उमेर बेचेर सपना उमार्दै (कविता)
जसरी नदीहरू सागरको खोजीमा भौतारिन्छन्
आफू भन्दा गहिरोपनामा
आफूलाई समाहित गर्न चाहन्छन्
त्यसरी नै मेरो आत्मा
तिम्रो प्रतिबिम्ब खोज्न एकनाश बगीरहन्छ
एक्लै आफ्नै वेगमा निरन्तर बगिरहन्छ
मात्र एक्लोपना लिएर ।
तिमी र मैले कल्पेका रंगिन सपनाहरु
अनायासै नदिका दुई किनारा जस्तै भएको छ,
छताछुल्ल भएर पोखिएका सपनाका रंगहरु
अँजुलीभरि उठाउन खोज्दा खोज्दै सुकिसकेको छ ।
रित्तो सडक जस्तो सुन्यता छाएको मनभित्र
पीडाका कालो बादलहरु मडारिरहेका छन्
आकांक्षाहरूका असंख्य ताराहरु
झिलिमिली उदाउँदा
बग्रेल्ती छरिएका महत्वकान्क्षाहरूलाई टेकेर
कर्कलाको पातका मोतीहरू टिप्न खोज्दैछु
जिन्दगीका भाग्यरेखाहरूलाई
बालुवाका बगरमा उँटका पाइलाहसँग दाँज्दै
औंशीमा चन्द्रमा खोज्दैछु
आगोमा जलेर शीत झार्दैछु
जसरी आंधीहुरी सहेर पहाड मुस्कुराउँछ
सामुन्द्रिक छालका लहरहरु उर्लिदा पनि
सागर स्थिर शान्त बस्छ
चुनौतिको हिउँ थुपारेर हिमाल सुन्दरता बाडछ
यो बन्जरभूमिमा उमेर बेचेर
म पनि सपना उमार्दैछु
बल बैंशका तागतहरू सुम्पेर
हाँसो खुसी खोज्दै छु
पसिनाको रगतसँग डलर साट्दै छु
हो,पसिनाको रगतसँग डलर साट्दैछु
No comments:
Post a Comment
आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼