Thursday, July 24, 2014

अत्याधुनिक हुनु बिनाशको प्रतीक हो (कविता )

अत्याधुनिक हुनु बिनाशको प्रतीक हो

युद्द चर्किएको छ
हिंसा भड़किएको छ
बम बारुद्का धुवाहरू
आकाशमा छरपष्ट छन,
लाखौं शरणार्थीका शिविरहरू भत्किरहेछन्
निर्दोष निहत्था बालकहरुको आर्तनाद गुन्जिरहेछ
आला घाउका डोबहरू खाटा नबस्दै
अरु घाउहरू थपिएको छ !

मानिसका पापहरू कट्टी गर्न
क्रुशमा टाँगिएर
जीससले प्राणको आहुति दिए
पैगम्बर, जीसस काइष्ट, बुद्धले
कहिले युद्द चाहेनन्
कलियुगमा कतै शक्तिको होडबाजी
मिसाइल न्युलियस बमको यान्त्रिक हमलामा
आलो रगत बगिरहेको छ !

धर्म जातजाति अनि धार्मिकताको नाउँमा
राष्ट्र सीमास्तम्भ अनि राष्ट्रियताको आडमा
मान्छेको बाँच्न पाउने अधिकार खोसिएको छ
पीडाहरू चर्किएका छन्
एक अर्काको रगतको होली खेलिरहेछन
मर्नु र बाँच्नुको दोसाँधमा कयौ छट्पटाई रहेछन

हरेक रात यहाँ मृत्युको त्रास बनि आएको छ
धर्तिमा जन्मदै युद्दमा होमिएर
टुहुरा र अंगभंग बनेका निरही
बालकहरु कोपिलामानै कच्याक कुचुक पारेर
फालेका फूलहरुझैँ भएका छन्

यो ताण्डब नाँच कति हेर्नु
दु:ख दर्द पीर ,ब्यथाहरुको चित्कारमा
अट्टहासको हाँसो रोकियोस्
जो सुकै मरे पनि मृत्यु सदैव दुखान्त नै हुन्छ
युद्दले कसैको भलो गर्दैन
यो संहारकारी हत्या हिंसा रोकियोस्
सबैले बाँच्न पाउने आधिकार नखोसियोस्
आधुनिक हातहतियारले
निरपराध निहत्था जनताको घांटी नरेटियोस्
आधुनिक हुनु सभ्यताको प्रतिक हो भने
अत्याधुनिक हुनु बिनाशको प्रतीक हो !!



भगवती बस्नेत

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼