Friday, November 16, 2012

अधोपतन :केदार शर्मा : प्रचन्डको चित्त र माधवको माफी माधव नेपालको कठोर टिप्पणीबाट प्रचण्डले चित्त दुखाए। “प्रचण्डजीले चित्त दुखाउनुभएछ, म माफी माग्छु” नेपालले भलाद्मीपन देखाए, पटाक्षेप भयो। तर सबैलाई, शायद प्रचण्डलाई समेत थाहा छ; उनलाई गाली गर्ने माधव नेपाल मात्र होइनन्, अखबारहरूमा उनका कार्टून हेर्दा, उनका बारेमा गरिएका टिप्पणीहरू पढ्दा-सुन्दा उनका विरोधीहरूलाई समेत टीठ लागेर आउँछ। आमसञ्चारमाध्यमहरूको आफ्नै प्रक्रिया र मर्यादा भएकाले सम्पादकहरूले धेरै संयमित विचार र चित्र मात्र दिन्छन्, तर न्यू मिडिया भनिने स्वच्छन्द माध्यमहरूमा त भरिभण्डै छ। लाखौं नेपालीले चलाउने फेसबूकमा प्रचण्ड जति गाली खाने मान्छे अर्को कोही छैन। उनका लाजलाग्दा, घिनलाग्दा र अपमानजनक कार्टूनहरू बनेका छन्। दुःख लाग्छ, साँच्चै नै! पोखरा उपत्यकामा पृथ्वी राजमार्ग छाडेर वेगनासतालतिर लाग्ने दोबाटोमा एघार वर्षअघि कृषि बजारसित सम्बन्धित एउटा परियोजनाले तरकारीको भाउ लेख्ने बोर्ड राखेको थियो। एकदिन त्यस बोर्डमा माओवादीले जनयुद्ध सम्बन्धी एउटा नारा लेखेको देखियो। परियोजनाका मानिसहरूमा खलबली मच्चियो। दाता यूएसएआईडीसम्म कुरा पुग्यो। तर त्यो बोर्डमा लेखिएका कुरा मेटाउने हिम्मत कसैको भएन। डरले नै हो, अलि पछि छेउमा अर्कै बोर्ड राखियो। त्यतिबेला उनको पार्टीलाई गाली गर्ने हिम्मत कसैमा थिएन। प्रचण्डलाई त नेपाली समाजको एउटा ठूलो हिस्साले रहस्यमय मुक्तिदाताका रूपमा कल्पना गरेको थियो। पाँच वर्षअघिसम्म पनि कसको हिम्मत थियो उनको विरोध गर्ने? उनलाई त के आफूलाई माओवादी भन्ने एउटा फिस्टे कार्यकर्तालाई पनि मान्छेले सक्दो सम्मान दिनुपर्थ्यो। चुनाव जितेपछि त्यो सम्मान त अझ् बढ्नुपर्ने हैन र? सत्तामा बसेपछि त्यसमा चमक थपिनुपर्ने हैन र? उनी यस्तरी गाली खाने अवस्थामा कसरी पुगे? कसले पुरुर्‍यायो, राजावादीहरूले? भारतले? मोहन वैद्यले? माधव नेपालले? रामचन्द्रले?मिडियाले? कि यो मर्यादाहीनताको महायात्रा आफैंले रोजेका? प्रचण्डलाई आज गाली गरिरहेका हजारौं हजारमध्ये कसैले पनि माधव नेपालले जसरी माफी माग्ने छैनन्। अब उनीसित गाली सहन सिक्नु वा गाली गर्नेहरूलाई प्रतिक्रियावादीका दलाल वा यस्तै केही चल्तीका आरोपहरू लगाएर चित्त बुझाउनु बाहेक अर्को विकल्प छैन। त्यसो त गाली खाने काम नगर्नु नै गालीबाट जोगिने सर्वोत्तम उपाय हो। तर, उनी झूठहरूको यस्तो धरहरामा चढिसकेका छन् जहाँ सत्यको भर्‍याङ अडिंदैन। त्यहाँबाट ओर्लिनलाई सार्वजनिक क्षमायाचनाको एउटा फायर इस्केप भने उपलब्ध छ। त्यो साँघुरो फायर इस्केप बाट ओर्लिन अहङ्कारले अररिएको शिर निहुराउनुपर्छ। र, धेरै माथि पुगेपछि अनिच्छा र बाध्यताले ओर्लनुलाई अवतरण हैन, अधोपतन भनिन्छ। यस्तो अधोपतनका यात्री प्रचण्ड मात्र भने होइनन्। नीतिले नै भन्छ- चढेको सूर्य त र्झ्छ अरूको के कुरा! अनि झर्नुको पनि फरक ताल हुन्छ। सूर्य जसरी झ्रेको छ फेरि उदाउँछ, धूमकेतु बनेर आउनेहरू त्यसरी नै हराउँछन्। प्रकृतिले त्यस्तै सिकाएको छ। हामी बाँचेको नेपाल यही हो, जहाँ एक जमानामा राजाको कार्टून बनाउनु त सपनामा त्यसो गरेको देख्ने हिम्मत पनि कुनै कलाकारमा थिएन। लेटरप्रेसमा अक्षर कम्पोज गर्दा तलमाथि भएकैले मान्छेका जागीर गएका उदाहरण पनि छन्। तर समयले पल्टा खायो। राजा आफैं कार्टून मात्र हैन जोकर बने। उनलाई यो अवस्थामा कसैले पुर्‍याएको हैन, आफैं पुगेका हुन्। विचराले देश-काल बुझेनन्, नागरिकहरूमा उकासिएको चेतना बुझेनन , राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थितिका जटिल समीकरणहरू बुझेनन्। सबभन्दा ठूलो कुरा, लोभको मत्ता हात्तीलाई अंकुश लगाउन सकेनन्। अनि नसोचेको कुरा भयो। माधव नेपालले त “मैले तपाईंलाई चोर, डाँका, फटाहा भनेको हैन है!” भने। कमरेड, तपाईंको चित्त अवश्य दुख्दो हो, तर मानिसहरूले रमाइलोका लागि तपाईंलाई गाली गरेका होइनन्। यिनको पीडा सम्भवतः चित्तको निकै गहिरो भागबाट निस्सृत छ। सोचेका परिणामहरू विधिबाट आएनन् भने पीडाबाट आउँछन्। पीडा कहिल्यै सुखद् हुँदैन। साभार : हिमाल पाक्षिक खबर पत्रीकाबाट

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼