हरिबोधनी एकादशी र चित्रसारिको जात्रा !
भर्खरै दशैँ, तिहार, छठलाई बिदा गर्दै आँगनको डिलभरि गोदावरी, सयपत्री ढकमक्क फुलेको छ । सरद ऋतु घमाइलो मौसमसँगै एकपछि अर्को गर्दै आएका चाडपर्वले गाउँघरका सबै रमाइरहेका छन् । हरिबोधिनी एकादशीको लागि हजुर आमाले आमालाई तुलसीको मोठ सिगार्न लगाउदै हुनुहुन्छ भने भाउजू खाजाको लागि सकरखण्ड, फर्सी, आलु उसिन्दै हुनुहुन्छ । दाजु बगैँचामा लटरम्म फलेका सुन्तला डालाभरि टिपेर पिँढीमा राख्दै हुनुहुन्छ । बाबा उखुका लाक्राहरू अँगालोभरि लिएर गोठतिर जादै हुनुहुन्छ ।
म साइकल डोर्याउदै बाहिर निस्किएँ । मेरो भर्खरै टेष्ट परीक्षा सकिएर एस एल सीको लागि स्कूलमा कोचिंग शुरु भैरहेको थियो । आमाले आज छिट्टै आऊ है बुनु आज मेरो बर्त छ भरे घरमा पूजा पनि गर्नु छ भन्नु भयो । मैले क्लास सकिने बित्तिकै आउँछु भनेर हिडेँ ।
स्कुल पुग्दा राधा, लीला, नीता, सारदा राजेश लक्ष्मण अघि नै आइसकेका रहेछन । आज हामीलाई कोचिंग पठाउने सर आउनु भएनछ । गेटपाले दाइले "आज सर आउनु हुन्न । उहाँको अन्तै जाने काम परेको छ अरे, भोलि बिहान ८ बजे सबै जना आउनु भन्नु भएको छ ।"
हामी सधैको पढाई गृहकार्यले वाक्क भैसकेका थियौ । केहि नयाँ अनि रमाइलो गरौ भन्ने सोच बनायौ । राजेशले-: "फिलिम हेर्न जाने भन्यो !" राधाले म त जान्न भनि मैले पनि हो फिलिम हेर्दा ३ घण्टा बस्नु पर्छ म पनि नजाने भन्दै थपे । लीलाले- "सौराहा घुम्न जाउ" भनी, नीताले कति घुम्नु त्यो ठाउँ सधैँ घुमेको त हो नजाने भनी " ! त्यसो भए "आज चित्रसारिमा जात्रा लाग्छ, त्यही हेर्न जाऊ सारदाले भनी ।" हामी सबैले सहमति जनायौ ।
सबैको साइकल थियो, आधा घण्टामा मेलामा पुग्यौ । पहिले दाजु-भाउजुसँग एक दुई पल्ट जात्रा हेर्न आएको थिएँ सानैमा । तर यसरी साथीहरूसँग जात्रा हेर्न आएको भने पहिलो अनुभव थियो ।
गाउँतिरका सीता र रमा पनि मेला हेर्न आएका रहेछन्, देख्न्लान र घरमा कुरा लगाउँलान् भन्ने डरले साथीको आडमा लुके । मेलामा भीडमभिड थियो ! सुन्तला, अम्बा, उखु, बदाम बेच्नेहरू तछाडमछाड गर्दै ग्राहक बोलाउँदै थिए । त्यहाँ केटाकेटी बूढाबूढी, तन्नेरी सबै मेला भर्न आएका थिए । साना साना नानीहरू आफ्ना अभिभावकलाई बेलुन, मिठाई, आइसक्रिम भएतिर तान्दै दकुर्दै थिए । कोहि पिर्पिरे बाजा, कोही मुरली बजाउदै थिए । बूढाबूढी मन्दिरमा पूजापाठ गर्न लाइन बस्दै थिए । तन्नेरीहरू दोहोरी खेलेर रमाइलो गरिरहेका थिए । लगुरबुर्जा लागायत बिभिन्न खेल खेलाउने मानिसहरूले मेला भर्न आएकाहरूलाई मनोरंजन दिदै थिए । ती मान्छेहरूको हुलमा मिसिएर ती अनेकन दृष्यहरूमा हामी निक्कैबेर भुलियौ !
मैले "म चाडै फर्कनु पर्छ । हाम्रो कोचिंगको समय सकिन लाग्यो" भनेर साथीहरूलाई हतारो लगाएँ । पढन हिडेँका हामी संयोगले त्यहाँ पुगेका थियौ । मेलामा आएर केही नखाई के फर्कनु भन्दै हामीसँग जति जति पैसा थियो । सबै जम्मा गरेर मिठाई, सुन्तला, बदाम, उखु किनेर राप्ती खोलाको किनारमा बसेर खादैँ रमायौ । छङगछङ्ग बग्ने राप्तीको मनोरम वातावरणमा साथीभाइसँग धेरै हाँसो ठट्टा समय बितेको पत्तै भएन । आमाले छिट्टै आउनु भनेको सम्झिएँ ।
भोलि बिहान ८ बजे स्कुलमा भेट्ने बाचा सहित साथीहरूसँग बिदा लिदैँ, साइकल जोडले हाँकेर हस्याङ्ग फस्याङ्ग गर्दै घर आइपुगे । दाजु फलैँचामा बसिरहनु भएको रहेछ । म साइकलबाट ओर्लिन नपाउदै आखाँ रातो बनाउदै रिसले मुर्मुरिएर "आज कहाँ गएकी थियौ ?"
के भन्नु, भन्नु । अतालिएर- "पढन गएको थिएँ" भनेँ ।
बाबालेभन्दा पनि बढी हुकुम चलाउने आर्मी जागिरे दाजु घरमा पनि उही शाशन नियम कानुन लादनु हुन्थियो । छोरा मान्छेले जहाँ जादा जे गर्दा पनि हुन्छ । छोरीचेली घरको संघार नाघेर बाहिर जानु हुन्न भन्ने उहाँको मान्यता थियो । आखाँ तर्दै अलि सम्झिएर "भन् कहाँ थियौ ?"
म बोलिन । नबोलेपछि बासको सिर्कनाले खुटामा हान्नु भयो । म चुपचाप सुक्कसुकाउँन थाले । बोले अझ जोडले खानुपर्थ्यो । आमाले भन्नु भयो, "नपिट बहिनीलाई । पढेर थकित भएर बल्ल आइपुगेकी छ । तातो न छारो पिट्दो पो रहेछ ।"
"खुब पढन जान्छे तपाईँको छोरी आज मैले यसलाई चित्रसारीको मेलामा देखेको थिए ।"
आमा अचम्मित हुनु भयो । मैले आमाको नजिकै बसेर दिउँसो भएका सबै बेलीबिस्तार लगाएँ । भाउजूभित्रबाट बर्बराउँदै बाहिर निस्कनु भयो, "मलाई पनि कस्तो चित्रसारीको मेला हेर्ने रहर थियो । मलाई आज त्यहाँ लैजानु न भन्दा त अफिसको काम छ भनेर हिड्नु भएको थियो । ढाँटेको कुरा त काटे मिल्दैन; .नानीलाई बित्थामा गाली गर्नु हुदोरहेछ । तपाईँ मेलामा कुन चाहिँ तरुनीलाई आखाँ लगाउन जानु भएको थियो ?"
दाजु आफै रातो निलो हुनु भयो । म ठिक्क पर्यो भन्दै कुम हल्लाउदै भित्र पसेँ ।
http://www.majheri.com/node/10712 5
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼