"समयको न आदि छ न अन्त "
समयको रफ्तार एकनाशले चलिरहन्छ
यसको न आदि छ न अन्त
समय हिजो जुन रुपमा चलेको थियो
आज नि उही गतिमा चलिरहेछ
समय न दौडिन्छ न रोकिन्छ
आफ्नै गतिमा निरन्तर चलिरहन्छ
टिक टिक टिक टिक,
एक सुरमा उही ताल र लयमा
हजारौ बर्षको कालखण्ड र अवयवहरूमा !
खुशीको पल लाग्छ कहिले अन्त नहोस्
दु:खको पल चाडै सकियोस्
तर
कतै सुखको पगरी गुथाएर
कहिले दुखको भारी बोकाएर
कतै मिलनको मिठो आभास गराएर
कतै बिछोडिएको बगरको ढुंगा बनाएर
समय बित्छ
बदलिन्छ,
ऋतु फेरिन्छ
दुख,दर्द बेदनाको आलो घाउ बनाउँछ
घाउहरुमा खाटा बस्छ ,
सुखको सल्लेरी
दुखको सुस्केरा
सुख र दुखको औषधि बनेर
आफ्नै बहावमा अनन्तकालसम्म
अखण्ड चलिरहन्छ !
सुख या दु:खको आँशु वा हाँसों
समयको बलवान लाठी सहेर
समयसँगै बहनु छ
समय
न कसैले रोकेर रोकिन्छ,
न कसैको पुकार सुन्छ !
न कसैलाई टेर्छ
न कसैलाई बक्सिंछ
आफ्नो गतिमा आफ्नो लक्ष्यमा
अविराम चलिरहन्छ !
मान्छे समय बसमा पार्न
दगुर्छ
अतालिन्छ
आकासिन्छ
चुलिन्छ
केहि लाग्दैन
सबैलाई पछारेर समय कुदिरहन्छ !!
समयले सबैलाई बदल्छ
सुधार्छ ,सिकाउँछ
बितेका पलहरु स्मृतिको पानामा कैद गर्छ
सधै नयाँ र नौलो परिवेश लिएर
आउने दिन नयाँ बिहानी बोकेर
नयाँ आशा भरोशाका रोशनी फैलाउंदै
मुसुक्क मुस्काउँछ !
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼