Wednesday, April 3, 2013

मुक्तक थुंगाहरु


 मुकटक थुंगाहरु 


मन्द मन्द पवनसँगै सागरछेउ बतासिन्छु
तिम्रै यादका छालले छुँदा त्यसै त्यसै अतालिन्छु !
उर्लिएर आइरहन्छ सम्झनाका लहरहरु-
गन्तब्य यो खोज्दा खोज्दै बिरानीमै बरालिन्छु !!

ढकमक्क फुलेका छन् बसन्तमा फूलहरु 
नजानेरै भए कत्ति जिन्दगीमा भुलहरु !
मेरो ओठको मुस्कान देखि जल्छौ अरे अचेल -
खुशी हुन्छौ जोड्न सिक सद्भावका पुलहरू !!

हेर्दा हेर्दै दिन बित्यो रात पर्न थाल्यो 
अझै छैन अत्तोपत्तो आँशु झर्न थाल्यो ! 
प्रेम श्रर्ध्दा मनभरि कुरे बाटो दिनैभरी - 
व्यर्थ भए विन्तीपत्र आशा मर्न थाल्यो !!

आफ्नै सम्झी सताएथे दुखाए कि कसो 
मनका कुरा लुकाएथे दुखाए कि कसो !
नबोलेरै बुझ्नु पर्थ्यो यी आँखाका भाकाहरु- 
तिमी बोल्दा लजाएथे दुखाए कि कसो !!

पवनले मलाई छोएर गयो तिमी नै आयौ कि
मन उडी जादा सम्झनामा मलाइ नै पायौ कि !
आफैलाई हराईसके तिमीभित्र डुब्दा -डुब्दै - 
जुनझैँ शीतल, फुल झैँ कोमल मोहनी लायौ कि !!

ऐना जस्तो हाम्रो जीवन आँशु झार गिज्याउँछ 
हरेश खाइ बस्यौ भने भा'को थोरै खुशी छिन्छ ! 
खहरे झैँ उर्लिएर सुक जाने होइन जीवन -
अघि बढ हिम्मत राखि नदी जस्तै बग्नुपर्छ !

अतीतलाई बिर्सिएर बर्तमानमानलाई अगाल्नुछ 
खोसिएका खुशीहरु थोपा थोपा संगाल्नुछ !
थुक्यौ कुल्च्यौ गुण बिर्सी निमपात थिए 
ढुंगा जस्तो कठोर मन गुनै गुनले पगाल्नुछ !!

रानी वनको कान्लाभरि लाली गुराँश फुल्यो होला 
एैसेलु र काफल गेडी पहेँलो भै झुल्यो होला ! 
एकान्तमा एक्लै हुदाँ मनमनै खेल्छ कुरा -
माया गर्ने मायालुले मलाई भुल्यो होला !!


No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼