Tuesday, March 19, 2013

नमिठो पल :लघु कथा

प्रतिकृया:- 
नमिठो पल :लघु कथा
बडो उत्साहकोसाथ हामी ट्याक्सीबाट उत्रियौं । अमृतले भन्यो, "आज दिन कत्ति उज्यालो, आकाश खुलेको छ, साथीहरू निकै आउँछन आज" ।
"हो त, हिजोसम्म दिन कस्तो थियो, आज मनै उज्यालो पारेको छ मौसमले ।" मैले पनि थपे ।

हामी:अमृत र म तेर्सोतेर्सो हुदै छड्के ओरालो लाग्दै साँस्कृतिक कार्यक्रम भैरहेको कम्युनिटी हलतिर लम्कियौ । एम्रिगेशन प्रहरीले देख्ला भनेर अमृत हतार हतार हलभित्र पस्यो ।
नेपाली दिदी बहिनीहरू साडीमा सजिएका थिए, भने दाजुभाइहरू शुट, दौरा सुरुवाल, ढाका टोपीमा सजिएका देखिन्थे । एक पछि अर्को गीत बज्दै थियो । सबैजना नाच्दै, गाउदै, रमाउदै थिए । अमृत सबैलाई हेरेर मनमुग्ध देखिन्थ्यो । बिचरा ! एक बर्षसम्म कामबाट बाहिर निस्किएको थिएन । त्यसैले नेपाली बोल्न नेपालीलाई देख्न नपाएर न्यस्रिएको थियो । आज ऊ दंग र मख्ख थियो । बसन्त ऋतुको पूर्व सन्ध्याले मनमा आशा, उत्साह र उमंग भरेझैँ ऋतु फेरिन लाग्दा मन फेरिएझैँ आज उसको लागि परिवेश बदलिएको थियो । पिंजडाबाट फुत्किएको पंछीझैँ स्वतन्त्र भएर खुला आकाशमा उडेझैँ आज निस्फिक्री रमाएकोले मुहार चम्किएको थियो । उस्ले कार्यक्रममा आउदिन भन्दा भन्दै मैले नै जबरजस्ती, "केही हुन्न आज सब्बात (शनिवार) हो आज त इजरायलीहरू काम गर्दैनन् । एम्रिगेशन कसरी आउँछ ? तिमी ढुक्क बन, आजसम्म शनिवार जाचँ पड्ताल गरेको थाहा छैन," भेनेको थिएँ ।
ऊ गरिवीको रापले रापिएर बिरामी भएका आमाबाबालाई बचाउन सकुँला भन्ने आशामा आफ्नो घरबारी बन्धकी राखेर बिदेसिएको थियो । ऊ आएको १ बर्ष नबित्दै क्यान्सरले थला परेर उपचार गराउँदा गराउदै उसको आमाको देहावसान भयो । आमा बितेको एक बर्ष नहुदै बाबाको दुवै मृर्गौला 'फेल' भएर उपचार गराउँदा गराउदैमा बाबा पनि आमा गएकै बाटो लागे । उपचारमा कमाएको जति सबै पैसा सकियो अनि बाबा आमा दुवै गुमायो । एउटा छोरालाई योभन्दा अरु के नै पीडा होला र ? सबै पैसा उपचारमा नै सकियो न घरखेत उकास्न सक्यो न नगद जम्मा गर्न । इजरायल आएर बैधानिक रुपमा कम गर्ने समय पनि सकियो आफूले हेर्ने एम्पोलाएर पनि परलोक गए । ५ बर्षमा बाबा आमा पनि देख्न पाएन । अन्तिम संस्कारमा पनि सहभागी हुन् सकेन, उल्टै काम छुट्यो अबैधानिक भयो । उसको अनुहारमा त्यो दर्दनाक पीडाको छनक सजिलै बुझ्न सकिन्थ्यो । त्योभन्दा नि धेरै पीडा उसलाई एम्रिगेशन पुलिसले भेट्ला भन्ने थियो । उसका जोडी आखाँ घरिघरि बाहिरको ढोकातिर हानिन्थे ।
अप्रत्यासित रुपले बन्दुक बोकेर एक पुरुष र एक महिला एक्कासि हलभित्र छिरे अनि एक एक जनालाई सोधपुछ गर्दै पासपोर्ट माग्न थाले । २, ३ जना रातो पासपोर्ट हुने पनि थिए । हरियो पासपोर्ट हुने पनि कतिको भिषा सकिएको थियो । सबै पासपोर्ट देखाउन थाले भिषा प्रोसेसमा हुनेहरू आफ्नो एम्पोलाएर(मालिक)सँग फोनमा कुरा गर्न लागे त्यही हुलमा अमृत पनि मिसियो । ऊ अबैधानिक थियो । डरले लगलग खुट्टा कमाउदै झोलामा हात हाले झैँ गर्यो तर त्यहाँ केही थिएन । अर्काको देश, विवश परिवेश । कति नमिठो पल ! मलाई आँशु भरिएको आखाँले टुलुटुलु हेर्दै चुपचाप प्रहरीसगै गयो । आफ्नो जबर्जस्तीले ल्याएको साथी कस्तो अनर्थ भयो मनमा पश्चाताप, ग्लानिले अनि त्यो परिस्थितिले मन अमिलो भयो ।
ऊ रोयो, करायो धेरै अनुनय बिनय गर्यो । तर पनि कठोर मन भएका इजरायलीहरूको हृदय पग्लिएन । अन्तमा अनगिन्ती समस्याको थाक बोकेर ऊ नेपाल फर्कियो । भर्खरै खबर पाएँ, गरिवी र अभावमा अहिले पनि ऊ खाडीमा भौतारिन विवश छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼