Thursday, July 4, 2013

आँशुका भेलहरु (कविता )

आँशुका भेलहरु (कविता )

आँसुका भेलहरुसँगै
 पौठेजोरी खेल्दै
खुला आकाश ओडेर
सपनाका भारी बोकेर
दु:खको पिरामिड उक्ल्दैछु !
 पौयु, लालीगुराँस र आरु
 कति पल्ट फुले, फले अझै फुल्दै छन्
हरेक पल्ट फुल्ने आरुको फूहरुसंगै
मनभरि सप्तरंगी लहर  उर्लिंन्छ !
यी आरुका फुलसंगै
मेरा रहर,आशा र उमंगहरुले
 बयली खेल्न थाल्दा 
 तितो यथार्थले मथिंगल रन्थनाउछ् !

मेरो गर्भमा फुलेको
मेरो अनमोल रत्नलाई 
लक्का जवान हुन् नपाउदै
 जनयुद्दमा होमिदिए 
मेरो स्पन्दनलाई
मेरै आखाँ अगाडि लछार पछार पारेर लगे
आफ्नै अगाडिका  विभत्स दृश्यहरुले
कसरी ओभानो बनुन यी नयनहरु
बेदनाको दहमा डुबुल्की मार्दै
बाँच्नुको अर्थ खोजे रहेछु !

कतिको सिन्धुर पुछियो
कतिको छोरा छोरी टुहुरा भए
कति बाबा आमा बेसहारा भए
सबैलाई समानाधिकार दिलाउछु भन्दै
रगतको खोलो बगाए
सबै आफ्नै लागि त रहेछ
सत्तामा पुगेपछि सबै बिर्सिएर
आफु मात्र रमाए !

घाँस दाउरा मेलापात गरेर 
भोको पेट,नाङ्गो आङ्
कति दुख खेपेर हुर्काए
बिडम्बना
लर्के जवान भएको देख्न पाइन्
जीवनका अनेकन आरोह अवरोह
जीवनको कुनै काल खण्डमा सुनामी
कुनै काल खण्डमा भुइँचालो गयो
समयको आँधीहुरीले
सबै भरोशा टुटाई दियो  
तर अविरल
 बग्ने गण्डकी, मर्स्याँदी नदीलाई हेर्दै
बगिरहेछु
बगीरहन्छु
 ह्रदयको अन्तरकुन्दरमा संकलित
अदम्य सहास बटुलेर
 त्यो पर देखिने सेतो हिमाल हेर्दै
मेरो मुटुको टुक्रा सम्झन्छु
हिमाल देखाउदै आमा
तिमी र म जाने ल त्यहाँ
उसका यहि वाक्यहरु
मेरा कान वरिपरी गुन्जिदा
मेरो आखाँबाट बर्खेझरी बर्सन थाल्छ !
आखाँ एकोरिन्छ
 निर्मिमेश हेराइ
तप्प तप्प खसेका आशुँका नुनिला ढिक्काले
गाला चुम्दै छाति भिजाउछ
 र
 अर्कोपट्टि फर्कन्छु !
रुनुको अर्थ कमजोर भएको नसम्झ
यो छातिमा अथाह सहने शक्ति छ
सहिरहन्छु
मेरो मातृभूमिको लागि
मेरो अस्तित्वको लागि
त्त्यो टल टल टल्कने हिमाल झैँ
दृढ भएर रहने छु
बाँचुन्जेल अनवरत संघर्ष गरिरहन्छु
तिमी हासिरहनु
म रोइरहने छु  !!

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼