
सुन्दर फूल तिमी
मेरो जून तिमी
मेरो शान मेरो मान
मेरो ज्यान तिमी
कतै फुल्छौ सुनगाभा कतै सुनाखरी
जहाँ फुले नि सुन्दरता बाड्छौ बराबरी
हिलोभित्र कमल बन्छौ
पहाडमा लालीगुँरास
जता तिमी फुल्छौ उतै छर्छौ मगमग सुवास !
तिम्रो पदचाप जहाँ जहाँ पुग्छ त्यहाँ उज्यालोले पछ्याओस
तिम्रो अन्तर्मनमा परिवर्तनको लहराहरु लहरिरहुन
तिम्रो सोचमा कायापलटको झंकार घंकिरहुन
धेरै पर पुर्याउनु छ तिम्रो यात्रा
नयाँ युगको थालनीमा
आफ्नै पौरखी हातहरुले
नविन जीवन जिउने शंखघोष गर्दै
सागरमा समाहित हुन्
अविरल बगिरहने नदीजस्तै
तिम्रो यात्राले लक्ष्यलाई चुमोस
दीनदु:खीको सेवामा समर्पित टेरिसा र नाइटिङ्गझैँ
तिम्रा कोमलहातहरु
अनि
सेवा भावले सिंचित मन कहिल्यै थकित नबनोस्
खुल्ला आकाशमा स्वतन्त्र भएर
स्वच्छन्द पवनसँग दु:खका सुस्केराहरु फाल्दै
रहरहरुसँग बयली खेल्दै
फूलजस्तै फुलिरहनु
तारा जस्तै चम्किरहनु
हिमाल जस्तै हाँसिरहनु
सूर्यको ताप र चन्द्रको शीतलतामा
मातृवात्सल्याताको अनुभूत गर्नु
जीवनका हरेक मोडमा
आफूलाई कहिल्यै एक्लै नसम्झनु
मेरो शुभ आषिस शुभकामना
सधै तिम्रो साथ हुनेछ !
पूरा होउन तिम्रा सबै चाहना
जन्म दिनमा खुशी छावोस यही शुभकामना !
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼