Monday, April 20, 2015

दिपेन्द्र जीसँगको भलाकुशारी ..

प्रतिकृया:- 
उहाँ मसँग सहमत हुनुभएन । सहमत हुनुपर्छ भन्ने पनि होइन । नेपाली साहित्यको प्रचलित भनाइ पैंचो लिएर मैले उहाँलाई सोधेको थिएँ– राजनीति शौचालय हो भने साहित्य भोजनालय । नौ कक्षा पढ्दादेखि अहिलेसम्म भोजनालयमा बसेर के–कस्ता उपलब्धि हात पार्नुभयो ?
उहाँले सुनाउनुभयो, ‘म राजनीतिलाई शौचालय मान्दै मान्दिनँ । सबै नीतिका राजा राजनीतिलाई तपाईं÷हामीजस्ता सचेत नागरिकले शौचालयसँग तुलना गर्न सुहाउँदैन । हो, नेपालमा राजनीतिक आवरणमा डर्टी गेम खेलिन्छ । त्यही भएर राजनीतिप्रति कतिपयको वितृष्णा होला । त्यसो भन्दैमा हामी चोखिन मिल्दैन ।’
फेरि असहमति जनाउनुभयो । लाग्यो– मैले सोध्नै नहुने प्रश्न गरेँ । तर, उहाँ रिसाउनुभएको थिएन । त्यही भएर त मैले सोधेको प्रश्नको जवाफ स्वाभाविक रूपमा दिइरहनुभएको थियो । साहित्यलाई भोजनालय मान्न उहाँ पटक्कै राजी हुनुभएन । त्यसो भए के त ? मैले अनुरोध गरेँ । ‘साहित्यलाई भोजनालयमात्रै भनियो भने यसको महत्वपूर्ण पक्ष ओझेल परिहाल्छ नि,’ उहाँले दाबी गर्नुभयो, ‘साहित्य भोगविलासको साधनमात्रै होइन, समाज, राष्ट्र अनि मानव जातिको विकास र क्रान्तिमा पनि यसको अहम् भूमिका हुन्छ । विश्वका ठुल्ठूला क्रान्तिमा साहित्यले अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरेको हामीले बिर्सन हुँदैन ।’
bhagawati_2
कवि भगवती बस्नेतसँग बात मार्दै छु । कवि बस्नेत सुझाउँदै हुनुहुन्छ, ‘साहित्यलाई भोजनालय नै मान्ने हो भने त्यहाँ तयार पारिएका विभिन्न प्रकृतिका साहित्यिक परिकार परिवारसँगै बसेर खान सकिँदैन । भोजनालय भनेपछि भोकाएका मानिसले भोक मेट्ने ठाउँ भनेर बुझिन्छ ।’ होइन र ? उहाँले प्रतिप्रश्न गर्नुभयो । मैले उत्तर दिन नपाउँदै उहाँ बोलिहाल्नुभयो, ‘बरु साहित्यलाई भोजन भन्न सकिएला कि ? यसका विभिन्न विधा साहित्यिक परिकार । भोजनालय भनेको त पुस्तकालय, पुस्तक पसल पो हुनुपर्ने हो । साहित्यिक परिकार खानयोग्य हुन्छ नै भन्न सकिँदैन । जथाभावी खाए पखाला चल्न सक्छ । भोजनालयमा खानयोग्य परिकार पाकुन्जेल स्वस्थबद्र्धक मानिन्छ । साहित्यमा कतै खीर पाक्छ । कतै पुलाउ । कतै तीतेकरेला पकाइन्छन् त कतै सिद्रा । साहित्यका सम्पूर्ण परिकार खानयोग्य बनाउन साधना गर्नुपर्छ । म त्यतैतिर उन्मुख छु ।’
कवि बस्नेतले नेपाली साहित्यमा स्नातकसम्मको अध्ययन पार लगाउनुभएको छ । साहित्यमै स्नातकसम्म अध्ययन पार लगाएको व्यक्तिलाई लेखनमा सहयोग त पक्कै हुन्छ होला होइन ? मैले फेरि प्रश्न गरें । उहाँको स्वाभाविक उत्तर थियो, ‘साहित्य पढ्नु र लेख्नु फरक कुरा हुन् । पढेकाले साहित्यका विधागत रूपमा विचार र विश्लेषण गर्न सहज हुन्छ तर लेख्नलाई भने प्रतिभा र निरन्तर अभ्यास जरुरी हुन्छ । निरन्तर अभ्यासले मात्र लेखन माझिने हो ।’
bhagawati_3
कथा, कविता, गीत, गजल, मुक्तक, नियात्रा, संस्मरणमात्रै नभएर आलेखसम्म लेख्न भ्याउने कवि बस्नेत नौ कक्षा पढ्दादेखि नै आफूले लेख्न थालेको बिर्सनुभएको छैन । अहिलेसम्म पनि सम्झना छ, उहाँले सबैभन्दा पहिले कविता लेख्नुभएको थियो । लेखाइले निरन्तरता पाएकै छ । त्यसकै दसी हुन्– ‘रहर भो जिन्दगी’ गजल र ‘प्रेमदह’ मुक्तकसंग्रह । रहरै–रहरमा साहित्य लेख्न थाल्नुभएको उहाँलाई जीवन भोगाइ र प्रवास बसाइले लेख्न झन् प्रेरित ग¥यो । लेखाइ कमजोर भएको भए उहाँले पत्थर गजल साधना सम्मान, अनेसास भानु वर्र्ष उत्कृष्ट लेखक, भानुभक्त काव्य पुरस्कार, विश्व नारी नेपाली साहित्य स्वर्णपदक र भानुभक्त आचार्य स्वर्णपदक पाउनु हुँदैनथ्यो ।
लेख्ने अधिकांशले आत्मसन्तुष्टिका लेखेको जिकिर गर्छन् । कवि बस्नेत पनि अछुतो रहनुभएन । उहाँले पनि आत्मसन्तुष्टिकै लागि लेख्ने गरेको स्वीकार्नुहुन्छ । ‘मनमा उब्जेका भावना सिर्जनामार्फन पोख्न पाउनु पनि त आत्मसन्तुष्टि नै हो । स्रष्टाले आत्मसन्तुष्टि पाउने सिर्जनाबाट पाठकले केही न केही त सिक्लान् कि ?’ त्यसको उदाहरण उहाँकै श्रीमान्जी हुनुहुन्छ । श्रीमान् मोहनकुमार बस्नेत आफ्नै काममा व्यस्त रहे पनि बस्नेतका सिर्जना पढेर खुसी व्यक्त गर्न पछि पर्नुहन्न । कवि बस्नेतका छोरा प्रयास बस्नेतले समेत कहिलेकाहीं गीत लेख्ने गर्नुहुन्छ । आमा गुनको तामा र बोट गुनको फल भनेको यही हो ।
विक्रम संवत् २०५६ देखि कवि बस्नेतलाई पत्रपत्रिकामा पढिन थालिएको हो । सामाजिक सञ्जाल फेसबुकमा बात मार्दै थियौं, मैले सोधिहालें । पाँच÷सात कक्षा पढेकासमेत साहित्य सिर्जनामा लागेका छन्, उनीहरूबाट सिर्जित सिर्जनाको स्तर कसरी मापन गरिएला ? ‘स्तरीयता भन्ने कुरा निरन्तरताको अभ्यासबाट पाइन्छ । साहित्य सिर्जना सिर्जनशील कर्म हो । साहित्य हुनलाई परम्परागत मान्यताभित्रै पर्नुपर्छ नै भन्ने होइन,’ उहाँको उत्तर थियो, ‘तपार्इंलाई थाहा होला एकताका कविता छन्दमै लेख्न अनिवार्य मानिन्थ्यो । तर, बहुसंख्यक स्रष्टाले गद्यमै लेख्न रुचाएपछि त्यसले पनि उल्लेख्य पाठक पायो । पछिल्लो समय ट्रक साहित्य चर्चामा आयो । सवारीसाधनमा सायरी लेख्ने पनि स्रष्टा नै हुन् । पढाइको मापदण्डभन्दा पनि उसको सिर्जना, शिल्प, कला, लय, भाव र प्रभाव पार्न सक्ने पक्ष महत्वपूर्ण हो ।’
bhagawati_6
झर्काे नमानी उत्तर दिने स्रष्टा भएकाले मैले पनि एकपछि अर्काे प्रश्न सोध्दै गएँ । बस्नेतको साहित्य सिर्जना पढेर पाठकले के सन्देश पाउलान् ? उहाँको सहज उत्तर थियो, ‘नेपाली समाज, राष्ट्र र मानव जातिप्रति दायित्वबोधको चेतना पढिनेछन् । साथै माया, प्रेम र समर्पणका सन्देश भेटिएलान् । मैले बाँचेको परिवेश, परिस्थिति, अनुभव र जीवन भोगाइ बुझ्न सघाउ पुग्ला कि ।’
भूगोलको जुनै ध्रुवमा रहे पनि सामाजिक सञ्जालले मानिसलाई नजिक बनाइदिएको छ । प्रसंग साहित्यबाट अन्तै मोडियो । कवि बस्नेत वैदेशिक रोजगारी सिलसिलामा इजरायलमा हुनुहुन्छ । गहुई–३ कुमरोज चितवनको रमणीय ठाउँमा उनको सालनाल गाडिए पनि काठमाडौंलाई कर्मघर बनाउनुभयो । चितवन, काठमाडौं हुँदै उहाँ ३२ वर्षमा हिँड्दै गर्दा इजरायल पुग्नुभयो । ‘आइरन लेडी’ भनेर चिनिने गोल्डा मेयरका देशमा पसिनाका गीत गाउँदै रमाउनुभएको उहाँलाई इजरायलले थुप्रै कुरा सिकाएको छ । इजरायलमा हरेक क्षेत्रमा पुरुषभन्दा महिला अगाडि छन् । इजरायलको कार्यस्थलमा महिलाको सहभागिता ५९ प्रतिशत छ । भनिन्छ– इजरायल विश्वको ११औं विकसित राष्ट्र हो । गोल्डा मेयर इजरायलकी प्रधानमन्त्री बन्नुभएको थियो । सन् १९४८ मा इजरायल नेपालभन्दा सातगुना सानो छ । उसले कृषि र प्रविधिमा फड्को मारेको छ । ‘यहाँ ३ प्रतिशत मानिस कृषिमा संलग्न छन्,’ उहाँले तीनछक पार्ने प्रसंग जोड्नुभयो, ‘तिनीहरूले ९७ प्रतिशत जनसंख्यालाई आपूर्ति गरीकन त्यत्तिकै परिणाममा खाद्यान्न विदेश निर्यात गर्छन् ।’ वैदेशिक रोजगारीमा इजरायलमा पुगेकालाई त्यत्तिकै सम्मान गरिन्छ ।
bhagawati_7
नेपालमा रहँदा महिलालाई सीपमूलक तालिम दिएर उद्यमशीलता बन्न सिकाउने व्यक्ति नै हिजोआज इजरायलमा हुनुहन्छ । पसिनाको गीत गाएर खानेलाई जहाँ पुगे पनि भाग्यले साथ दिन्छ भनिन्छ । कवि भगवती बस्नेतको सन्दर्भमा सो भनाइ सोह्रैआना सही ठहरिन्छ । इजरायलमा रहेर पनि उहाँ साहित्यमा हिमालसरी अग्लिँदै हुनुहुन्छ । साहित्यिक संग्रह प्रकाशन भएकै छन् । यहाँ कमाइएका रुपैयाँ हाइड्रोपावरमा लगानी गर्न भ्याउनुभएको छ । छोराछोरीको भविष्य उजिल्याउन अरूलाई रिन माग्नुपरेको छैन । उहाँका इष्टमित्र, आफन्त, शुभचिन्तकले सोच्दा हुन्– भगवती बस्नेत नेपाल फर्केपछि के गर्लिन् ? नेपाल फर्कनुअघि नै उहाँले भोलिको योजनाको मार्गचित्र कोर्नुभएको छ । सुनाउनुभयो, ‘वृद्धाश्रम खोल्छु । माइक्रो फाइनान्स खोल्ने निश्चितै छ । साहित्य सिर्जना र समाजसेवाले निरन्तरता पाउने नै छ ।’ कति सुन्दर योजना । सुन्दामात्रै पनि लोभ लाग्ने । ज्येष्ठ नागरिक भनेका पुस्तकालय हुन् । पुस्तकालयको संरक्षण गरे सम्बन्धित राष्ट्र समृद्ध बन्छ । उहाँले भेउ पाउनुभएको छ ।
इजरायले कतिपय सपना पूरा गरिदिएका छन् । कतिपय पूरा हुनेक्रममा होलान् । तर पनि उहाँलाई आफ्नै देशको औधी माया लाग्छ । उहाँले नेपालमा अमन–चैन कायम भएको सपना देख्न छाड्नुभएको छैन रे । एकथान संविधान जारी भएको, समुन्नत र समृद्ध राष्ट्र बनेको सपना देखिरहनेसमेत सुनाउन भ्याउनुभयो । उहाँले देखेको सपना विपनामा परिणत भए उहाँजस्ता सिर्जनशील, ऊर्जावान् जनशक्ति विदेशमा पसिना बगाउन रहर गर्ने छैनन् ।
bhagawati_4खेतबारी बाँझो रहने छैनन् । निश्चित समयसम्म खेतबारी बाँझो राखे सरकारीकरण गर्ने प्रणाली बनाइए नेपाललाई पनि इजरायल बनाउन समय नलाग्ने उहाँको ठम्याइ छ । उहाँ नेपाल फर्केपछि त्यसो गर्न नसक्ने होइन । विद्यालयस्तरमा पढ्दा भलिबल, दौडमा मात्रै होइन, हाइजम्प र लङजम्पसमेत सधैं प्रथम हुने उहाँसँग २२ भैंसी, १२ गाई र २२÷२३ बाख्रा एकैपटक चराएको अनुभव छ । परिआए अहिले पनि त्यो काम गर्ने हिम्मत छँदै छ ।
महिला चुलाचौकामा मात्रै सीमित रहनुहुन्न भन्ने उहाँले चुलाचौकाबाट बाहिर निस्केपछि मात्रै धेरै कुरा बुझ्न र सिक्न सकिने जिकिर गर्नुभयो । त्यसो भन्दैमा जीवनका ऊर्जाशील समय विदेशमै बिताउनुपर्छ भन्ने मान्यता राख्नुहुन्न । ‘नेपालको मायामोहले लठ्याएपछि वरिष्ठ कलाकार लैनसिंह बाङ्देल, संगीतज्ञ अम्बर गुरुङ, वरिष्ठ साहित्यकार पारिजातहरूले नेपालमै बस्न रमाए,’ उदाहरण दिँदै उहाँले सुझाउनुभयो, ‘सरकारले आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सम्भावनाको खोजी अनि राष्ट्र र राष्ट्रियताबारे प्रस्ट पार्न सके नेपाललाई जुरुक्कै उचाल्न सकिन्छ ।’ त्यसैले उहाँ पनि चाँडै नेपाल फर्कंदै हुनुहुन्छ । भलाकुसारी गर्ने रहर हुँदाहुँदै म कार्यालयीय काममा लागें । उहाँ आफ्नै काममा । त्यसपछि हामीबीच फेसबुकमा यति लामो भलाकुसारी गर्ने साइत कहिल्यै जुरेको छैन । नेपाल फर्केपछि पक्कै जुर्ला कि ।http://www.halesee.com/?p=3255#.VTS88g1VXkM.facebook

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼