Saturday, December 8, 2012

बिचार


मन र मुठी खोलेर बाँच्नेहरूको जय होस् !

 दुई-तीन वर्षअघिसम्म हाम्रो घरबाट पाँच मिनेट हिँडाइको दूरीमा पुष्पा बस्नेत आफ्ना १९ जना बालबालिकाका साथ बस्थिन् । तर पनि मलाई उनकाबारे अत्तोपत्तो थिएन । सायद राजन पराजुली र सिर्जना योन्जनको मुखबाट पुष्पाको नाम र कामका विषयमा पहिलो पटक सुनेको थिएँ । २०६६ सालमा मधु आचार्य र म 'मेरो जिन्दगी मेरो विश्वास' नामक टेलिभिजन कार्यक्रमको निर्माणमा संलग्न थियौं । त्यसैक्रममा हामीले उनका विषयमा एक कार्यक्रम बनायांै । र, त्यो कार्यक्रम प्रसारण भएपछि पुष्पालाई नेपालमा धेरैले चिने, कतिपयले यथासक्य मद्दत पनि गरे ।
कार्यक्रम प्रसारण भएपश्चात् थपिएका सहयोगी हातहरूले गर्दा पुष्पा महाराजगन्ज, पीपलबोटको त्यो साँघुरो घरबाट चपली, बूढानीलकण्ठको फराकिलो घरमा पुगिन् । आश्रय पाउने बालबालिकाको संख्या पनि निकै बढ्यो । विभिन्न कारागारमा बन्दी गरिब निःसहाय मानिसका असहाय केटाकेटीलाई आपmनो न्यानो आश्रय दिँदै आएकी पुष्पा बस्नेत गतसाता 'सीएनएन हिरो २०१२' घोषित भएपछि विश्वव्यापी रूपमा चर्चित हुन पुगेकी छन् । म सोच्न थालेको छु, २९ वर्षको उमेरमा यत्रो ठूलो प्रचार र सम्मानको भार पुष्पाले कसरी बेहोर्लिन् भनेर ?
कुनै पनि मानिसका निम्ति प्रसिद्धि एक्लै आउँदैन । कमाइएको नामले आपmनो साथ अनेकांै जिम्मेवारी, चुनौती र सम्भावनाहरूको भेल पनि बोकेर ल्याउँछ । कतिपयका निम्ति त थपिएको नामले आपmनो मनमा घमण्ड वा अर्काको मनमा इस्र्याको बिउ रोप्ने काम पनि गर्न सक्छ । सकारात्मक सोच राख्नेहरूका निम्ति भने मान, सम्मान र पुरस्कारले आपmनो काममा झन् बढी दत्तचित्त भएर लाग्न प्रेरणा दिने गर्दछ । हौसलाले मानिसको ऊर्जालाई अकल्पनीय रूपमा बिस्तार गरिदिन्छ ।
२१ वर्ष पुग्दा नपुग्दै जेलमा रहेका बालबलिकाको उद्धारमा लागेकी पुष्पा आपmनो विद्यार्थी जीवनमा चाहिँ खासै राम्रो विद्यार्थी थिइनन् । एसएलसीमा फेल भएर परिवारको नाक कटाएको भनिएकी पुष्पा सेन्ट जेवियर कलेजको 'ब्याचलर इन सोसल वर्क' कक्षाबाट एक वर्षका लागि निष्कासित पनि भएकी थिइन् । भीम विरागका अमर पंक्तिहरू छन् ः
'बाटो हो कि कुबाटो
अन्धोलाई केको मतलब ?
आँखै हुनेको पनि
ठोकिन्छ जिन्दगी !
पानीमा होइन बालुवामा
लेखिन्छ जिन्दगी !
तर, एउटै लहरले पनि
मेटिन्छ जिन्दगी !'
पुष्पाका निम्ति भने जीवनधारा नै मोडिदिने त्यो 'एउटै लहर' त्यस दिन आयो, जब 'फिल्डवर्क' का निम्ति केन्द्रीय महिला कारागार पुग्दा उनले एक हृदयस्पर्शी दृश्य देखिन् । उनले देखिन्, जेलभित्र सजाय पाएका मानिसहरूमात्र थिएनन्, अपितु साना-साना निर्दोष अबोध बालबालिकाहरू पनि थिए । बालबालिकाहरू, जो निरपराध थिए, जो दोषरहित हुँदाहँुदै पनि जेलमा बस्न बाध्य थिए आफ्ना आमाबाबुले गरेको गल्तीका कारण । बाबुआमा यति निःसहाय थिए कि आफू जेल परेपछि आपmना निर्दोष सन्तानलाई पनि साथै लिएर कारागारभित्रै लिएर जाने बाध्यता थियो । नानीहरू यति स-साना थिए, बुझ्न पनि सक्दैनथे कि उनीहरू कहाँ र किन छन् भनेर ?
सानु कान्छी यस्तै एक अबोध बालिका थिइन् । पुष्पालाई देख्नेबित्तिकै सानु कान्छीले उसको कुर्ताको फेर समातिन् र छोड्दै छोडिनन् । केही गरे पनि छाडिनन् । कुर्ताको फेर छाड्नै नमान्ने सानु कान्छी पुष्पाका निम्ति भीम विरागको 'एउटै लहर' सावित भइन् । त्यो रात पुष्पा राम्ररी सुत्न सकिनन् । सानु कान्छीको मुहार घरिघरि मनमा आइरह्यो । बिहान हँुदा नहँुदै पुष्पा बस्नेतले निर्णय गरिसकेकी थिइन्, 'म मेरो जीवन सानु कान्छीजस्ता असहाय केटाकेटीहरूलाई सहारा दिने काममा समर्पित गर्नेछु ।'
त्यसपछि पुष्पा र उनका छजना साथीहरूले दस/दस हजारका दरले साठी हजार रुपैयाँ हाले, अनि भाटभटेनीमा जेलका बालबालिकालाई सेवा दिने 'डे केयर सेन्टर' खोले । बिस्तारै साथीहरू छुट्दै गए । कोही पढ्न विदेश गए, कोही यताउति लागे ।
कुनै पनि काममा निरन्तर निष्ठा सजिलो विषय होइन । समाजसेवामा त झनै होइन । एक दिन होइन, दुई दिन होइन, महिनौं होइन, वषौर्ं लगातार समाजसेवा गर्न सजिलो छैन । विदेशी दाताको बजेट 'म्यानुपुलेट' गरेर किनिएका ठूल्ठूला निजी गाडीबाट मगमग फ्रेन्च अत्तर फैलाउँदै देशी/विदेशी सेमिनारहरूमा महिला र बालबालिकाको सशक्तीकरण विषयमा गफ दिनु एउटा कुरा हो, त्यो काम गरेर देखाउनु अर्कै कुरा हो । कतिपय अवस्थाहरूमा 'सशक्तीकरण' भएको छ भने पनि त्यो कुनै बाठो वा बाठी कथित 'एक्टिभिस्ट' वा समाजसेवीको आपmनो निजी जीवनको भएको छ, लक्षित वर्गको भएको छैन । म मानिसको आर्थिक सम्पन्नताको प्रबल पक्षधर हुँ, महँगा-महँगा गाडी त के, रोल्स रायस चढेर हिँडे पनि हुन्छ तर त्यो किन्ने पैसा समाजसेवाको नाममा लिइएको हुनु हुँदैन । कसैलाई त्यस्तो रहर छ भने त्यस अवस्थामा संस्थाको दर्ता उद्योग विभागमा गरिएको हुनुपर्छ । समाजसेवा गर्दागर्दै नाफा कमाउने संस्थाहरू पनि संसारमा धेरै छन् । उदाहरणका लागि भारतको सुलभ शौचालय बनाउने कम्पनी । यसले सेवा पनि गर्छ, पैसा पनि कमाउँछ । विन्देश्वर पाठकले भारतमा त्यो गरेर देखाएका छन् । पैसा कमाउने धेरै वैधानिक मार्गहरू छन्, ती मार्गहरू अपनाउनुको साटो हाल केही सीमित बलियाबांगाहरूले वर्षौंदेखि समाजसेवाको नाममा खेल्दै आएको 'डोनर कबड्डी' खेलप्रति मात्र हाम्रो विमति हो । 'कस्मेटिक' समाजसेवाप्रति मात्र हाम्रो असन्तुष्टि हो । होइन भने आम नेपाली समाजसेवीप्रति मेरो मनमा ठूलो आदरभावबाहेक केही छैन । फेरि समाजसेवी भन्नेबित्तिकै सारा जीउमा खरानी घसेको जोगी हुनुपर्छ भन्ने पनि मेरो आशय होइन ।
अब फेरि पुष्पामा र्फकन चाहन्छु । पुष्पालाई पहिलो पटक देख्नेबित्तिकै म प्रभावित भएको कुराचाहिँ उनको सरलता र निष्ठा नै थियो । मैले भेटेको केहीपछि उनको संस्था महाराजगन्ज, पीपलबोटनेरको पातलो गल्लीबाट बूढानीलकण्ठ जाने चौडा सडकछेउ फराकिलो घरमा बसाइँ सरेता पनि उनी आफू स्कुटरभन्दा माथि उक्लन सकिनन्, उक्लन चाहिनन् भन्दा बढ्ता उपयुक्त हुन्छ होला सायद । चार महिनाअघि कान्तिपुर टेलिभिजनको स्टुडियोमा भेट्दा तीन वर्षअघिकी पुष्पाको सरलता र लगनशीलतामा कुनै फरक मैले देख्न सकिनँ । तीन वर्षअघि पुष्पाले भनेको एक महावाक्य म आजन्म बिर्सन सक्दिनँ । भन्थिन् उनी, 'दाइ, मुठी बन्द गरेर बाँच्यो भने त्यसबाट न कसैले केही पाउन सक्छ, न त कसैले त्यो बन्द मुठीमा केही थप्न सक्छ । मन र मुठी खोलेर बाँच्यो भने खोलिएको मुठीबाट अरूले पाउने मात्र होइनन्, त्यसमा अरूले थप्न पनि सक्छन् । म मुठी बन्द गरेर होइन, खोलेर बाँच्नमा विश्वास गर्छु ।'
पुष्पाले सानु कान्छीका निम्ति आफ्नो खोलिन्, मुठी खोलिन् । हो, त्यही खोलिएको मुठीमा सीएनएनले यो वर्ष त्यत्रो सम्मान राखिदिएको मात्र हो । पुष्पाले सानु कान्छी जस्ताहरूका निम्ति आपmनो मन र मुठी नखोलेको भए त्यहाँ पुरस्कार राख्ने ठाउँ पनि हुँदैनथ्यो होला । पुष्पाले सानु कान्छीका निम्ति जेजति गरिन्, त्यसको बदला सानु कान्छीले कैयौ गुना बढी फिर्ता गरिदिइन् ।
आज पुष्पाको सर्वत्र प्रशंसा हुँदैछ, हुनु पनि पर्छ । उनले आफू जुन उमेरमा हुँदा ती असहाय केटाकेटीलाई उनीहरूको जीवन बदल्ने बचन दिइन्, त्यो उमेरमा प्रायः युवाहरूले आपmना प्रेमीप्रेमिकालाई आकाशबाट जुन तारा टिपेर ल्याउने बचन दिइरहेका हुन्छन् । प्रशंसा हुनुपर्छ पुष्पाको, तर यो तालीको गडगडाहटबीच हामीले बिर्सनु हँुदैन कि कारागारमा रहेका केटाकेटीलाई हेरचार गर्ने उनी पहिलो व्यक्ति वा संस्था थिइनन् । यो पुनित काममा केही अन्य व्यक्ति र संस्थाहरू पनि संलग्न छन् । यीमध्ये कसैमाथि मिडियाको टर्चलाइट परेको होला, कसैमाथि नपरेको होला । कोही पुष्पाझैं चिनिएका होलान्, कोही नहोलान् । ती सबै हाम्रा निम्ति त्यतिकै स्तुत्य छन् । सच्चा समाजसेवाको सम्बन्ध मानिसको आत्मासँग हुन्छ । र, कतिपय अवस्थामा आत्मा देखिने, चिनिने वस्तु नहुन पनि सक्छ । त्यसैले आजको दिन ती सबै ज्ञात अज्ञात समाजसेवीको अभिनन्दन गर्ने अवसर पनि हो ।
लेखिरहनु नपर्ला, पुष्पा बस्नेतको नाम एन्डरसन कुपरले यस वर्षको सीएनएन हिरो भनेर घोषणा गर्दा खुसीले मेरा गह भरिए । तर, अब मलाई प्रतीक्षा छ त्यस दिनको जब कुनै नेपालीले कुनै नवीन आविष्कारका निम्ति, कुनै ठूलो-सानो ठूलो उद्यमका निम्ति, सामान्यजनको आयस्रोत बढाउने कामका निम्ति पनि यो वा यस्तै कुनै अन्तर्राष्ट्रियस्तरको पुरस्कार प्राप्त गर्नेछ । हुन त मुठी खोल्नुको सम्बन्ध मानिसको मनसँग छ, पकेटको साइजसँग होइन । मैले जीवनमा कतिपय बडे-बडे पकेटवालहरूभित्र चुँइया छाप मन र सानो-सानो पकेट भएका मध्यम वा निम्नवर्गीय मानिसभित्र आकाशको जत्रो मन देखेको छु । यति हुँदाहुँदै पनि भन्नैपर्ने हुन्छ, पकेटमा अलि सजिलो भएको खण्डमा मुठी खोल्न पनि अलि सजिलै हुन्छ । त्यसका निम्ति समृद्ध नेपाल पहिलो आवश्यकता हो । आजका निम्ति चाहिँ फेरि एक पटक पुष्पा बस्नेतलगायत मन र मुठी खुल्ला गरेर बाँच्ने सबै क्षेत्रका सबैजनाको जय होस् भन्न चाहन्छु । ईकान्तिपुर 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼