Saturday, September 8, 2012

लघु कथा


लघु कथा :आत्म सन्तुष्टी
भगवती बस्नेत

मन्जिल अँध्यारो मुख लगाएर बसेको छ । आकाश धुम्म परेको छ । पानी झर्ला झर्ला जस्तै भए पनि पानी झर्न सकेको छैन । मधु छोराको अनुहार हेर्दै पिँढीको फलैँचामा चिउँडोमा हात राखेर निरास मुद्रामा बसेको छ । उसलाई लाग्छ ।गरिब भएर जन्मनु अभिषाप हो सायद । जसले पलपलमा विवश बनाउँछ । स्वाभिमानपूर्वक उभिँएर बाँच्न दिदैन । आफ्नै परिवारभित्रबाट, समाजबाट, साथीभाईबाट समेत भनेजस्तो व्यवहार पाइदैन । घृणा, उपेक्षा, तिरस्कार र अपमान पाइला पाइलामा भोग्नुपर्छ। जतिसुकै सीप, योग्यता र क्षमता भएपनि आत्मविश्वास नै कमजोर बनाइदिन्छ । भएको प्रतिभामा पनि अंकुश लगाइदिन्छ । त्यही भएर पो मान्छे भौंतारिदै आफ्ना र आफन्तबाट टाढा बिदेश लाग्न वाध्य हुने रहेछन् ।

चेतनमनले यथार्थ स्वीकार गर्न मन गर्छ, तर अवचेतनले गरिवीसँग लड्न सक्नु नै त मान्छे हुनु हो, दु:ख संघर्स देखि डराएर आफ्नै देशबाट पलायन हुनु पनि के पुरुषार्थ हो र ?भन्ने लाग्छ उसलाई । मैले संघर्ष गरेर अनेक दु:ख कष्ट सहेर गरिबीलाई जित्ने प्रयत्नमा लागेको छु भन्छ मनमनै । उ अनेक कुरा खेलाउँदै टोलाएर बसेको छ । पछाडिबाट एक्कासी मधु दादा भन्दै दिवाकर आइपुग्यो । मधुलाई निरास र मलिन मुद्रामा देखेर ऊ भन्छ "मधु दा हजुर त सधैं हसिलो मान्छे आज किन हो थाकेको हारेको निरही प्राणी जस्तो दयनीय स्थितिमा देख्दै छु ।" अरु कोहि अप्ठ्यारोमा,समस्यामा , आपद बिपदमा परे भने हौसला र ढाडस दिदैँ यस्तो परिस्थितीसँग सामना गर्ने शक्ति प्रदान गर्ने मान्छे यस्तो हजुर आज के भयो ? भाई मैले आज सम्म घर समाजमा जति काम गरे म त्यसबाट सन्तुष्ट पनि छु । तर आज आफ्नै छोराको सानो आवश्यकत पूरा गर्न नसकेकोमा दु:खी छु ।

त्यही त , तपाईंसँगै एउटै पदमा बसेर काम गर्ने साथीहरु अमेरिका,युरोपमf धनाढ्य ब्यक्तिको रुपमा परिचित छन तपाईं भने आफ्नो छोराको सानो आवश्यकता पूरा गर्न नपाएर दु:खी हुनुहुन्छ । तपाईंलाई भने कहिल्यै बिदेश जाने अफर आएन ?? आयो गोष्ठी सेमिनार मा विश्वका बिभिन्न देशमा पुगेर पनि फर्किएँ । मलाई मेरो शिक्षण पेशा गरेर बाँकी बसेको समय समाज सेवामा लगाउँदा नै मलाई खुशी मिलेको छ । आगोले पोलेको घाऊ अगोले सेकाउदा नै निको हुन्छ भने झै अभाव अनिकाललाई चुनौती दिन यिनै अभाव भित्र बसेर यसको समाधानको बाटो राम्ररी पहिल्याएको छु । मेरो छोरा स्कुलमा सधैं प्रथम हुन्छ उसको फि तिर्नु पर्दैन । श्रीमती आफ्नै महिला उदमी संस्थामा ब्यस्त हुन्छिन । महंगा लुगा , मूल्यवान गहनाको कहिल्यै डिमाण्ड गरेकी छैनन । उनी सस्ता र साधारण पहिरनमा आफ्नै दरिद्रता भित्र स्वच्छ भावना लिएर बाँच्न मन पराउँछिन । उसको बोली आत्म विश्वाश किन्चित दम्भयुक्त थियो । दु:ख यति हो आज छोराले शैक्षिक भ्रमणमा जाने खर्च जुटाउन नसक्दा चै अलि खल्लो लागेको हो । यस्तो अवस्थाबाट गुज्रिदा तपाईंलाई बिदेश नगएर भूल गरेछु जस्तो लाग्दैन ? अहँ लाग्दैन । अभाव,दु:ख,पीडा आफ्नै ठाउँमा छन् ।

स्वदेशमा बसेर के पाउनु भयो त ?आफ्नो परिवार आमा,बाबाको स्याहार सुसार गर्न पाएको छु । उहाँहरूको माया सद्भाव,शुभ आशिर्वाद पाएको छु। आफ्नै घर समाजको सेवा गर्न पाउनु मेरो अहो ! भाग्य सम्झन्छु । तपाईंहरु जस्तै स्नेही हजारौँ साथी भाइ कमाएको छु । मधुको कुरा सुनेर बिदेश जान सिफारिस लिन आएको दिवाकार आफ्नो सोच परिवर्तन गरेर फर्कियो ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼