Monday, September 21, 2015

सरोगेट मदर अर्थात् भाडाकि आमा

सरोगेसी शब्द लैटिन शब्द ‘सबरोगेट’ बाट आएको हो । यसको अर्थ हुन्छ, आफ्नो कामका लागि कसैलाई नियुक्त गर्नु । पाठेघरमा बच्चा बस्न नसक्ने वा बच्चा पाउन नचाहेको अवस्थामा सम्बन्धित महिलाको डिम्ब र पुरुषको शुक्रकिटबाट कृत्रिम गर्भाधान गराएर भ्रुण विकास गरी त्यसलाई पुनः भाडामा लिइएकी महिलाको पाठेघरमा प्रत्यारोपण गरेर बच्चा जन्माउने विधिलाई सरोगेसी भनिन्छ । ‘बच्चा जन्माउन असक्षम दम्पतीले कुनै पनि सक्षम महिलासँग सम्झौता गरी दाताको बीर्य तथा अन्डाणु लिएर कृत्रिम गर्भाधारण प्रक्रियाबाट गर्भाधारण गरी निजका कानुनी तथा जैविक माता–पितालाई बच्चा सुम्पन तयार हुन्छिन् भने त्यस्तो बच्चा जन्माउने आमालाई सेरोगेट मदर भनिन्छ ।’ यस्तो प्रविधिबाट बच्चा चाहने दम्पतीले श्रीमान्को बीर्य तथा श्रीमतीको डिम्ब वा सन्तान चाहने पुरुषको वीर्य र डिम्ब बैंकबाट किनेको डिम्ब वा सन्तान चाहने महिलाको डिम्ब र वीर्य बैंकबाट किनेको वीर्य भाडाकी आमाको पाठेघरमा डाक्टरद्वारा प्रत्यारोपण गरिन्छ । जसलाई ‘इन भिट्रो फर्टिलाइजेसन’ भनिन्छ । सेरोगेसीमा सन्तान चाहने पुरुष र भाडाकी महिलाबीच कुनै शारीरिक सम्पर्क भने रहँदैन । सरोगेसी परम्परागत तथा जेस्टेसनल दुई प्रकारको हुन्छ । परम्परागत सरोगेसीमा सन्तान सुख प्राप्त गर्न इच्छुक दम्पतीमा पिताको शुक्राणु एक स्वस्थ्य महिलाको पाठेघरमा राखिन्छ । यसको वंशाणुगत सम्बन्ध पितासँग हुन्छ । जसको कोख भाडामा लिइन्छ, उसैको डिम्बसँग प्राकृतिक रूपमा मिलाइन्छ । जेस्टेसन सरोेगेसीमा आमाबाबुको वीर्य अन्य सरोगेट आमाको गर्भाशयमा ट्यूब विधि प्रत्यारोपित गरी बच्चा जन्माइन्छ । यसमा बच्चाको जेनेटिक सम्बन्ध आमा र बुबा दुवैसँग आनुवंशिक रहन्छ । यस पद्धतिमा सरोगेट मदरलाई ओरल पिल्स खान दिएर उसको महिनावारी हुँदा उत्पादन हुने अन्डाणुविहीन चक्रमा राख्ने गरिन्छ । गर्भमा अरुको बच्चा हुन्जेल आफ्नो गर्भाधान हुन सक्ने अन्डाणु बन्न नसकोस् । ‘सेरोगेसी यस्तो व्यवस्थापन हो, जसमा एउटी महिलाले अर्को दम्पती वा व्यक्तिका लागि बच्चा जन्माइदिन्छिन् ।’ विज्ञानले आज भगवानको रूप लिइसकेको छ । विज्ञानलाई पहिले विध्वंश गर्ने, मार्ने साधन उत्पादन गर्ने विज्ञानको रूपमा मात्र चिनिन्थ्यो भने आज यसले जन्म दिने कलाको विकास पनि गरेको छ । विज्ञानले हाम्रो जीवनशैलीको एक नयाँ उचाइ छोएको छ । प्रगति तथा विकासको माध्यमबाट स्थापित हुने जीवनशैलीलाई नै आधुनिक जीवनशैली भनिन्छ । आज जो दम्पती सन्तान सुखबाट वञ्चित छन् । तिनीहरूको लागि सरोगेसी सुविधा उपलब्ध छ । यसलाई एक विकाश पनि मान्न सकिएला । तर सरोगेसीको नाममा आज त्यही ममता बिक्रि हुन् लागेको छ । सबैभन्दा बढी सरोगेसी सेवा चाहनेमा तेस्रो लिंगी, समलिंगी, आफैं बच्चा जन्माउन नचाहने हुन्छन्। कतिपयले यौनशोषण र अंगको अवैध प्रयोगका लागि समेत कानुनी बाटो सुरक्षित राख्न सरोगेसी आमाबाट सन्तान जन्माएर राख्ने गरेको बुझिन्छ । सरोगेसी भाडामा कोख बेच्नुको मुख्य कारण गरिबी हो भनिन्छ । गरिब महिलाहरूलाई पैसाको लोभ देखाएर १० महिनाको लागि उसको मजबुरीको फाइदा उठाई उसको कोख भाडामा लिइन्छ । आर्थिक समस्या समाधानको लागि महिलालाई आफ्नो कोख बेच्न मजबुर पारिन्छ । गरिवीको कारण आफ्नो कोखमा अर्काको बच्चा हुर्काउन बाध्य हुनु पर्ने हुन्छ । सरोगेसी अर्थात वास्तवमा गरिवीको कारण नै एउटा महिला आफ्नो कोख भाडामा दिन तयार हुन्छे । खासगरी आर्थिक रूपमा विपन्न समुदायका महिलालाई आर्थिक प्रलोभनमा पार्न सजिलो हुने भएकाले माफियाहरूले गरिब मुलुक रोज्ने गरेका छन्। आज नेपाल भारत जस्ता गरिव तथा विकाशशील देशमा यो प्रक्रिया एक धन्दाको रूपामा लिइएको पनि देखिएको छ । बाँझोपनका लागि टेस्टट्युब बेबी सेवासमेत पहुँचमा पुग्न नसकेको हाम्रो देशको अवस्थामा अझै अगाडि बढेर सरोगेसी सेवा दिने नेपाल एउटा गन्तब्य बन्न थालेको समाचार छ । नेपालमा भाडाकी आमाका लागि एक व्यक्तिले अस्पताललाई ४० लाखदेखि ५० लाखसम्म दिनुपर्ने हुन्छ भन्ने सुनिन्छ । आफ्नै कोख बेचेर आफ्नो ममत्वको बिक्री गर्नु कति उपयुक्त हो भन्ने बुझ्नु जरुरि छ । हुन त यौन धन्दा गर्नुको तुलनामा भाडामा कोख बेच्नु राम्रो मानिएला तर पनि एक बलात्कृत भएकी महिलाबाट जन्मिएको सन्तानको त अगाध माया हुन्छ भने अर्कोको नै भए पनि आफ्नो शरीरमा ९ महिना बोकेर त्यो भूर्ण प्रतिको ममत्व पैसामा कसरी साट्न सक्छे एक महिलाले ? अब यो आधुनिक विकासले आमाको ममता पनि नामेट गरिसक्यो ? आमाको निश्चल निस्वार्थ ममताको किनबेच भएपछि अब हामीमा के मातृत्व रहला ? आजको युगमा सबै कुरा बिक्छ भन्ने सुनेको थिए, आमा र उसको ममता पनि बेच्न सफल भैसक्यो मानव भने पछि कति चरम विकासमा पुगेको छ ? ममता शब्दप्रति भगवान समेत नतमस्तक हुन्छन भन्ने गरिन्थियो । माताको प्रेम मनुष्य जातिमा मात्र सीमित नरही चराचर जगतका प्रत्येक प्राणीमा उत्तिकै देखिन्छ। मानिसमा मात्र नभै अन्य प्राणीमा पनि आमाको भूमिका प्रशंसनीय छ । हरेक प्राणीलाई आमाले जस्तो माया गर्ने संसारमा अरू कोही छैनन् । नारीको अस्तित्व मातृत्वमै समाहित हुन्छ । विश्वका अधिकांश मुलुकमा प्रतिबन्ध लागेको भाडाका आमा अर्थात् सरोगेसी सेवा नेपालमा प्रतिबन्ध लगाइएको छ । सरोगेसीका लागि आकर्षक गन्तव्य मानिने दुई मुलुक थाइल्यान्ड र भारतमा विकृति देखिएपछि व्यावसायिक सरोगेसी प्रतिबन्ध लगाइयो । अमेरिकाका अधिकांश राज्य, क्यानडा, अस्ट्रेलिया, जापान, बेलायतमा व्यावसायिक सरोगेसी बन्द छ। पछिल्लो समय सरोगेसीका सेवा लागि नेपाल एउटा गन्तब्य बन्न थालेको र सरोगेसी सेवा दिने कानुन समेत बन्न लागेको समाचारले अब आमा भन्ने महान शब्द कै अपमान र महत्वहीन तुल्याउन लागेकाप्रति अत्यन्तै चिन्ता लागेको छ । - See more at: http://tarunkhabar.com/2015/08/16/2441/#sthash.esnsxEBU.dpuf

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼