युरोपस्तरिय नृत्यका लागि युरोपका १५ भन्दा बढि देश प्रतिष्पर्धामा उत्रने ।
.jpg)
यसपटक जर्मनीमा हुनलागेको युरोपस्तरीय नेपाली नृत्य प्रतियोगितामा निकै ठुलो संख्यामा प्रतियोगीहरु सहभागी हुने भएको जानकारी प्राप्त भएको छ । अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) International Nepalese Artist Society (INAS) जर्मनी शाखाले अनेकस केन्द्रिय समिति, युरोपमा रहेका अनेकसका शाखाहरु, नेपाली एकता समाज फ्रान्स, युरोपस्थित कल्चरल गृहहरु, जर्मनी लगायत युरोपका अन्य एनआरएन संस्थाहरु, नेपाल चलचित्र प्राविधिक संघ लगायत युरोपका अन्य संघसंस्थाहरुसँग सहकार्य गर्दै १४ अप्रिल २०१३ का दिन जर्मनीको हाम्बर्ग शहरमा आयोजना गर्न लागेको यस कार्यक्रममा फ्रान्स, बेल्जियम, जर्मनी, ईटाली, डेन्मार्क, नेदरल्यान्डस, पोर्तुगल, स्पेन, लक्जम्बर्ग, फिन्ल्यान्ड, स्विजरल्याण्ड, युके, पोल्यान्ड, ग्रिस लगायतका युरोपका १५ भन्दा बढी देशहरुबाट सहभागी हुने देखिएको जानकारी जर्मनीमा रहनुहुने अनेकस केन्द्रिय उपाध्यक्ष कमला दाहाल र कार्यक्रम संयोजक सन्तोषराज गुरुङले हामीलाई गराउनुभएको छ । युरोप महादेशकै सबैभन्दा बिशाल यस कार्यक्रमलाई ज्यादैनै भव्य, शालीन र सभ्य बनाउन तयारी समिति जोडतोडले जुटेको बुझिएको उहाँहरुको भनाई छ । यस वर्षदेखि अनेकसले नेपाली चलचित्र क्षेत्रको बिकास र प्रवर्द्धनको लागि समेत काम गर्ने निर्णय गरेको र सोही अनुसार यसैपटक देखि उत्कृष्ट चलचित्रलाई सम्मान गरिने जानकारी दिदै यसका लागि लगातार ६ वर्षदेखि नेपाली चलचित्रलाई NEFTA अवार्ड प्रदान गर्दै आएको नेपाल चलचित्र प्राविधिक संघसँग सहकार्य गरिएको र यस कार्यक्रममा नेपाल चलचित्र बिकास बोर्डले समेत सहयोग गर्ने जानकारी प्राप्त भएको उहाँहरुले बताउनु भएको छ ।
"यसपटक १४ अप्रिलमा जर्मनी कलाकारमय हुने पक्का भएको छ र यस कार्यक्रमलाई व्यबस्थित बनाउन सबै साथीहरु कार्यक्रमको लागि अहोरात्र जुट्नुभएको छ ।" कार्यक्रम संयोजक समितिका सदस्य समेत रहेका केन्द्रिय समितिका सल्लाहाकार शिखर खड्काले खुशी हुंदै हामीलाई जानकारी दिनुभयो । नृत्य प्रतियोगितासँगै यो पटकको बिशेष आकर्षण भनेको चलचित्र सम्मान कार्यक्रम रहने भएको र युरोप महादेशमै पहिलोपटक नेपाली फिल्मलाई विषेश सम्मान गर्ने कार्यक्रम राखिएकोले पनि यसले कार्यक्रमको महत्व ज्यादै बढाउने कुरा कार्यक्रम व्यबस्थापन समितिका संयोजक सरोज श्रेष्ठले बताउनु भएको छ । त्यसमाथि युरोपबाट निर्माण भएका नेपाली चलचित्रहरुलाई समेत विषेश सम्मान गरिन लागेकोले पनि यसले फिल्म क्षेत्रमा झनै रौनकता थपिदिएको उहाँको भनाई छ । यसलाई नियमित गर्ने वा यो वर्ष मात्रै हो भन्ने जिज्ञासामा उहाँहरुले भन्नुभयो "यो सुरुवात हो, हरेक वर्ष नृत्य प्रतियोगिता सँगै फिल्म अवार्डलाई अगाडि बढाउने निर्णय केन्द्रिय कार्यसमितिले गरेकोले यसले निरन्तरता पाउछ ।" उहाँहरुका अनुसार आउदो वर्षदेखि अनेकस (INAS) ले हरेक महादेशहरुमा गायन, संगीत र साहित्यको विधामा रहेका लेखक र कलाकारहरुका लागि समेत कार्यक्रम शुरु गर्ने भएको छ । यसको लागि संस्थाभित्र आन्तरिक समितिहरु बनिसकेको र केही समितिहरुले आवश्यक कार्य सुरु समेत गरिसकेको जानकारी उहाँहरुले गराउनु भएको छ ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼