Wednesday, December 17, 2014

झरी र म ( कविता)



 झरी र म
भगवती बस्नेत
---------------

गगनचुम्बी भवनहरुमा ठोक्किदै
मेरै शिर माथि नै बज्रिए झैं
अविरल अनवरत रुपममा झरिरहेछ /बर्षीरहेछ
धर्ति रुझिरह्यो
धर्तिले नै फेरि मेरो मन रुवायो !

 अतृप्त प्यास बोकेर
सुस्ताई रहेको धर्तिमा
सम्भावनाका गोरेटोहरु पहिल्याउँदै
झ्यालको कापाबाट
चिसो सिरेटोले लहराएको
कालो घटा रुपी
मेरो केश
त्यही केश सुम्सुम्याएर
दृश्य तर कल्पनाको अमूर्त रुप आयो
मनको बागमा थपक्क बसेर कतै हरायो !

सुनौला सप्तरङ्गी स्वप्न सजाएर 

मनमोहक रङ्गीबिरङ्गीमा
छाँटिएको आसक्त मेरो जीवन
सुख र दु:ख र आँशुमा डुबेका क्षणहरु
मेरो सुदूर विगतदेखि वर्तमान छिचोल्दै
र हाँसोको सङ्गम बनेर
झरी रहे झरी सँगै एकनास झरी रह्यो !

झरीसँगै झरेका मोतीदानाले
मन हलुङ्गो पारेको क्षण
आशातित तिम्रा यादहरु

 फरक भयो जीवनलाई हेर्ने
मेरो नौलो दृष्टिकोण
नयाँ आयाम झरीसँगै
म पनि खुल्न चाहन्छु
खुल्ला आकाश बनेर !

आकाशको गर्जनले झस्काउँछ
मनहरु र मनभित्रका
उकुसमुकुस भावहरु
गर्जीरहयो झरीको झराइमा
पाएको चीसोपन, शीतल कोमलता
यही चाहन्छ मन
सबै कलुषता बगेर जाउन मनभरीका
आक्रोश, रिस र संवेगहरु !

 
तिमी आकाश
म धर्ति
मेरै छातीमा बग्ने तिमी समुद्र
त्यही समुद्रबाट वाफिएको पानी
तिमी जति माथि उडेर
जति नै आकाश चुमे पनि
अन्तत: तिमी खस्ने म माथि नै त हो
तर पनि तिमी
क्षणिक आकशको गति नापेर
तिमी भने मसँग नै पौठेजोरी खेलिरहेछौ !

प्रकृति सम्मत नियम नै रहेछ
प्रिय आखिर तिमीलाई तल झर्ने पर्छ
मलाई थाहा छ प्रिय

झर्दा पनि निचोरिएर नै झर्नु पर्छ
माने पनि नमाने पनि
आखिर तिमीलाई
थामिदिने बोझ म नै त हुँ ।

यसैले त प्रिय धर्ती भएर
यही पल्लो पाटोमा
म तिम्रा सारा गुनासाहरु झेली रहेछु
जसरी झरी हुरी सुनामी अनेक प्रलय सहेर
धर्ति मुस्कुराई रहन्छ
धर्ती झैं चुप चाप म सही रहेछु
म मुस्काई रहेछु !

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼