मुक्तकहरु
घाम र छाया न छुट्छ माया दुख्दो छ कहानी
दुर छ यात्रा नथाक अहिले बाँकी छ जवानी !
शीतझैँ निश्चल तिमी, फूल जस्तै कोमल छौ-
मिलन-बिछोड जीवनको रीत नभिजाउ सिरानी !
आफूलाई भन्दा धेरै माया तिम्लाई गर्छु भन्छौ
तिमी हिड्ने बाटोभरि फूलैफूल छर्छु भन्छौ !
चन्द्रमा र चकोरकोझैँ निश्चल छ, प्रीती भन्दै-
तिम्रो साथ नपाएमा म त त्यसै मर्छु भन्छौ !!
कति लेखौँ पत्र अब खातै खात भयो
फूल जति टिपी लग्य्यौ बाँकि पात भयो !
ऋतु झैँ बदलियो थाहै नपाई तिम्रो मन -
अजम्बरी भन्थ्यौ माया किन घात भयो !!
सोचाई यौटा भोगाई अर्कै समस्या छन् थरिथरी
जे छ त्यसमा रम्नु पर्ने संसार यो हेरी हेरी ।
जित हारको जिन्दगीमा जित्नै पर्छ भन्ने छैन -
दु:खमा नि रमाउँदै सुख खोजौ सधैभरी ।।
बिहानको किरणसंगै तिम्रो याद पठाएछौ
उदास मनको बाग हेर्ने माली पनि खटाएछौ !
जीवन यो फक्रनलाई फुलेर नै झुल्नु पर्छ-
इन्द्रेनीका सातैरंग सबै यतै पठाएछौ !!
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼