Friday, February 13, 2015

कविता

 “प्रेम प्रतीक्षा”
–––––––––––––
कल्कलाउँदो बिहानीको
लाली किरणमा
रातो चुम्बनजस्तो तिम्रो प्रेम
कहिल्यै धित नमर्ने
संगीतको धून जस्तो
तिम्रो आलिङ्गन
मनको आकाशभरी
 सुमधुर जुनेली साँझ
साऊती मारिरहेका बतास
संगीतको धून
जाईजुहीका अजम्बरी बास्ना
  अटुट फैलिरहेछ ।

पाखाभरि फक्रिएको
लालीगुराँशको सौन्दर्य बोकेर
रातो गुलाबमा प्रतिबिम्बित
मेरो मुटु तिम्रै लागि धड्किरहेछ ।
प्रेमको उज्यालो बिहानी बोकेर
सागरमा उर्लिएका
रहरलाग्दा छालहरुसँग
बयली खेलिरहेका सेता सपनाहरु
यो दूर दराजमा सुरक्षित गरिरहेछु म 

म जहाँ रहे पनि
 रातको जूनमा तिमि मुस्काइदिन्छौ
दिनको घाममा न्यानो बनीदिन्छौ
  पाइलाहरु तिम्रै सहारा खोज्छन् ।
गोधूलि साँझका पन्नामा
आकाशमा उडेका
राजहाँसका सेता पखेटामा परेका
चन्द्रमाको मुस्कानमा तिम्रो नाम लेख्दै
तिम्रो काखमा लुटुपुटिएका
रुमानी यादहरु तैरिरहेछन् ।
प्रेमका अविरल नदीहरु
  वात्सल्य, मातृत्व, भातृत्व
परिवारको ममत्व
आफन्तप्रतिको अपनत्व
साथीभाइप्रतिको लगाव
  समाज मातृभूमिप्रतिको दायित्व हुँदै
  दुई आत्मा एक–अर्काप्रतिको
  चाहना र प्रेमको मोहमा
मन बेस्सरी गाँजिएको छ ।

मनको क्यानभासमा
तिम्रो तस्वीर छ
धर्तिको अर्को कुनामा
नाइल नदीको पुछारमा
 म तिम्रै पर्खाइमा छु
भूमध्य सागरको निर्जन किनारमा
 एक डालो पारिजातको
 फूल लिएर तिमीलाई कुरिरहेछु ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼