Sunday, February 14, 2016

प्रिय भ्यालेन्टाइन !

प्रतिकृया:- 
प्रिय भ्यालेन्टाइन !
प्रिय भ्यालेन्टाइन !
समुन्द्रपारीको देशबाट तिमीलाई एकभारी सम्झना!
प्रिय मैले हरपल तिम्रो सम्झनामा पवित्र मायाको नुनिलो आँसु बगाएको छु र अझै बगाई रहनेछु। थाहा छैन यी आँसुका भेलहरु कहिलेसम्म बगिरहन्छन्। हुन त, तिमीलाई सम्झिने दिनले घुमिरहनु पर्दैन, अँध्यारो हुनु पर्दैन। तिमीलाई सम्झिनका निम्ति एकान्त र भिडको आवश्यकता नै पनि छैन। मसँग त्यस्तो कुनै पल छैन, जहाँ तिम्रो याद नहोस्, त्यो सास पनि अपुरो लाग्छ, जहाँ तिम्रो यादको सुवास मिसिएको नहोस्। तिम्रो प्रेमको अलौकिक दुनियामा हरपल रमाउँछु म किनकी, हाम्रो प्रेमको अस्तित्व त्यही नै हो।
प्रिय भ्यालेन्टाइन ! प्रेममा मानिस सधैँ  रूनुपर्छ, कहिले खुसीको बसन्त बहारले त कहिले शिशिरको सिरेटोको आभासको चोटले। तर पनि प्रेमबिना जीवन अधुरो र अपुरो लाग्छ। रुप, सौन्दर्य, धन सम्पति, प्रतिष्ठा, योग्यताको बलमा कसैको यौवन त पाइन्छ तर प्रेम पाउन सायदै सकिएला। हाम्रो जीवन लुगा भइदिएको भए मान्छेहरुले यसलाई चाहे अनुरुप बदल्दै लगाउँथे होला। तर जिन्दगी त एक अटल सगरमाथाको उचाइ जस्तो रहेछ जो लक्ष्य र संघर्षले मात्र प्राप्त गर्न सकिने छ।
जिन्दगी एउटा बलेको दियो रहेछ कुनबेला निभ्ने हो त्यसको कुनै टुङ्गो छैन। समयको भेल पनि अचम्म लाग्दो छ सधै बगिरहन्छ निरन्तर आफ्नै गतिमा त्यसलाई रोक्ने सामार्थ कसैमा छैन। हरेक काम सुरु गर्नु अघि कतै निस्कनु अघि तिम्रो सुन्दर निस्पाप निर्मल अनुहार सम्झन्छु, खोइ कहाँबाट सुरु गरुँ, हरपल मेरो नजर वरिपरी घुमिरहने तिम्रो सुन्दर प्रतिविम्ब।  आँखा खुल्नसाथ बिहानका घामका धर्साहरु तन्नेरी भए झैँ तिम्रा यादहरु ताजा हुँदै जान्छ। प्रेममा शरीर भन्दा पनि भावना महत्वपूर्ण हुने रहेछ। किनकी प्रेम सम्बन्ध शरीरले नभएर मनसँग मन जोडिने रहेछ।
प्रेममा एउटा यस्तो रसायन हुने रहेछ। जसले दुई भिन्न अन्जान व्यक्तिलाई आफ्नो बारेमा भन्दा एक अर्काको बारेमा सोच्न, एक अर्काको ख्याल राख्न, एक अर्कालाई असीमित मायालु भाव पोख्न, एक अर्काको सुख-दु:खमा सरिक हुन अनि एक अर्कालाई आफूभित्र महसुस गर्न बाध्य बनाउने गर्छ। प्रेमको आवश्यकता सुन्दरता नभएर सुन्दर मन हो। सपना होस् या विपना, शरीर आफ्नो हुन्छ सोचाई र कल्पना हर समय तिम्रो नै भैदिन्छ। जब तिम्रो प्रेमको संसारमा डुब्छु, संसारका विलासी वस्तुले दिने आनन्द भन्दा हजारौँ गुणा आनन्दको महसुस गर्छु। मैले गर्ने प्रेम सबै भन्दा फरक छ।
म अरुलाई देखाउन प्रेम गर्दिन। म सदा आफू खुशी हुन् प्रेम गरिरहन्छु। मलाई लाग्छ प्रेम न आकर्षण हो, न शारीरिक सम्बन्ध हो। यो त एउटा आत्माविश्वास र एक अर्काप्रतिको समर्पण हो। जुन सदैव गुलावले झैँ सुवास दिइरहन्छ र आफैंमा फक्रिरहन्छ। चखेवा र चखेवीको जोडी जस्तै टाढा भए पनि यसमा हरपल सामिप्यको आभास भैरहन्छ। प्रेमदहमा पसे पनि चाहेर कहाँ सधैँ र सँगै हुन सकिने रहेछ र?
 तर मेरा सपना, चाहना, व्यवहार अनि भावनाहरु तिमीप्रति नै समर्पित छन्। यिनै सपनाहरुले मभित्र नयाँ नयाँ सोच पैदा हुने गर्छ। यिनै सकारात्मक सोचले मलाई कल्पनाशील बनाउँछ। मेरो कल्पनाले प्रयोग गर्नलाई मलाई सधैं उत्प्रेरित गर्छ। प्रयोगले निरन्तर प्रयासमा धकेल्छ र त्यही निरन्तर प्रयासले परिणाम दिन्छ। यसैमा म निरन्तर लागि रहेछु। मेरो कल्पना चाहना र सपनासँगै तिमीप्रतिको मेरो लगाव कुनै कुराले छुटाउन सकेको छैन। कुनैबेला असम्भव लागेको कुरा एकदिन सार्थक हुन्छ।
प्रेम पूरा जीवन बिताउने साधन हो। यसलाई पूर्ण विश्वास र समर्पण चाहिन्छ। यो काँचो धागो जस्तै पनि हो। थोरै गल्ति र लापरवाहीले पनि प्रेमको धागो चुँडिन सक्छ। जब प्रेमको धागो चुँडिन्छ त्यसपछि जिन्दगी अँध्यारो हुन्छ। त्यसैले मलाई त्यस अँध्यारोदेखि डर लाग्छ।  मलाई लाग्छ प्रेम त यसरी गरियोस् ताकी उसको दुनियाँमा आफ्नोमात्र राज होस् र आफ्नो दुनियाँमा उसको मात्र राज होस्। तिमीले गरेको प्रेम मेरो सुन्दरतालाई भाउ दिन, प्रशंसा गर्न रूप सुन्दर हुन्जेल उपयोग गर्न नहोस्।
मलाई लाग्छ तिमी मेरो सुख-दु:ख बाँडन चाहन्छौं। जीवनभर तिमी मेरो राम्रो नराम्रो व्यवहार सहन चाहन्छौं। तिमी हरपल म नजिक रहन चाहन्छौं। तिमीले बाहिरीरूप यौवन रहोस् या नरहोस् हरदम मलाई तिम्रै अँगालोमा राख्न चाहन्छौं। त्यसैले तिम्रो पवित्र प्रेममा लहसिए यो नै साँचो प्रेम हो भन्ने सम्झिएँ।
जिन्दगी पनि त परिवर्तनशील छ, यो मौसम जस्तै परिवर्तन भैरहन्छ। कहिले खुसीको बसन्त बहार हुन्छ। मनभरि सपनाहरू ढकमक्क फूल्न थाल्छन्। कहिले आँसुको वर्षात हुन्छ। कहिले पीडाको भेल बगिदिन्छ। कहिले दु:खको तुसारोले ढपक्कै छोपिदिन्छ। कहिले भविष्यको कल्पनाको तापले उकुसमुकुस हुन्छ। कहिले उमंगको आकाश यति सफा हुन्छ कि हरेक पल उत्सव नै उत्सबझैँ लाग्छ। कोही साँचो प्रेम नपाएर अभागी हुन्छन् त कोही साँचो प्रेम नचिनेर अभागी हुन्छन्।
तर म यति भन्न सक्छु कि तिमी प्रतिका मेरा चाहना र समर्पणहरु सच्चा हुन्। आकाशको जूनलाई स्पर्श गर्ने कल्पना गर्नु मेरो कुनै भूल होइन। तर आकाश र धर्तीबीचको दूरीको यथार्थतालाई स्वीकारेर गरेको अलौकिक प्रेमको यथार्थता सायदै कसैले छुटाउन सक्ला।
म तिमीलाई यही अनुरोध दोहोर्याउन चाहन्छु कि संसारको जुनसुकै पाटोमा रहेपनि हामी भावनात्मक रुपमा सधैँ सन्निकट एवं सान्निध्य रहिरहनेछौं। एउटा मीठो अनुभूतिमा नै सही तिम्रो भावनात्मक सामीप्यता पाएर रहरहरु अनायसै टुसाउन पुगेका छन्। मेरा मनका फूलहरु फक्रन थालेका छन्। आकाशको जून छुन खोज्नु मेरो ठूलो भूल हुन् सक्छ तर त्यसलाई हेरेर रमाउनु मैले मेरो अधिकार सम्झेकी छु। किनकी मेरो मन मन्दिरमा तिमी नै तिमी बसेका छौं र यसको पूजा नगरी बाँच्नुको कुनै सार्थकता छैन मसंग। प्रिय तिम्रो माया छ अनि मात्रै मैले मेरा अस्तित्व पाएको छु। तिम्रो मायाबिना त म शून्य हुनेछु। तिमी बिना बिल्कुल शून्यझैँ लाग्छ मलाई मेरो यो जिन्दगी नै। तिम्रो मायाबिना शरदमा झरेका पातहरुजस्तै हुन्छु म।
आज प्रणय दिवसको दिनमा तिमीलाई सम्झिँदा यसका सुरुवातकर्ताको इतिहास सम्झन मन लाग्छ। एक त्यस्तो प्रेम पूजारी जसले आफ्नो प्रेमको भिक्षा मागिरहेका थिए। उसलाई यो पाषाण हृदय भएको समाजले प्रेमको पक्ष लिएको हुनाले 'मृत्यु दण्ड' दिएको थियो,। बडो निष्ठुर तरिकाले फेब्रुअरीको १४ औँ दिनमा एउटा महान प्रेम पूजकलाई यो धर्तीबाट सदाका लागि विदा दिइएको थियो। इस्वी सम्वत् २६९ मा रोमनबाट यूरोपको कुना-कुनामा फैलिएको त्यो इतिहासले जुन प्रेमलाई बचाएको थियो, आज फेरि प्रेमको पवित्रतालाई कतिपयले कलंक पार्दैछन् सम्बन्धका नाउँमा। तर, प्रिय भ्यालेन्टाइन! हाम्रो प्रेम सम्बन्ध होइन।  किनकी म हरेक सम्बन्धमा स्वार्थ देख्छु। सम्बन्ध र प्रेम धेरै अलग कुरा हो। म प्रेमलाई सम्बन्धसँग जोडि्दन तर, सम्बन्ध प्रेममय भने बन्न सक्छ भन्नेमा विश्वास गर्छु।
प्रिय भ्यालेन्टाइन!
 तिम्रो र मेरो कुनै सम्बन्ध छैन, न त कुनै नाता नै छ। नाता सम्बन्धमा हुने प्रेममा कुनै न कुनै वासना मिसिएको हुन्छ तर हामी वासनारहित प्रेम गर्छौं। हाम्रो स्वार्थ मात्रै प्रेम हो, र त्यो प्रेमको उद्देश्य मात्रै प्रेम हो। आज राधा-कृष्ण मेरै अघि लुकामारी खेलिरहेका छन्, लैला मुजुन आफ्नै तालमा नाँचिरहेछन्। मुना र मदन बिछोडको बेदना सहदै छन्। मेरो भ्यालेन्टाइन हामी इतिहासमा सधै जीवन्त रहने, त्यस्तो प्रेमी बनौ जसले तिमी मलाई प्रेमील सलाम गरुन्। प्रेम नै सृजनाको स्रोत हो। संसारको धनी त्यही हो जसले प्रेम बाँढ्न सक् । यसर्थ भ्यालेन्टाइन तिमी र म मिलेर सबैलाई प्रेम बाढौं र हाँसीखुसीसाथ जीवन बिताऔं।

 
 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय,सुझाव तथा टिप्पणीहरु यहाँ छाडिदिनुहोला...▼
Please leave your Comments here...▼