको मायाले होला, थोरै भए पनि सलिनाले घर परिवारको न्यास्रो भुलेको थिइन् ।

हप्तामा एक दिन बिदा हुन्थ्यो यो बेलामा अपार्टमेन्टमा जाने गर्थिन् । बिदाको समयमा नेपालमा आफन्तहरुसँग फोन गर्ने कहिलेकाहीं इजराइलको सागर छेउ घुम्न जान्थिन र सागरको स्वच्छ  निर्मल, सुन्दर, कन्चन समुद्रलाई धित नमरून्जेलसम्म नियाल्थिन् ।

यसै गरी दिनहरु बित्दै थिए । अपार्टमेन्टमा पूर्व मेची देखि पश्चिम महाकाली सम्मका मानिसहरू  भेट हुन्थे  । परदेशको उच्छवासमा पराइभूमिको परिवेश भएर पनि होला एकै आमाको सन्तानझैँ आफ्नै जस्तो लाग्थ्यो । बिभिन्न ठाउँका मानिसहरु बेग्ला बेग्लै बोली,बचन,व्यबहार हुन्थ्यो।कोही प्रत्येक छुट्टीको सदुपयोग आफ्ना प्यारा साथीहरुसँग समय बिताउने गर्थे ।कतिले आफ्ना,साना काखे नानीहरुलाई सम्झिदैँ, तड्पिदै, रुने गर्थे । कोहि बिभिन्न संघसंस्थामा आबद्द भएर सांस्कृतिक साहित्यिक कार्यक्रमहरूमा सरिक हुन्थे । कोहि आफ्नो धर्म र संस्कार पछ्याउन नेपालीहरूले गठन गरेको साइबाबा केन्द्र वा चर्चमा गएर मन शान्त पार्थे । सलिना पनि मनपर्ने साथीहरूसँग घुमफिर गर्न रूचाउंथिन्।

केही सभ्य देखिन्थे त कोही जङगली जस्ता एक हातमा बियर अर्को हातमा चुरोट तान्दै डिस्को धाउँथे । उम्लिएको उन्मादलाई छताछुल्ल पार्दै मैमत्ता भएर हिंड्थे । बोलाँउदा पनि अर्को पट्टी फर्किन्थे । तिनीहरु आफूले पाएको अवसरको दुरुपयोग गरेको देख्दा बाँदरको हातमा नरिवाल भने झैँ लाग्थ्यो । उनीहरूको ब्यवहार देखेर टीठ लागे पनि सलीना कसैलाइ केहि भन्न  उचित ठान्दिन्थिन् । हुन पनि त नेपालमा बेरोजगार भएर बसेकाहरुले इजरायल आएर ५० देखि ८० हजार सम्म कमाउदा बिदेशी जस्तै रहनसहन भेषभूषा अनि ब्यबहार गर्न खोज्थे।सलिना साथीहरूको यस्तो अबस्था देखेर अवाक हुन्थिन्। हामी कुन धरातल बाट,कुन उद्देश्य लिएर आएका हौ ? आफ्नो हैसिएत के हो भन्ने सबै भुलेको देख्दा सलीना मन कुडाउँथिन् ।

मानव अधिकारसँगै महिलाहरूको सम्पूर्ण हक सुरक्षित र कडा कानुन भएको देश इजरायलमा काम गर्ने नारीहरुको हकमा अपबाद बाहेक असुरक्षित भन्न सक्ने कुनै आधार देखिँदैन्थ्यो। प्रगतिशील  समयसंगै परिवर्तन पनि बिस्तारै पाइला सार्दै  अगाडि बढ्दो छ। आज परिस्थितीले हरेक मानिसलाई  आधुनिक बनाएको छ ।त्यसैले पनि यहाँका मानिसहरू जस्तै स्वतन्त्र हुन खोज्नु स्वभाविकै पनि हो ।कसैले स्वेच्छाले खुशीसँग कसैले खुशी साट्छ भने त्यो ब्यक्तिगत अधिकारको हो ।तर बूढा बाबा आमाको सुनौलो सपना । आशा भरोशामा कुठराघात गरेका देख्दा नरमाइलो मान्थिन सलिना।आफूभने सधै संयमित र अनुशासित  रहन्थिन्। उनी अरूको जिन्दगीमा कुनै टिक्का टिप्पणी गर्नु उचित हुदैन भन्ने ठान्थिन्। आ-आफ्नो रुचि अनुसारका साथीहरु हुन्थे जोसँग आफ्ना अभिरुची भावना मिल्छ उही नै घनिष्ठ साथी भए झैँ सलीना र सुबी एकदमै मिल्ने साथी थिए। उनीहररूले आफ्ना हरेक सुख, दु:ख,अप्ठयारोमा एकअर्काको दिलो ज्यानले साथ दिन्थे । सलीना सुबी र इजरायली बूढी आमाको मायाले केही हदसम्म आफन्तको न्यास्रो मेटेकी थिइ।

बारम्बार युद्द चलिरहने ठाउँ हुनाले सलीनालाई घरिघरी त बाँचेँर घर पुगिदैँन जस्तो पनि लाग्थ्यो । कहिले लेबनानको आकर्मण,कहिले गाँजाको हरेक दिन युद्द चलेकै हुन्छ। बम पड्केकै हुन्छ। डर अनि त्रासले मन थर्थरी कापिँरहेको हुन्थ्यो। जे जस्तो भए पनि सलीना मन दर्हो बनाउदैँन काम गर्न बाध्य थिइन्।

आम्दानी पनि राम्रो सुरक्षाको दृष्टिकोणले पनि सुरक्षित इजराइलको काम बैदेशिक रोजगारमा अरु देशमा काम गर्नेहरुको भन्दा निक्कै राम्रो मान्न सकिन्थ्यो।  झन्डै ५० वर्षअघि नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको इजरायलले नेपालसँग मात्रै कामदारको दक्षतामा प्रश्न उठाएर दुइबर्ष देखि भिसा रोकेको थियो । फिलिपिन्स, भारत, माल्दोभा श्रीलंका र थाइल्यान्डबाट कामदार आउनेक्रम भने यथावत नै थियो ।कति आफन्त र साथीहरूहरु आउन इच्छुक थिए । भिसा बन्द हुनाले सलीनकको उनीहरु ल्याउने सपना टुटेको थियो।

धेरै दिन देखि सलीनाको इजरायली आमा निरास देखिन्थिन् । उनको चाहना भनेको छोरा छोरीलाई सधैं आफ्नो आसपास देखिरहने  हेरिरहने तर जुन कुरा यहाँ सम्भव हुदैन्थ्यो। सधैजसो उ उनीहरूकै बाटो हेर्दै पर्खाइमा आँखा बिच्छाइ रहेकी हुन्थिन्।  यहाँ एकल परिवारको प्रथा हुनाले जब छोरा छोरी १८ बर्षका पुग्छन स्वेच्छाले आफ्नो बाबा आमाको घर छाडेर छुट्टै बस्न थाल्छन्।आफूले रोजेको पार्टनरसँगै बस्नलाई बिहे गर्नु पर्दैन मन मिले पुग्छ। लामो समय बस्दा एकर्काको मन मिल्यो चित्त बुझ्यो भने बिहे पनि गर्छन् !आफ्नो बाबु आमासँग त औपचारिकता मात्र निभाउँछन ।कसैलाई कसैको मतलब हुँदैन सबैजना आ-आफ्नो संसार रमेका हुन्छन्।बाबा आमाले कति दु:ख गरेर हुर्काइ बढाइ गरेका हुन्छन असक्त भएर अरुको सहारामा जीवन गुजारी रहेका हुन्छन्। छोरा छोरीलाई एक झल्को देख्न मात्र पाउँदा नि उनीहरू आफ्नो रोग आधा बिषेक भएको महसुस गर्छन्। तर हप्तामा एकपल्ट आएर आधा घण्टा सँगै बस्ने फुर्सद पनि छोराछोरीलाई  हुँदैन।कति स्वार्थी बन्ने रैछन् छोरा छोरी जस्को गर्भमा ९ महिना बसेर  अंकुरायो । जस्को छाती चुसेर जिउन पायो। जस्को हात समाएर उभिन सिक्यो। जस्को  रेखदेखमा संसार चिनेको थियो ।त्यस्तो निश्चल प्रेम गर्ने आमासँग बिताउने आधा घण्टा पनि मुस्किलले जुर्छ ! आमा  जस्को ममता अबर्णिय हुन्छ। यस्तो  माया-ममता, गुन मानविय धर्म सेवा सुसार सबै बिर्सिदा रहेछन ।

सलिनालाई  कस्तो निर्दयी जस्तो लाग्थ्यो।वरपर हेर्दा उनीहरूको चालचलन अनि संस्कार बुझ्दा सलीना आफूले हेर्ने बूढा बूढीको छोराछोरीले मात्र त्यस्तो नगरेर सबैको उस्तै देख्दा यहाँको चलन नै यस्तै छ भनेर चित्त बुझाउँथी।पूर्बीय संस्कार र पश्चिमेली संस्कारमा यही त भिन्नता रहेछ। हामी अरूको लागि बाँच्छौँ। हामीमा त्याग र समर्पणको भावना हुन्छ यहाँ आफ्नो लागि बाँच्छन्। आफ्नै दुनियामा रमाउँछन्।त्यसैले त यहाँको सरकारले नै असक्त हुँदा सुसारे राख्न् पाउने ब्यवस्था गरेका छन्।त्यसैले हामी नेपालीले यहाँ आएर काम गर्ने अवसर पाएका छौ भनेर सलीना मन बुझाउँथी !

सलीना एकोहोरो टोलाएर आफ्नो बृर्द अबस्थाको कल्पना गर्न पुग्छे।सलीना आफ्नै बुढ्यौली सम्झेर तर्सिन्छे ।यहाँको बूढा बूढीको स्याहार सुसार हेरचार अनि सुख सुविधा देखेर। यहाँ आफन्तले वास्ता नगरे पनि सरकारलेनै राम्रो ब्यबस्ता गरेको हुन्छ ।  ऊ सोच्छे आज बाध्याता र बिबशतामा म बिदेशमा छु। मेरो बाबा आमाको बुढेसकालको सहारा बन्न सकेको छैन ! छोरा छोरीहरु मेरो अभिभाकत्व रेखदेख,स्याहार,सुसार अनि न्यानो मायाको खडेरिमा खेप्न बाध्य छन ! भोलि म बृर्द हुँदा मेरा छोरा छोरी पनि त बिदेश लाग्लान्।देशमा दिन-दिन बढिरहेको हत्या, हिंम्सा बेरोजगार र महङ्गी संगै चेपिएर भावी पीढिले परदेश नरोजलान भन्न् सकिँदैन।

समय थाहै नपाई बित्दो रहेछ !आज भोलि गर्दै इजराइल आएको नि चार बर्ष बितेछ !आफ्नो जवानी रहर सबैलाई खुम्च्याएर  सलीना भोलि आफ्नै प्यारा सन्तान र आफ्नो मायालु श्रीमानको काखमा लुटुपुटिने कल्पना गर्दै निलो सागरको सुन्दरताले मोहित भएर किनारमा घन्टौ सम्म हराउँथी।जिन्दगीमा आफ्नो आफन्तबाट केही समय टाढा रहनु परेको बाहेक उसलाई कुनै चिन्ता थिएन। ऊ सोच्थी म जस्तो भाग्यमानी कोही छैन।श्रीमानसँग बोल्न नपाएको दिन निन्याउरो मुख लगाएर बसेको बस्दा उसकी इजरायली बूढी आमाले घरकै फोनबाट कुरा गर्न लगाउँथिन्। ! उस्को माया देखेर कहिलेकाही सलीनालाई आफू सुसारे हुँ झै लाग्दैन्थ्यो ।

जिन्दगीले रफ्तार लिदै गयो। सलिना बियोगसँग बाँच्न अभ्यस्त हुँदै थिइ।तनले टाढा भए नि आफ्नो मायालुलाई हरपल आफ्नै साथमा भएको महसुस गर्थी। श्रीमानको माया नै उसको खुशी हुने,बाँच्ने आधार थियो !जीवनमा जति दुःख कष्ट झेल्नु परे आफ्नो श्रीमानले आफूलाई धेरै माया गर्नुहुन्छ भन्ने बिश्वाश गर्थी।  श्रीमानको मायामा चुर्लुम्म डुबेर आफूले कमाएको एक पैसा नराखी सबै श्रीमानलाई पठाउँथी। उसलाई श्रीमानको मायाको अगाडि धन सम्पत्ति केही होइन झैँ लाग्थ्यो ।श्रीमानले पनि सबै व्यबहार मिलाएको छु भनेर मख्ख पार्दै अब म तिम्रो बाटो हेर्दै बसेको छु,सानु अब हाम्रो दु:खका दिन गए।म हाम्रो मिलनको दिन कुरेर बसेको छु,भन्दा सलीना त्यसै त्यसै खुशीले उद्देलित हुँदै बतासिन्थी ।उ सोच्थी दुबैको एउटै मन थियो तर आज दुबैसँग छैन एक अर्काबाट एक्लिएर अनाहकमा क्षितिजमा मुस्कुराइ रहे झैँ लाग्थ्यो।कहिले रमाउँदै कहिले परेली भिजाउदै काम गर्थी। समय बित्दै गयो ।छोरा छोरी पढदै थिए ! श्रीमान पनि बेला बेलामा फोन गरिरहन्थै। सलीना पनि मन लगाएर काम गर्दै थिइ ।

 इजराइको शहरी क्षेत्रको काम आधुनिक शहरको रमझममा पनि उनको मन कहिल्यै रमाएन। नांगा नरिवलको अकस्मात परेको बर्षाले भिजेर लुत्रुक्क परेको देखिन्थ्यो। चौध तला माथिको झ्यालबाट बाहिर हेरिरहन्छे-अबिरल बर्षाले भिजाएको छानाहरुलाई, रुखहरुलाई। सडक पनि सुनसान् लाग्छ-उसलाई आफ्नै जीन्दगी जस्तै। पर पर सम्म कोही देखिदैन। बर्षा अविरल् परिरहन्छ। सलीना अतितको गर्भमा बिलिन हुदै,हराउँदै जान्छे ।

 अचानक घरको यादले उनको मन उकुसमुकुस हुन्छ । हत्तपत्त फोन गर्छिन्। फोन गर्दा आज सधै भन्दा भिन्न लवज सुन्छिन्।उसलाई नरमाइलो महसुस हुन्छ।सन्चै हुनुहुन्छ भनेर सोध्दा झनक्क रिसाएर म मिटिङमा छु भन्दै फोन अफ हुन्छ । बिजी हुनु होला भनेर चुप भइन् ।भोलिपल्ट फोन गरिन् फोन उठेन फेरि पनि फोन गरिन् फोन अफ भयो।घरमा फोन गरेर नानुलाई सोधे घरमा आउनु भएको छैन एक हप्ता भयो भनिन्। सलीनालाई आफ्नो श्रीमानको इमान्दारीतामा शंका लाग्न थाल्यो ! केही दिनको चियो- चर्चा पछि गरे पछि पत्ता लाग्छ-उ अर्कैसँग  लहसिसकेछ। सलीना त आकासबाट खसेजस्तो भइन्। पत्ताल धासिएँ जस्तो भयो तर गर्न सक्ने स्थिति केही थिएन।
आज सम्मको सम्पूर्ण कमाइ  अनि विश्वाश  अचानक  सुनामिले बगाएझैँ भयो। आशा र भरोसा सबै बगायो। घर फर्किएर आफ्नो छोरा छोरीसँग आनन्दले बस्न पाउला भन्ने मिठो कल्पना अनि सजाएर सपना चकनाचुर भयो।यहाँ बिताएका संघर्सपूर्ण दिनहरु सबै ब्यर्थ भएको चाल पाएपछि सलिना छाति पिटीपिटी रून लागिन्।

कुनैपनि प्राणीले आफ्नो  अस्तित्व जोखिममा परेपछि स्वतः अरुको अस्तित्व माथि आक्रमण गर्दछ ।सलीना पनि आफ्नो हक अधिकार अनि प्राण प्रिय श्रीमान अरु कसैको भएको सुन्दा एउटा महिला कसरी मन बुझाउन सक्थि र ?आफ्नो श्रीमानसँग बिताएको १५ बर्ष उसले गरेको माया अनि बाचा कसम सम्झिएर धेरैबेर भक्कानिइन्। उनी रनभुल्लमा परिन । त्यस्तो माया गर्ने श्रीमानले कसरी मेरो माया र विश्वाशमा कुठराघात गर्न सक्यो,मेरो त्याग समर्पण,सङ्घर्षलाई कसरी चटक्कै बिर्सन सक्यो जस्तो लाग्यो। जता फर्किए पनि उनलाई उसैको मुहार झलझली सामुन्ने आउँथ्यो ! आफ्नो अधिकार अरु कसैलाई दिएको छ । आफूबस्ने मुटुमा अरू कसैलाई सजाएको छ भन्दा मन कहाँ शान्त हुन्थियो र ?मनमा आगोको ज्वाला दनदनी  बलेको छ। कति दिन देखि खानपिन पनि छोडेकीछिन्।डाको छोडेर रुन कराउन थालिन।फोन गर्छिन फोन उठ्दैन।श्रीमानले फोन  नम्बर चेन्ज गरेछ ! उसको साथीसँग नम्बर लिएर फेरि फोन गरिन् !  रोइन, कराइन् ! रिसको आवेगमा तथानाम गाली गरिन् । केही प्रतिउत्तर आएन ढुङो बोल्ला मान्छे बोलेन !उनले बोल्ने जति बोली सकेर शान्त भएपछि उसको श्रीमान मधुरो स्वरमा "मैले गल्ती गरे। अब तिमीहरु मिलेर बस। नबस्ने भए तिमी आफ्नो सुर गरे हुन्छ ! "कति सजिलै नेपालको पुरूष अनि त्यहाँको पुरुष प्रधान समाज मर्द कि दश वटी भनेर गर्व गर्दै मिलाएर राख्ने उसको कति लाजमर्दो कुरा ! घरको दुरावस्था हटाउन उनले दुर देशमा रात दिन नभनी दु:ख गरेर घरको आर्थिक अवस्था उकासिन्। साहुकोमा राखेको गैरीखेतको बन्दगी छुटाइन्। सबै कुराले सम्पन्न भएपछि उसलाई श्रीमलीको को मायाको कुनै अर्थ भएन कति स्वार्थ रहेछ दुनियाँ ! हुनत सलिना पनि  नै उस्तै हुन् बेफ्वाँकमा आँखा चिम्लेर विश्वाश गरिन् !

सलीनाको यस्तो हालत देखेर बूढी अचम्मित भइ। उनले पहिले देखि नै भन्ने गर्ने गर्थी।जब श्रीमान श्रीमती एक अर्का बाट टाढा हुन्छौ। बीचमा ठूलो खाडल बन्छ । जब दुई जनाले सुख दु:ख सँगै साट्ने सँगै बाँच्नेसँगै मर्ने कसम खाएपछि तिमीले विश्वाशमा छोड्यौ ! त्यो नै सबै भन्दा ठूलो गल्ती हो ! बाहिर कमाउन सके दुबै नसके श्रीमान आउन पर्थ्यो ! यो तिम्रो कमजोरी हो अब तिमीले रोएँ, कराए टाउको फुटाएँ पनि केही सिप लाग्ने वाला छैन । हिब्रुमा  एउटा उखान छ ("एन एमुना बे गेभेर मिया सना अलियादी अबाल रेगा एखात हुँ खोला लासोत मा हुँ रोचे ")"सयौ बर्ष सँगै बसे पनि त केटाको चरित्र बुझ्न सकिदैँन।"तिमीले त छोडेर आएकै चार बर्ष भैसक्यो।उसलाई पनि त केटी मान्छेको संसर्ग चाहिन्छ।के तिमीले यस बारेमा कहिल्यै बिचार गर्यौ ? तिमीले आफ्नो मन बाध्न सक्यौ सबैले कहाँ बाध्न सक्छन र ?तिमीले यसलाइ ठुलो कुरा सम्झनु बेकार छ ।आफूलाइ पहाडले किचिएँ झै भएको छ !उसले ठूलो कुरा हैन भन्छे।

उनीहरुको देशमा ४,५ चोटि सम्म बिहे गर्छन्।मन परुन्जेल श्रीमान श्रीमती मन पर्ने छोडे पछि कोही न कोइ !जता हेरे पनि जस्लाई सम्झिएँ पनि आफ्नो संस्कार आफ्नो रितीरिवाज उनले बिर्सन सकिनन्।आफूले ऊ सँग बिताएका ती स्वर्निम पलहरु हरपल उनका मानसपटलमा हरक्षण दौडन थाले ! आँखाबाट बलिन्द्र धारा रोकिएन ! सानो छोरालाई फोन गरिन् बाबा घरमा हुनुहुन्न मलाई भोक लागेको छ भन्दा उनको छाती चसक्क चस्कियो।मन भक्कानियो ! आमा छैन छोरा छोरीलाई चटक्कै छोडेर परस्त्रीसँग बस्न सक्ने कति निर्दयी हुने रैछन् छोरा मान्छेहरू ।सलीना जति बिर्सन खोज्थिन उति नै यादहरू तँछाड मछाड गरेर मानसपटलमा नाचिरहन्थ्यो।उनी जीवन देखि नै बिरक्तिने गर्थिन्।तर जे जस्तो भए नि यथार्थको धरातल बिर्सन सकिएन।उसले अरु सँगै बसेको मात्र नभएर ऊ सँग बच्चा समेत जन्माइ सकेका रहेछ।यताबाट सलिनाको पैसा हात लगाउँदै जग्गा किनिदिएको छु। तिम्रो नाममा भन्दै कान्छीको नाममा घर बनाइ दिएको रहेछ !मेरो सोझोपनको फाईदा उठाएर रमाइलो मात्र गरेनन। म माथि मात्र सौता हालेनन।मेरो छोरा छोरीलाई समेत अन्याय र अत्याचार गरे ! धिक्कार छ त्यस्ता बाबालाई जस्ले समय र जवानीको उन्मातलाई रोक्न सकेन ।उनलाई लाग्यो अहिले रमाइलो गरे पनि समयले यो अन्याय त सहने छैन ।

यी सबै कुराको जानकारी पाएर पनि  भन्नासाथ सलीनालाई जाने बिदा मिलेन ! बूढीले यति धेरै माया र सुझाव सल्लाह दिइ। उसैको सहाराले  जीवनमा नयाँ उमङ्ग बोक्न सक्ने हिम्मत पलायो। जति बिर्सन खोजे पनि उसैको याद र सम्झनाले भत्भती पोलेर  उनको मन कहिल्यै शीतल हुन सकेन ! सलीनालाई लाग्न थाल्यो मेरो एक्लो,निरस जीवनमा अब उज्यालो किरणहरु छिर्दैनन !मेरो अवस्था देखेर बूढी आमाको म प्रति अझ प्रेम र  सहानुभूति बढ्यो !उसको माया र सद्भावले बाँच्न केहि राहत मिल्यो।

सलीनाले सोचिन मैले कमाएको थिए र पो खायो, रमायो ! मैले माया गरेको मान्छे अरुसङै रमाउँछ खुशी हुन्छ भने ठिकै छ भनेर चित्त बुझाइन्। । उनलाई लाग्यो मेरो खुशी खोस्नेले के सुख पाउलान र ? म दुखी भए पनि हिम्मत हारेको छैन। मैले कमाएको पैसा पो सिद्धियो। मैले माया गरेको मान्छेको मन पो बदलियो तर म बदलिएको छैन।तिमीले अरूलाई माया गरेर मलाई माया नगरे पनि मैले त तिमी बाहेक अरू कसैलाई माया गर्न सक्दिन म त सधै माया गरिरहन्छु ! तिमी खुशी छौ भने म खुशी नै छु !  सलीना सोच्छिन् अरुको खुशी खोसेर पाएको खुशी भन्दा आफूले  त्याग गरेर दिएको खुशीले मानिसलाई झन धेरै गुणा आनन्द दिन्छ।विश्वास र समर्पण बिनाको प्रेमले न सार्थकता पाएको छ न पाउने नै छ । त्यसैले तिम्रो खुसिमा म खुसि हुन सिक्नेछु।बाँकी जिन्दगी मेरो प्यारी छोरीको पालन पोषणमा बिताउने छु भन्दै सलीनम आफ्नो मनलाई सम्झाउँछिन्।

समयले मान्छेको कुकर्मको फल यही जन्ममा देखाउने रहेछ ! हिजो मात्र सलिनाको छोरीले रुदै फोन गरिन् ! मामु बाबा पहिले त हामीलाई वास्ता गर्नु हुन्नथ्यो। हिजो मामाघर आउनु भएको थियो ! तिम्रो मामुलाई कस्तो छ भनेर सोध्नु हुन्थ्यो ! मामाले भन्नु भएको त्यो बाबासँग आउने केटीले बाबाको सबै कुरा लिएर फेरि अर्कै सँग हिडि रे । यो कुरा सुन्दा सलीनाको एकमनले नरमाइलो पनि मानिन्।फेरि उनलाई यी सबै कुराहरू हुने नै पर्ने थियो भन्ने सोचिन्।पहिले सलीनाको फोन काट्ने  कुरा गर्न खोज्दा फोन नै अफ गर्ने आज त उनलाई नै फोन गरेर के छ कसो छ सोध्ने ?सलीना रिसले मुर्मुरिदै
"तिमीले मलाइ थुकेर फाल्यौ, मेरो मायाको कदर गरेनौ, अब फेरि मेरो जिन्दगीमा आउनु पर्दैन"
भन्दै फोन राखिन्।उनी फेरि कडकिइन् "आफ्नो प्यारो मातृभूमी मुटुका टुक्रा छोरा छोरी रहरले हैन करले नै छोडेको थिए।जब मन लाग्यो फाल्यो, जब आवश्यकता पर्‍यो टिप्यो।म कुनै साधन होइन म सँग पनि दिल छ भावना छ, मेरो पनि अस्तित्व छ।अब आइन्दा मेरो कुनै खोज खबर नगर्नु । तिम्रो र मेरो बाटो नै फरक भयो  भने मुटुमथि ढुङ्गा राख्दै आफ्नो निर्णय सुनाएर प्रफुल्ल भइन् ।"
आफ्नो छोरीको सहारामा जिन्दगी बिताउने दृढ निश्चय गरिन् !

धेरैबेर सम्म निलो आकाशको विराट क्षितिजतिर एकोहोरो हेरिरहिन्। आगामी दिनहरुलाई अगाडि बढाउने उपाय खोजिरहिन्।नयाँ नौलो योजना सोचिरहिन्। उनलाई लाग्छ, जिन्दगीका अनमोल समय थाहा नपाइ तेज हावासँगै माथिमाथि अनन्त रहर बोकेर उडिरहेछ।बार्दलीको डिलमा अडेस लगाएर उभिदै, बाहिरका रुख बिरुवाहरूलाई नियाल्छिन् । यिनीहरूले अनगिन्ती हिमपात जाडो गर्मी सहेर पनि फेरि फुल्ने फल्ने ऊमङ आशा लिएर एक तमासले उभिरहेको हुन्छन् ।मैले पनि आफ्नो निराशा अनि घायल जिन्दगीलाई नयाँ मोड दिने आफ्नो सपना आफ्ना सन्ततिबाट पूरा गर्ने संकल्प गर्दै बाँच्ने निर्णय गर्नुपर्छ भन्ने सोच्छिन्।मैनबत्तीझैं आफू बलेर अरुलाई उज्यालो दिईरहेको छ। बलिरहेको मैनबत्तीलाई आफूसँग दाँज्दै मैले गरेको दु:ख अनि परिश्रमले मेरा सन्ततिको भविश्य उज्यालो पारिरहेको छु भन्ने महसुस गर्दै सलीना आफ्नो यात्रालाई अगाडि बढाई रहन्छिन् ।

सलीनाको भोगाइबाट मैले सिकेको कुरा विश्वाशमा संसार अडेको हुन्छ !तर विश्वाशघात गर्नेको कुनै औषधी हुँदैन !मानिस सुखी र खुशी रहन अनेक पाप र कुकर्म गर्छ । अन्ततः त्यहि कर्मले मानिस दुःखी एवं विव्हल हुन्छ । मानिसले आफ्नो  कर्मको हिसाब नराखे पनि समयले सबै मानिसका कर्मको हिसाब राखेको हुन्छ । हामीले अरुको लागि हैन आफ्नो लागि बाँच्न सिक्नु पर्ने रहेछ !मनभित्रका सुषुप्त इच्छाहरुले मानिसको गन्तव्य निर्धारण गर्दछ । त्यो गन्तव्य मानिसको लक्ष्य बन्दछ । संयोग अर्थात् भाग्यले दिशा प्रदान गर्दछ र मेहनत अर्थात् कर्मले त्यो लक्ष्य पुरा गर्न मद्दत गर्दछ । तसर्थ मानिसको जीवन सपना, भाग्य र कर्मको मिश्रण हो ।एक अर्का बाट टाढा हुनु नै जिन्दगीका नरमाइला क्षण रहेछन जब दुरी बढछ माया घट्ने रहेछ,अनि समिपमा भएको बस्तु नै सबैलाई प्यारो हुने रहेछ। टाढा हुनेको जति सुकै माया विश्वाश भए पनि त्यसको कुनै औचित्य र भरोसा नहुने रहेछ ।त्यसैले यदि तपाइँहरू माया गर्नुहुन्छ भने इमान्दार भएर आफ्नो जीवनसाथीलाई नै जीवनभर गर्नुस् । किनकि परिवार टुक्रिनु भन्दा ठूलो दुःख जीवनमा केही हुनेछैन । अन्य साथ क्षणभरका हुन् जीवनभरका होइनन्।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼