
तरल छु
त्यसैले
बग्छु
कतै हिमनदी भएर
कतै छाँगा , छहरा
भएर बग्छु
अनि
कतै खहरे जस्तै गडगडाउछु
त कतै
शान्त र स्निग्ध नदी बनेर
अविरल !
बगि रहन्छु
बगिरहनछु !
तिम्रो अंग अंगमा
अमृत बनेर
चल्न चाहन्छु,
चल्न चाहन्छु
त्यहि भित्र
उकुस मुकुस मनको बह
पोख्न चाहन्छु
सक्छौ ?
सबै मलाई ग्रहण गर्न !
सक्छौ ?
मलाई आफ्नो भन्न ?
तिमी
आफ्नै संसारमा व्यस्त रहंदा पनि
मैले पछ्याई रहेको छु
तिमीलाई नै
कोटयाई रहन्छु
र पनि
तिमीलाई कुनै अर्थ लागे पो ?!!!
गंगा हु म
तिमी सागार मानेर
तिमीलाई भेट्न
यो आतुर मन
उर्लिन्छ छच्चल्किञ्छ
यस्तो लाग्छ -
कतै यो खहरे
तिमीलाई नभेटी सुक्ने पो हो कि ?
फेरी समलिन्छु-
समाहित हुने संकल्प गर्छु !
असिमित चाहना
वाष्पिदै
बादल बनेर
जब आकाश भेट्टाउछु
वर्षा बनेर
जब तिम्रो स्पर्श को अनुभूत गर्छु
खुशीको उन्मादले
स्खलित हुन्छ मन
धड्कंछ मन
भरिन्छन नयन
अनि बर्सिन्छु
किनकि
म तरल भै सकेकी छु
तरलता
जीवनको अर्थ छ
जडता
शून्यताले
कुनै पहिचान बनाउन सक्दैन
घुमेर केवल
फन फनी आकाशीय पिण्ड
पिण्ड मात्र हुन कहाँ मान्छ र ?
त्यसैले
सहजताको लागि
मैले तरलता रोजें
किनकि
मलाई तिमी संगै बग्नु थियो
बग्दै छु
बगेर नै त
म तरल छु
त्यसैले
स्वाभाविक
स्वभावमा
तरलता मै बग्छु
अर्थात
म तरल हुँ
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼