Tuesday, January 22, 2013

नयाँ बर्ष धमाका र मृत सागरको यात्रा (संस्मरण)


नयाँ बर्ष धमाका र मृत सागरको यात्रा !

धेरै बर्ष पछि इजरायलमा लगातार बर्षिएको झरी अनि जाडोको मौसमले डर देखाए  पनि महिनौ अघि देखि "नयाँ बर्ष धमाका" जसमा हाम्रा प्रसिद्द तथा ख्याती प्राप्त कलाकार मेरो अत्यन्तै  मन पर्ने गायकहरु प्रमोद खरेल, हिमाल सागरजीसँग प्रत्यक्ष्य भेट हुने दिन  अत्यन्तै चुलबुले र उत्साहित मन  तेलभिव पुग्न  आतुर थियो ।

सधैँ भन्दा चाडै उठेर घरको सबै काम सके । दिउँसोको खान खाएर धन्दा गर्दै थिए । कामको धुनमा कति छिट्टै ५ बजिसकेछ, हतार हतार तयार हुदै थिए । हेमा बहिनी आइपुगिन थोरै कुराकानी गर्यौ। रामरी जानु भनेर फर्किईन । शोभा अमृता नेभेशाननबाट संगै जाने कुरा थियो। शोभालाई फोन गर्दा गाडी चढ्ने ठाउमा बस्दै गर्नु म आउछु भनिन । धेरै बेर कुर्दा पनि उ नआइपुगेको र लिला भाइको फोन आइरहेकोले गाडी चढन मात्र लागेको थिए । अमृता टुप्लुक्क आइपुगिन । हामी दिदि बहिनी ट्याक्सीमा हदार पुग्यौ, लीला चौलागाई भाइ धेरैबेर देखि हामीलाई नै पर्खेर बस्नु भएको थियो । एकछिन पर्खौ भन्दै थिए, शोभा पनि आइपुगिन । हामी मी ७ जना जति नेपाली भयौ, हाइफाबाट  तेलाभिभ जाने । सिरुतमा हाम्रो नै बाहुल्यता भएकोले ड्राईभर (नहाग )ले हामीलाई पहिले चढायो । हामी बसिसके पछि अरु केहि इथोपियन र फिलिपिनिहरु चढे । प्रवाशको बसाइ सधै उही प्रकृतिको काम  बूढाबूढीको हेरचार चाह ! चारदिवार भित्र बन्द भैरहनु पर्ने कामबाट  छुटकारा पाएको दिन सबै हर्षित र प्रफुल्ल मुद्रामा देखिन्थे । इजरायलमा काम गरे पनि बेला बेलामा नेपालबाट आउने कलाकारले दिने मनोरंजनले नै आफ्नो देश र संस्कृतिको झलक अनि आफ्नै भाषा बोल्ने साथीहरुसँग रमाइलो गर्ने एक महत्वपूर्ण पल हुने गर्छ । एकदिन एकै छिन भए पनि हामीलाई आफ्नै साथीभाईसँग  आफ्ना दुख पीडा, कामको झन्झट सबै भुलेर  आफ्नै घर देशको सम्झनामा तैरन पाउने महत्वपूर्ण समय  आजको कार्यक्रम मेरो लागि अझ बिशेष थियो किन भने यो हाम्रै संस्था अन्तराष्ट्रिय नेपाली कलाकार समाज इजरायलले एन पी न्युज संगको सहकार्यमा गरेको थियो । यसलाई सफल  बनाउन हामीले महिनौ देखि मेहनत पनि गरेका थियौ । जीवन र मृत्युको मुखमा बाँचिरहेकी मकवानपुरकी शान्ति माया तामांग एक नेपाली चेलीको सहयोगार्थ हुन लागेको कार्यक्रम थियो ।

 नेपालका कलाकारहरुसंगै स्थानीय कलाकारसंगको धमाका हेर्न र नेपाली चेलीको सहयोग गर्न सबै उत्साहित देखिन्थे । महिनौको प्रखाइको दिन यो अनमोल क्षणको सबैले अधर्य भएर प्रखिरहेका थिए ।  सधै उकुसमुकुस भई काममा व्यस्त जिन्दगीबाट फुर्सद पाएको बिदाको दिन सबैको मुहारमा  खुशी झल्किएको थियो । सबै मख्ख र दंग  थिए । म पनि अत्यन्तै खुशी थिए ।  जीवनमा खुसि हुने पल कमै आउँछन । त्यस्तै एक दिन एक पल पनि भरपुर मनोरंजन गर्ने चाह थियो हामीमा ।(सब्बात ) शनिवारको दिन बाटो सुनुसान थियो । सिरुत एकनाशले गुडिरहेको थियो । कतै निलो समुन्द्रको किनार भएर कतै फूलैफूलको बगैचा भएर । यात्रा आगाडि बढ्दै थियो ।  बाटोभरि अनेकौ बिषयमा कुरा गर्यौ, लिला भाइले धेरै हसाउँनु भयो ।करिब २ घण्टाको यात्रापछि  हामी ६.४५ मा तेल अभिव आइपुग्यौ । एडभान्स मणि टान्सफरमा केहि कामहरु सकाएर लेवन्सकी पार्कमा निस्कियौ । त्यहाँ प्रमोद लम्साल भाइ, सूर्याभाइ सुमनजी क्रिज़ल भाइ सबै संग भेट भयो क्रिज़ल भाइले तातो तातो म.म लिएर आउनु भएको रहेछ। सबैले पार्कमा बसेर खायौ ! अनि कार्यक्रमको धेरै कामहरु  गर्न बाँकी भएको हुनाले कार्यक्रम शुरु हुनु अगावै कार्यक्रम स्थल पुग्न ट्याक्सी खोज्न थाल्यौ कार्यक्रम हेर्दै खानलाइ केहि खानेकुरा किन्न अमृता, शोभा लागि  तेल अभिवको तखानामा रहेको इन्डियन पसलतिर लागे केहि क्षणमा  मिठाइ चाउचाउ दालमोट एक झोला बोकेर निस्किएँ अनि  ट्याक्सी चढेर हामी हगना बेताबार्बुर हलको परिसरमा पुग्यौ । हल अझै खोलिएको थिएन । केहि साथी स्टेज सजाउँदै हुनुहुन्थियो । हामी फोन गरेर ढोका खोल्न लगाएर भित्र पस्यौ ।

 धेरै काम लथालिंग थियो । एक हप्ता सम्मको झरी अनि जाडो फेरी सबैको त्यहि दिन मात्र छुट्टी त्यसकारण पनि केहि काम राम्रो भएको थिएन जसोतसो १०.३० बाट कार्यक्रम शुरु भयो । राष्ट्रिय धुनको गुन्जनसँगै शुरू भएको कार्यक्रम थोरै ढिला शुरु भए पनि सांस्कृतिक कार्यक्रम भएकोले  अत्यन्तै आकर्षक  थियो ।

 स्थानीय कलाकार देवकी ढकाल,पूजा चौधरी, बिनु बानिया , नितु बानियाले सयथरी बाजा एउटै चाल भन्ने राष्ट्रिय गीतमा जोडदार नृर्त्य देखाएर सबैलाई मनमुग्ध बनाएका थिए । उनीहरुको थरीथरी पोशाक र नृर्त्यले सबैको आँखा स्टेजमा हटेकोको थिएन । त्यसपछि   नबिन खरेलको तुलसी आँगनमा रोपुँला भन्ने गीतले दर्शक नाँच्न थालेका थिए । जीवन लामा प्रदेशको बासमा धनको आशमा अल्झियो मन मेरो, आफ्नै त्यो गाँउमा ,त्यो बनपाखा सम्झेर आज बर्षन्छ आँशु फर्की आउला है आउने सालैमामा कहाँ हो देश मेरो हे हे.. लै लै भन्ने गीतमा  उठेर नाँचिदिनुस न भनेर आफै नाँच्दै गाउँदै दर्शकलाई नचाउन सफल भएका थिए । त्यसपछि मेरी बास्सैको बान्द्रेली हँसाएर भुतुक्कै  बनायो ।
धेरै समयपछि कलाकार सँगको रमाइलो पल छिप्पिदो छिप्पिदो  रातसँगै सबै रमाइरहेका थियौ ।
कार्यक्रमको बीचमा अन्तराष्ट्रिय नेपाली कलाकार समाज इजरायलद्वारा आयोजना गरेको विश्वव्यापी देश भक्ति गीति प्रतियोगिताको नतिजा घोषणा गर्ने जिम्मेवारी मेरो थियो । श्रीराम अधिकारी प्रथम , सुवाष संगम राइ दितीय मिरा मन थापा तृतीय  राजेश रुम्बा लामा चौथो ,चन्द्रा चामलिंग पाचौ हुनु भएको थियो !सयौ गीतहरु मध्ये बाट उत्कृष्ट ५ गीतमा पर्न सफल सर्जकहरु मध्ये २ सर्जक इजरायलबाट नै हुनुहुन्थियो । श्री राम अधिकारी प्रथम र मिरा मन थापा तृतीय ! एउटा महत्वपूर्ण जिम्मेवारी पूरा गरे ! त्यसपछि हिमाल सागरको गीतमा झुम्न नाच्न थाले । कार्यक्रमको बीचमा साउण्ड सिस्टमले गडबढी गरेर खल्लो बनाएको थियो । तर एकैछिन पछि सबै छिपिदो छिपिदो रातसंगै रमाएका थिए । मेरो मनमा आगो लाउने को हो ?? न मैले लेखे न उनले लेखिन आशु भरि जिन्दगीको मेरो कथा ,  मेरो मन धरधरी रुवाउने को हो भन्दै हिमाल सागर गीत गाएर सबैलाई सिरियस बनाएका थिए !धेरै दर्शकले उनका गीत मन पराएकोले स्टेज छोडेर कलाकारको बीच बीचमा आएर नाँच्दै गाउँदै हल तताएका थिए । त्यसपछि प्रमोद खरेलको पालो आएको थियो ।उनका एक से एक टप गीतहरू.. 
रमाउला प्रीतमा भन्थे रुवायो पापी मायाले ,
किन जस्लेपनि मलाई रुवाउँछ
सायद मेरो आखामा आँशु सुहाउँछ ।
 मैले देको फूल पनि तिम्रो लागि काढा भयो !
 यो दिल भित्र बस्छु भन्थ्यो आखिर छिनमै टाढा भयौ !
उसले जति माया तिम्लाई मैले पनि दिन्थे होला ।
संसारका सारा खुशी तिम्रै लागि किन्थे होला !
 म बिना कसै कसैलाई मुस्किल छ पोखरामा.. जस्ता बोलका सबै  मेरो फेब्रेट सबै गीत सुनेर म दंग थिए । प्रमोद जीलाई गीत गाउँदा गाउदै स्टेज बाट उहाँका फ्यानहरुले बोकेर स्टेज तल ल्याएर देशक माझ नाचेका थिएँ । प्रमोद खरेल काँधमाथि बसेर पनि मज्जाले गाउदै हुनुहुन्थ्यो । गायक दर्शक एक अर्कामा यति जोडिएका थिए कि कसैलाई कसैको मतलब थिएन,संगीतको मुर्छनामा सबै मुर्छित थिए । मैले नजिक बाट यति ठुला कलाकारको प्रस्तुती हेर्ने मौका पहिलो चोटी पाएकोले म पनि मनमस्त थिए । जिन्दगीमा यस्ता पलहरु बिरलै  आउछन् । मेरो चाहना पनि जिन्दगीको हरेक पल भरपुर जिउन पाइयोस ! सुख दुख त जीवनका दुइ पाटा हुन् । जिन्दगी सुखका पल कमै आउँछन तर त्यसलाई पनि कत्तिले त्यसै गुमाउँछन त्यसैले मैले त्यो पलको सबै खुशी  समेटेर आफ्नै पोल्टामा राख्न सके झैँ लाग्यो  ।

मन पर्ने कलाकारको प्रस्तुतिले कति बेला ५ बजेपत्तै भएन । दिना, शीतल बहिनीहरु प्रमोद भाइ केशवजीहरुसँग  तेल अभिभ सम्म आइपुग्यौ । सबै बिदामा आएकोले  अपार्ट खचखचा बस्ने ठाँउ नभएकोले  अम्बिका बानिया सीसले दिदि मेरोमा जानै पर्छ भनेर  जिद्दी गरेकोले शोभा ,अमृता र म अम्बिकाको घर रिसोनतिर लाग्यौ ! तेलअभिवको तखानाबाट सिरुत चढेर २० मिनेटमा रिसोन पुगेर नुहाई धुवाई गर्यौ ६ बजिसकेको थियो तैपनि एकैछिन आराम गर्न ओछ्यानमा पल्टियौ । रातभरि थाकेको शरीर कसोंकसो झयाप्पै आखा लागेछ ,शोभा कराउदै दिदि उठ्नु हामी आज टुर जाने होइन भन्न थाली आँखा पोलेर उघार्न सकिरहेको थिइन म त जान्न भन्दै अर्कोतिर फर्किएर सुत्न लागे , ८ बजे सम्म तेल अभिव नआएको देखेर प्रमोद लम्साल भाइले कल गर्नु भयो छिट्टै आउनुस गाडी जान लागिसक्यो किन हजुर यतिबेला सम्म नआउनु भएको म आइहाले भनेर फोन राखे ।  विश्वको उच्च  सगरमाथाको  देशका हामी नेपाली र  संसारको सबै भन्दा होचो ठाउ इजरायलमा छ त्यो हो मृत सागर अरु ठाउँमा घुम्न नभ्याए पनि मृत  सागर जान छुटाउने कुरा भएन भनिन्छ,यदि  इजरायल आएर  एकपटक मृत सागर “Dead Sea” मा पौडी खेलेर र नुहाएर जीबनमा नौलो अनुभव  त अवश्य बटुल्नुपर्छ  त्यसैले कलाकारहरुलाई मृत सागर घुमाउने र आफू पनिसंगै घुम्ने ३ महिना अगाडि देखिको योजना त्यो भ्रमयको अभिलाषा बोकेको मा झल्यास्स भए झै भएर सधै अनलाइनमा मात्र देखेका कति साथीहरूसँगसगै घुम्न लालायित मन  जुरुक्क उठेर तयार भए अम्बिका बहिनीले ट्याक्सी बोलाइदिइ सकेको रहेछ । तयार हुनेजेल सम्म ट्याक्सी आइसकेको थियो । हातमा कफीको गिलास बोकेर ट्याक्सी चढ्यौ । चिसो चिसो बिहानको प्रहर फेरि शनिवारको दिन घर बाहिर निस्कदा बिहानीको किरणले धर्ति रंग्याइ सकेको थियो ! सिरिसिरी चिसो बतासमा  तातोतातो कफीको चुस्की लिदै तेल अभिव तिर हुइकियौ, ८.३० मा तेल अभिवको लेवनसकी पार्कमा ओर्लियौ !शनिवारको शुनाशनबाटोहारु चिसो चिसो सिरेटोले मुटु कमाइरहेको थियो ! बस अघिनै आएर एडभान्स नजिकै रोकिराखेको थियो ! जाडोले गर्दा गाडी भित्र नै चढेर बस्यौ ! केहि साथी अनि हाम्रा कलाकारहरु आउन बाँकी हुनुहुन्थियो ! लक्ष्मी ,रानु,सुस्मिता ,निशा,मिरा ,दिना सितल सीसहरु अघि नै जम्मा भैसक्नु भएको थियो ! नबिन खरेल ,योगेन्द्र खरेल कोपिला खरेल केशव कार्की सबै एन एन गर्दै  गाडीभित्र बस्यौ ! रातभरिको निद्रा हाम्रा कलाकारहरु आँखा मिच्दै आइपुग्नु भयो । कलाकारहरुलाई ब्रेक फास्ट बसमानै ल्याएको  थियौ । साथीहरुलाई कुर्दा कुर्दै १० बजि सकेकोले हाम्रो यात्रा आगाडि बढायौ । हामीले पहिले मृत सागर जाने त्यसपछि मिनी इजरायल जाने योजना  बनाएका थियौ । त्यसै अनुसार तेलअभिव बाट डेड सी जनाको लागि २ घण्टा ३० मिनेको समय लाग्छ भन्ने जानकारी नहाग (ड्राईभर)ले दियो अनि हामीले तेलअभिभबाट यात्रा शुरु गर्यौ । जीवनका अनगिन्ती पल र यात्राहरु मध्ये आजको यात्रा बिशेष थियो !

बस तेल अभिवबाट बिस्तारै अगाडि बढ्यो ।बिहानीको न्यानो किरण  झ्यालका शिशाहरुमा ठोकिएर सप्तरंगी रंगहरुमा फैलिएको थियो । सडकका वारीपरिका नरिवलका पातहरु हल्लिरहेका थिए । लाग्थियो यिनीहरु पनि हाम्रो खुशीमा खुशी हुदै नाँचिरहेको छ । ठुला ठुला बिल्डिंग रेलमार्ग छिचोल्दै बस आगाडी बढी रहेको थियो । पारदशी सिसाबाट  बाहिरका मनोरम दृर्श्यहरु आँखालाई मनमुग्ध पारिरहेको छ । सधै संगीत र सब्दहरुमा सुन्न पाउने आफ्ना कलाकारहरुलाई आफ्नै साथमा पाउँदा हामी सबै दंग थियौ ! सबै सुविधा सम्पन्न एसीबस  माइक पनि सुविधा थियो साढे दुइ घन्टाको बाटो केहि न केहि गरेर सम्झना लायक त बनाउनु पर्यो भनेर कलाकारहरु खाजा खानेजेलसम्म हामीले अन्ताक्षिरी सुरु गर्यौ यसो संझी यसो अन्ताक्षिरी त हामीले सधै खेल्छौ नै आज हाम्रा कलाकारलाई धेरै भन्दा धेरै सुन्ने उहाँहरुको प्रतिभा हेर्ने सुन्ने भन्ने धारणाले हिजो गाउन नपाएका स्थानीय कलाकार साथीहरूले पालैपालो गाउन थाल्नु भयो ।  यतिकैमा प्रमोद लम्साल भाइले एउटा रहस्यमय कुरा छ भन्नु भयो  सबै जना के कुरा रहेछ भन्दै काम ठाडो पार्दै छिट्टै भन्नुहोस् भन्न थाल्नुभयो । प्रमोद खरेल जी त बहुमुखी प्रतिभाको धनि हुनुहुन्छ उहाँको गलाको जादु मात्र तपाइहरुले सुन्नु  भएको छ ।  उहाँको  अनेकौ रुप मध्ये उहाँ  कमेडी पनि  गर्नुहुन्छ आज त्यो तपाईहरुले देख्न पाउनु हुन्छ भन्दै मख्ख पार्नुभयो । हामी खुशीले आल्हालित हुदै  कमेडी गर्न अनुरोध गर्यौ । उहाँ त साँच्चिकै कमेडियन हुनुहुदो रहेछ ।


कति हाँस्नु !! बोल्न सुरु गर्ने बित्तिकै  म बोल्नु हुन्न बोल्यो कि पोल्यो ! हरिबशको एक्टिंग गर्नु भन्ने आग्रहमा ... को को हरि वंश  हरि हरि हरि दाइ ए उहाँ त सबैको दाइ हो तर त्यस्को मा भाइ होइन ! फेरि अर्को साथीको आग्रह ..राजबंशी गीत गाउनु भन्ने थियो .. ए हो यो मोरो दाइ त  मान्छे त राजबंशी गीत गाऊ रे हिजो  साउण्ड सिस्टमले धोका दिएर नेपाली  गीत त गाउन  पाइएन । ओइ बान्द्रे को को बान्द्रे अँ यहाँ आऊ  मोरो हेरन हाँसेको कता घाम ताप्न गएको मोरो ! "फष्ट टाइम प्लेन चढेको रे फष्ट टाइम एसी बश चढेको होला "हेहे ..हामी कुन डिरेक्शन जादै छौ लौ भन त ? हामी मृत सागर जादैछौ, हिमाल सागर होइन "! हिमाल सागरको अर्थ लगाउ त भन्दा हि झिकेर भन  भन्छ :) ! फेरि रामचन्द्र पौडेलको एक्टिंग  गर्दै नेपाली कांग्रेसले तीन जनालाई इजरायल पठाउनु भएको छ ! सबै मिलेर मृत सागर जानु सुशील कोइराला मन्त्रि हुन्छु भन्दै हुनुहुन्छ नखुस्किए त म पनि हुन्थे १६ चोटी ट्राइ गरे १७ चोटीमा हुन्छ कि !  "बान्दे पनि मृत सागर जादै छ, हिमाल सागर पनि मृत सागर जादै छ ।" "फेरि तक्मे बुढाको एक्टिंग गर्दै  ए हौ नानी कता हिडेको लाखे हौ... मृत सागर जानेको हङ्कंगबाट  सिधै मृत सागर आउँ लागेको बान्द्रे नेपाल जादैन यस्तै यतै छोड्दिम  मृत सागरमा .. रमाइलो पनि कति पेट मिची मिचि हाँस्दै बाहिरका रमणीय दृश्यहरु आँखाभरि सजाउदैँ यात्रा आगाडी बढिरहेको छ सडका छेउमा कतै हिउँ परेर सेतै देखिन्छ ,कतै एकै नाशका घरहरु हेरिररहूँ लाग्ने दृर्श्य फेरि बान्द्रेको पालो उसको कामै हसाउँने । केहि जोक्स भनेर हँसाए पछि  दम्दार मुक्तक वाचन गरेर सबैलाई जोशिलो बनाएका थिए ! मुक्तक यस्तो थियो ।


भाषणले तिनको लाज  छेक्दैन कि क्या हो
अदालतले तिनको दोष देख्दैन कि क्या हो
राष्ट्रघाती स्वार्थीहरु तिनीहरु रैछन
तिनकाहातले संबिधान लेख्दैन कि क्या हो ..
संबिधान लेख्ने हात भाँचियो कि सभासद ज्यू
कुर्सिसँगै मायाप्रीति गाँसियो कि क्या हो सभासद ज्यू
एउटा सरकार एउटा सडक रोटेशन गर्दैछौ
सहमतिको राजनीति नासियो कि क्या हो
फाइभ स्टार होटेल मा त तिम्रो काम संगै हुन्छ
गेस्ट हाउसमा गफ चुट्दै हाँसियो कि क्याहो सभासद ज्यू नयाँ संबिधान जन्मिनु अघि गर्भभित्र तुहियो कि क्या हो ,लाष्टमा मेरो प्रस्तुती कस्तो छ खरेल बुढाको ठिक छ कि मेरो ठिक छ रे कति हाँस्नु..बसको रफ्तार मन्द मन्द अगाडि बढिरहेको छ कतै घामको प्रकाश कतै रुखको ओझेल घाम छाँयामा लुकामारी खेल्दै   बस अगाडि बढिरहेको छ । त्यसपछि हिमाल सागरको पालो आयो ।
 हिमाल सागर माइक समाउँदै म कसैको फन्दामा परिसके ! यो बान्द्रे आन्द्रेले मेरो नाम राखिदियो ! आगाडीको "हि" हटाएर "माल"राखिदियो म गौतम भएकोले गौतम हटाएर सागर राख्छु ! धेरैले धेरैथरी कुरा गर्नुहुन्छ ! मलाई सार्है चित्त दुखेको छ !अब उसको नि सुनौ न त अब उसको नाम सुरज अब रज हटाएर ""सु" मात्र राखिदिनुस् अनि चापागाईको चापागा हटाइ दिनुस "ई"मात्र बाकि हुन्छ ल भन्नुस अब के हुन्छ ! हेहे ...अब म हिजोको एउटा रमाइलोकहानी सुनाउछु हिजो केहि खान नपाएर डुल्न गयौ सपिंग कम्पेलेकसतिर  छिरेर प्रमोद ,मिलन र मैले आइफोंन मा कभर हाल्यौ , सामान किन्यौ डुल्यौ तर सुरज भाइले केहि  नकिनेर बाटोमा हिड्ने मान्छेलाई आर यु नेपाली भन्दै हिडेको देख्छु,कोहि नेपाली नभेटेपछि  निराश मुन्द्रामा, यसो हेरे  दुवैतिरको पाइन्टको खल्ती जकेटको खल्ती पुक्क परेको छ ! के हालेको गोजीमा भनेर सोधे "हेर्नुस न हिमाल दाइ मैले नेपालबाट ओलीको क्रिमलिएर आएको कसैले किनेनन् हेहे त्यहि भएर मैले उसलाई  पवन गोले नाम राखिदिए । हिमाल सागरको प्रस्तुती अनि एक्टिंगले हामी कम्ता हासेनौ  ! बस भित्रको एक पछि अर्को मनमोहक प्रस्तुतिहरु   बसबाट बाहिर  जेरुसलाइमको सडकको दुबैतिर सिरिश र बकैनाका बोटका पातहरु हल्लिरहेका थिए ।आधुनिक घरहरु,बाटोका वरिपरी फुलेका राता निला फूलहरु, हिउँले ढाकेका पाखाहरु,घामको स्पर्शले पग्लिएर बगिरहेका थिए, लाग्थ्यो यी सबै हामीलाई स्वागत गरिरहेछन ।त्यसपछि   योगेंद्र खरेल जीले म एउटा  हस्यौली भाषण सुनाउँछु यो हाम्रो गाँउ ताप्लेजुङ्गका एक नेता लिम्बुले राजा बिरोधी  भाषण हो ।आयन्द्र बिक्रम थोम्सङ्गको राजा बिरोधि भाषण ..आदरणीय जनसमुदायहरु आबु म  आयोंद्र बिक्रमले के भन्यो भनेर तपाइँहरु चुचे दाजु भाइहरुले  दुख मनाउ नगर्नु होला ! अब म राजा के हो ? जनता  के हो ?भन्ने विषयमा बोल्न गैरहेको छु, राजा भनेको "घन्ड़ो" हो जनता भनेको "गु" हो ! यदि घन्ड़ोमा "गु" आयो भने घन्ड़ोले थाम्दैन हो, वास्तवमा जनताको आगाडी राजाले थाम्न सक्यो त । जनता उर्लेपछि राजाको केहि लागेन सिधा र ठेट भाषा बोल्ने नेपालीको प्रखर नेता लिम्बुहरु भनेको कुरा पूरा भयो  भनेर जानु भयो । बस कहिले अन्डर ग्राउण्डबाट हुइकिन्छ !कहिले माथिबाट । आँखाले बाहिरको रमझम हेरेर मनमौजी रमाएको छ । कानले एकपछि अर्कोको रमाइला गीत ठट्यौली सुनिरहेको छ । यसो गर्दा गर्दै हामीले करिव २ घण्टाको यात्रा पूरा गरेछौ ! कति रमाइला पलहरु ! बाहिर  मरुभूमिको फराकिलो बगर, कतै हिडिरहेका उटहरु , घमाइलो दिन लाग्थ्यो  प्रकृतिले पनि हाम्रो यात्रासाथ दिईरहेको छ ! एक हप्ताको झरी पछि बल्ल आज आकाश खुलेको थियो ।
घमाइलो दिन एकछिन नरोकिई सरर चलिरहेको  एसी बस एक पछि अर्को कलाकारहरुको नयाँ नौलो प्रस्तुती... फेरि प्रमोद खरेलको पालो आयो यस पटक उहाँले राजा ज्ञानेन्द्रको नै एक्टिंग गर्नु भयो । ज्ञानेन्द्र राजा हुने बित्तिकै पाँच बिकाश क्षेत्रमा जाँदा त्यहाँका जनताले आफ्नो समस्या बताए महाराज हाम्रो यहाँ बिजुली बत्ति छैन हामीलाई बिजुली बत्ति ल्याई दिनुपर्यो । राजाले हुन्छ म २० बर्षे योजनामा पारिदिन्छु ! ८० बर्षको बूढाले गरेको माग २० वर्ष पछि हुने भो ! अर्को ठाउँमा  एउटाले महाराज सरकार !बाटो बनाइ दिनु पर्यो बाटो छैन ? हुन्छ म १० बर्षे योजनामा पारीदिन्छु ! घुम्दै घुम्दै अर्को जिल्लामा राजा पुगेछन्। त्यहाँ एउटा भर्खरको ठिटोले भनेछ, राजा सुड़ो मैले कत्ति दिनदेखि  "जि" खान पाएको छैन । यसो मिलाई देउ न ठिकै छ काठमाडौँ आऊ पारशलाई भनी दिन्छु ! फेरि अर्को जिल्लामा घुम्न जाँदा एउटा केटा बडो निराश भएर बसेको रैछ, के भयो बाबु भनेर राजाले सोधेछन् अनि उसले भनेछ, मेरो बिहे गर्ने केटि खोजेको एउटा केटी भेटिदैन ! राजा मलाई एउटा च्वाक केटि खोजि देउन राजा । राजाले भनेछन ल ल काठामाण्डु आऊ म कोमल ओलीलाई भनिदिन्छु ।हासोको फोहरले यात्रा अत्यन्तै रोमान्चित भैरहेको थियो ! सबैको मुहारको दिब्यता कलाकारको प्रस्तुतीमा केन्द्रित छ,उनीहरुकै वरिपरी सबैको सम्मोहन फिँजिएको छ बतास जस्तै  मृतसागरको गहिराइ जस्तै !  हाँस्दा हाँस्दै रमाउँदा रमाउदै हामी मृत सागरको किनाराको छेउमा पुग्न थालेछौ । बस बिस्तारै ओरालो लाग्न थाल्यो ! सुनशान मरुभुमि छ टाढा टाढा सुखा बालुवाका ढिस्काहरु मात्र देखिन्छ बाटामा दुवै छेउमा नरिवल र खजुरका बोटहरु लहरै रोपिएको छ ।मृत सागरको पूर्वमा जोर्डन र पश्चिममा इजरायल  छ । यो सागरमा जोर्डन नदि र अन्य स-साना नदिहरु पनि आएर मिसिएका छन । यस सागरको लम्बाई ४८ माईल र चौडाई ३ देखी ११ माईलसम्मको आकारमा फैलिएको छ भनें उत्तरदेखी दक्षिणतर्फ लम्बिएर बसेको छ । यो मृत सागर सामुन्द्रिक सतहदेखी १२८० फिट तल गहिराईमा पर्दछ अर्थात होंचो भागमा पर्दछ । यसको औसत् गहिराई १३०० फिटसम्म छ । ।जमिनको सतह भन्दा  तल  भएको हुनाले हामी तल तल झरिरहेका थियौ । एक्कासी कान बन्द होला जस्तो भयो !  साथीहरु चुंगम  खोज्न थाल्नु भयो !यतिकैमा हामी मृत सागरलाई साक्षातकार गर्न पुग्न पुग्न लाग्यो इजरायली ड्राइभर एक जना हामि करिव २३ जना थियौ हामी कति हाँस्यौ,करायौ, उफ्रियौ तर बस हाँक्ने त्यो डाइभरलाई कुनै वास्ता थिएन ! एकनाशले   शान्त स्तब्धताका साथ आफ्नो कार्यमा जुटेको थियो ! यहाका मान्छेहरु आफ्नो काम र पेशा  प्रति कति इमान्दार ! हामी करिव १ बजे तिर मिर्ट सगारको किनारमा पुग्यौ ! चारैतिर मरभूमि बालुवाका डिस्का मात्र देखिन्थे तर यस्ता ठाँउमा पनि ठुला ठुला बिल्डिंग थिए जुन मृत सागरमा डुबुल्की मार्न आउनेहरुका लागि खाने बस्ने होटलहरु ! हेर्दा पनि रमणीय ठाँउ बसबाट ओर्लिने बित्तिकै सबैले फोटो खिचाउन तछाड मछाड गर्दै थिए ! हामीलाई त्यहाँ बस्ने समय २ घण्टा मात्र थियो ! जाडो भएकोले धेरै समय पनि नभएकोले ननुहाउने निर्णय गर्यौ ! अनि खाना खाने योजना बनाएर खानाको अडर गर्न थाल्यौ ! इजरायलको बसाइमा अहिले सम्म ५ पटक मृत सागरको किनारमा आइसकेको छु । पटक पटक डुबुल्की मारिरहेको छु तर पनि आज किन किन बिशेष लागेको छ । मृत सागरमा बिभिन्न मुलुकबाट आएका मानिसहरु “स्विमिंग  ड्रेस "लगाएर  पनि अर्ध नग्न पहिरनमा सागरको बिचमा उत्तानो परेर पौडी खेलिरहेका देखिन्थे,केही युगल जोडी किनारमा रमाईरहेका थिए । उनीहरु कसैको पनि हातगोडा चलेको देखिन्थ्यो । सबैको टाउको  ठाडो देखिन्थ्यो तर मान्छेहरु भनें प्लाष्टिकको बस्तु जस्तो पानीमा तैरिई रहेका थिए ।
पहिलो पल्ट मृत सागर आएका साथीहरु  अचम्मै मानेर त्यसैको त्यो दृश्यावलोकनमा आफूलाई समर्पित गरेका थिए  ।  जम्मा २३ जनामा हामी ७ जना शाहाकारी थियौ !भेज र ननभेज खाना मगायौ ! मृत सागरको किनारमा रमाइला दृश्यालोकनमा मग्न हुँदाहुँदै गर्दै अर्डर गरेको खाना आइपुग्यो ।  इजरायली खाना पहिलो चोटी खान अनौठो माने पनि भोकले आत्तिएका हामी सबै धेरैबेर  खानामा नै मस्त भयौ ! खाना खाइसकेर मृत सागरको किनारामा ओर्लियौ !   घामको न्यानो चहक  बालुवामा लम्पसार परेर फ्याँकिएको थियो । हामी नांगा  खुटाले  बालुवामा डोबहरू बनाउँदै टाढा टाढा हिडिरहयौ ! चहकिलो घामली जाडोको कक्र्आउने दिनहरुलाई  तताएको थियो !  हामीमा  उत्साह  ज्यादै उर्लदो थियो  ! नदीको भेलझैँ  भएर, तरंगको गुनगुनाई ओसारेर,पानीको अबिरल चंचलता बनेर !  मृत सागरको बगरमा चलेको सिरसिर बतासले केश घरिघरि  फरर उडेर कहिले मुख छोपिदिन्थ्यो फेरि काँधमा  बिसाउन  झर्दथ्यो ! बिश्वका बिभिन्न देशका पर्यटकहरु मृत सागर हेर्न आएका थिए । मृत सागरलाई संसारको सबैभन्दा नुनिलो पानीको भण्डार मानिन्छ, किनकी यहाँको पानीमा नुनको मात्रा २६ प्रतिशत भन्दा भढी छ भनें अन्य सागरको पानीमा नुनको मात्रा ३ देखी ६ प्रतिशत मात्र हुन्छ । वैज्ञानिकहरुको तथ्य अनुसार मृत सागरको पानीमा नुनको परिणाम ४ करोड टन भएको अनुमान गरिएको छ । कोहि नुहाउँदै थिए भने कोहि फोटो खिच्नमा व्यस्त थिए ! बालुवा झैँ शुष्क थियो वरिपरिको वातावरण पनि ।  सधै जन्जिरमा बाँधिनु पर्ने विवशताको पर्खाल तोडिएको थियो ।  बालुवा झैँ मुठी नपर्ने फुक्का फुक्का थियो हामी सबैको मन ।  हामी धेरै बेर बालुवामा हिड्यौ प्रमोद खरेल मृत सागर भित्र पसेर अलि पर स्विमिंग गरिरहेका मानिसहरु पनि आउने गरि फोटो लिइदीन आग्रह गर्दै हुनुहुन्थियो !यो समुन्द्रमा कुनै पनि जिव, प्राणी, बनस्पती, झार, लेउ, काई केही पनि नहुने, अन्य सागर या नदिहरुबाट आएका माछाहरु पनि यो सागरमा प्रवेश गर्नासाथ मरिहाल्ने र समुद्री पंछीको आहार हुने भएकोले यो समुन्द्रलाई “मृत सागर” भनी नामांकरण गरिएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।
प्रमोद खरेल,बान्द्रे, हिमाल सागारसँग फोटो खिच्न सबै व्यस्त देखिन्थे ! निलो सागरको बाक्लो तह किनारलाई छोएर फर्किदै बिलाएझैँ हामीले पनि त्यो ठाँउ हेरेर रमाएर समयको पावान्दीले यस पललाई आँखाभरि सजाएर फर्कने तयारी गर्न लाग्यौ ।२.२० मा बस आइपुग्यो  भनेको समय भन्दा एकैछिन ढिला नगर्ने इजरायलीहरु यिनीहरुको यस्तै भनेको समयमा सबै काम गर्ने बानीले गर्दा नै देश स्थापना भएको ६० बर्षमा नै बिश्वका बिकसित देशको तुलनामा दाँजिएका छन् हरेक क्षेत्रमा ! सबैजना बसमा चढ़यौ ! फेरी उही प्रक्रिया दोहोरियो ! गाउने चुडकिला भन्ने हाँस्ने हसाउने क्रम चलिरह्यो ! फर्कदा हामी हाम्रा कलाकारको स्वर मात्र सुन्न चाहन्थ्यौ !त्यसैले मिलन लामा, हिमाल सागार, प्रमोद खरेल अनि बान्द्रेका प्रस्तुतिमा  सम्पूर्ण  साथीहरु संगीतको मुर्छ्नाहरुमा आल्हालित हुदै आनन्दित देखिन्थे !   छोटो दिन मिनी इजरायल जना नभ्याउने भयौ  सबैको काममा फर्कनु पर्ने भएकोले ! बस एकनाशले कुदिरहेको थियो ! बाटो वन वय र एकदम राम्रो भएर कतै पनि उफर्दैन्थियो ! कति कति बेला त बसमा बसिरहेको छु  भन्ने पनि बिर्सिंथे !घाम डाडापारी ओझेल परिसकेको थियो  गोधुली साझमा तेल आभिवको माझ  करिव ५.५० तिर  आइपुग्यौ ! छुट्नै मन छैन मलाई कति छिटो बित्यो समय भन्ने गीत सम्झदै  सबैसँग बिदा भएर हाइफातिर लाग्यो हामी हाइफा आउने ९ जना रहेछौ ! तखानामा आएर सिरुत चढ्यौ !  तारा र मोहित पनि अपार्टबाट आइपुगे हामी ९ जनाले अर्को सिरुत चढेर हाइफातिर हुइकियौ एउटा  अन्धकार केहि कोमल भएर धर्तिलाई छोपिरहेको थियो ! अध्यारोसंगै जाडो बढ्दै थियो !हामी सिरुतभित्रको न्यानोमा बसेर मिठा मिठा कुरा गर्दै हाइफा आइपुग्यौ ! यी अबिष्मरणीय पलहरू मनमष्तिकमा संगाल्दै काममा जान ढिला भएकोले हतार हतार कामतिर लाग्यौ ।http://www.youtube.com/watch?v=BOUCZPnb3lU&feature=share

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼